शिक्षासँगको अपेक्षा र प्रतिफल

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

-माधवप्रसाद अधिकारी
सोच, सीप एवं सभ्य संस्कारयुक्त नागरिकको उत्पादन गर्नु शिक्षाको प्रमुख लक्ष्य हो । सहायक पुस्तकहरुको संकीर्ण दायराको जानकारी उत्तर पुस्तिकामा टाँसेर प्रमाणपत्रका चाङहरुले खोक्रो बडप्पन बृद्धि गर्नु अनुभूत यथार्थ भए पनि वर्तमान शिक्षा प्रणालीले यस्तै गरिरहेछ । सभा सेमिनार, गोष्ठी, कार्यशाला जस्ता एनजीओले आविष्कार गरेका बौद्धिक जमघटहरुको निकट अवलोकन, राजनीतिक प्रशासनिक निकाय विद्यालय, विश्वविद्यालय, विभिन्न पेशागत तथा बौद्धिक संघ संगठनहरुका जिम्मेवारहरु, अगुवाहरु नीति निर्माताहरुको अभिव्यक्ति तथा गतिविधिले यो भिन्न विवश बनाएको हो । अपवादमा उच्च नैतिकता, गहिरो ज्ञान, दूरदर्शिता भएका सभ्य शालिन केही मानिसहरु नभएका पनि होइनन् । तर उनीहरु विशाल आकाशमा आक्कल झुक्कल देखा पर्ने धुमकेतु जस्तै छन् । घटनाक्रमहरुको समीक्षा गर्ने हो भने त्यस प्रकारका मानिसहरुका क्षमता र व्यवहार राष्ट्रका सारथीहरुलाई अपचिलो छ । स्वाभिमानका खातिर राजीनामाद्वारा आफूलाई गन्धे प्रवाहबाट मुक्त गर्न उनीहरु विवश देखिन्छन् । राजनीतिक ट्रेडमार्क योग्यता क्षमताको मूल कसी बनिरहेको परिवेशमा योग्यतामा विश्वास गर्नेहरुको कुनै गुञ्जायस नहुनु स्वभाविक पनि हो । रामेश्वर खनाल, राधेश्याम अधिकारी यस्ता केही उदाहरण हुन जसलाई अन्तरमनको सलाम त दिनैपर्छ ।
कलेज, विश्वविद्यालय, यातायातका साधनहरु, सडक, पेटी तथा बस स्टपहरुमा उच्च शिक्षा हासिल गर्दा गरेका शिक्षार्थीहरुलाई नियाल्नुहोस् त कलेज छुट्टि भएपछि उनीहरु सडक पूरै ढाकेर हिँडिरहेका हुन्छन् । त्यो सडक विभिन्न यातायातका साधनहरुको र सर्वसाधारणहरुको पनि हो भन्ने अति सामान्य सोच समेतको उनीहरुमा अभाव देखिन्छ । बस चढ्दा, ओर्लनुपर्नेलाई ओर्लन दिएर, बुढाबुढी अशक्तहरुलाई पहिले जान दिएर आफू चढ्नुपर्ने, बसमा बृद्धबृद्धा, बच्चा बोकेका, अपाङ्ग, अस्वस्थ मानिसहरु उभिएका भए उनीहरुका निम्ति सिट छोडिदिने, बसमा अरु पनि यात्रीहरु छन् जसमध्ये कतिपय बिरामी होलान्, शान्तपूर्वक बिना हल्ला यात्रा गर्न पाउनु उनीहरुको हक हो भन्ने सामान्य चेतनाले निर्देशन गर्न सक्ने जिम्मेवारी पनि उनीहरु बहन गरिरहेका हुँदैनन् । क्याम्पस प्राङ्गणका क्यारीहरु नाघेर हिँड्नु, फूल टिप्नु, शौचालयमा जथाभावी पिसाब फेर्नु, अश्लिल शब्दहरु लेख्नु, झ्यालढोकाको सिसा, बल्ब फोड्नु, क्लास चलेको बेला क्लासलाई बाधा पुग्ने गरी होहल्ला गर्नु, धुमपान, सूर्ती, खैती, लागू औषध आदिमा सामेल हुनु कुलत सिक्नु, कक्षालाई अमर्यादित बनाउनु, मोबाइलको दुरुपयोग गर्नु, आमा बाबुलाई नटेर्नु, फेसनमा रमाउनु, घाँटी भन्दा ठूलो हाड मोटर बाइक हुइँक्याउनु, घरखेतको काममा नसघाउनु, श्रममा सामेल हुन नरुचाउनु, अन्यहरुको देखासिकी गर्नु, हर्दम विदेशको सपना देख्नु, भारतीय तथा पश्चिमी संस्कृतिको अनुयायी बन्नु, समाजका समस्याहरु राष्ट्रका अप्ठ्याराहरु प्रति असंवेदनशील रहनु के शिक्षित व्यक्ति सुहाउँदा कुरा हुन् ?
जहाँ शिक्षाको स्तर परीक्षामा प्राप्त प्राप्तांकको प्रतिशतमा मापन गरिन्छ त्यहाँ निस्कने परिणाम पनि यस्तो हुनु स्वाभाविक हो । देश सामुका चुनौतीहरु त्यस विरुद्ध कसरी जाने भन्ने सोच, समाजमा राम्रा कामहरु गरेर सम्मानित बन्ने चाहना, सचेत नागरिकहरुको हैसियतले राष्ट्रका प्रति निर्वाह गर्नुपर्ने भूमिका, सभ्य समाज निर्माणका लागि सभ्य र सुसंस्कारयुक्त जीवन, जीवन निर्वाहका लागि आधारभूत सीपहरु, भ्रष्टाचार, दुराचार, हत्या, बलात्कार, अपहरण र अनेक प्रकारका हिंसा व्याप्त भएको समाजमा त्यस विरुद्धको नैतिक आचरण र उच्च मनोबल स्थापित गर्न शिक्षाले चाहेन । शिक्षा राष्ट्रिय उद्देश्यहरुमा उल्लेख गरिएका शब्दहरुको इच्छा अनुरुप व्याख्या गर्दा त्यस्तो पनि छ भन्ने आभास दिन सकिएमा तर परीक्षा प्रणाली प्रश्नपत्रको ढाँचा हेर्दा त्यो परीक्षार्थीको घोकाइ क्षमताको स्तरमापन मार्फत् परीक्षार्थीमा रहेको सतही ज्ञानको मोटाइ नाप्न व्यग्र छ ।
वर्तमान शिक्षा प्रणालीमा कुन तहका परीक्षाहरुको प्रवृत्ति, अबधारणा, अभिभारा, दायित्व, मानवीय गुणहरु, श्रमप्रतिको सद्भाव, सीपयुक्त सोचसँग सम्बन्धित प्रश्नहरु सोधिन्छन् ? अथवा त्यसको प्रत्यक्षतः अवलोकन अध्ययनमा आधारित जाँच हुन्छ ? त्यहाँ त किताबमा के छ ? गएको सालहरुमा के कस्ता प्रश्नहरु कुन तरिकाले सोधिएको थियो, सामान्य शब्दान्तरद्वारा नवीकरण हुने यान्त्रिक प्रतिक्रियाको आधारमा उत्प्रेरक प्रश्नहरु तयार गरिन्छन् र त्यसका विरुद्ध हुने यान्त्रिक प्रतिक्रियाको आधारमा अपेक्षित उत्तर प्राप्ति भएमा परीक्षकले पनि यन्त्र सिर्जनशील मौलिकता मिलाएछ भने विचरो परीक्षकको वक्र दृष्टिमा परिहाल्छ । किनकि त्यो उसको अपेक्षाको होइन र त्यसको सही गलत ठम्याउने क्षमता उसमा छँदा पनि छैन । दसकौं पढाएका शिक्षक, रिडर, प्रोफेसरहरु आफ्ना शक्तिशाली चश्माको मद्दतले खोल खुइलिएको, पन्नाहरु बढारिएको आफ्नो ऐतिहासिक डायरी चियाएर कालो, सेतो पाटीमा त्यही कुरा कोर्दछ, जुन आजकाल भन्दा दुई तीन दशक अघि उसले नोट गरेको थियो । समाजमा जति नै परिवर्तन आओस्, घारणाहरुमा जतिसुकै फेरदबल हुन तथ्यांकहरुमा आकाश पातलको अन्तर किन नआओस् उसको डायरीको प्रवेशद्वार उहिल्यै बन्द भइसकेको छ । प्रवेश निषेध ।
शिक्षा एउटा रंग गन्ध र स्वादरहित पानीको निरन्तर तल बग्ने धारो जस्तो पहिलोका गुरुहरुको मुखबाट अहिलेका गुरुहरुको कानमा र अब उनीहरुको मुखबाट भावी गुरुहरुका कानमा बगिरहेको छ । प्रायः विद्यार्थीको मस्तिष्कलाई त्यसले सिञ्चित गरेको छैन । गोपी कृष्ण भन भनेर आदेश दिइएको सुगाले अर्थ नबुझेका कारण गोपीकृष्ण मात्र भन्दैन कहो पनि भन्दछ । यदि बुझ्दथ्यो भने गोपीकृष्ण मात्र भन्ने थियो । पाइपबाट नबगेर त्यसले जमीनरुपी मस्तिष्क पनि सिञ्चित गर्दथ्यो भने जमीन सिञ्चित हुँदा हरिया नव सिर्जनाहरु माथितिर उठेजस्तै प्रत्येक शिक्षार्थीबाट नवसिर्जनाहरु हुने गर्दथे । सबैको उचाइले देश उचालिन्थ्यो । नयाँ पुस्ताले वास्तविकताकै नयाँ नेपाल उपभोग गर्दथ्यो । वर्तमानको राजनीतिक साहित्यमा प्रयोग भएको जस्तो नयाँ नेपाल होइन ।
हुन पनि व्यवहारमै प्रमाणित भइसकेको कुरा के हो भने धूमपानका खराबीहरु दश बुँदामा सूचीकृत गर्नुहोस् भन्ने प्रश्नमा दुईजना परीक्षार्थीहरु सामेल छन् । ती मध्ये एउटाले शिक्षकले उक्त इकाई पढाएपछि भर्खरै सिक्न लागेको सिगरेट पिउने बानी त्याग्यो तर बुँदाहरु भने पाँचओटा भन्दा लेख्न सकेन तर अर्काे जो पढ्नु अघि पनि प्रशस्त सिगरेट पिउँथ्यो अहिले पनि पिइरहेछ, उसले दशवटै बुँदाहरु लेख्यो भने त्यस प्रश्नको उत्तरमा विशिष्ट श्रेणीको अंक त उसैले प्राप्त गर्दछ । विडम्वना ! शिक्षालाई किताब, कापी, कलम, मसी भनेर बुझ्नाले नै देशमा हजारौं हजार स्नातक, स्नातकोत्तर र सयौं डाक्टरहरु भए पनि कुनै उल्लेख्य प्रतिफल राष्ट्रले प्राप्त गरिरहेको छैन । त्यस्तै शिक्षाका अर्ध भरिएका कन्टेनरहरु शिक्षक, प्राध्यापक, प्रशासक र नेता छन् । प्रतिस्पर्धी विश्वमा देशले मन्द गतिको विकास स्वीकार्नुको विवशता पनि त्यही हो ।
(प्रतिक्रियाको लागि ः ९८४१८९२८६६)

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: