‘हाम्रो जित भएमा मुलुकमा दिगो विकासको सुरुवात हुनेछ’

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

 

कृष्णकुमार बैद्य,प्रतिनीधि सभा सदस्य

काभ्रे क्षेत्र नं. २ उम्मेदवार

बनेपा वकुटोल वडा नं. ५ मा जन्मनुभएका कृष्णकुमार वैद्य २०३४ सालबाट राजनीतिमा लाग्नुभएको हो । २०६६ सालबाट नेपाल मजदुर किसान पार्टीको अध्यक्षको जिम्मेवारी समाल्दै केन्द्रिय सदस्यसमेत हुनुभएको छ । विशुद्ध जनताको सेवा गर्ने व्यक्ति मात्रै राजनैतिककर्मी र राजनेता बन्नसक्ने धारणा राख्नुहुने जिल्लाको पार्टी अध्यक्ष वैद्य जनताको प्रजातन्त्र, समाजवाद हुदैँ साम्यवादी व्यवस्थाले मात्र न्यायमुलक समाजको स्थापना हुने धारणा राख्नुहुन्छ । आर्थिक समानता, सामाजिक न्याय र व्यक्तित्व विकासमा समान अवसरको निम्ती नेपाल मजदुर किसान पार्टी जनताको लागि लडिरहेको बताउनुहुन्छ । आगामी मंसिर २१ गते हुने निर्वाचनमा काभ्रे क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका कृष्णकुमार वैद्यसँग समसामयिक राजनैतिक घटनाक्रम र चुनावी तयारीको बारेमा रेडियो एबिसी एफ.एम ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

० राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?

२०३४ सालबाट राजनीतिमा लागेको हँु । नेपाल मजदुर किसान पार्टीको सच्चा सिपाहीको रुपमा कार्य गर्दै आएको छु । समाजमा भएका विकृति विसंगतीको अन्त्य समुन्नत समाज निर्माणको लागि म निरन्तर लागिपर्ने छु भन्न चाहन्छु ।

० नेपाल मजदुर किसान पार्टीले देशको कति निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ, यहाँहरुको चुनावी मुद्धाहरु चाँहि के हो ? निर्वाचनको अभियान कसरी सञ्चालन गरि अघि बढ्दै हुनुहुन्छ ?

३७ जिल्लामा हाम्रो पार्टीको तर्फबाट उम्मेदवारी दिएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष उम्मेदवार ३४ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका छन् । निर्वाचन भनेको घोषणापत्रको लडाइँ पनि हो । जनताको जनजिविकाको सवालमा र जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सन्दर्भलाई नेपाल मजदुर किसान पार्टीले निकै महत्वका साथ हेर्छ र जीवन पद्धतीमा सकारात्मक सुधार ल्याउने कार्य गर्दै अघि बढ्छ । उत्पादनका मुख्य मुख्य स्रोत साधनलाई सेवा र सामाजिकीकरण गराउन, देशको आन्तरिक उत्पादन बढाउन वर्षेनी अर्वौ व्यापार घाटा घटाउने, देशभक्त उद्योगी व्यापारीको पक्षमा आवश्यक ऐन कानुन बनाउन, विका निर्माणमा गुणस्तरहिन ढिलासुस्ती र अनियमितता काम गर्नेहरुलाई तत्काल जेलसजाय लगायतको कारबाही गराउन, पेट्रोलियम पदार्थ एकै देशबाट मात्र खरिद नगराइ विभिन्न देशबाट खरिद गर्ने व्यवस्था मिलाउन, निरंकुश अलोकतान्त्रिक प्रतिगामी, दुइदलीय तानाशाही व्यवस्था ल्याउने प्रपञ्च थ्रेसहोल्ह खारेज गराउन भोज भतेर खुवाउने, सामान र पैसा बाँड्ने लगायत निर्वाचन आचारसंहिता उल्लंघन गर्ने दलहरुलाई खारेज गराउने कानुन ल्याउन महंगी भ्रष्टाचार, कमीशनतन्त्र नियन्त्रण गराउन, नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका संशोधनवाद र अवसरवादलाई ………. परास्त गर्ने, नेपाल भारत खुल्ला सिमा नियमित गराइ दुइ देशको हित गर्ने आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसरको निम्ति आवश्यक कानुन बनाउन र शिक्षा स्वास्थ्य निःशुल्क र स्वदेशमा स्वरोजगारीको प्रबन्ध मिलाउने कार्य गर्ने हाम्रो प्रतिबद्धतापत्र र घोषणापत्र जारी गरि हाम्रो पार्टी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार जनताको घरदैलो अभियानमा लागि पर्नुभएको छ । जनताको चेतनास्तरमा वृद्धि गरि समुन्नत समाजको निर्माण गरि समग्र देशको विकास गर्नको लागि सक्षम उम्मेदवार छनौट गरेका छौँ । सबै उम्मेदवारलाई मत दिनुभयो भने सबै जनताको जित हुनेछ । मुलुकमा दिगो विकासको सुरुवात हुनेछ भन्न चाहन्छु ।

० मजदुर किसान पार्टी साँघुरो घेराभन्दा बाहिर किन आउन सकेन संगठन विस्तार बाहिर किन आउन सकेन, संगठन विस्तार कहिले हुन्छ भक्तपुर र काभ्रे जिल्लामाभन्दा कतैपनि प्रभाव देखिदैन ?

नेपाल मजदुर किसान पार्टी देश र जनताको सेवा गर्न सुखी र समृद्ध बनाउन स्थापित भएको पार्टी हो । भक्तपुर र काभ्रे जिल्लामा मात्र नभइ पश्चिमको कर्णाली भेरी अञ्चलका जिल्लाहरुमा हाम्रो पार्टीको संगठन विस्तार छ । टाउको गन्तीको संख्यालाई मात्र दलको मान्यता दिने हैन । पार्टीहरुले देश र जनताको हितमा के कार्य ग¥यो भन्ने प्रमुख हुन् । सकारात्मक सोचका साथ जनताहरुको हरेक खालका विकासका समस्याहरुलाई सम्बोधन गर्न सक्ने विदेशी हस्तक्षेपलाई रोक्ने देशलाई आत्मनिर्भरको बाटोमा अघि बढाउन सक्नुपर्छ । अहिले ठुला भनिएका पार्टीहरु विदेशका दलाली बन्ने भारतको सरकारले जे भन्यो त्यही गर्ने गरेर मुलुकलाई बर्बाद बनाउन लागि परेका छन् । त्यसको खबरदारी गर्ने झुटको खेती गर्नेहरुलाई तह लगाउने पार्टी भनेकै नेपाल मजदुर किसान पार्टी हो ।

० नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमा भारतीय दलाल र भ्रष्टाचारीहरुलाई हराऔँ, नेपाल मजदुर किसान पार्टीलाई जिताउन भन्नुभएको छ, कुन पार्टीलाई इङ्गित गर्न खोज्नु भएको हो ?

घाम झैँ छर्लङ्ग छ । अहिलेसम्म शासनसत्ता सञ्चालन गर्ने दलहरु नै हुन । ति दलभि राष्ट्रको हित चिताउने हातले गन्न सकिने नेता मात्र छन्, अरु सबै भ्रष्टहरु नै धेरै छन् । वामगठबन्धन लोकतान्त्रिक गठबन्धन भन्दै जनतालई झुक्याउँदै भागशान्ति जय नेपाल गर्नका लािग मिलेका हुन् राष्ट्रको हितको लागि हैन । व्यक्तिगत स्वार्थ आफ्नो नातागोता र कार्यकर्तालाई मात्र धनि बनाउने कार्य गरेको छ । संसद भवनमा देब्रेतिर बस्नेलाई वामपन्थी दक्षिणतिर बस्नेलाई दक्षिणपन्थि भनिन्छ । यी कम्युनिष्ट वामपन्थी हैनन् सामन्ती र पुँजीवादीहरुको पक्षपोषण गर्नेहरु हुन् । लोकतन्त्र राष्ट्रियताको मुद्धामा कहिल्यै जनताको हित गरेका छैनन् । यी ठुला भनिएका दलहरु सत्ता चलाउने भ्रष्टाचार गर्ने जनतालाई अधिक ऋण बोकाउने काम गरेका छन् । भारतले नेपाललाई नाकाबन्दी ग¥यो । नेपाली कांग्रेस एमाले माओवादी कसैले विरोध गरेनन् । भनेपछि यी दल कसरी राष्ट्रवादी हुन सक्छन् । रातो लुगा लगायउँदैमा रातो झण्डा हल्लाउँदै हिड्दैमा कम्युनिष्ट हुदैन । मुलुकको मुहार फेर्न सक्ने राम्रो सोच विचार भएको देशको समग्र विकास गर्न सक्ने पार्टी छैनन् । विकास प्रेमी राष्ट्रप्रेमी भनेकै नेपाल मजदुर किसान पार्टी हो ।

० अन्त्यमा के भन्न चाहनुहुन्छ ?

काभ्रे जिल्लाका आम मतदातालाई नेपाल मजदुर किसान पार्टीको मादल चिन्हमा छाप लगाइ प्रत्यक्ष तर्फको उम्मेदवारहरु काभ्रे क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य कृष्णबहादुर तामाङ, काभ्रे क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार वैद्य, प्रदेशसभा सदस्यहरु काभ्रे क्षेत्र नं. १ को क को विलबहादुर विक, काभ्रे क्षेत्र नं. १ को ख का चण्डिका श्रेष्ठ. काभ्रे क्षेत्र नं. २ को क धनबहादुर तामाङ, काभ्रे क्षेत्र नं. २ को ख हरिप्रसाद मानन्धर र समानुपातिक उम्मेदवारहरु प्रदेश नं. ३ प्रदेश सभाका कमला खरेल, पार्वती गहतराज, नानीमैया तामाङ, रञ्जिता रम्तेललाई विजयी गराउन आग्रह गर्न चाहन्छु । जनताको प्रजातन्त्र, समाजवाद र साम्यवादको लागि संघर्ष गर्ने पार्टी हो नेपाल मजदुर किसान पार्टी । सबै जनताको हित चिताउने मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने पार्टीका उम्मेदवारहरुलाई विजयी गराउनुहुन सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: