हरेक मान्छे स्वार्थी, कमाउ र मोजमस्ती गर्ने भएका छन्

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

– धर्मचन्द्र मानन्धर,  प्रोप्राइटर, सूर्यचन्द्र फर्निचर उद्योग, बनेपा

 बनेपामा २०१२ साल फागुन १२ गते माता हिरावेती, पिता न्हुच्छे कर्मी मानन्धरका छोरा धर्मचन्द्र मानन्धरको जन्म भएको हो । २०२० सालदेखि सिकर्मी काम सुरु गरी २०२८ सालदेखि व्यवसायिक रुपमा फर्निचर व्यवसाय संचालन गर्नुभएको हो । रेडियो एबीसी एफ. ८९.८ मेगाहर्जद्वारा हरेक शनिबार साँझ ७ः३० बजे प्रसारण हुने व्यवसायिक बहस कार्यक्रममा फर्निचरको उपयोगिता, फर्निचर सामग्री सहज र सरल किसिमबाट आम नागरिकले कसरी प्राप्त गर्न सक्छन् भन्ने सन्दर्भमा समसामयिक विषयमा केन्द्रीत रही प्रोपाइटर धर्मचन्द्र मानन्धरसँग लिएको अन्तर्वार्ताको मुख्य अंश काभ्रे टाइम्समा प्रस्तुत गरिएको छ ।

० तपाईं त फर्निचर उद्योग व्यवसायीमा पुरानोमा पर्नुहुन्छ । यतिबेला आफूलाई अरुहरुले टपिसके जस्तो लाग्दैन ?

मलाई त्यस्तो लाग्दैन । २०२८ सालदेखि अनवरत रुपमा फर्निचर व्यवसायमा लागेको यस सूर्यचन्द्र फर्निचर उद्योगले ग्राहकको इच्छा, चाहना अनुरुपको उच्च गुणस्तरको किराले नखाने सिजनिड गरेको उच्च प्रविधिको फर्निचर सामग्री र सामान्य व्यक्तिलाई आवश्यक पर्ने फर्निचर सरल र सहज ढंगबाट उपलब्ध गराई विश्वास जित्न सकेको छ ।

० फर्निचर उद्योगमा काठको व्यवस्थापन कहाँबाट गर्नुहुन्छ ?

विगतमा नेपाल सरकारले सुपथ मूल्यमा उच्चस्तरको काठ उपलब्ध गराउँदथियो । हाल त्यस्तो फर्निचरको लागि आवश्यक पर्ने काठ उपलब्ध गराएको अवस्था छैन । अहिले धेरै महँगोमा काठदेखि आवश्यक पर्ने कच्चा पदार्थ व्यवसायी आफैले व्यवस्था मिलाउनुपर्छ ।

० फर्निचर व्यवसायमा कहिलेदेखि लाग्नुभएको । सूर्यचन्द्र फर्निचर उद्योगको बारेमा बताइदिनुहोस् न ।

आफू ८ वर्ष प्रवेश गरेदेखि नै आफ्नो बाबुसँग रञ्जा तान्दै फर्निचर निर्माण कार्य गर्दै आजको अवस्थामा आएको हो । औपचारिक रुपमा ०२८ सालदेखि व्यवसायिक रुपमा व्यवसाय संचालन गरिएको हो । अरनिको हाइवेको पुण्यमाता खोलामा पुल निर्माणमा फर्मा राख्ने कार्य समेत आफूहरुले गरेको बताउनुहुन्छ । उहाँ २०४५ मा २४ जना मजदुरले कार्य गर्दै १ सय ५० जना कामदारलाई काम दिन सफल भएको भए पनि हाल देशको राजनीतिक अस्थिरता, लोडसेडिङको समस्याका कारण ५० जना मजदूरले निरन्तर काम गरेका छन् ।

० हाल उद्योगधन्दामा देखिएको मुख्य चुनौतीहरु के के रहेका छन् ?

देश संक्रमणकालमा गुज्रिरहेको छ । राजनीतिक अस्थिरता छ । कुनै नीति नियम छैन । जसको शक्ति उसको भक्ति भन्ने उखान सावित भएको छ । हरेक मानिस स्वार्थी भएको छ । आफै मात्र कमाउँ, आफै मात्र मोजमस्ती गरौं भन्ने मनसाय रहेको छ । कुनै पनि सामग्रीको बजारमूल्य मनोपोली ढंगबाट लिने कार्य भएको छ । सरकारको कुनै नियन्त्रण छैन । देशमा दैनिक १४ घण्टासम्म लोडसेडिङको मार खेप्नु परेको छ । दक्ष जनशक्तिको कमी छ । भएका दक्ष जनशक्ति धमाधम विदेश पलायन भएका छन् । त्यसै कारण हाल जुनसुकै व्यवसाय गर्न पनि कठिन अवस्था छ ।

० सूर्यचन्द्र फर्निचर उद्योगले निर्माण गरेको फर्निचर सामग्री आकर्षक देखिन्छ तर बढी टिकाउ हुँदैन भनिन्छ नि ?

हाम्रो फर्निचर उद्योगले उत्पादन गरेको फर्निचर सामग्री आकर्षक र गुणस्तरीय छँदैछ, बढी टिकाउ पनि छ । आफू भनेर आउने जोसुकै ग्राहकलाई कुन सामग्री कस्तो छ सोको बारेमा स्पष्ट जानकारी दिएर फर्निचर सामग्री विक्री वितरण गर्ने गरिएको छ । प्रतिस्पर्धा बजारभन्दा फरक र उच्च क्वालिटीको सामग्री उपलब्ध गराउँदै आएको छ ।

० फर्निचर किनेको एक वर्ष नपुग्दै किराले खाएर खत्तम भएको उपभोक्ताको गुनासो छ नि ? सिजनिङ गरिएको काठ प्रयोग गर्नुभएको छैन ?

त्यस्तो कदापी हुँदैन । हामीकहाँबाट लगेको फर्निचर सामग्री ग्यारेन्टी गरेर पठाएको हुन्छौं । विगतमा अस्ट्रेलियन प्रोजेक्टबाट विशेषज्ञको सहयोग पु¥याएको थियो । ३०% अनुदान सहयोग दिने गरेको थियो । काटेको काठ ४५ डिग्री सेन्टिग्रेडसम्म सनलाइटको तापक्रम काठको पानी निकालेर काठको अवस्था ठीक छ कि छैन भनी चेक गर्ने सिसाको प्रयोग समेत गरेर फर्निचर उत्पादन गर्ने गरेको छ । काठको (महेश्वर) पानी सोसेर हटाइ सिजनिङ गरिएको काठको फर्निचर उत्पादन गर्ने गरिएको छ । काटेको काठलाई छ महिनादेखि एक वर्षसम्म कि पानीमा वा घाममा र हावामा सुकाएर पनि काठ सिजनिङ गर्न सकिन्छ । पाकीसकेको काठ नेचुरल र उच्च प्रविधियुक्त फर्निचर उपलब्ध गराउने कार्य निरन्तर अगाडि बढाएको छ ।

० उद्योग गर्दा पहिलाभन्दा अहिले के सजिलो, के अप्ठ्याराहरु छन् ?

पहिले लोडसेडिङ भन्ने थाहै थिएन । पहिला सिकर्मी सहजै प्राप्त गर्न सकिन्थ्यो । अहिले दक्ष जनशक्तिको अभाव हुने गर्दछ ।

० उद्योग धन्दाको अलावा तपाईं के के गर्नुहुन्छ ?

विगतमा तेल मिलको काम गर्ने गरेको थिएँ । अहिले त्यस्तो केही छैन । फर्निचर व्यवसाय मात्र संचालन गरेर बसेको छु ।

० तपाईंको अनुभवले अब नेपालमा यस्तो उद्योगधन्दालाई सरकारले कस्तो किसिमको सहयोग पु¥याउनुपर्छ जस्तो लाग्छ ?

देशमा राजनीतिक अस्थिरता हुनु, शान्ति स्थापना नहुनु, चार वर्षभित्रमा संविधान निर्माण भएको छैन । सरकारले उद्योगधन्दा संचालनकर्तालाई केही सहयोग गर्छ जस्तो लाग्दैन । फर्निचर निर्माण गर्ने काठ सुपथ मूल्यमा उपलब्ध गराएको खण्डमा उपभोक्ताले सरल र सहज किसिमबाट फर्निचर प्राप्त गर्न सक्छन् ।

० १० जना भन्दा बढी मजदृुर काम गर्ने उद्योगधन्दामा कम्पनी ऐन अनुसार दर्ता हुनुपर्ने व्यवस्था छ । तपाईंको ५० जना मजदुर भए पनि कम्पनी रजिष्टारमा दर्ता गर्नुभएको रहनेछ नि ?

हाम्रो फर्निचर उद्योगमा काम गर्ने मजदुरलाई अन्य उद्योगभन्दा बढी तलब, पारिश्रमिक दिने गरिएको छ । सेवा सुविधा त्यही किसिमबाट दिएको छ । कम्पनी ऐन अनुसार दर्ता गरेपछि विभिन्न कर्मचारी संगठन खोलिने, काम नभए पनि तलब पारिश्रमिक दिनुपर्ने जस्ता कार्यले गर्दा उद्योगधन्दा संचालन गर्न कठिन भएको छ ।

० फर्निचर सामग्री अत्यधिक महँगो छन् । निम्नवर्गीयठ मानिसले उपयोग गर्न सकिने अवस्था छैन भनिन्छ नि ?

उद्योगधन्दामा प्रयोग हुने कच्चापदार्थ महँगो भएको छ । २८ वर्ष अघि १ केजी किला काँटाको रु. २।६० पर्दथ्यो । हाल १ सय १५ छ । प्लाइउड प्रतिस्क्वायर फिट रु. १।३९ पैसा प्राप्त गर्न सकिन्थ्यो । हाल बढेर ३५ रुपैया पुगेको छ । बजारमा फर्निचरको मागको बृद्धि हुनु, सहज ढंगबाट उपलब्ध गराउन नसक्नु जस्ता कार्यले गर्दा फर्निचर महँगो भएको हो ।

० भावी योजनाहरु के के छन् ?

भारत, चीन जस्ता मुलुकमा अत्याधुनिक फर्निचर मेशिन ल्याई उच्च गुणस्तरको फर्निचर उत्पादन गरेर सरल सुपथ मूल्यमा फर्निचर विक्री गर्ने लक्ष्य छ । बजारमा माग भए अनुरुपको विभिन्न मोडेलको ग्राहकको रोजाई अनुसार फर्निचर उत्पादन गर्ने ध्येय छ ।

० बजारको माग अनुसारको फर्निचर उपलब्ध गराउन सक्नुभएको छ ?

हाम्रा फर्निचरमा ३५ देखि ५० जना मिस्त्रीहरुले काम गर्दै आएका छन् । तर पनि ग्राहकको माग बमोजिमको फर्निचर उपलब्ध गर्न सकिएको छैन । कारण लोडसेडिङ पनि एक हो ।

० दैनिक रुपमा कति परिणामको फर्निचर उत्पादन गर्नुहुन्छ ?

ठ्याक्कै यति नै फर्निचर उत्पादन गर्न सकियो भन्ने अवस्था रहँदैन । कुनै एक व्यक्तिको घर निर्माणको लागि ४० जोर झ्यालढोका तयार गर्नुछ भने १० जना मिस्त्रीले ३ दिनदेखि एक हप्तासम्म पनि लगाउन सक्छन् । कस्तो किसिम र मोडेल डिजाइनको बनाउने हो त्यसमा भरपर्छ ।

० फर्निचर व्यवसाय संचालन आफूले काम गर्दाका अविस्मरणीय क्षण ?

आजभन्दा २० वर्ष अघि एउटा ग्राहकको घरको झ्यालढोकाको चौकोस ३ दिनभित्र जसरी पनि दिनुपर्ने थियो । ग्राहकप्रतिको विश्वास जित्न र सन्तुष्टि दिन आफूले ३ दिन, ३ रात सुत्दै नसुती निरन्तर मिस्त्री काम आफै गर्दै विहान, दिउँसो, बेलुका खाना र खाजा खाई कहीँ कतै नगई काम गरेर लागेको काम फत्ते गरी छाडेको क्षण सम्झन्छु । त्यसैले जो कोही मानिसले काम गर्दा पनि तन, मन र वचनले तल्लीन रही काम गरेर आफ्नो लक्ष्यमा पुग्न सकिन्छ ।

० अन्त्यमा के भन्नुहुन्छ ?

तपाईंहरुको संचार माध्यमले बैंक तथा वित्तीय क्षेत्र लगायत उद्योगधन्दा व्यवसायीहरुलाई स्थान दिएर आफ्नो फर्निचर व्यवसाय र विचार प्रकट गर्न पाएकोमा धन्यवाद दिन चाहन्छु । संचार माध्यम जहिले पनि सत्यतथ्य कुराको पहिलो आँखा बन्न सक्नुपर्छ ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: