पनौती साहित्य समाजका अग्रज सदस्य ओत बहादुर खड्का अर्को वर्ष चौरासी लाग्ने भैसकेपनि पछिल्लो समय वर्सेनी जसो पुस्तक प्रकाशन गरिरहनु भएको छ । हालसम्म जीव र ईश्वरको दिग्दर्शन (२०६३), गर्ग संहिताको गोलोकखण्ड (२०६७), रोशीको आवाज (२०६७), नीति र रीति (२०६८), अनुभूतिका तरङ्गहरु (२०७०), वैदिक धर्म र आर्यसमाज (२०७१), नेपाल माहात्म्य (२०७२) तथा हरियो वन (२०७०) र राधेश्याम (भजन संग्रह, २०७१) बीचमा विरामी हुनु भएका कारणले होला, एकै पटक २०७६ सालमा अनुवादकका रुपमा यो कृति ‘वेद के भन्छ’ (सारसङ्ग्रह) प्रकाशनमा ल्याउनु भएको छ । काभ्रे क्षेत्रमा वेद तथा पुराणका विषयमा कलम चलाउने नगण्य छन् । बढी जसो मुकुन्द प्रसाद उपाध्याय (ढुंगेल) र ओत बहादुर खड्काले नै लेखिरहनु भएको छ, पुस्तक प्रकाशन पनि । त्यसो त ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद गरि वेद चार प्रकारका छन् । तर यो ‘वेद के भन्छ ?’ तिनीहरुकै सारसङ्ग्रह मात्र हो । यसमा श्रीगणपति वन्दना, स्वस्तिवाचन, चार वेदको मङ्गलमय सन्देश, परमपुरुषको स्तुति, वैदिक सुमार्ग, वेदमा भगवत् प्रार्थना, वेदको परिचय, वेदको प्रादुर्भाव, वेदमा पाइने शिक्षाप्रद आख्यान, वेदमा मन्त्र, वेदको आध्यात्मिक सन्देश गरि १३ शिर्षकका छोटा मिठा लेखहरु छन् । त्यसैगरी परिशिष्ट अन्तर्गत मन्त्र जप्ने प्रकार, होम सम्बन्धी जानकारी, अन्य जानकारी आगोमा हिँड्ने, दाँतको कीरा झार्ने, आँखाबाट आँसु बग्ने रोगको निको पार्नका लागि, स्मरण शक्ति बढाउनको लागि उपयोगी कुरा पनि छन् । वेदको प्रार्थना अन्तर्गत चार वेदको मन्त्र र वेदबाट कामको साधनागर्ने मन्त्र अन्तर्गत भूतादि निवारण मन्त्र, निर्विघ्न गमन, बालशान्ति मन्त्र, रोगनाशको लागि, धनप्राप्तिको लागि, पानी पार्ने मन्त्र रोचक तरिकाले प्रस्तुत गरिएको छ । शुरुवाती जागिर फरेष्टर, रेन्जरको तालिम लिनु भएका ओत बहादुर वि. सं. १९९४ मा जन्मिनु भएको हिसाबले अहिले ८३ वर्षका हुनुहुन्छ । २३ वटा संघसंस्थामा आबद्ध एवं ८ विभिन्न सम्मानित ओत बहादुरले २०१४ सालमा वन विभागमा बहिदार पदबाट क्यारियर थाली फरेष्टर हुँदै, रेन्जर २०४२ मा स्वेच्छिक अवकाश लिनु भएको खुलासा अनुवादक स्वयंको व्यक्तिगत विवरणमा समेटिएको छ यस कृतिमा । क्रिश्चियन धर्मावलम्बीहरुले बाईबल, मुस्लिम धर्मावलम्बीहरुले कुरान सहजै पढ्ने गरेपनि हामी हिन्दू धर्मावलम्बीहरु भईकन पनि त्यति भागवत गीता, महाभारत, रामायण लगायतका ग्रन्थ शायद ठूल्ठूला, मोटा भएका कारणले वेद पढ्न उच्च मनोबल नै आवश्यक हुन्छ । त्यसो त स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ ?’ र तिलक प्रसाद लुईंटेलको १०४० पेजको ऋग्वेदका साथै चारै वेद नेपालीमा पाईन्छन् । यस अर्थमा ओत बहादुरको यो कृति वेद सम्बन्धी भोक जगाउने खालको छ । ६० रुपैयाँ मोल केही होईन एकै बसाईमा पढि सिध्याईन्छ । म त यो कृति घरघरमा हुनुपर्छ भन्छु । सन्दर्भ सामाग्रीको रुपमा पनि त्यतिकै उपयोगी छ । ४६ पृष्ठमा मुकुन्द प्रसाद उपाध्यायको भूमिका रहेको यो कृति गोरखपुर, भारतबाट हिन्दीबाट प्रकाशित हुने कल्याण पत्रिका वेदाङ्गमा प्रकाशित ‘वृद एक परिचय’ को नेपाली अनुवाद हो भन्ने सत्यता खुलाउनु भएको छ अनुवादकले । ओत बहादुर खड्काबाट आगामी दिनमा पनि अन्य कृतिहरुको अपेक्षा राख्न सकिन्छ किनकि उहाँ त्यतिकै चुप लागेर बस्ने खालको अग्रज कदापी होइन ।
