प्रजातन्त्र भर्खर आएको थियो । प्रजातन्त्रले सबैभन्दा बढी संचार क्षेत्रमा विकास गर्छ अरे भन्ने कुरा हाम्रो मानसपटलमा थियो । गाउँबाट सहरतिर छिरेको एउटा ठिटो, बुझे वा नबुझे पनि उसलाई प्रजातन्त्रमा संचार क्षेत्रको विकास हुनुपर्छ भन्ने विषयमा धेरै हुटहुटी थियो । राजनीति सबै नीतिको मुख्य नीति, त्यसैले अलि अलि राजनीतितिर चासो थियो । कलेज होस् वा सडक पसलमा अखिल र नेविसंघका कुरा हुन्थे । पढ्नका लागि गाउँबाट काठमाडौं गएपनि फर्किएर आफ्नै जिल्लामा केही गर्नुपर्छ भन्ने अभिप्रायले बनेपामा बस्न थालिएको थियो । पंतिकार अखिलको राजनीतिसँगै प्रकाश र छलफल साप्ताहिकमा समाचार पठाउने काम गर्थे । यसैवीचमा २०५१ सालतिर राजन लुइटेलसँग भेट भएको हो । यता एउटा पत्रिका चाहिन्छ भनेर बहस चलिरहेको अवस्थामा चेष्टा मासिक पत्रिका निकाल्ने कुरा भयो । पत्रिकाको सम्पादकमा विदुर सापकोटा र प्रकाशकमा केशव बडाल रहनु भयो । गोकुल बाँस्कोटा कार्यकारी सम्पादक राखेर २०५१ असोज ३ गते पत्रिका निस्कियो । त्यतिबेलै इन्सेकको प्रतिनिधि पनि भएकाले मानवअधिकार वर्ष पुस्तकका तथ्य–तथ्याङ्क राखेर एक अंक मासिक पत्रिका निकाल्यौं । २०५३ पुस १२ गतेबाट राजन लुइटेलले भरतराज श्रेष्ठलाई सम्पादक राखेर काभ्रे टाइम्स साप्ताहिकको शुरुवात गर्नुभयो । शुरुको अवस्थामा जिल्लामा टाइप गर्नका लागि कम्प्युटर डेक्सटप थिएन । काठमाडौं भोटाहिटी तिरको नरदेवी प्रेसमा पत्रिका छापिन्थ्यो । नरेशविर शाक्यले कम्प्युटर गर्नुहुन्थ्यो । जिल्लामा नै काम हुन थालेपछि श्रीकृष्ण बादेले लामो समय कम्युटर टाइप र सेटिङ गर्न थाल्नुभयो । तस्वीरका लागि ठाँउ खाली राखेर अघिल्लो दिन नै व्लग बनाउन पठाउनु पथ्र्यो । पत्रिका सेटिङ गर्ने भनेर अघिल्लो दिन नै काठमाडौं गएर रातभर सेटिङ र पत्रिका छपाइको काम गर्नुपथ्र्यो । विहान ४ बज्दा नबज्दै भुगोल पार्कमा पत्रिका दिएर जिल्लामा पत्रिका लिएर आउनुपथ्र्यो । यसो गर्दा काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिका हामीभन्दा चाडो आइपुग्थे । कतिपय दिन सम्पादक राजन लुइटेलसँग पत्रिका छपाइका लागि काठमाडौं गइयो । राजन लुइटेल नेपाल पत्रकार महासंघ काभ्रेको संस्थापक सदस्य पनि भएकाले उहाँहरूकै बोलवाला चल्दथ्यो । पंतिकार त्यतिबेला श्रीसगरमाथा दैनिकमा काम गर्न थालेको समयमा राजधानीबाट लोकपत्र दैनिक, हिमालय टाइम्स, कान्तिपुर र समाचारपत्र निस्किन्थ्यो । कान्तिपुरमा दीपक सरकार हुँदै भुषण श्रेष्ठ संवाददाता हुनुभएको थियो । लोकपत्रका धर्मराज दाहाल, समाचारपत्रका हरि कर्माचार्य, कान्तिपुरका भुषण श्रेष्ठ भएपछि हाम्रो संख्या बढी भयो । त्यतिबेला हामीले पत्रकार महासंघको सदस्यताका लागि अनुरोध गर्दा हामीलाई दिइएन । अनि हामीले युनाइटेड प्रेस फोरम नामको संस्था बनाएर समानान्तर काम गर्न थाल्यौं । पंतिकारलाई सम्झना भएसम्म त्यही समयमा राजन जीको विवाह कार्यक्रम थियो । उहाँहरूले तैले त्यो प्रेस फोरम छोडिस भने महासंघमा स्वागत छ भन्नुभयो । हुन्छ भनेर पंतिकार प्रेस फोरमको अध्यक्षबाट राजीनामा दिएपछि त्यही विवाह कार्यक्रममा भएको पत्रकार महासंघको अधिवेशनमा शुरुमा नै पंतिकार पार्षदमा निर्वाचित भएको हो । राजनजीको पत्रकार महासंघमा एकपटक सभापति बन्ने तिव्र इच्छा थियो । पंतिकारको पनि त्यही इच्छा भएकाले हामी दुईबीचमा विवाद पनि भयो । पंतिकार पत्रकार महासंघमा निर्वाचित भएपछि पत्रिका विनाको सभापति भनेर पनि चर्चा चलाइयो । यसपछि होइन, पत्रिका निकाल्नुप¥यो भनेर अम्बुभवानी कार्कीलाई सम्पादक राखेर जनप्रतिष्ठा साप्ताहिक संचालनमा ल्यायौं । यता काभ्रे टाइम्स साप्ताहिक भने निरन्तर प्रकाशन भइरहेको थियो । एक वर्षपछि जनप्रतिष्ठा साप्ताहिकमा विवाद भयो । पंतिकारले त्यो पत्रिका छोडेपछि अब कुन पत्रिका निकाल्ने भनेर अन्योल थियो । एउटा बैठक चलिरहेको बेला सुरेश हुमागाईले पहिलाको चेष्टा छ नि, त्यो निकालौं भनेर प्रस्ताव राख्नुभयो । हुन्छ भनेर धुलिखेलका अशोक व्याञ्जुलाई प्रकाशक बनाएर त्यो मासिकलाई साप्ताहिकमा परिवर्तन गरी २०५६ कार्तिक १२ गते पत्रिका प्रकाशन गर्न थाल्यौं । काभ्रेमा जव चर्चा चल्छ स्तम्भमा २०६१ वैशाख २९ गते – भोजराज तिमल्सिनाको व्यक्तिगत संघर्षका विषय काभ्रे टाइम्समा प्रकाशित छ । चेष्टा प्रकाशनसँगै पंतिकार र राजनजीको द्वन्द्व उत्कर्षमा पुग्यो । कतिपय अंकमा दुई वटा पत्रिकाबीचको द्वन्द्व पनि सतहमा देखिन थाल्यो । एउटा पत्रिकाले काभ्रे टाइम्स कि कांग्रेस टाइम्स लेख्ने अनि अर्कोले चेष्टाको कुचेष्टा लेख्ने क्रम चल्यो । हुँदा हुँदा भैसी पत्रकार लेख्ने, पत्रिकाबाट निकाला गरेको समाचार बनाउने जस्ता काम पनि भए । पंतिकारको राजनजीसँग हजार दिनसम्म बोलचाल नभएको कुरा त्यति बेला चेष्टा साप्ताहिकमा प्रकाशित आलेखमा नै उल्लेख छ । यी सबै काम पत्रकारिताको विकासका लागि भएका थिए । समय क्रममा जिल्लामा नै टाइप, सेटिङ र छपाइका काम हुन थाल्यो । रातभरी चिसोमा कठाग्रिंएर पत्रकारिता गर्ने दिन सकिए । पत्रिका खुल्ने र बन्द हुने क्रम पनि रहि रह्यो । यस पत्रिकामा लेख्ने कतिपय सांसद, मन्त्री बने होलान । यही पत्रिकाले मौका दिएका कारण कतिपय समाजका अब्वल नागरिक बने होलान । विकासका काममा यस पत्रिकाको खवरदारीका कारण धेरै सुधार भएका छन् । कतिपय मानिसको जीवनमा यसले धेरै परिवर्तन ल्याएको छ । यस्ता धेरै आरोह–अवरोहका बीच पनि काभ्रेटाइम्स निरन्तर प्रकाशन भएकोमा बधाइको हकदार छ । छापा संचार माध्यमसँगै विद्युतिय संचार माध्यमको विकास भइरहेको अवस्थामा काभ्रेटाइम्सले फड्को मारेको अवस्था छ । काभ्रेटाइम्सले रेडियो एविसीसँगै अनलाइन संस्करणलाई पनि नियमित गरेको छ । पूर्व सम्पादक भरतराज श्रेष्ठको सम्झनामा पुरस्कारको समेत स्थापना गरेको छ । हरेक मंगलबार बागमती प्रदेशका प्रमुख शहरहरूमा काभ्रे टाइम्स किनेर पढ्न पाइन्छ । पंतिकारलाई थाहा भएअनुसार २०५६ माघ देखि पत्रिकामा कर्म प्रारम्भ गरेका, २०७० सालदेखी यसका कार्यकारी सम्पादक भइ जिम्मेवारी समालेका रमेश प्रसाद न्यौपानेको अथक मेहनत रहेको छ । पत्रिकालाई नियमित गर्ने कुरा कुनै जोक होइन अनि अर्काले चलाइरहेको पत्रिका लुटेर मैले महान काम गरे भन्नु पनि राम्रो होइन । हाम्रो समयमा संचारको अर्थ भनेको समाचार बनाउने र पत्रिकामा छाप्ने भन्ने हुन्थ्यो । विद्युतिय संचार माध्यमको त्यति विकास भइ नसकेको हुँदा गोरखापत्रलाई मात्र पत्रिका भनिन्थ्यो । ग्रामिण पत्रकारिताको बहस शुरु गर्दा हुलाक, भित्तेपत्रिका, अडियो टावर, पाटी पत्रिका र पेजरको विकास हुँदै थियो । टेलिफोन र मोवाइलको विकास पनि यसै अवधीमा भएको हो । सामुदायिक रेडियो चलाउन सकिन्छ भनेर २०५३ सालमा काभ्रेटाइम्स सास्ताहिकमा लेख लेख्दा ‘खुब रेडियो’ चलाउने भएको भन्ने प्रतिक्रिया आएको थियो । जनचेतनामूलक भिडियो वा फिल्म देखाउनका लागि गाउँ गाँउमा डोकोमा ठूलो टेलिभिजन बोकाएर लगिन्थ्यो । गाँउभरीका मानिस जम्मा गरेर छोरी, चमेली जस्ता फिल्महरू देखाइन्थ्यो । हिजोको पोष्टर, पम्प्लेट, ब्रोसर र न्यूजलेटरको जमानाबाट आज हामी विद्युतिय संचारमाध्यममा आइसकेका छौं । ‘काउराको बोट’बाट शुरु भएको हाम्रो जिल्लाको संचार प्रक्रिया सूचना वा सन्देशलाई सांकेतिक रुपमा प्रस्तुत गर्ने विशेषतासम्म पुगेको छ । प्रेषक र प्रापकमा माध्यम, प्रतिक्रिया र अवरोधका विषय पनि आवश्यक हुन्छ भन्ने विषयमा गुणात्मक फड्को मारिरहेको छ । प्रत्यक्ष र यन्त्रसहितको संचारमा श्रव्य, दृश्य, स्पृश्य, नस्य र रसात्मक हुन्छ भनेर बहस गरिरहेका छौं । संचारलाई अन्तरनिहित, अन्तरव्यक्ति, समूह, सार्वजनिक, सांगठनिक, आमसंचार र जनसंचारका रुपमा परिभाषित गरी आमसंचारलाई पेशाको रुपमा ग्रहण गरिरहेका छौं । आमसंचारमा प्रविधि (टेक्नोलोजी) वा यन्त्र (मेशिन) को भूमिकालाई बढी प्रयोगमा ल्याएका छौं । शाव्दिक वा रेखाचित्रात्मक प्रस्तुतीमार्फत संचार गरिने संचारको ढाँचामा परिवर्तन ल्याएका छौं । संचार माध्यमको विकासलाई प्रोत्साहित गर्नका लागि सूचना, शिक्षा, अभिप्रेरणा, मनोरञ्जन र सामाजिकीकरण संचारमाध्यमले नै गर्छ है भनेर छापासँगै विद्युतिय संचारमाध्यमको विकासमा पनि लागिरहेका छौं । पुस्तकहरूलाई आइएसविएन संकेत राखेर सूचिकृत र विद्युतिय स्वरुपमा (इ–बुक) प्रकाशन गर्ने, अखवार र म्यागेजिनलाई सफ्ट र हार्ड कपी भनेर संग्रह गर्ने, पत्रिकालाई ब्रोडसीट, ट्याब्ल्वाइड, मिडि र बर्लिनर आकारमा विहान, दिउसो र साँझको भनेर दैनिक, साप्ताहिक, पाक्षिक, मासिक र वार्षिक रुपमा निकाल्ने परिपाटी विकास ग¥यौं । राजनीति, व्यापार, विज्ञान–प्रविधी, पर्यटन, वाताबरण, खेलकुदजस्ता विषयमा लेख्न पत्रकारलाई प्रोत्साहित ग¥यौं । अहिले प्रशारण पत्रकारितामा रेडियो, टेलिभिजन, चलचित्र र अनलाईन पत्रकारिताको विकास भएको छ । आमसंचारमा मुद्रण पत्रकारिता क्रमशः पछाडी परेको छ । सत्य र यथार्थ, स्वतन्त्रता, निश्पक्षता, मानवता र जवाफदेहिताको सिद्धान्त बोकेको पत्रकारिता सूचना र प्रविधिको क्षेत्रमा फड्को मारिसकेको छ । एक सेन्टको सिक्का (पेनी) बाट किन्न पाइने पत्रिका (पेनी प्रेस) बाट शुरु भएको पत्रकारिता व्यवसायीको प्रतिष्पर्धाबाट जन्मिएको प्रवृती अर्थात ‘पीत पत्रकारिता’ व्यावसायिक मर्यादाभित्रै छ । समाचार लेख्ने, भन्ने र देखाउने तौरतरिका फेरिएका छन् । घटनाका प्रकार अनुसारका बिटहरू तोकिन्छन् । जनसरोकार, मानवरुची, व्यक्तित्व, संघर्ष, यौन, अपराध, मौसम, खेलकुद, मनोरञ्जन र प्रगतीका विषयहरूलाई बढी रुचाइने गरिएको छ । संचारका पुराना माध्यम पुस्तक, अखबार, पत्रिका, रेडियो, टेलिभिजन र फिल्मबाट इबुक, विकी, इपेपर, इजिन, पड्कास्ट्, इन्टरनेट टिभी, नेट्फिलक्स जस्ता नयाँ माध्यम र सुविधाको विकास भएको छ । सोशल नेटवर्किङ, माइक्रोब्लगिङ्, फोटो र भिडियो साझेदारी (यूटुब, टिकटक लाइभ, पेरिसकोप, भिमियो) जस्ता तौरतरिकाले बजार लिएको छ । त्यसैले समय अनुसार चल्नुपर्छ, पत्रकारिताका तौरतरिकालाई पनि बदल्नुपर्छ । व्यावसायिक पत्रकारिताको लागि सूचना, सुरक्षा र स्वतन्त्रता प्रमुख सबाल हुन । सूचनाको स्रोतसम्म पुग्न कुनै छेकवार हुनु भएन । पत्रकारिता गरेकै कारण दमनमा पर्नु भएन । समाचार निष्पक्ष हुँदाहुँदै पनि आफूलाई सम्पन्न ठान्नेहरूबाट पत्रकारहरूको असुरक्षा छ । भ्रष्टाचार र गुन्डागर्दीका कारण राम्रा समाचार स्थानीय पत्रिकाले समेट्न सकेका छैनन् । सूचना प्रवाहमा राज्य र गैरराज्य पक्षबाट बेला–बेलामा रोक लगाइन्छ । लगानीको अभावका कारण पत्रकारिता व्यवसाय रहर र फुर्सदको खेती भएको छ । गल्तीहरू ढाकछोप गर्न मिडियाहरू संचालन गर्ने परिपाटी पनि छ । व्यावसायिक प्रतिबद्धताको अभाव अर्काे समस्या छ । महँगो कागज र छपाइका कारण अखबारहरू बाँच्न सक्ने स्थितिमा देखिन्नन् । सरकारी एवं गैरसरकारी निकायले समानुपातिक ढङ्गले विज्ञापन उपलब्ध गराउनु आवश्यक छ । वितरण प्रणालीको अव्यवस्थाका कारण समयमै बजारमा पत्रिका पु¥याउन हारगुहार गर्नुपर्छ । वैचारिक आस्थाको निकटताले समाचारलाई पार्टी वा गुटविशेषको स्वार्थमा ढालेर तोडमरोड गर्ने प्रवृत्तिले अखबारमा छापिएको कुरा सत्य नहुनसक्छ भन्ने पाठकहरूको जमात तयार हुन लागेकाले विश्वसनीयता अर्को समस्या बनेको छ । आचारसंहिताको अवहेलना, खोज पत्रकारिताको कमी र लगानीको अभाव त्यत्तिकै ठूलो समस्या छ । तमाम समस्याका बाबजुत पनि काभ्रेटाइम्स अग्रपंतिमा छ । शुभकामना ।।
