यी छुटेकाहरुलाई बिर्सने छुट मैले दिएको छैन मलाई ! खै ! कति पाइला पर पुगेपछि देख्दैनन् आँखाहरुले छुट्टिएको बिन्दु ! कति दिनको मौनतापछि बर्बराउदैनन् ओठहरुले वियोगको धुन ।। यादहरुले मुन्टो बटारेर अलिक पछाडी पट्टी फर्के अझै छर्लङ्गै देखिन्छन् ।। चुङ्गीभन्दा माथिसम्म उफ्रने रहरहरु टालाटुली सङै बटुलेका सम्बन्धहरु । बालापनसँगै छुटेका खुशीहरु बैँससँगै फक्रिएका सपनाहरू । अनि औलाउनकै लागि फक्रीएको बैँस ।। जहाँ, छुटेका छन् छुटपत्रमा नअटाएका धेरै सम्बन्धहरु ! कालोपाटीमा सुकिलो भविष्य खोज्ने नजरहरु पाठशालामै छुटे ! पुरानो थाङ्नोमा आलो रोटो अनि पिरो अचार बोक्ने भोक गोठालो छुटेसँगै छुटे ! कति प्रेमपत्र खाममा राख्नै छुटे ! कति खाममा ठेगाना लेख्नै छुट्यो ! कति ठेगानाको चिठ्ठी कहिल्यै आएनन् ! अनि कति सम्बन्धको अन्त्य विस्मयादिबोधकसँगै भयो । मलाई नपाउँदा पनि.. ’प्रिय’ भनेर सम्बोधन गर्ने आवाजहरुलाई । मैले गुमाइसकेपछि पनि प्रेम गरिरहे, यो पनि भन्नै छुट्यो ! धेरै छुटेको छ त्यहाँ, जहाँ म छुट्टिँदै गएको छु । म जस्तै ’म’हरु सँग ! घाँटी बटारेर छुटेकाहरु हेर्दा नथाकेको मन शिर उठाएर पाएकाहरु हेर्दा पाट्टिन्छ । कान्छा ! तँ भन्थिस नि, ’म’ पछि म जति तँलाई कोही प्रिय नलागोस्’ हेर्न, आजकल तँ मलाई म पनि प्यारो लाग्दैन ।। जीवनसाथी बन्न नसकेकाहरु जीवनभर साथी पनि त नबन्ने रहेछन् । तँ पनि छुटिस ! राधा तँ साइलोलाई नपाएको दुखेसो नगर गुमाउने भन्दा नपाउने भाग्यमानी हो ! हेर्त, मैले सिन्दुर पाएकै कारण सिउँदो गुमाउनु प¥यो ! हातमा चुरा बज्न थालेदेखि मन नाच्न नजान्ने भएको छ । गलामा पोते परेपछि ! गुनगुनाउन छुट्यो । पाएका सम्बन्धहरुलाई निरन्तरता दिनु मात्र प्रेम होइन ! जिन्दगीमा, हुन्न भन्न नसकेर जोडिएका बन्धनभन्दा हुन्छ भन्न नपाएर गुमाएका साइनोहरु प्रिय हुन्छन् राधा ! खैर समयसँगै नदौडिएका साइनोहरुलाई समय–समयमा सम्झन अझै छुटेको छैन । छुटेकाहरुलाई बिर्सने छुट मैले दिएको छैन मलाई ! आखिर बाच्नु भनेको पनि त छोड्दै जानुरहेछ ! श्वास नै नछाडे त नपाइदोँ रहेछ जीवन पनि ! हो, जीवन भनेको छुट्टिदै जाने चक्र हो । अरुसँग छुटे अतीत आफै सँग छुटे अन्त्य !
