केही सिर्जनमा छरेँ कविकला छर्नै छ बाँकी अझ केही सिर्जनमा भरेँ रङकला भर्नै छ बाँकी अझ आशामा तँ नछर्किदे नुन धुलो दे स्वास्थ्य यो गाथमा हे हे मृत्यु ! तँ पर्खिदे दिन दुई बाँचूँ सबैसाथ म । १ मेरो सर्बत प्रेमको हृदयको बाँड्नै छ बाँकी अझ मेरो जङ्गल चेतहीन तहको फाँड्नै छ बाँकी अझ यो वेला तँ नफर्किदे मतिर झन् पासो लिई हातमा हे हे मृत्यु ! तँ पर्खिदे दिन दुई बाँचूँ सबैसाथ म । २ त्यो मेरो अनि फेरि यो छ उसको भन्छौँ चुँडी सम्पदा बिस्र्यौ बाल्न दियो कठै ! सुजनले एकत्वको सर्वदा यो वेला पर तर्किदे अनि नहान लाठो यही माथमा हे हे मृत्यु ! तँ पर्खिदे दिन दुई बाँचूँ सबैसाथ म । ३ धर्तीको छ निन्याउरो मुख अझै बाँकी छ हाँसो दिन मेरो यो मनभित्रको सुख सबै बाँकी छ नासो दिन तेरो शक्ति अमोघ अस्त्र अहिले आफैँ त राख साथमा हे हे मृत्यु १ तँ पर्खिदे दिन दुई बाँचूँ सबैसाथ म ।४ यो चिद्ब्रह्म उनेर फूल जसरी खं ब्रह्ममा जोड्नुछ मेरो यो तमबुद्धिको घनघटा सद्ज्ञानले तोड्नुछ थोरै याम त सर्किदे न कृपया जप्दै बसूँ नाथ म हे हे मृत्यु ! तँ पर्खिदे दिन दुई बाँचूँ सबैसाथ म । ५
