सोचेजस्तो सजिलो छैन जापानमा

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

-मानछिरिङ तामाङ

                समृद्ध मुलुकहरुको सूचीमा पर्ने एशियाली मुलुक जापान आर्थिक विकासमा मात्र नभई हरेक दृष्टिकोणबाट सम्पन्न मुलुक हो । दोस्रो विश्युद्धमा भएको विनाश र हालै गएको सुनामीपछि पनि त्यहाँका जनता विचलित नभई आफ्नो कर्ममा निरन्तरता दिन सक्नु नै जापानको सफलताको मुख्य कडीको रुपमा हेर्ने गरिन्छ ।

प्रशिक्षार्थी कामदार

सन् २००४ मा जिट्को र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता भएपछि नेपालबाट प्रशिक्षार्थी कामदार जापान लैजाने प्रक्रिया सुरु भएको हो र सन् २००८ मा जिट्कोले नेपाली मेनपावर कम्पनीहरुलाई पनि सूचीकृत ग¥यो । सन् २००३ देखि हालसम्म जम्मा १ सय ३७ प्रशिक्षार्थी कामदार जापान पुगेका छन् । जबकी नेपाली दूतावासले १ हजार ३४ जनाको प्रमाणिकरण गरी पठाइसकेको छ । सिलाई, कृषि, भवन निर्माण, प्लम्बर, स्काफफोल्डर, बेकरी लगायतका क्षेत्रमा ठूलो संख्यामा माग आए पनि जापान आउन नसक्नुमा भाषागत  ज्ञानको अभाव, अन्तर्वार्ताको पूर्वतयारी नहुनु र श्रम मन्त्रालयको अव्यवहारिक नीति नै बाधक रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष एलपी सावाँ लिम्बूको भनाई छ ।

खाडी मुलुक तथा मलेसियामा न्यून मासिक तलब र थ्रीडी काम गर्नुपर्ने अवस्था रहेका बेला जापानमा नेपाली प्रशिक्षार्थी कामदारको माग आएपछि वैदेशिक रोजगार क्षेत्र केही फराकिलो भए पनि विविध समस्याले गर्दा कामदार पठाउन नसक्नु ठूलो विडम्वना रहेको लिम्बू बताउँछन् ।

प्रशिक्षार्थी कामदारका रुपमा जापानमा विभिन्न कम्पनीहरुमा कार्यरत नेपालीहरु आफ्नो काम र कमाईप्रति सन्तुष्ट रहेको बताउँछन् । अझ त्यहाँ सिकिने सीप र दक्षताले भावी दिनमा मुलुककै लागि लगानी गर्न सकिने सम्भावना समेतन देखेका छन् उनीहरुले । समग्रमा नेपाल र जापानबीच सिधा हवाई सम्पर्क नहुनु, मेनपावरले सही ढंगले भाषा तालिम नदिनु, सरकारको सही नीति र नियम नहुनाले सोचे अनुरुप प्रशिक्षार्थी कामदार जापान पठाउन नसकिएको एनआरएन नागोगाडाका अध्यक्ष निमा लामा बताउँछन् ।

भाषा अध्ययन

झण्डै १५ हजार नेपाली रहेको जापानमा धेरै नेपालीहरुको सपनाले मृत्युवरण पनि गरेको छ । खासगरी विद्यार्थी बनेर जाने, पढ्ने र पैसा पनि कमाउने सपना बोकेर भाषाको ज्ञानविनानै जानेहरुको अवस्था निराशालाग्दो छ । अझ त्यसमा पनि नेपालीद्वारा नेपाली नै ठगिने प्रवृत्ति देख्दा नेपालीले जापानी सभ्यता सिक्ने होइन, जापानमा आफ्नै पाराको प्रवृत्ति छोड्ने अवस्था सृजना भएको छ । जापानमा पढ्ने र पैसा कमाउने दुवै सपना एकै पटक पूरा गर्ने सोच राखेर आउनेहरु समस्यामा पर्ने गरेको नेसाजका पूर्व अध्यक्ष सरोज कँडेल बताउँछन् । उनी भन्छन् –‘नेपाली विद्यार्थीले जब सोच्छ पैसा कमाउन आएको हुँ, पढ्न होइन भनेर त्यसपछि उसको दुर्निन सुरु हुन्छ । हरेक दिन कक्षामा उपस्थित हुनैपर्ने बाध्यकारी नियमका कारण विद्यार्थीले न त सोचे अनुरुप अध्ययन गर्न सक्छन् न त कमाउन । तैपनि भाषा कक्षाहरुमा नेपालीहरुको बाक्लो उपस्थिति देखिन्छ र यस्ता विद्यार्थीहरुको संख्या दिनदिनै बढिरहेको छ । साथै यस्ता विद्यार्थीहरुलाई लगेर काम पनि लगाइदिन्छु भन्ने नेपाली दलालहरुको चलखेल पनि उत्तिकै रहेको कँडेलले बताए ।

विगत १० वर्षदेखि टोकियोमा बस्दै आएका हवलचन्द्र लामा विद्यार्थीको बेग्लाबेग्लै वर्ग रहेको बताउँछन् । लामा भन्छन् –‘कमजोर वर्ग जापानमा भाषा सिकिरहेको र अनेकौं पीडा भोगिरहेको छ भने दोस्रो वर्ग पैसाका लागि गल्ती गरिरहेुको छ ।’ भाषा जानेपछि पनि विद्यार्थी उच्च शिक्षा अध्ययन नगरी कामको लोभमा व्यवसायिक कक्षामा पढिरहेका छन्, उनले भने – जसले गर्दा अध्ययन गर्न गएका विद्यार्थी तत्कालको फाइदा सोचेर भविष्य बिगारिरहेका छन् । जापानमा उच्च शिक्षा हासिल गरेर आफ्नो उचाई बढाउने तेस्रो वर्ग पनि रहेको लामाले बताए ।

कन्सल्टेन्सीलाई १२ लाख रुपैयासम्म बुझाएर गएका नेपाली विद्यार्थीहरुले कामको समेत पूर्वग्यारेन्टी भनी सम्झौता गरेका हुन्छन् । तर जापान पुगेपछि काम नपाई अलपत्र पर्नेको संख्या उल्लेख्य छ । टोकियो र नागोया शहरमा रहेका धेरै विद्यार्थीहरुले आफूहरु कन्सल्टेन्सीबाट ठगिएको गुनासो गरे । हप्तामा ४ घण्टा मात्र काम गर्न पाउने होस्टलमा भने जस्तो सुविधा नपाउने र बढ्दो महँगीले अध्ययनलाई निरन्तरता दिन निकै संघर्ष गर्नुपरेको दुःखद अनुभव उनीहरुले सुनाए ।

कुक भिषा

खाडी मुलुक साउदी अरब, कतार र युइएमा जस्तै नेपालीहरुलाई झुटो सम्झौता पत्र बनाई ठगी गर्ने गिरोह जापानमा पनि रहेको छ । यस्ता गिरोहले कुक भिासालाई ठगी खाने भाँडो बनाएका छन् । अहिले नेपालीको लगानीमा खोलिएका इन्डियन रेष्टुरेन्ट लगभग १२ सय भन्दा बढी छन् । कुक भिषामा जापानमा काम लगाइदिन्छु भनी ती गिरोहहरुले बेरोजगार नेपालीहरुलाई १५ लाखसम्म असुलेर अलपत्र पारेको नेपाल पत्रकार महासंघ जापानका सचिव हरि पोख्रेल बताउँछन् । उनी भन्छन् –‘धेरै रेष्टुरेन्टहरुले जापान आउनुपूर्व १८ मान (१ लाख ८० हजार रुपैया) मासिक तलबमा सम्झौता गरे पनि मासिक ५० हजार रुपैया मात्र दिने गरेका छन् ।

एउटा रेष्टुरेन्टबाट कम्तीमा ३ जना कुक ल्याउन पाउने प्रावधान अनुरुप ती रेष्टुरेन्ट संचालकहरुले ३ जना कुकबाटै सम्पूर्ण रेष्टुरेन्टको लगानी उठाउँछन् र ६ महिनासम्म रेष्टुरेन्ट खोलेपछि बन्द गरिदिन्छन् । जसका कारण सयकडा ५ को चर्को व्याज तिरेर १५ लाख बुझाई जापान आएका कुक एकातिर लगानी डुबाएर र अर्कोतिर जापान जस्तो कडा अध्यागमनका छड्के छलेर लुक्न बाध्य बनाइन्छन् ।

कुकको बारेमा सामान्य ज्ञान समेत नभएकाहरु पनि जापान आउन भनेपछि आँखा चिम्लेर हाम्फाल्ने प्रवृत्तिका कारण पनि यो समस्या सृजना भएको विगत २६ वर्षदेखि जापानमा रहेका रेष्टुरेन्ट व्यवसायी मोहन खत्रीको भनाई छ । उनी भन्छन् –‘सर्टिफिकेटको विश्वासमा सम्पूर्ण प्रक्रिया पूरा गरेर जापान ल्याइन्छ तर कुकलाई रोटी पनि पकाउन आउँदैन जसका कारण उनीहरुको लगानी पनि डुबेृको छ र व्यवसायी पनि घाटा सहन बाध्य छन् । विना सीप र ज्ञान रकमको खोलो बगाएर जापानमा कुक बन्न आउनेहरु पनि उत्तिकै दोषी रहेको खत्रीको भनाई छ ।

शरणार्थी

मुलुकमा राजनीतिक अस्थिरता छ भन्दै राजनीति पीडितको कागज बनाएर शरणार्थी बन्न जापान छिर्नेहरुको ओइरो विगत केही समययता बढेको छ । युरोप अमेरिकामा शरणार्थी बन्न छिर्नेहरको लर्को अहिले जापानतिर लम्किरहेको छ । यस्ता नेपाली वर्गले जापानमा नेपालको बदनाम गराइरहेको नेपाली दुवातास जापानका एचेटी अनिल लम्साल बताउँछतन् । जापानमा थरी थरीका शरणार्थी भएर बसेका र जापान सरकारसँग मुद्दा मामिला भएकाहरुको संख्या ठूलो रहेको लम्सालले बताए ।

हाल जापानमा १ सय ५३ शरणार्थी रहेको बताइए पनि दूतावाससँग भने एकीन तथ्यांक नरहेको उनले जानकारी दिए । नक्कली शरणार्थी बन्नेहरु अहिले पनि नेपालमा युद्ध जारी छ, डुर, त्रास कायमै छ भन्ने जस्ता नकारात्मक सन्देश फैलाइरहेका छन् । आफूलाई माओवादी पीडित भनेर शरणार्थी बन्न प्रमाण पेश गर्नेहरुलाई शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि माओवादीलाई बदनाम गराउन अनेकौं क्रियाकलाप गरिरहेका छन् । माओवादी सभासद्  शालिकराम जमरकट्टेल शरणार्थी बनाइदिएर कमिशन खाने गिरोहले मुलुक र सिँगो पार्टीलाई  नराम्रोसँग बदनाम बनाइरहेको बताउँदै त्यस्ता गिरोहलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राख्छन् ।

खाडी मुलुक र मलेसियापछि सबैभन्दा बढी रेमिटान्स मुलुकमा भित्र्याउने जापानमा रहेका नेपालीहरुको अर्थतन्त्रमा नै महत्वपूर्ण योगदान रहेको छ । रोजगारीका लागि गएकादेखि व्यवसायी र विद्यार्थीसम्मलेृ जापानबाट करोडौं रेमिटान्स भित्र्याएका छन् ।

युरोप, अमेरिकामा रहेका धेरैजसो नेपालीहरुले उतै सम्पत्ति जोड्ने र उतै जीवन बिताउने गरिरहेका बेला जापानमा रहेका नेपालीहरुले भने मुलुकै विकासका लागि पसिना बगाइरहेका छन् । तर जापान रोजगारी र अध्ययनकै नाममा दिन प्रतिदिन बढ््दो ठगीका घटना, सामाजिक संघसंस्थाबीचको आपसी विवादजस्ता कारणले ठूलो समस्या सिर्जना गरेको छ । नेपाल र नेपालीप्रति जापानीहरुको बढ्दो विश्वास कायम राख्न राज्य, नेपाली संघसंस्था र जापान सबै इमान्दार हुनु आवश्यक देखिन्छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: