IMG-LOGO

राष्ट्रवाद ः एक गम्भीर प्रकृतिको मानसिक रोग

 मंगल, पौष १, २०८२  – सत्यजीत

     राष्ट्रवाद सुरुमा सामूहिक पहिचानको मनोविज्ञान थियो – समूहलाई एकजुट गर्ने सांस्कृतिक आधार, साझा भाषा, साझा इतिहासको संगमस्थल । तर २१ औँ शताब्दीमा यही राष्ट्रवाद धेरै समाजमा मानसिक रोगजस्तै रूपान्तरण हुँदैछ । अतिरञ्जित, तथ्यविहीन, आक्रामक र आत्मविनाशकारी अस्त्रको रुपमा । आधुनिक बदलिँदो विश्वको वास्तविक संरचना बुझ्न नसक्दा राष्ट्रवाद आज एउटा सामूहिक भ्रम बनेको छ, जसको मूल कारण वैश्वीकरण, अनिश्चितता, पहिचान संकट र राजनीतिक दुरुपयोग हुन् ।

     सबैभन्दा पहिला, आजका राष्ट्र–राज्यहरूका समस्या वैश्विक छन् – जलवायु संकट, बहुराष्ट्रिय पूँजीको नियन्त्रण, आप्रवासन, महामारी, प्रविधि–नियमन, साइबर–युद्ध, ऊर्जा–सुरक्षा, खाद्य–सुरक्षा, सामुद्रीक मार्गहरू, आयात–निर्यात, र आर्थिक प्रतिस्पर्धा । यी समस्याहरुले देशको सीमाना मान्दैनन्, समाधान पनि त्यसैले सीमाभन्दा बाहिरै खोजिनुपर्छ । जुन मुद्दाले सीमाना चिन्दैन, त्यसमा राष्ट्रवादले समाधान त दिनै सक्दैन, उल्टै समस्या जटिल बनाउँछ ।

     तर विडम्बना के छ भने–विश्व व्यवस्था जति जति अन्तरनिर्भर बन्दै गइरहेको छ, हाम्राजस्ता अनेकौं समाजमा राष्ट्रवाद त्यति नै उन्मत्त हुँदैछ । यो ठीक त्यही प्रक्रिया हो, जहाँ अनिश्चितता बढ्दै जाँदा मानिस सुरक्षा अनुभूतिका लागि कृत्रिम पहिचानतर्फ दौडिन्छ । राष्ट्रवाद आज पहिचान–भ्रमको मनोवैज्ञानिक शरणस्थल बनेको छ –जसले आफूलाई “विशेष”, “थोरै”, “अलि फरक” देखिन खोज्छ, तर वास्तविक जीवनमा त्यसको कुनै उपयोगिता हुँदैन ।

     उदाहरणका लागि–हामी ९९% सामानमा परनिर्भर छौँ । मोबाइल, औषधि, ईन्धन, प्रविधि, कृषि–यन्त्र, इंटरनेट, खाद्यान्न, कपडा, ट्रान्जिस्टरदेखि स्टीलसम्म लगभग सबै विदेशी बजारमा आधारित छ । यति धेरै परनिर्भरता हुँदाहुँदै पनि “स्वदेशी राष्ट्रवाद” को नारा आत्मविरोधी र हाँस्यास्पद बन्छ, किनकि वैश्विक आपूर्ति–शृंखला बिना कुनै राष्ट्रले आफ्नो दैनिकी चलाउनै सक्दैन ।

     त्यसमाथि–हामी आफ्ना छोराछोरी युरोप, अमेरिका, कोरिया, जापान, अष्ट्रेलिया, इण्डिया र खाडीका श्रम–बजारमा पठाएका छौँ । दैनिक जीवनका प्रायः आम्दानी वैश्विक रेमिटेन्सले चलिरहेको अवस्था छ । यस्तो समाजले विदेशी भूमि बिनै शिक्षा, रोजगारी, उपचार, प्रविधि र ज्ञानको भविष्य सोच्नै सक्दैन । तर त्यही समाजले सामाजिक–सञ्जालमा विदेशी मोबाइलको स्क्रिन समातेर आत्मनिर्भर राष्ट्रवादको खोक्रो नारा बेचिरहेकाछन् – यो नै संरचनात्मक विडम्बना हो ।

राष्ट्रवाद किन रोगजस्तै भएको छ ?

     एक–राष्ट्रवाद आज भावनालाई तताउने राजनीतिक उद्योग बनेको छ–जहाँ तर्क होइन, डर, घृणा, वैमनस्य र आत्मसन्तुष्टि बेचिन्छ । दुई– विश्व–नागरिकत्व बढ्दै जाँदा पुरातनपन्थी नेताहरू जनतालाई राष्ट्रवादको भावनात्मक जालमा बाँधेर सत्तामा पुग्न र टिक्न खोज्छन् । तीन–आर्थिक असमानता बढेपछि मानिसहरू दोषी कोही “बाहिरी” समूहलाई ठान्न खोज्छन्, आफू ठूलो राष्ट्रवादी भएको ब्रान्ड बेच्छन् –जसलाई राष्ट्रवादको भ्रमले तयार गर्छ, राजनीतिक मैदान तयार पारिन्छ ।

     चार–नागरिकता र पासपोर्टको मात्र कुरा होइन, वैश्विक आर्थिक प्रवाहमा सामेल हुनसक्ने क्षमता होस र राष्ट्रवाद यस यथार्थसँग तालमेल मिलाउन सक्दैन । यसैकारण राष्ट्र–राज्यको मूल अवधारणा आज गम्भीर संकटमा छ । निर्यात–आयात, अनुसन्धान, स्वास्थ्य, जानकारी, प्रविधि, मूल्य–श्रृंखला, श्रम–गतिशीलता र सुरक्षा सबै वैश्विक जालोमा बाँधिएका छन् । राष्ट्रवादले यो जालो काट्न खोज्छ, तर काट्ने बित्तिकै देश आफैँ विघटन उन्मुख हुन्छ ।

अन्ततः, समाधान के हो ?

     वैश्विक समस्याको समाधान वैश्विक सहकार्यबाटै सम्भव छ–खुला ज्ञान, साझा प्रविधि, बहुपक्षीय संस्था, पारदर्शी व्यापार, मानवीय आप्रवासन नीति, र संसाधनको उचित प्रबन्धनको सामूहिक दृष्टिकोण । अब नयाँ चेतनाले राष्ट्रलाई किल्ला होइन, विश्वसँग जोडिएको नेटवर्कका रूपमा हेर्नुपर्छ । राष्ट्रवादको भ्रमबाट बाहिर निस्केर मात्रै वास्तविक धरातलीय यथार्थको क्षितिज उघार्न सकिन्छ । मूलतः, ‘अन्धराष्ट्रवादले मानिसलाई पराजित गर्छ, तर वैश्विक सोचले मानिसलाई मुक्त गर्छ ।’

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्