हाम्रो पीडा उस्तै भएकोले घरबार राम्रो हुन्छ

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

-हरिवंश आचार्य

यतिबेला मीरालाई झल्झली सम्झिरहेको छु । बिहेपछि उनको याद झन् बढेको महसुस भइरहेको छ । मैले उनलाई देउताको स्थानमा राखेको छु । मेरो शरीरको आधी पाटो उनकै हो । अर्को बिहेको निर्णय लिनुअघि मैले आँखा चिम्लेर उनको प्रार्थना गरेँ । आशीर्वाद लिएँ । अब रमिलालाई तिम्रो रुपमा देख्न पाऊँ भनेर शक्ति मागेँ ।

श्रीमती भनेको घरको प्राण हुन् । प्राण नै झिकेपछि त्यहाँ कंकाल मात्रै बाँकी रहन्छ । करिब एक वर्षअघि मीराको देहान्त भएपछि मेरो घर त्यस्तै कंकालजस्तो भयो । कोठाहरु लथालिंग हुन्थे, विद्यार्थी बस्नेजस्तो । सामान लठिभद्र, लुगा यत्रतत्र छरिएका, भाँडाकुँडा फोहोर । मलाई वास्तवमा घरमा पस्नै मन लाग्दैनथ्यो । जम्मा दुईजना बस्थ्यौँ हामी, कान्छो छोरा मोहित र म । जेठो छोरा त्रिलोक परिवारसहित अमेरिकामै बस्छ । कान्छोले पनि आफ्नो व्यवसाय सुरु गरेकाले घरमा आउने÷जाने टुंगो हँुदैन उसको । म एक्लो ज्यान, त्यो घरमा केवल विरह मात्रै पाउँथेँ । घर पस्यो कि तनाव हुन्थ्यो । आँसु निरन्तर झरिरहन्थ्यो । भित्तामा टाँसिएका फोटोहरुले मन रुवाउँथे ।

धेरै साथीले बारम्बार आफ्नो घरमा बोलाउँथे । तर, जो पायो त्यहीको घरमा जान पनि मन नलाग्ने । कुनै रमाइलो जमघटमा गएँ भने त्यहाँको माहोलै बदलिन्थ्यो । मलाई देखेपछि सबै गम्भीर बन्थे । जसले गर्दा मलाई नमीठो अनुभूति हुन्थ्यो । यसबीचमा अत्यन्त नजिकका साथीहरुकहाँ मेरा धेरै रात बिते । कहिले पेप्सीकोलामा बस्ने पेट्रोल व्यवसायी मुकुन्द अधिकारीकहाँ जान्थेँ । मेरो प्रोफेसनका साथीहरु राजु ध्वजु, गौरीशंकर ध्वजु, मीराका भाइलगायतका घरमा बारम्बार गएँ । तर, दिनैपिच्छे साथीभाइकहाँ चहारेर साध्य थिएन ।

राति हत्पती निदाउन गाह्रो हुन्थ्यो । यो समस्याबारे मैले मनोचिकित्सकसित सल्लाह पनि मागेँ । उनीहरुले मलाई करिब दुई वर्षसम्म यस्तो समस्या रहने र त्यसपछि विस्तारै कम हुने बताएका छन् । डाक्टरको सल्लाहअनुसार राति निद्रा नलाग्दा स्लिपिङ ट्याब्लेट प्रयोग गर्छु ।

घरका प्रायः काम आफैँ गर्नुपथ्यो । एकजना काम गर्न केटा भए पनि उसको भर हुन्थेन । छोरालाई पनि काम लगाउन मन नलाग्ने । सधँैजसो भात आफैँ पकाउँथेँ । लुगा आफैँ धुन्थेँ । एउटा लोग्ने मान्छेले घरको काम गरेर बस्नु प्राकृतिक रुपले पनि कठिन हुँदो रहेछ । त्यसमाथि मजस्तो प्रोफेसनल मान्छेलाई घरमा भात पकाएर, कुचो लगाएर बस्नु कम्ती असहज थिएन । यसले मेरो बाहिर काममा असर गरिरहेको थियो ।

मेरो यही हाल देखेर सबैले मलाई अर्को बिहे गर्न सल्लाह दिन थाले । यो बाध्यात्मक पनि हँुदै आएको थियो । जीवनसाथीको अभाव त छुट्टै हो, तर घरमा धेरैजनाको परिवार छन् भने एक्लोपना कम हुन्छ । मेरो हकमा परिवारमा दुईजना मात्र भएकाले पनि ठूलो शून्यता थियो । भित्ताहरुसित मनको बह पोख्न सकिन्नथ्यो । यस्तो अवस्थामा छोराहरुले, आफन्तले, मदनदाइले र अन्य साथीभाइले अर्को बिहे गर्न लगातार आग्रह गरे । हुँदाहुँदा मलाई चिन्ने तर मैले नचिनेकाहरुले पनि त्यही कुरा गर्न थाले । तरकारी किन्न जाँदा पसलेले पनि यो काम तपाईको होइन भनेर बिहे गर्न सल्लाह दिने अवस्था आयो । म सोच्न बाध्य भएँ ।

नेपाली समाजमा श्रीमती बितेपछि ९९ प्रतिशत पुरुषले अर्को बिहे गर्छन् । तर, महिलाको हकमा उल्टो हुन्छ । ९९ प्रतिशत महिलाले श्रीमान् बितेपछि अर्को बिहे गर्न सक्दैनन् । सामाजिक मान्यताहरुले महिलालाई बेरेर राख्छन् तर पुरुष फुक्का हुन्छन् । अन्ततः म ९९ प्रतिशत पुरुषभित्र परेँ ।

चार महिनाजति अगाडि बुटवलकी रमिला पाठकको कुरा आयो । उनी ११ वर्षअघि नै आफ्नो श्रीमान् गुमाएर माइतीमा बस्दै आएकी रहिछन् । उनको छोरा मेरा छोराको स्कुलका क्लासमेट समेत रहेछन् । हामी दुईजनाको कुरा मिल्नसक्ने अवस्था देखेर आफन्तले बिहेको प्रस्ताव ल्याएका थिए । त्यसमा छोराहरुको पनि पूर्णसमर्थन रह्यो । म उनलाई भेट्न राजी भएँ ।

पहिलोचोटि बालुवाटारस्थित उनका माइती बस्ने घरमै गएर भेटेँ । सामान्य कुराकानी भयो । मलाई उनी राम्री लागिन् । उनले पनि मलाई मन पराइछन् । तर, बिहेकै कुराचाहिँ भएन । त्यसपछि हाम्रो लगातार भेट हुन थाल्यो । यसबीचमा हामीले १०–१५ पटक भेट्यौँ होला । कहिले म उनको घर जान्थेँ, कहिले उनी मेरो अफिसमा आउँथिन् । म पब्लिक फिगर भएकाले सार्वजनिक स्थानमा भेट्न भने अप्ठ्यारो हुन्थ्यो । भेटमा व्यावहारिक कुराकानी बढी हुन्थे । एक–अर्कालाई राम्रोसित बुझेपछि हामी बिहे गर्ने टुंगोमा पुग्यौँ ।

बिहीबार मैले अत्यन्त सीमित व्यक्तिलाई लगेको थिएँ, वैवाहिक कार्यक्रममा । त्यसमा केही साथी र आफन्त थिए । म साँच्चै भावुक भएको थिएँ जन्ती लिएर जाँदा । अत्यन्त छोटो औपचारिकतामा बिहे सकियो । करिब १५ मिनेटको मात्र कार्यक्रम भयो । केटीतर्फ पनि परिवारका सदस्य मात्र थिए । बिहेको औपचारिकतापछि डिनर गरेर करिब एक घन्टामा हामी फर्कियौँ । घरमा स्वागत गर्न छोरा मोहित र मीराका भाइ–बुहारी बसेका थिए । जाँदा नमीठो अनुभूति भइरहेको थियो भने फर्किंदा अलिकति हलुका महसुस गरेँ । घरको माहोलमा पनि केही थोरबहुत रौनकता थपियो । अमेरिकामा रहेको छोरालाई फोन गरेँ । मदन दाइले बैंककबाट फोन गरेर बधाई दिनुभयो ।

समयले बाध्य बनाएपछि मानिस जस्तोसुकै परिस्थितिका लागि पनि तयार रहन्छ । आर्मीमा भर्ना भएको मान्छे गोली खान तयार हुनुपर्छ र हुन्छ । त्यस्तै मलाई पनि परिस्थितिले बाध्य बनाएको थियो, नयाँ सम्बन्ध गाँस्न । मैले रमिलाभन्दा मिल्दो जीवनसाथी अर्को खोज्न सक्दिनथेँ । उनी पनि मजस्तै एक्लो जीवन बिताइरहेकी भएकीले हाम्रो भावना मिल्छ । श्रीमान्को अभावमा एक्लैले छोरालाई हुर्काएर सक्षम बनाएकी छन्, दुःख बुझेकी मान्छे हुन्, त्यसले मलाई प्रभाव पा¥यो । मैले चाहेको भए अविवाहित केटीसित पनि बिहे गर्नसक्थेँ होला । तर, त्यो न्यायोचित हुन्नथ्यो । मीराको वियोगले लागेको घाउ शान्त हुन त त्यति सजिलो छैन । वास्तवमै उनीसित मैले कुनै गुनासोरहित २७ वर्ष गुजारेको थिएँ । यति लामो अवधिमा हामीबीच कहिल्यै गम्भीर मनमुटाव भएन, सामान्य घुर्कीबाहेक । म सबैभन्दा बढी उनको मिठासपूर्ण आवाज सम्झिन्छु । उनका आवाज क्यासेट–सिडीमा अझै सुरक्षित छन् तर उनी छैनन् । टाउको फुटाए पनि अब उनलाई फेरि पाउन सक्ने छैन । मीरामा रहेको विशेष गुण थियो, उनको कोमलता । उनी फूलजस्तै कोमल थिइन् । म केही पनि नभएको, शून्यबाट प्रगति गरेको मान्छे, यो प्रगतिलाई उनले नै संरक्षण गरिन् । उपलब्धिलाई संरक्षण गर्न सक्ने गुण थियो उनमा । उनलाई भुल्ने त म कल्पना पनि गर्न सक्दिनँ ।

यद्यपि, अब मेरो जीवनमा रमिला आएकी छन् । आफ्नो घरपरिवार त्यागेर मेरो भरमा आएकी उनको मैले ख्याल राख्नुपर्छ । मीराका यादहरुले उनी र मेरो दाम्पत्य जीवनमा असर नगरोस् भन्नेमा म सचेत हुनुपर्छ । उनको पीडा पनि उस्तै भएकाले पक्कै सजिलो होला । छोराहरुलाई आमा गुमाएको चोट भुलाउन त लामो समय लाग्ला । उनीहरुले बुबालाई एक्लोपन महसुस नहोस् भनेर विवाहको सल्लाह दिएका हुन् । दुवै छोराले यो विवाहलाई सहज रुपमा ग्रहण गरेका छन् । रमिलाबाट उनीहरुलाई आमाको अभाव केही हदसम्म भए पनि पूर्ति हुन सक्ला ।

मेरो जीवनको उत्तराद्र्ध बाँकी छ । अझै १५ वर्ष आफ्नो पेसामा सक्रिय रहन सक्छु होला । सिर्जनशीलता कम हुन सक्छ तर रमिलाको आगमनपछि पहिलेजस्तै सक्रिय भएर काममा फर्कने विचार लिएको छु । मेरो बिहेलाई सबैले सकारात्मक रुपमा लिइदिनुभएको छ, मेरो सेन्टिमेन्ट बुझिदिनुभएको छ । फेसबुकमा सयौँले शुभकामना दिनुभएको छ । मिडियाले पनि राम्रो रुपमा लेखेका छन् । यसबाट मलाई आफूले जे गरेँ ठिकै गरेको रहेछु भन्ने आत्मबल मिलेको छ । अरुले नराम्रो सोचेका भए म कमजोर हुन सक्थेँ । म सबैप्रति आभारी छु ।

प्रस्तुति ः चिरञ्जीवी पौडेल (सौर्य)

1
'

Comments

  1. Sharada Pathak says:

    अब यो बिहेलाई त्यति धेरै स्पस्टिकरण दिनु पर्ने जस्तो लाग्दैन, नेपाली जनता अवस्था राम्रो संग बुज्दछ्न | अब बढी भयो भने नया बिहेलाई असर पर्न सक्छ |

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: