IMG-LOGO

गान्धारीका कटु सत्य

 मंगल, कार्तिक ४, २०७७  आर . एल . श्रमजीवी

गन्धारी महाभारत कथाकी प्रमुख पात्र मध्ये की एक पात्र हुन् । उनी हस्तिनापुर  महाराज धृतराष्ट्रकी रानी र महाभारतका मुख्य खलनायक दुर्योधनकी आमा हुन् । गन्धारीले देख्न सक्थिन् तर उनले आफ्नो पति राजा धृतराष्ट्र दृष्टिविहिन भएकै कारण आफ्नो आँखामा पनि सँधै पट्टी बाँधिन् ।     महाभारतका अनुसार उनी ९९ जना छोरा र एक छोरीकी आमा थिइन् । उनी त्यतिबेलाको गान्धार “ हाल अफ्गानिस्तानको कान्धाहार ” नरेश सुबलकी छोरी थिईन् । गान्धारकी राजकुमारी भएकीले उनको नाम गान्धारी राखियो । उनी सुन्दर र सर्वगुण सम्पन्न थिईन् तर जन्मान्ध धृतराष्ट्रको असक्तताको कारण पति दृष्टिहीन भएपछि आफूले पनि संसार हेर्नु छैन भनेर गान्धारीले विवाह पछिको सम्पूर्ण जीवन आँखामा पट्टी बाँध्ने वाचा गरिन् । उनले पतिको समस्यालाई बुझ्न र उनको दुःखमा सामेल हुन गान्धारीले पनि आफूलाई दृष्टि हुँदाहुँदै पनि दृष्टिविहीन बनाएको कुरा महाभारतमा उल्लेख छ र बिवाह पछिको जीवनमा गान्धारीले दुई पटक मात्रै आफ्नो आँखाको पट्टी खोलेकी थिईन् ।     गान्धारीको भगवान शिवमा विशेष विश्वास थियो र उनी शिव भक्त थिइन् । गान्धारीलाई महाभारतमा एक आदर्श पत्निको रूपमा लिईन्छ । आफ्नो पति धृतराष्ट्र दृष्टिविहीन भएकै कारण आफूले पनि विवाह पछि संसार नहेर्ने बाचा गर्दै सँधै आँखामा पट्टी बाँधेर बस्न सक्नु सामान्य कुरा थिएन । उनी धार्मिक पनि थिईन् र महाभारतका महिलाहरूमा गान्धारीको पनि विशेष स्थान छ । गान्धारका राजा सुबल उनका पिता र शकुनी उनका भाई थिए । जब गान्धारीले दृष्टिविहीन धृतराष्ट्रसँग विवाह गरेर आफ्नो आँखामा पट्टी बाँधिन् । तब उनले सोचिन् कि ‘ मेरो पति राजा धृतराष्ट्र जन्मान्ध छन् भने संसारलाई हेर्ने अधिकार मेरो पनि छैन । ‘ यसरी पतिको असक्तामा आफू पनि त्यस्तै अनुभूत गर्न तयार भएर सुन्दर संसार हेर्ने अधिकारबाट बन्चित हुनु सामान्य कुरा थिएन । त्यसैले उनले आफूलाई त्याग र बलिदानको उदाहरणीय प्रतिमूर्ति साबित गर्न खोजिन् । तर गान्धारीको भाई शकुनी यस विवाहमा खुशी थिएनन् किनकि जब गंगापुत्रले भीष्म सुबलसँग गान्धारीको विवाह जन्मान्ध धृतराष्ट्रसँग गर्ने प्रस्ताव राखे । तब शकुनीले यो प्रस्तावसाई आफ्नो पिता र आफ्नो ठूलो अपमान भएको ठानेका थिए । यही कारण शकुनी भीष्मसँग साह्रै रिसाए ।उनलाई भिष्मले आफ्नी बहिनीको बिवाहको लागि दष्टिविहीन मान्छेको प्रस्ताव लिएर आएकोमा उनी हस्तिनापुरप्रति क्रुद्ध भए र उनले त्यही दिन प्रतीज्ञा गरे कि, “ म  हस्तिनापुरमा कहिल्यै शान्ति र आनन्द हुन दिन्नँ । ”     त्यसैले गन्धारीका दाजु शकुनीलाई महाभारतको खल पात्रको रुपमा लिईन्छ र महाभारत युद्धका लागि जिम्मेवार ठह¥याईन्छ । विवाह र सन्तान     गान्धारीको विबाह पछि उनका पति दृष्टिविहीन भएकै कारण आँखामा पट्टी बाँधेकी थिईन् । एक दिन महर्षि व्यास साह्रै थाकेर भोकले आकुल हुँदै हस्तिनापुर दरबारमा आए । उनको आगमनको समयमा गान्धारीले उनलाई सम्मान गरिन् । कुशल क्षेम सोधिन् । खानपान लगायत सबैको व्यवस्था गर्न लगाईन् । उनको सेवाले खुशी भएका व्यासले गान्धारीलाई एक सय जना सन्तान जन्माउन सक्ने वरदान दिए । बिवाहको दुई वर्ष बितिसकेपछि उनले गर्भधारण गरिन् । तर कुन्तीले युधिष्ठिर जन्माई सकेको र आफूले दुई बर्षमा पनि  बच्चा जन्माउन नसकेकोमा उनमा कुन्तीप्रति ईष्र्यावर क्रोध भएकै कारण उनले आफ्नो पेटमा सन्तानोत्पत्तिको लागि प्रहार गरिन् । त्यो प्रहारले पेटबाट कडा मासुको डल्लो निस्कियो । यसै समय महर्षि व्यास देखा परे र  गन्धारीलाई उनले सन्तान जन्माउने सबै रहस्य र उपाय सुनाए । उनको उपाय अनुसार त्यो मांस पिण्डलाई एक सय टुक्रामा विभाजित गरेर विधिअनुसार घडा भित्र हालेर ढक्कन लगाई गोप्य ठाउँमा राखियो । घडा भित्र राखिएको मासुको टुक्रा दुई वर्ष भएपछि विधिपूर्वक ढक्कन खोलेर हेर्दा प्रत्येक भाँडामा एक एक सुन्दर शिशु थियो । यसरी उनलाई ९९ बालक र एक सुन्दर बालिकाको  माता हुने सौभाग्य प्राप्त भयो । यसरी प्राप्त भएको छोरीको नाम दुशाला थियो ।     घडाबाट पहिला निकालिएको वा निक्लिएकै आधारमा जेष्ठता कायम गरियो । तर गान्धारीले सन्तान प्राप्तिको प्रयासको समयमा धेरै खराब र अशुभ चीजहरू प्रकृतिमा देखा परेको थियो । जानकारहरुले महाराज धृतराष्ट्रलाई सन्तान मोह त्याग्न पनि भनेका थिए । तर उनले मानेनन् । दुर्योधन जन्मिएकै दिन भीमलाई कुन्तीले जन्माएकी थिइन् भन्ने कुरा महाभारत कथामा उल्लेख छ ।     गान्धारीको विवाह धृतराष्ट्रसँग भएकोमा शकुनी खुशी थिएनन् । तर गान्धारीको हिन्दु महिला भएको कारण उनले पतिधर्मको सँधै निर्वाह गरिरहिन् । उनी शिवको अनन्य भक्त भएको कारण शिवबाट वरदान पाएकी थिईन् । वरदानमा उन आफ्नो आँखाको पट्टी खोलेर उनले जसको नग्न शरीर हेर्छिन् त्यो शरीर दुर्भेद्य हुनेछ अर्थात कुनै शस्त्र अस्त्रले केही गर्न सक्दैन । शिवबाट यसप्रकारको वरदान पाएकी उनले युद्ध हुनुभन्दा अघि आफ्नो आँखा पट्टी खोलेर दुर्योधनको नाङ्गो शरीर हेर्न चाहेकी थिईन् तर कृष्णको छलको कारण दुर्योेधन आफ्नो गुप्तांगलाई पातले छोपेर उपस्थित भए । जसका कारण महाभारत युद्धको अन्त्यमा भीमले दुर्योधनको जांघमा गदाले प्रहार गरेर दुर्योधनलाई मारे ।     कुन्ती र गन्धारीमा सँधै एककिसिमको प्रतिस्पर्धा हुन्थ्यो । आमाहरु बिच प्रतिष्पर्धा हुने भएकै कारण कुन्तीका छोराहरू पाण्डव र गान्धारीका छोराहरू बिच पनि बेला बेलामा प्रतिष्पर्धा हुने गथ्र्यो। तैपनि कुन्तीले जेठानी गान्धारीलाई सँधै दिदीकै थान्कोमा राखेर मान सम्मान गरिरहिन् । तर गान्धारी विधवा देवरानी कुन्तीको सहनसीलता देखेर बेला बेलामा जल्थिन् ।    छोरा र भाइको नियन्त्रणमा गान्धारी     गान्धारीको बिबाह धृतराष्ट्रसँग हुँदा उनी राजा थिएनन् । दाइ भए पनि जन्मान्ध धृतराष्ट्रलाई गान्धारीसँगको विवाह पश्चात भाइ पाण्डुको विरूद्ध षड्यन्त्र गरेर राजसिंहासनमा हत्याउन शकुनीले भनेका थिए । तर उनले मानेनन् । अल्पायु मै पाण्डुको मृत्यु भएकोले राजसिंहासनमा धृतराष्ट्र बसे । कुन्तीलाई बालक पाण्डव सहित हस्तिनापुर नफर्काउन पनि शकुनीले चाल चलेका थिए तर उनी सफल भएनन् । शकुनीले आफ्ना छोराहरूलाई पाण्डव विरुद्ध उचालेर अनेक दुःख दिने गर्न थालेपछि गान्धारीले आफ्नो भाइको सँगतले छोराहरु बिग्रिन्छन् भन्ने बुझेर आफ्नो छोरालाई नराम्रा कुराहरूबाट टाढा राख्न र शकुनीलाई पनि उनीहरुबाट टाढा रहन भनिन् तर उनले मानेनन् । छोराहरु हुर्किंदै गएपछि आफूलाई मन लागेको गर्न थाले त्यसैले गान्धारी पति, भाइ र छोराहरु बीच निरीह बनेकी थिईन् । श्री कृष्णलाई श्राप     गान्धारीका सबै छोराहरु महाभारतको युद्धमा मारिए । उनलाई सबैभन्दा ठूलो पिडा युद्धमा दुर्योधनलाई भीमले मार्नु बनेको थियो । कारण कृष्णको बहकाउमा दुर्योधन लागेर नै दुर्योनको मृत्यु भएको कुरा गान्धारीको मनमा बिझेको थियो । त्यसैले महाभारतको युद्धपछि श्रीकृष्ण सान्त्वना दिनको लागि गन्धारीकोमा गए । गान्धारी आफ्ना छोराको मृत्युको शोकमा अत्यन्त विव्हल भएकी थिईन् त्यसैले कृष्णलाई देखेर उनी रिसाइन्् र उनले कृष्णलाई श्राप दिंदै भनिन् “जसरी मेरा छोराहरू तिम्रा कारणले मारिए त्यस्तै गरी तिम्रा सन्तान पनि नष्ट हुन् । ”     उनको यस्तो श्राप पाएपछि कृष्णले गन्धारीलाई भने,     “देवी ! म तँपाईंको दुःख बुझ्न सक्छु । यदि तँपाईंले मेरो कुलको विनाशबाट शान्ति प्राप्त गर्न सक्नु हुन्छ भने म मन्जुर छु । ”     कृष्णको कुरा सुनेपछि आफूले कृष्णको वंश विनासले शान्ति     पाउने कुरा सुनेपछि कृष्णले त्यसै अनुरुप हुने कुरा बताएर हिंडे र उनैको श्रापको कारण कृष्णको वंश बिनास भएको कुरा माहाभारतमा छ । गान्धारीको मृत्यु     धृतराष्ट्र, गान्धारी र कुन्ती युधिष्ठिरको राज्याभिषेकपछि सांसारिक मोहबाट निवृत्त भएर वानप्रस्थान गरे । उनीहरू आफ्नो जीवन सादा तरिकाले जंगलमा बसेर बिताउन थाले । तीन बर्ष पछि, एक दिन धृतराष्ट्र गंगामा नुहाउन जाँदा जंगलमा आगो लाग्छ । तब संजयले सबैलाई जंगल छोडेर हिंड्न भन्छन् । तर धृतराष्ट्र जान मान्दैनन् । उनी नगएपछि गान्धारी र कुन्ती पनि जान सक्दैनन् । संजय उनीहरुलाई जंगलमा तिनीहरूलाई छोडेर आफ्नो बचाउको लागि बाटो लाग्छन् तब ति तीनै जना आगोमा जलेर मृत्यु हुन्छ ।     संजय हिमालयतर्फ प्रस्थान गर्छन् र तपस्विको रूपमा बस्छन् । यसरी बस्दै गर्दा एकदिन नारद मुनी आउँछन् । उनले नारद मुनीलाई धृतराष्ट्र, गान्धारी र कुन्तीको मृत्युको दुःखद घटना सुनाउँछन् । नारद मुनीले यो समाचार युधिष्ठिरलाई दिन्छन् । युधिष्ठिरले खबर पाएपछि आफ्नी आमा कुन्ती लगायत धृतराष्ट्र र गान्धारीको पनि हिन्दु धार्मिक विधी अनुसार मृत्यु संस्कार गर्छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्