देशमा चुनाव आयो अब म एउटा पार्टी खोल्छु पार्टी खोल्न नसके स्वतन्त्र उठ्छु स्वतन्त्र उठ्न नसके एउटा पार्टी किन्छु एउटा टिकट किन्छु र, चुनावमा उठ्छु चुनाव जिते ठुलै मन्त्री बन्छु चुनाव हारेँ भने पार्टीको ठूलै नेता बन्छु । चुनावमा उठेपछि केही मान्छेहरू मेरो पछि लाग्छन् मासुभात खान्छन् चुनाव जिते पनि चुनाव हारे पनि मासु र भातको कुनै हिसाब हुँदैन । म मन्त्री बनेँ भने सरकारमा जान्छु देश–विदेश जान्छु भत्ता खान्छु कमिसन खान्छु नेता बनेँ भने विकासको भाषण गर्छु विकास गर्नु भन्दा भाषण गर्न धेरै सजिलो छ । चुनावमा म ठूलठूला आश्वासन बाँड्छु कपडाहरू बाँड्छु भ्रमहरू बाँड्छु ’साम दाम दण्ड भेद’ जे–जसरी हुन्छ चुनाव जित्छु र खर्च भएको सबै पैसा उठाउँछु ब्याज उठाउँछु नाफा कमाउँछु कसरी ? त्यो कसैलाई भन्न मिल्दैन । रूरूक्षेत्र–गुल्मी हाल सूर्यविनायक, भक्तपुर ।
