हामी कस्ता मान्छे ?

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

० खेमराज नेपाल
हामी खान पनि जान्दैनौं । भान्सामा काम गर्नेले घन्टौं लगाएर अलग अलग भात, दाल, विभिन्न तरकारीको परिकार बनाएर अलग अलग नै थाल, कचौरा, रिकापीहरुमा दिएको हुन्छ । हामी चाहिँ स्वाट्ट एकै ठाउँमा खन्याएर मुछेर गाम्मगुम्म पार्छौं । खान पनि पेट कस्सियो भनेर इजार वा पेटी खुकुल्याएर खाने चलन छ । सबै एकै ठाउँमा मुछ्ने भए एकै भाँडोमा पकाउन लगाउनु नि ? समय र सामानको बचत त हुन्थ्यो । चिनियाँ परम्परामा दुई÷तीन घन्टा लगाएर पकाएको परिकार पाँच÷सात मिनेटमा गाम्मगुम्म पार्नुभयो भने पकाउनेले नै गाली गर्छ । जसरी पकाउनमा समय लाग्यो, त्यसरी नै अलग अलग परिकारको स्वाद लिएर खानुपर्छ । तर हामी चाहिँ खाने होइन, खन्याउने गर्छौं ।
हाम्रो आदत खराब छ । सभा÷बैठकमा बसेर कुरा गर्दा चोर औंलाले नाक कोट्याउँछौं, कान्छी औंलाले कानको कानेगुजी निकाल्छौं, ख्वाक्क खोक्छौं र खकार आए निल्छौं वा झ्यालबाट बाहिर प्याच्च थुक्छौं, नाक नछोपी छ्यूँ गर्छौं । ‘हो’ भनेर तलमाथि टाउको हल्लाउनुपर्नेमा ‘होइन’ को पारामा दायाँबायाँ टाउको हल्लाउँछौं । राम्रो लागे एक आँखा झिम्क्याउँछौं । औंलाले देखाएर कुरा गर्छौं, सुपारी टोक्दै वा खैनी खाँदै वा पान खाँदै वा झुसिलो डकार्दै कुरा गर्छौं । मुख खोलेर चपाउँछौं, खाँदा सप्य्राङसुप्रुङ आवाज निकाल्छौं । थुक लगाएर किताबको पाना पल्टाउँछौं, नोट गन्दा पनि थुक लगाउँछौं । मन नपरेको मानिसलाई अरुकै अगाडि गाली गर्छौं । ढल थुनिने गरी प्लाष्टिक, इँटा, बालुवा, फलफूलका बोक्रा, चुइंगम, कसिंगर बाटामा फाल्छौं । घरको फोहोरमैला बढारेर वा पखालेर बाटामा हालिदिन्छौं । दह्राखराबीचको वादविवादमा परियो भने दुवैतिर दोधारे कुराले चोसोमोसो मिलाएर ठिक्क पार्ने र दम लुकाएर सुइँकुच्चा ठोक्ने गर्छौं । नराम्रै गरे पनि आफ्नो काम वा कुरालाई माथि पार्नु, अप्ठ्याराबाट भाग्नु, जिम्मेवारीबाट पन्छिनु, दुःख परेकाबाट तर्किनु हाम्रो विशेषता हो । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्दैनौं । यी माथि भनिएका आदत, बानी, व्यहोरा, चालचलन अधिकांश घरमा विद्यमान छन् र सार्वजनिक ठाउँमा प्रतिबिम्बित भइरहेका हुन्छन् ।
प्रत्येक घरबाट हेपिने, दलिने, जोतिने प्रवृत्ति एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको छ । हामीले हाम्रा साना केटाकेटीलाई सहज र ठीक हुने गरी केही पनि बनाइदिँदैनौं । घरभित्र सुत्ने खाट होस् या बस्ने टेबुल कुर्सी हुन्, खोपादराज हुन् वा ओढ्ने ओछ्याउनेहरु हुन्, खाने थाल, ग्लास, कचौरा हुन् वा सजिसजावटका सामान हुन् – ठूला मान्छेले भोगचलन वा प्रयोग गर्ने गरी बनाउँछौं, किन्छौं । केटाकेटीलाई सानैदेखि त्यस्ता कुराहरुको प्रयोग गर्न संघर्षमा होमिदिन्छौं । विचराले संघर्ष गर्दै जाँदा कति बिगार्छ, भाँच्छ, फुटाउँछ, मैलाउँछ, च्यात्छ, अझ ऊ आफै लडेर चोटपटक समेत लगाउँछ । अनि यसैलाई सक्दो गाली गर्छौं, गाला चड्काउँछौं, कान उखेल्छौं, छडी लगाउँछौं । कति बच्चाले त यस्तै कसुरमा शौचालयमा थुनिनुपर्छ । नील डाम बस्ने गरी कुटाइ खानुपर्छ । यसरी नजानिँदो गरी केटाकेटीलाई आमाबाबु वा ठूलाबडासँग सुरुदेखि नै रीस उठाउने, रीस प्रकट गर्ने, निराश हुने वा प्रतिवाद गर्ने बनाउँछौं । त्यसैले आमाबाबु वा घरका ठूला मान्छे कतै चिप्लिए, ठोक्किए वा लडे भने त्यो देखेर केटाकेटीहरु मरीमरी हाँस्छन् । त्यस्तो दृश्यले अनायासै उनीहरुले बदला लिएको ठान्छन् ।
अर्काको दोष र अर्घेल्याई खोतल्न हामी खप्पिस छौं । अर्को कुनै व्यक्तिलाई पात्र बनाएर उसका बारेमा घन्टौं कुरा गर्नु हाम्रो बानी परिसकेको छ । अर्कोले यसो पो भन्यो भनेर कुरा सुनाइहाल्यो भने त्यसबाट बाह्रसत्ताइस कुरा बनाउँछौं, कुरा काट्छौं । हो होइभन भनेर उसैलाई सोध्दैनौं । विना सोच प्याट्ट बोल्ने हाम्रो बानी छ । झुटो बोल्यो अनि झुट छोप्न अरु बनावटी कुरा ग¥यो । अर्काको जमीनको साँध मिच्दा, नापजोखमा अर्कालाई अलिकता ठग्दा, झुक्याएर अरुलाई कुनै कुरामा फसाउँदा, बकमफुसे कुराले अर्कालाई हो भन्ने पार्दा आफूलाई अक्कल भएको बाठो सम्झन्छौं । समाजमा आफ्नै हैकम छ र अर्को छिमेकी आफू बराबर भयो वा उछिन्न खोज्यो भने उसको डाह गर्छौं, खबरदारी गर्छौं र उसका परिवारले गरेका कुराको खिसिटिउरी गर्दै तल पार्छौं ।
घरको राखनधरन झन् हाँसउठ्दो हुन्छ । कुनै कुरा थोत्रो भयो, बिग्रियो, काम लागेन भने बनाउनु वा फाल्नुको सट्टा एउटा कुनामा वा दराजमा थुपारेर राख्छौं । पुराना लुगा त्यसैगरी राखेको हुन्छ । चारैतिर माकुराको जालो, धुलो, फोहोरमैला भरिभराउ हुन्छ । घरको कुनाकाप्चादेखि सिलिङ, फ्यान, बिजुलीको बल्ब, स्वीच जम्मै कालै हुन्छन् । ल्याङफ्याङ पारेर झुण्ड्याइएका हुन्छन् झत्तासत्ता । शहरका घरभित्र ट्वाइलेट छ, परै गन्हाउँछन् । गाउँघरमा रछ्यान र बाटो दुवै गन्हाउँछ । यी माथि विवेचना गरिएका कुराहरु सरकारी कार्यालयको भौतिक स्थिति, कार्यालयभित्र गरिने काम कारवाही र कर्मचारीको बानी व्यहोरासम्म प्रतिबिम्बित भइरहेको पाइन्छ । (प्रकाशोन्मुख पुस्तक ‘समाज, संस्कर र शासन’बाट)

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: