IMG-LOGO

सत्ता, षड्यन्त्र र अनुभवको द्वन्द्व

 मंगल, माघ १४, २०८२  – बिमला निरौला खनाल

       मैले हिजो दिनभरि अनिल कपपुरको हिन्दी कथानाक चलचित्र नायक भन्ने हेरेको त्यो नायक हेरिसकेपछि मलाई नेपाली राजनीति यस्तो लागेको छ । मलाई जस्तो लाग्यो त्यस्तै लेखेकी छु । नायकमा अनिल कपूर एक इमानदार, आक्रोशित तर अनुभवहीन पात्र हुन् । सत्ता हातमा आउँछ, इच्छाशक्ति बलियो छ, तर वरिपरि घेरिएको छ—पुराना खेलाडी, पुराना चालबाजी, पुराना षड्यन्त्रले । उनले केही गर्न खोज्दा हरेक मोडमा अवरोध हुन्छ ।        ठ्याक्कै यही दृश्य आज नेपाली राजनीतिमा पनि देखिन्छ । नेपालमा पुराना नेताहरू आफैँले देश बिगारेको स्वीकार गर्न सक्दैनन् । उनीहरू नयाँलाई अवसर दिनुको सट्टा, नयाँलाई असफल देखाएर आफ्नो “अनुभव” प्रमाणित गर्न चाहन्छन् । नयाँ नेतृत्व आयो भने सहयोग होइन, साबोटाज सुरु हुन्छ —        संसदमा प्रस्ताव रोकिन्छ, प्रशासन चल्न दिँदैन, पार्टीभित्रै खुट्टा तानिन्छ        यसलाई केही आउँदैन” भन्ने भाष्य फैलाइन्छ । अनि जब नयाँ चुक्छ, पुराना भन्छन् — “हामीले भनेकै थियौँ, अनुभव चाहिन्छ ।” तर यहाँ प्रश्न उठ्छ । अनुभव कहाँबाट आउँछ, यदि काम गर्नै नदिइएपछि ? नायकमा देखिएको जस्तै, अनुभवहीनता भन्दा खतरनाक हुन्छ अनुभवको दम्भ ।        नेपालमा दशकौँदेखि सत्तामा बसेकाहरूले अनुभव त कमाएका छन्, तर त्यो अनुभव देश बनाउने होइन, सत्ता जोगाउने अनुभव भएको छ । जनताको समस्या समाधान गर्ने कला होइन, गठबन्धन मिलाउने, दोष अरूलाई थोपर्ने र समय काट्ने सीप विकसित भएको छ । नयाँ पुस्ता भने दोषी ठहरिन्छ केवल एक कारणले—उनीहरू पुरानो खेल खेल्न जान्दैनन् । यहाँ विडम्बना के छ भने, पुरानाले देश बिगार्दा “परिस्थिति” दोषी हुन्छ नयाँले सुधार गर्न नसक्दा “क्षमता” दोषी हुन्छ । नायकको अन्त्यमा अनिल कपूर एक दिनमै सबै समस्या समाधान गर्न सक्दैनन्, तर उनले एउटा कुरा प्रमाणित गर्छन्—यदि नियत सफा छ भने, सत्ता डराउँछ । नेपाली राजनीतिमा पनि यही डर छ । नयाँ आयो भने भ्रष्टाचार खुल्ने डर, सत्ताको हिसाब–किताब मागिने डर, आफ्नै इतिहासले प्रश्न गर्ने डर ।        त्यसैले नयाँलाई असफल बनाउन पुरानाले हरसम्भव प्रयास गर्छन् । अनि जनता भने दुईबीच पिसिन्छ— एकातिर षड्यन्त्रकारी अनुभव, अर्काेतिर अवसर नपाएको उत्साह । यदि हामीले नायकबाट केही सिक्नुपर्छ भने त्यो यही हो — देश अनुभवले होइन, इमानदारी र साहसले बन्छ । अनुभव त अवसर पाएपछि आफैँ आउँछ । तर जबसम्म पुरानाले नयाँलाई काम गर्न नदिने र नयाँले पनि पुरानाको जालो चिर्न नखोज्ने हो भने, नेपाली राजनीति सधैँ एउटा अधुरो फिल्म जस्तै रहनेछ — जहाँ जनता दर्शक मात्रै हुन्छन्, र नायक कहिल्यै पूरा बन्न सक्दैन ।          

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्