+२ लाई माध्यमिक तह बनाउन खोज्नु विदेशी आयातीत नीति हो – सागरमणि तिवारी

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

– सागरमणि तिवारी, क्याम्पस प्रमुख, धुलिखेल क्याम्पस, धुलिखेल

पर्वत जिल्ला सारङखोला–२ मा माता बालकुमारी र पिता दुर्गाप्रसाद तिवारीको छोरा सागरमणि तिवारीको जन्म २०३१ बैशाख १० गते भएको हो । हाल गोठाटार–८, काठमाडौंमा स्थायी बसोबास रहेको छ । एमबीए र एमपीए गर्नुभएको तिवारी २०५१ सालदेखि शिक्षण पेसामा हुनुहुन्छ । ०६८ कार्तिक देखि धुलिखेल क्याम्पसको प्रमुखको जिम्मेवारी सम्हालीरहनुभएका तिवारीसँग रेडियो एबीसीको शिक्षा सरोकार कार्यक्रममा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

० धुलिखेल क्याम्पसको शैक्षिक उपलब्धी के के रहेका छन् ?
२०५४ सालमा स्थापना भएको यस क्याम्पसले ११ पटकसम्म पब्लिक क्याम्पसमध्येबाट काभ्रे जिल्ला टप गरिसकेको छ । ४६३ पब्लिक क्याम्पस मध्ये हरेक वर्ष ६० प्रतिशतभन्दा बढी विद्यार्थीहरु उत्तीर्ण गराउन सफल भएका छौं । हामीकहाँ प्रत्येक कक्षामा ३५ जना विद्यार्थीहरु राखिन्छ । हामीकहाँबाट उत्तीर्ण विद्यार्थीमध्ये ९० प्रतिशतले रोजगारी पाएका छन् । त्यसैले हाम्रो क्याम्पसको अवस्था राम्रो छ भन्न सकिन्छ ।

० विद्यार्थीहरु शिक्षाशास्त्र र व्यवस्थापनमा बढी आकर्षित हुनुको कारण के होला ?
यसको मूल कारण रोजगारीको अवसर प्राप्त गर्न खोज्नु हो । अहिले व्यवस्थापनको बजारमा माग धेरै रहेको छ । व्यवस्थापनले क्षमताको अभिबृद्धि हुने बैंक तथा सहकारी तथा उद्योगधन्दामा यसको माग आउने भएको हुँदा त्यसो भएको हो भने एउटा कार्यालय व्यवस्थापन गर्नेदेखि लिएर घर, औद्योगिक प्रतिष्ठान आफ्नै व्यवसाय गर्ने कार्य महत्वपूर्ण हुने भएकोले व्यवस्थापनमा आकर्षण बढेको हो । त्यसैगरी शिक्षाशास्त्र संकाय मध्यम वर्ग तथा निम्न वर्गीय विद्यार्थीहरु बढी अध्ययन गर्ने गरिएको पाइन्छ । जो शिक्षण पेशामा बढी रुची राख्छ, उनीहरुको रोजाई बन्न पुगेको छ ।

 

० राज्यद्वारा संचालित शिक्षा प्रणालीले कुनै फड्को मार्न नसकेको के यथार्थ हो ? तपाईंलाई के लाग्छ ?
०४६ सालपछि मुलुकमा बहुदलीय व्यवस्थापछि शिक्षामा केही परिवर्तन आएको छ । सरकारी तथा निजी क्षेत्रबाट शैक्षिक संस्था खोलिएको छ । ग्रामीण भेगसम्मका बालबालिकाहरुले अध्ययन गर्न पाएका छन् । शैक्षिक स्तर बृद्धि भएको छ । तर चाहेजति शिक्षामा राज्यले लगानी गरेअनुरुप नतिजा प्राप्त गर्न नसकेको भने सत्य हो । राज्यले लगानी गरेका होस् वा निजी क्षेत्रबाट उत्पादित, तिनीहरुलाई कुन कुन क्षेत्रमा परिचालित हुनसक्छन्, त्यही अनुसारको शिक्षा दिनुप¥यो, त्यो हुन सकिरहेको छैन । अझ अहिले सरकारले +२ लाई माध्यमिक तहसम्म बनाउन लागेको छ । मेरो विचारमा यो विदेशबाट आयातीत नीति हो । विदेशबाट आएको डलर पचाउनका लागि शिक्षामा यस्तो व्यवस्था गर्न लागिएको हो । शिक्षा क्षेत्रमा यस्तो गलत प्रवृत्ति हावी हुनु हुँदैन । आफ्नो मुलुकको भौगोलिक अवस्था अनुसार कुन क्षेत्रमा के आवश्यक छ, त्यही अनुसारको शिक्षा प्रदान गरिनुपर्छ ।

 

० स्थापनाकालमा धुलिखेल सञ्जीवनी क्याम्पस भनेर गर्नुभयो । अहिले नाम फेरेर धुलिखेल क्याम्पस बनाउनुभयो । सञ्जीवनी उच्च माविको व्यवस्थापनसँग नराम्रो टक्कर परेर यस्तो भएको हो भन्ने हल्ला छ नि ?
त्यस्तो खासै विवाद भएको होइन । विगतमा हामीसँग +२ को स्वीकृति नहुँदा सञ्जीवनी नमूना उच्च माविकै भवनमा संचालित थियो । त्यसपछि हरिसिद्ध निमावि र हाल जिविस काभ्रे, धुलिखेल नपा र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा स्थानीय बौद्धिक वर्ग, शिक्षाप्रेमीहरुको सहयोगमा आफ्नै भवनमा क्याम्पस संचालित रहेको छ ।

 

० धुलिखेल क्याम्पसमा आर्थिक कारणले नै पटक पटक क्याम्पस प्रमुख पद परिवर्तन हुने गरेको अभिभावकहरुको आरोप छ । क्याम्पस प्रमुख जस्तो जिम्मेवार पदमा हुने परिवर्तनले शैक्षिकस्तरमा नकारात्मक आसर पर्दैन र ?
यो कुरामा सत्यता छैन । विगत १५ वर्षको अवधिमा जम्मा दुईजना क्याम्पस प्रमुख फेरिएको अवस्था छ । गोपीलाल न्यौपाने र मेघराज घिमिरे, उहाँहरुले घरायसी कारणले क्याम्पस आउन नसक्ने भएको हुँदा यसो भएको हो । मर्यादाक्रम अनुसार मेरो पालो आएको हो । त्यसैले क्याम्पस प्रमुखको भूमिकामा काम गरिरहेको छु ।

 

० विद्यार्थीहरुको स्तर बृद्धिका लागि नयाँ योजना के के रहेका छन् ?
विद्यार्थीहरुमा शैक्षिक स्तर बृद्धि गर्न …. कक्षा, क्यूज एण्ड कन्टेजको व्यवस्था, व्यक्तित्व विकास, विश्वको व्यवस्थापकीय सिद्धान्तको अध्ययन गराउने क्षमता बृद्धि गर्ने व्यवस्था, बैंक तथा वित्तीय संस्थामा संस्थामा इन्टर्नशीप गर्ने व्यवस्था गरिएको छ । यसलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउँदै शैक्षिक गुणस्तर बृद्धिमा ध्यान दिइने, इलाइब्रेरी र अतिरिक्त क्रियाकलापबाट व्यक्तित्व विकासमा मद्दत पुग्ने खालका कार्य गर्न सधैं तत्पर रहने छ ।

 

० शिक्षण संस्थालाई बेरोजगार उत्पादन गर्ने थलो भन्दा फरक पर्दैन भन्नेहरुलाई के जवाफ दिनुहुन्छ ?
सबै शैक्षिक संस्थाले उत्पादन गरेका शैक्षिक जनशक्ति नै बेरोजगार छन् भन्ने कुरामा म सहमत छैन । केही शैक्षिक संस्थाबाट उत्पादन भएका जनशक्तिले रोजगारी प्राप्त गर्न सकेनन् होला । यसमा सहमत हुन सकिन्छ । यसमा राज्यको शैक्षिक प्रणाली नै दोषी छ । शिक्षा प्रणाली यस्तो हुनुप¥यो शिक्षा सीपमूलक, व्यवहारिक, स्वावलम्बी बन्ने शिक्षा लागू हुनुपर्छ । विश्व बजारमा बिक्ने शिक्षा देशको लागि आवश्यक छ । दिन प्रतिदिन शैक्षिक जनशक्ति विदेशिने, आफ्नै देशमा कुनै नयाँ उद्योगधन्दा नखोलिनु, राजनीतिक अस्थिरता कायम रहनुले मुलुकमा रोजगारका अवसर प्राप्त हुन सकेको छैन ।

 

० शिक्षा क्षेत्रमा के कस्ता सकारात्मक परिवर्तन आएका छन् ?
शैक्षिकस्तरमा बृद्धि भएको छ । राज्यले गाउँगाउँमा शैक्षिक संस्थाको बृद्धि गरेको छ । उच्च शिक्षासम्म गाउँमै पाउने अवस्था सिर्जना भइरहेको छ । अधिकांश नागरिक साक्षर भइसकेका छन् । निजी क्षेत्रबाट पनि शिक्षामा मनग्गे लगानी भएको छ जसबाट विदेशमा पढ्न जानेको संख्या घटेको छ । यतिमात्र भएर पुग्दैन । शिक्षामा आमूल परिवर्तन ल्याउन शिक्षा प्रणालीमा सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्न राज्यले त्यही अनुरुपको शिक्षा नीति ल्याउन जरुरी छ ।

० शिक्षालाई व्यवसायिक, सीपमूलक, परिणाममुखी बनाउन निजीक्षेत्र र राज्य पक्षको के कस्तो भूमिका हुन्छ ?

राज्य पक्ष र निजी क्षेत्रमा लगानी गर्नेबीच एक आपसका परिपूरक हुन् । एक सिक्काका दुई पाटा हुन् । राज्यसँग स्रोत र साधन छ, त्यो स्रोत र साधनको अधिकतम सदुपयोग गर्न जरुरी छ । त्यस्तै निजी क्षेत्रका लगानीकर्ताहरुले पनि शिक्षामा भएको लगानीलाई सार्थक बनाउन शैक्षिक गुणस्तर बृद्धि गर्न कुने कसर बाँकी राख्नुहुन्न । हाल शिक्षा नियमावली, नीति र शैक्षिक प्रणालीलाई नयाँ परिमार्जन गरी राज्यले रोजगारमूलक स्वावलम्बी, प्राविधिक शिक्षामा बढी जोड दिई आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ ।

० पब्लिक होस् वा निजी, अधिकांश कलेजहरुले विद्यार्थी तान्नका लागि छुट लगायतका अनेक प्रलोभन देखाउने तर भर्ना भइसकेपछि विभिन्न बहानामा त्यो सुविधा नदिने गरेको पाइन्छ नि ?
कुनै पनि शैक्षिक संस्थाले आफूले घोषणा गरेको सेवा सुविधा दिइँदैन भने त्यो सिधै अपराध हो । त्यस्तो गर्ने शैक्षिक संस्थालाई कारवाही गर्नुपर्छ । शिक्षा क्षेत्र झुटको खेती गर्ने ठाउँ होइन, विशुद्ध सेवामुखी संस्था हो । शैक्षिक संस्थाले गुणस्तर कायम गर्न धेरै परिवर्तन ल्याउने कार्य गर्नु आवश्यक छ । पब्लिक क्याम्पसको हकमा पनि कोही कसैले त्यस्तो अस्वस्थ प्रतिस्पर्धा गरेको छ भने तत्कालै त्यो बन्द गरिनुपर्छ । पब्लिक क्याम्पसहरु स्थानीय सहयोग, विभिन्न दाताहरुको आर्थिक सहयोगमा संचालन भएका हुन्छन् ।

० उच्च शिक्षामा विद्यार्थीहरुको अनुत्तीर्ण हुने दर धेरै देखिन्छ । किन यस्तो भएको होला ? दक्ष तथा अनुभवी शिक्षकको कमीकै कारण यस्तो भएको हो र ?
शिक्षामा सफलता हासिल गर्न तीन पक्षको महत्वपूर्ण भूमिका हुन्छ । जुनसुकै संकाय वा तहमा अध्यापन गराउने शिक्षकहरु दक्ष र अनुभवी हुनैपर्छ । त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद् दुवैले कम्तीमा पनि स्नातकोत्तर तह उत्तीर्णलाई मात्र अध्यापन गराउन दिने प्रावधान गरेको छ । सोही अनुसारको शिक्षकहरुको व्यवस्था हुनुपर्छ । शिक्षकहरुले विद्यार्थीहरुलाई उत्प्रेरणा दिएर, स्वस्थ वातावरणमा मनोरम ढंगले शिक्षा दिने खुबी शिक्षकमा हुनुपर्छ ।
त्यस्तै अर्को पक्ष भनेको विद्यार्थी हो । ऊ मेहनती, शिक्षा ग्रहण गर्न नियमित रुपमा कलेज आउने, अनुशासनमा रहने, नियमित गृहकार्य गर्ने हुनुपर्छ । हिजोआज विद्यार्थीमा लगनशीलता र मेहनतमा अलि कमी छ । यो कार्य सुधार गर्नु आवश्यक छ । त्यसैगरी अर्को पक्ष भनेको अभिभावक हो । अभिभावकले आफ्ना छोराछोरीको लागि आवश्यकपर्ने शैक्षिक सामग्री समयमा उपलब्ध गराइदिने प्रबन्ध मिलाउनुपर्छ । कतिपयले यस्ता शैक्षिक सामग्री उपलब्ध नगराउको कारण केही विद्यार्थी असफल भएका छन् । अध्यापन गराउने र शैक्षिक अवस्था सुधार गर्ने विद्यार्थीहरुमा सफलता हासिल गराउने कार्यको बढी जिम्मेवारी शिक्षक नै हुनुपर्छ ।

 

० अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
शिक्षा भनेको जीवनको आधार निर्माण गर्ने विषय भएको हुँदा राज्य र निजी क्षेत्रको भूमिका समय सान्दर्भिकता छ । शिक्षामा कोही कसैले खेलवाड गर्ने विषय होइन । सबैले विधि, पद्धति, नियम र अनुशासनमा रहेर निरन्तर कार्य अगाडि बढाउनुपर्छ । पब्लिक क्याम्पसमा राज्यको लगानी न्यून छ, त्यसमा बढाउनुप¥यो । त्यसैगरी शिक्षा क्षेत्रमा सकारात्मक सुधार ल्याउन आम नागरिकलाई सुसुचित गर्ने सञ्चारमाध्यमको पनि उत्तिकै भाूमिका हुन्छ । त्यसैले सही सूचना दिन निरन्तर लाग्नुहोस् भन्न चाहन्छु ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: