साउने सोमबार र भगवान् शिव

प्रकाशित मिती : मङ्लबार, साउन ३०, २०६९ by   ·   Comments

साउनको सोमबारलाई भगवान् शिवको प्रिय बारको रुपमा लिइन्छ । त्यसैले सोमबार बिहानैदेखि साँझसम्म गल्ली, चोक, सडकदेखि शिवमन्दिरसम्म हिन्दू महिलाहरुको भीड देखिन्छ । साउने सोमबारमा व्रत बसी भगवान् शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र शुभ फल मिल्ने विश्वास कायमै छ । त्यसैले आफ्नो मनोकांक्षा पूरा गर्नेदेखि लिएर पति एवं परिवारको सुस्वास्थ्य, प्रगति एवं उन्नतिको कामना सहित हिन्दू महिलाहरु व्रत बस्ने अनि महादेवको पूजा आराधना गर्ने गर्छन् ।
साउन महिनामा चारैतिर हरियाली, स्वच्छ वातावरण एवं मनमोहक वातावरण हुन्छ । यसै दृश्यसँग मिल्दोजुल्दो गरी नेपाली नारीहरु पनि हरियो चुरा, हरियो रातो साडीचोलो, हरिया पहेँला पोते अनि हातमा मेहन्दी लगाएर शिव मन्दिरमा दर्शन गरिरहेका भेटिन्छन् । हरियो चुरा र पोतेको सम्बन्ध नेपाली हिन्दू संस्कृतिमा नभएता पनि संस्कृतिविद्हरु हरियो रंग प्रकृतिसँग मिल्ने भएकोले हरियो चुरा, पोतेको चलन भित्रिएको बताउँछन् । साउनमा हरियो चुरा, पोते मन मिल्ने साथीसँगीसँग बाँडेर लगाउँदा एक आपसमा माया प्रेम, सद्भाव र आत्मीयता बढ्ने बताइन्छ । हिजोआजका सोमबारको दिन महिलालाई हातभरि हरियो चुरा अनि हरियो रंगको साडी, कुर्ता लगाएर चिटिक्क परेका युवती अनि विवाहित महिलाहरुको विशेष चहलपहल बढेको पाइन्छ । हरियो रातो, पहेँलो साडी चोलो पोते तिलहरि लगाएका महिलाहरुको लर्को देख्दा हिन्दू नारीहरुको महान् पर्व तीज नजिकै आएको संकेत दिएको छ ।
संस्कृति नै मानव सभ्यताको प्राचीन रुप हो । संस्कृतिले मानव र प्रकृतिको सम्बन्ध पहिचान गर्छ । धरातलीय स्वरुप र भौतिकवादी दृष्टिले पहाडी प्रकृति रमाइलो हुने भएकाले आराध्यदेव भगवान् शिवले प्रकृतिमा ताण्डव नृत्य एवं हास्य नृत्य देखाएको संस्कृतिविद्हरु बताउँछन् । यसैगरी साउन महिनामा शिवको शिरमा पवित्र कुण्डहरुको जल चढाएमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । त्यसैले सोमबार व्रत बसी पूजाआजा गर्छन् ।
व्रत अर्थात् उपवासको तात्पर्य आत्म शुद्ध, पवित्र र सकारात्मक सोचाइको विकास गर्नु हो । उपबास बस्दा शुद्ध जल र ताजा फलफूल, दूध खाँदा स्वास्थ्यको लागि पनि फाइदाकै कुरा हो । खासगरी साउन महिनामा तामसी खाना, बासी खानेकुरा, भुतेको खाना व्रतको समयमा नखाने अनि भरसक अन्न नखाने चलन छ । नेपाली हिन्दू महिलाहरुले पीडा कम गराउन र शान्तिका लागि घाँटीमा पोते लगाउने संस्कार बनेको हो । शास्त्रीय मान्यता अनुसार पोते लगाउनु मंगल कार्य भएकोले पोतेलाई मंगलकारक सूत्रका रुपमा लगाइदिने चलन बनेको हो । त्यसैले हेर्दा राम्रो देखिनका लागि मात्रै हरियो साडी, चुरा र मेहन्दी लगाएको नभई त्यसैको सांस्कृतिक, ऐतिहासिक एवं वैज्ञानिक महत्व रहेको छ ।
– ज्योति बडाल, प्रशिक्षार्थी पत्रकार

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: