IMG-LOGO

प्रसङ्ग बालेनको पाथिभरा दर्शनः हिन्दू सनातन धर्ममा मृत्यु पछिको आशौच, शास्त्रीय दृष्टिकोण

 मंगल, माघ १४, २०८२  – आचार्यश्री माधवशरण

       हिन्दू सनातन धर्ममा मृत्यु एउटा प्राकृतिक प्रक्रिया हो, जसलाई आत्माको यात्राको एक चरण मानिन्छ । मृत्यु पछि परिवारमा लाग्ने आशौच वा सूतकले शोक, शुद्धता र पितृ तर्पणको महत्वलाई जोड दिन्छ । तर, नेपाल तथा भारतका केही समुदायमा प्रचलित एउटा धारणा निकै प्रबल छ, अभिभावक वा नजिकको आफन्तको मृत्यु पछि पूरै एक वर्षसम्म मठ–मन्दिरमा गएर दर्शन, पूजा वा आराधना गर्न पूर्ण रूपमा निषेध। हालै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहले पाथिभरा माताको दर्शन गरेपछि नेपाली समाजमा अनेकौं टिका टिप्पणीहरू हुन थालेका छन् । आउनुहोस् यो धारणा कति शास्त्रीय छ ? एउटा सानो चर्चा गरौं। के यसरी गरिएका टिका टिप्पणीहरू हाम्रो मूल वैदिक–पौराणिक सनातनी धर्म ग्रन्थहरूमा आधारित छ ? वा यो स्थानीय परम्परा र कुलाचारको प्रभाव हो ? यी प्रश्नहरूको शास्त्रीय प्रमाणसहित आम सर्वसाधारणको जानकारीको लागि आजको अङ्कमा चर्चा गरौं । आशौचको अवधारणा        सनातन हिन्दू धर्मशास्त्रमा आशौच भनेको मृत्युजन्य अशुद्धताको अवधि हो, जसले परिवारलाई शोकमा डुबाउँछ र उक्त अवसरमा गरिने पितृकर्मले पितृको आत्मालाई शान्ति प्रदान गर्न मद्दत गर्छ । तर यो अवधिमा केही यस्ता कर्महरू छन् जसलाई वर्जित गरिएको छ, जस्तै मांसाहार गर्नु, मैथुन गर्नु, तेल मालिस गर्नु, हाँसो रमाइलो नाचगान गर्नु, घरमा ठूला उत्सवहरू जस्तो विवाह व्रतबन्ध आदि । आशौच बार्नु या आशौचमा बस्नुको मुख्य उद्देश्य भनेको शारीरिक–मानसिक शुद्धि र पितृतर्पण गरेर बस्नु हो । धर्मशास्त्रहरूले यसरी गरिने आशौचको अवधिलाई वर्ण (ब्राह्मण, क्षत्रिय आदि) र सम्बन्धको निकटता अनुसार निर्धारण गरेका छन् । यो अवधि सामान्यतया १० देखि ३० दिन सम्म हुन्छ, त्यसपछि शुद्धि विधान (शास्त्र निर्देशित स्नान, दान, होम आदि कर्म) बाट व्यक्ति सामान्य जीवनमा फर्किन सक्छ ।        त्यसो भए यसरी शास्त्रले निर्देशन गरेका कुराहरु हाम्रो वैदिक सनातन धर्मका कुन शास्त्रमा उल्लेख कसरी गरिएको छ त आउनुहोस् एउटा सानो चर्चा सप्रमाण यो विषयमा गरौं । अहिले नेपाली समाजमा केही (अ)पण्डितहरूले यस विषयमा अपव्याख्या गरेका छन् । त्यस्तो अपव्याख्याको पनि चिरफार गर्नु आवश्यक ठानिएको छ । मनुस्मृतिको अध्याय ५ आशौच प्रकरणमा यस सम्बन्धी व्यवस्था गरिएको छ । मनुस्मृति सनातन धर्मको आधारभूत स्मृति ग्रन्थ हो । यसले आशौचको अवधि स्पष्ट रूपमा तोकेको छ । मनुस्मृतिको अध्याय ५ को ८३ औँ श्लोकमा भनिएको छ, दशाहेन शुद्ध्यन्ति ब्राह्मणा मृतकाशुचौ । क्षत्रिया द्वादशाहेन वैश्याः पञ्चदशाहतः ।।        अर्थात, ब्राह्मणहरू मृत्युजन्य अशौचबाट १० दिनमा शुद्ध हुन्छन्, क्षत्रियहरू १२ दिनमा, वैश्यहरू १५ दिनमा। (शूद्रहरूको लागि ३० दिन भनेर परासर स्मृतिमा उल्लेख छ ।) स्मरण रहोस्, यहाँ ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र भन्नाले कर्म अनुसार विभाजन गरिएको वर्णलाई जनाउँछ, न कि नामको पछाडि राखिएको थर । नामको पछाडि विश्वकर्मा भएपनि यदि उसको कर्म ब्रह्मकर्म छ भने हाम्रो सनातनी हिन्दू धर्मदर्शन अनुसार ऊ ब्राह्मण कहलाउँछ । त्यसैगरी नामको पछाडि उपाध्याय, रिजाल, रेग्मी, आचार्य, पोखरेल, सिग्देल, अधिकारी, तिवारी, ओली आदि इत्यादि राख्दैमा ऊ ब्राह्मण हुँदैन । जन्मदा सबै एउटै हुन् र पछि कर्म अनुसार वर्ण विभाजन हुने हो ।        त्यसैगरी मनुस्मृतिको सोही अध्यायको ६६ औँ श्लोकमा पनि भनेको छ, दशाहं सपिण्डानां तु दशाहं स्नातकस्य च । त्रिरात्रमेकरात्रं वा यथाश्राद्धं विधीयते ।।        सपिण्ड (नजिकका रक्त सम्बन्धी नाता, अर्थात् आफ्ना मातापिता, दाजुभाइ) को मृत्युमा १० दिन आशौच लाग्दछ । त्यसपछि त्रिरात्र वा एकरात्र पनि हुन सक्छ, मा श्रद्धाधी कर्म गरेपछि आशौच सकिन्छ ।        यसरी हाम्रो सनातन हिन्दू धर्मदर्शन जसले विभिन्न कर्महरूको बारेमा व्याख्या गरेको छ ती दर्शन र शास्त्रहरूले मुख्य आशौच १०–१५ दिन सम्मको मात्र उल्लेख गरेका रहेछन् । एक वर्षसम्म मन्दिर दर्शन, पूजापाठ गर्न पूर्ण निषेध भन्ने कुनै प्रमाण भेटिँदैन, छैन। मनुस्मृति ५.८२ (शुद्धि विधान) ले पनि त्यही भन्छ, दशरात्रेण शुद्ध्यन्ति सपिण्डा मृत्युजेन तु । स्नानदानहोमैश्च शुद्धिर्भवति ।।        सपिन्डिको मृत्युमा दश दिनको आशौच अवधिपछि स्नान–दान–होमबाट शुद्धि हुन्छ र देवकार्यमा रोक हट्छ ।        आनन्दसँग मठ मन्दिर जाने पितृहरूको स्मृतिमा पूजाआराधना गर्ने र पितृहरूको मुक्तिको कामना गर्ने यो हाम्रो वैदिक परम्परा हो। मनुस्मृति मात्र होइन, सनातन हिन्दू धर्मा दर्शनको यज्ञ आदि कर्मको व्याख्या गर्ने अर्को एउटा ग्रन्थ छ जसलाई याज्ञवल्क्य भनिन्छ, त्यो स्मृति ग्रन्थमा पनि मनुस्मृतिमा भनिएकै जस्तो समान नियम छ। याज्ञवल्क्य स्मृति ३.१८ ले भन्छ, दशाहं ब्राह्मणोऽशौचं क्षत्रियो द्वादशाहकम् । वैश्यः पञ्चदशाहं तु शूद्रो मासेन शुद्ध्यति ।।        ब्राह्मण १० दिनमा, क्षत्रिय १२ दिनमा, वैश्य १५ दिनमा र शूद्र १ महिनामा शुद्ध हुन्छन् । अर्थात् तत् तत् दिनपछि मठमन्दिरहरूमा जाने मृतात्माको शान्तिको कामना गर्ने पूजापाठ गर्न हुन्छ भनेर भनिएको हो । अर्थात हाम्रो समाजमा केही (अ)पण्डितहरूले भनेको जस्तो एक वर्षसम्म देवपूजा वा मन्दिर दर्शन निषेध को कुनै प्रमाण उल्लेख छैन । बरु, आशौचपछि दैनिक नित्य कर्म र भक्ति गर्न मन्दिरहरूमा गएर मृतात्माको शान्तिको कामना गर्न प्रोत्साहन गरिएको छ । गरुड पुराण त यहाँहरू सबैलाई थाहै होला । यो पुराणको प्रेतखण्डको प्रेतकल्पमा मृत्यु, प्रेतयोनी, श्राद्ध र पितृ तर्पणको विस्तृत व्याख्या गरिएको छ । यसमा पनि आशौचको अवधि अन्य स्मृतिग्रन्थहरूसँग ठ्याक्कै मिल्दोजुल्दो छ, गरुड पुराण, प्रेतखण्डको अध्याय १३ मा उल्लेख छ, दशाहं ब्राह्मणः शुद्ध्यति क्षत्रियो द्वादशाहकम् । वैश्यः पञ्चदशाहेन शूद्रो मासेन शुद्ध्यति ।।        यहां पनि ब्राह्मण १० दिनमा, क्षत्रिय १२ दिनमा, वैश्य १५ दिनमा र शूद्र १ महिनामा शुद्ध हुन्छन् भनिएको छ । गरुड पुराणले पिण्डदान, तर्पण, सपिण्डीकरण लाई जोड दिन्छ, जुन आशौच अवधिमा घर वा तीर्थमा गर्न सकिन्छ । एक वर्षसम्म मन्दिर प्रवेश वा व्यक्तिगत आराधना पूर्ण रूपमा निषेध गर्ने स्पष्ट प्रमाण गरुण पुराणमा कहीं कतै छैन । बरु, यो पुराणले शोकका बीच पनि भगवानको स्मरण र तर्पणलाई महत्व दिन्छ । एक वर्षपछि वार्षिक श्राद्धको विशेष व्यवस्था छ, र यो बीचमा विभिन्न तीर्थस्थल, मठ मन्दिरमा गएर मृतात्माको चीरशान्तिको कामना सहित पूजा आराधना गर्नु भनेर प्रोत्साहित गरिएको छ । यसको अर्थ दैनिक मठमन्दिरमा गएर पूजा आराधना गर्नलाई दर्शन गर्नलाई रोक्दैन ।        यस्तै गरेर कलियुग विशेषको लागि भनेर पराशर स्मृति ग्रन्थ सनातन हिन्दु धर्म दर्शनमा प्रख्यात छ । पराशर स्मृतिले कलियुगका लागि सरल नियमहरू दिएको छ । यो ग्रन्थमा पनि कहीँ कतै १३ दिनसम्मको काजक्रिया सकेपछि त्यो वर्ष वर्षदिनसम्म मठ मन्दिरमा गएर पूजा आराधना गर्न हुँदैन भनेर उल्लेख गरेको कुनै प्रमाण पाइँदैन ।        त्यसो भए यो एक वर्षसम्म निषेधको भ्रम कसरी फैलियो ?        यो स्थानीय परम्परा र कुलाचार हो। नेपालका पहाडी तथा तराई क्षेत्रमा कुलधर्म अनुसार, कुल धर्म भन्नाले आफ्नो कुलमा चलिआएको रितिरिवाज, जुन रीतिरिवाजमा आशौच सकिएपछि पनि १ वर्षसम्म मंगल कार्य जस्तै विवाह, उपनयन, ठूलो उत्सव, नयाँ लगानी, घर निर्माण, घरजग्गा खरिद नगर्ने चलन छ । यो कुनै शास्त्रीय नियम हैन । यस्तो चालचलन र कुलमा चलेको रितिरिवाजलाई कहिलेकाहीँ मठ मन्दिर दर्शन र त्यहाँ गएर गरिने पूजा आराधनासँग जोडेर अतिरञ्जित गरिन्छ । त्यस्तै अतिरञ्जनाको विषय बनेको छ अहिले काठमाडौँका पूर्व मेयर बालेन्द्र शाहले पाथिभरा माताको दर्शन गरेपछि । तर यसरी बिनाशास्त्रीय प्रमाण अतिरञ्जित गरिनु सर्वथा गलत हो ।        शोकको विषय अतिरञ्जनाको विषय होइन । परिवारमा शोक व्यक्त गर्न घरमा पूजा पाठ मात्र होइन ठूला मन्दिर तीर्थस्थलहरुमा पनि गएर आफ्ना दिवंगत जनहरूको आत्माको चिर शान्तिको कामना गरी आत्मिक शान्ति प्राप्त गर्नु सर्वथा सही हो । माथि नै व्यक्त गरिएका शास्त्रीय प्रमाणहरूभन्दा माथि अरु कुनै प्रमाणहरु छैनन् । शास्त्रभन्दामाथि गएर केही (अ)पण्डितहरूले बढी भावनात्मक भएर दिइएका अभिव्यक्तिहरू केवल सामाजिक विभेद निम्त्याउने एउटा कुचलन मात्र हो । केही स्वनामधन्य पण्डितहरूले श्राद्धको एक वर्षलाई आशौचसँग मिसाएर व्याख्या गर्छन्, तर शास्त्रले वर्णअनुसार आशौच अवधिलाई बढीमा एक महिनासम्म मात्र राखेको छ ।        त्यसैले शास्त्रअनुसार निष्कर्षमा भन्न सकिन्छ कि मुख्य आशौच अवधि (१०–३० दिन) सम्ममात्र मन्दिर प्रवेश, देवस्पर्श, ठूलो पूजा आदि सामान्यतया नगर्ने (शुद्धि नभएसम्म) । त्यसपछि व्यक्तिगत भक्ति, दर्शन, नित्य पूजा, आराधना गर्न शास्त्रले कुनै रोक लगाउँदैन । एक वर्षसम्म पूर्ण निषेध हाम्रो हिन्दु सनातन धर्मको मूल वैदिक–पौराणिक शास्त्रहरूमा आधारित छैन । शोकका बीचमा पनि भगवानको स्मरण गर्न सकिन्छ, यसले आत्मालाई शान्ति दिन्छ । गरुड पुराणमै भनिएको छ, पितृ तर्पणसँगै भगवत् भक्ति, देव आराधना, मठमन्दिर, तीर्थस्थलहरूको भ्रमण जारी राख्नुपर्छ । आशौच पूरा भएपछि भगवानको दर्शन र आराधना गर्नु धर्मसम्मत र आत्मिक रूपमा लाभदायक हुन्छ । यस्तो गर्नु त झन् हाम्रो सनातन हिन्दू धर्मदर्शन अनुसार अनिवार्य ठानिएको छ । यसले शोकलाई पनि शान्त पार्छ र पितृको उद्धारमा सहयोग गर्छ । सबैको जय होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्