भोकाएपछी किलामा बाँधेको गाई पनि दाम्लो चुडाएर भाग्दो रहेछ भोकाएपछी जुवामा नारेको गोरू पनि जोतारो चुँड़ाएर भाग्दोरहेछ भोकाएपछी कसैले नीति–नियम केही नमान्दोरहेछ भोकाएपछी मान्छेले खोसेर पनि खाँदोरहेछ भोकाएपछि नियम–कानुनहरु सबै व्यर्थ हुँदारहेछन् सभ्यता भन्ने कुरो अघाएकाहरूले मात्र मान्दा रहेछन् । भोक आगो रहेछ, सबैथोक जलाएर खाक पार्ने भोक भेल रहेछ सबैथोक बगाएर सखाप पार्ने । अनेकथरी धर्म सिकाएर के हुन्छ ? अनेकथरीको डर देखाएर के हुन्छ ? जब मान्छेलाई भोक लाग्छ डर र त्रासले उसलाई नछेक्दोरहेछ ए टन्न खाएर डकार्नेहरू ! के थाहा तिमीलाई भोक कस्तो हुन्छ ? ’गरिबी हटाऊ’ को भाषण छाट्नेहरू भोकाएर हेर– पेटमा चारो नपस्दा कस्तो हुन्छ ? – कालेबुङ
