शिक्षक चाहियो ! तर कस्तो?

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

० माधवप्रसाद अधिकारी
कुनै कार्यरत शिक्षकले राजीनामा दिँदा, अनिवार्य अवकास लिँदा, विद्यालयको कक्षोन्तति हुँदा वा शिक्षकको देहावसान हुँदा पत्र पत्रिकाहरुमा विज्ञापन निस्कन्छन्् – शिक्षक चाहियो । जीवनको लगभग आधा समय यही पेसामा बितेकाले स्वाभाविकै रुपमा विज्ञापनले यो कलमकर्मीलाई आकर्षित गर्दछ – कुन विद्यालयको, कुन तहको, कुन विषयको, कति शैक्षिक योग्यता भएको शिक्षक चाहिएको रहेछ । अन्य प्राथमिकताहरु के के रहेछन् बुझ्नका लागि । विज्ञापन उम्मेदवारको शैक्षिक योग्यता, विषय, उमेर, शिक्षण अनुमति पत्र आदिको जानकारीका सकिन्छ र प्राथमिकता हुन्छ महिला, दलित जनजाति आदिमा । शिक्षकको तालिम अनुभव आदिको प्रायः उल्लेख भएको पाइँदैन । विज्ञापन खुल्नु मात्र के हुन्छ, बेरोजगारीले व्याप्त मुलुकमा लामो लश्करको निवेदन दर्ता गर्दछ । चारैतिरबाट राजनीतिक दवावहरु आउन थाल्दछन्, फलानी हुनुपर्दछ, फलानो हुनुपर्दछ नत्र … । आखिर कुनै एक जनाको चयन हुन्छ बाँकी दर्जनौं रिसाउँछन् । यसरी शिक्षकको पदपूर्ति हुन्छ । सबैलाई थाहा भएकै कुरा हो शिक्षक पेसा प्रवेशका लागि मुख्य आधार मानिएको शिक्षक शिक्षण अनुमतिपत्र दिनको लागि लिइने परीक्षामा विरामी परी अनुपस्थित उम्मेदवार मात्र असफल हुने गर्दछ ।
२०औं वर्षसम्म हजारौं विद्यार्थीसँग सम्पर्कमा आउने, शिक्षण गर्ने शिक्षक छनौट प्रक्रिया कति फितलो छ । शिक्षकको दायित्व कति महान् छ भन्ने नबुझेका मानिसहरुले निर्धारण गरेको नाम मात्रको छनोट प्रक्रिया हो यो । किताब हेरेर विषयवस्तु वाचन गरेर बुझ्यौ भन्दै जागीर खाने जागीर मात्र छानिन्छ यो तरिकाले तर किताबी विषयवस्तुलाई आधार बनाई त्यसलाई बालबालिकाहरुका जीवन सन्दर्भमा गाँसेर त्यस्तै प्रकृतिका सामाजिक, सांस्कृतिक, वैज्ञानिक, संवेगात्मक, प्राकृतिक, मनोवैज्ञानिक तथा मनोसामाजिक समस्याहरु पहिचान, विश्लेषण र निराकरण गर्न सक्ने क्षमता स्थापित गर्न सक्नु भनेको चाहिँ शिक्षकको खुबी हो । यस प्रकारका शिक्षक कति होलान् त हाम्रा विद्यालयहरुमा ? पौने घन्टाको अन्टसन्ट प्रवचनबाट कति सिक्छ ? सम्झन्छ र के बुझ्छन् बालबालिकाले त्यसमा पनि म कुन उमेर समूहको कुन सिकाई स्तरका, कुन सामाजिक परिवेशका बालबालिकाहरुका लागि कस्ता शब्दहरुद्वारा अर्थ वा भाव प्रवाह गरिरहेछु भन्ने सम्म ख्याल नभएका कण्ठपासे प्रमाणपत्रवालाहरुबाट ।
मैले अवलोकन गरेका अधिकांश कक्षाहरु (गणित, विज्ञान बाहेकका विषयहरुलाई छोडेर) यस्तै पाएको छु । विद्यार्थीहरुलाई त्यो शीर न पुच्छरको सान न शैलीको सीप र न कुशलताको रुप न रसको एकोहोरो भट्भट्याई प्रति कुनै अभिरुची नभएकोले ती नजिकका साथीसँग आफू सुहाउँदा गफमा सामेल हुन्छन् । कक्षा होहल्लामय हुन्छ । शिक्षक त्यो हल्ला छिचोल्न अझ ठूलो स्वरले थप हल्ला गरिरहेको हुन्छ । कराउँदा घाँटी बसेको शिक्षक थकित र आक्रोशित हुन्छ । फलस्वरुप उसको आँखामा तत्काल परेका वा मस्तिष्कमा अभिलेख भएका दुईचार विद्यार्थीमाथि साविकका बाँदरहरु, मूर्खहरु, पशुहरु आदि शब्दहरु भट्भट्याउँदै सिर्कनो प्रहार गर्दछ । केही सेकेण्डका लागि कक्षा कोठामा उकुसमुकुस पूर्ण शान्ति छाउँछ । त्यसपछिको दुईमिनेटमा कक्षाकोठा पूर्ववत होहल्लामय भइसकेको हुन्छ । शिक्षक यही दैनिकीको आदति बनेको छ । विद्यार्थीहरुले यसलाई आफ्नो उज्वल भविष्य निर्माणको प्रक्रिया र कथंकदाचित भविष्यमा शिक्षक भइएछ भने कसरी शिक्षण गर्नुपर्दछ भन्ने तालिमको रुपमा पनि बुझेका होलान् ?
माथि वर्णित शिक्षकहरुमा स्थापित ‘गुण’ पनि उनीहरु विद्यार्थी हुँदाको अनुभूतिको प्रत्याभूति हो भन्दा बेठीक नहोला । विज्ञान पढाउने शिक्षक पो के अपवाद हुन्थ्यो ? राशीफल सुनेर, हेरेर उसको ‘मूड’ निर्माण भएको हुन्छ । विहान ढुंगो (जसलाई दिउँसो ऊ निर्जीव, चेतना नभएको भनेर पढाउँछ) पुजेर प्रभु तिमी मालिक म त हजुरको दास भन्ने प्रार्थना भजन गरेर आएको हुन्छ । त्यस मनस्थितिको शिक्षकले विद्यार्थीमा कुन किसिमको वैज्ञानिक अवधारणा सिर्जना वा स्थापित गराउला सजिलै अनुमान गर्न सकिन्छ । यति मात्र नभएर हरफकार पेशागत संस्थाको नेतृत्व गरिरहँदा आफ्ना भाषण प्रशिक्षणमा प्राथमिक तहमा शिक्षक भर्ना गर्दा महिलालाई प्राथमिकता दिन अनुरोध गरियो । भाषणपछि आफू एकमात्र पुरुष शिक्षक रहेको बाँकी पाँच जना सबै महिला भएको मेरो विद्यालय अनौपचारिक ढंगले अवलोकन गरिदिन सुटुक्क आग्रह गर्नुभयो एक प्रधानाध्यापकले । समय मिलाएर म त्यहाँ विना जानकारी पुगेँ । बिल्डिङ अंग्रेजी ‘एल’ आकारको रहेछ । छ वटा कोठा मध्ये एउटामा कार्यालय बाँकीमा कक्षा १ देखि पाँच सम्मको पढाइ । सुरुकै दृश्यमा तीनवटा कक्षाको ढोकामा महिला शिक्षकहरु उभिएर गफ जुधाइरहेका र भित्र बच्चाहरु कोही ठूल्ठूलो स्वरमा किताब वाचन गरिरहेका, कोही होहल्ला, रुवावासी गरिरहेका देखियो, सुनियो । केही परबाट छलिएर छेकिएर निकैबेर त्यो तमासा हेरेपछि विद्यालयतर्फ बढ्दा नमस्कार भन्दै थोरै असजिलो मान्छै तीनैजना कक्षाभित्र पस्नुभयो । सोझै कार्यालय किन जाने बाँकी दुईवटा कक्षा पनि हेरौं न भनेर ती कोठामा पुग्दा एउटामा थोरै विद्यार्थी किताब सार्दैै (हेरेर लेख्ने) गरेको र महिला शिक्षिका मेचमा बसेर स्वेटर बुन्दै गरेको पाइयो । अर्को कोठामा केही विद्यार्थी लेख्दै, केही पढ्दै, केही चल्दै गरेका महिला शिक्षक भने आँखा चिम्लिएर झुल्दै झसङ्ग हुँदै गरिरहनु भएको थियो । दुवै कोठाका महिला शिक्षकले मलाई चाल पाउनु भएन । करीब तीन मिनेट पालैपालो यो दृश्य हेर्दै र अन्य तीन कोठाबाट बेला बेलामा मिस÷म्याडमले आफूलाई चिहाउँदै गरेको असजिलोपन महसुस गर्दै कार्यालय प्रवेश गरेँ । सामान्य अभिवादनपछि प्रधानाध्यापकले कक्षाहरु अवलोकन गरिदिन अनुरोध गर्नुभयो । सानो स्वरमा त्यो काम सकिएको कुृरा उहाँलाई अवगत गराइयो । यति नै बेला टिफिनको घन्टी बज्यो – होहल्ला गर्दै कक्षाकोठाबाट विद्यार्थीहरु बाहिर निस्किए । प्रधानाध्यापक सहित हामी चिया पसलतर्फ लाग्यौं । हुनत असल, समर्पित महिला शिक्षकहरुको संख्या पनि कम छैन । उहाँहरुमा सआदर अभिवादन मात्र भनांै ।
पढ्दा गन्थन जस्तो लाग्ने यो यथार्थले सार्वजनिक विद्यालयहरुको आयु छोट्याइरहेछ । धमाधम विद्यालयहरु बन्द हुँदैछन् । भएका विद्यालयहरुमा विद्यार्थी संख्या निरन्तर घट्दो छ । विद्यार्थीको संख्या भन्दा शिक्षकको संख्या बढी भएका खबरहरु पत्र पत्रिकामा आइरहेछन् । हामी र धमिरामा के फरक छ ? ऊ काठभित्र बस्छ र काठै खाएर जीर्ण बनाउँछ । हामी विद्यालयबाट कमाई गर्छौं तर त्यही विद्यालयलाई ध्वस्त पार्दैछौं । विद्यालयका मेचहरुमा निदाउने, कक्षामा गएर घरायसी गफमा समय बिताउने, विद्यालयमा हाजिर मात्र गरेर आफ्ना सम्पूर्ण घरायसी काम, एनजीओहरुका मिटिङ, पार्टी बैठक, व्यापारिक गतिविधि, परीक्षा, ट्युसन, कोचिङ अन्य विभिन्न लप्पनछप्पन यहाँ सम्म कि तासको खालमा सामेल हुन भ्याउने शिक्षकहरु पनि छन् । गाउँमा तलब बुझ्न मात्र जाने र अधिकांश समय शहरमा ‘काज’मा रहने शिक्षकहरुको पनि कमी छैन । घरबाट पाँच मिनेटको दूरी नभएको विद्यालयमा साढे दश बजे पुग्ने र विद्यालय बन्द हुने एक डेढ घन्टा अघि नै घर पुगिसक्ने नकचराहरु पनि शिक्षण पेसामा छन् । जागीर खाइएकै छ । पुस्तकको हरफ हरफ पढेर विद्यार्थीलाई सुनाएकै छ भन्ने अल्छे प्रवृत्तिले गर्दा दश प्रन्ध वर्ष शिक्षण गर्दा पनि पाठ्यवस्तुको जानकारी छैन । पाठ्यपुस्तक नहेरी केही बोल्न सकिन्न । हरे ! त्यस्ता शिक्षक जसलाई त्यही पाठ वर्षौं पढाउँदा आफूलाई केही आउँदैन, किताब नपाए वाक् नै बन्द हुन्छ । त्यही शिक्षक (महिला पुरुष) हिजो दिएको पाठ विद्यार्थीले भन्न सकेन भनेर उसमाथि लाठी प्रहर गर्दछ÷छे । कस्तो विडम्वना ! जसले आफूले केही सिकेको छैन उसले के सिकाउला ? कतिपय शिक्षकका हस्ताक्षर हेर्दा लाग्छ ऊ मुश्किलले साक्षर हो । त्यस्ताको अक्षरबाट लेखन अभ्यास गर्ने विद्यार्थी कस्त हस्ताक्षर होलान् ? जो धूमपान (सिगरेट, खैनी पान आदि) गर्दै विद्यालय पुग्छन्, जो कक्षामा कम पढाउँछन् तर ट्युसन कोचिङका लागि मरिमेट्छन्, विद्यालयका सामग्रीहरु आफ्नो बनाउन हिचकिचाउँदैनन्, विद्यालयको फोन कम्प्युटर आदि निजी कामको लागि निस्फिक्री प्रयोग गर्ने गर्दछन्, परीक्षा अगाडि सम्भावित प्रश्नहरुको संकेत गरिदिएर (विशेषत ट्युसन पढ्नेहरुलाई) विद्यार्थीका प्रिय बन्दै कमाइको विज्ञापन गर्छन्, कमजोर विद्यार्थीलाई कक्षोन्नति गर्न, परीक्षामा आँखा चिम्लन, परे चिट ओसार्न, कपि परीक्षण विना नम्बर भर्न पनि पछि पर्दैनन्, त्यस्ता शिक्षकहरुबाट विद्यालयहरुको के प्रगति होला ? उनीहरुले उत्पादन गर्ने विद्यार्थीहरु कुन स्तरका होलान् ? खोज अनुसन्धानले के भनेका छन् भने विद्यार्थीहरुले शिक्षकले भनेका कुराहरुबाट भन्दा गरेका कुराहरु प्रत्यक्ष व्यवहारबाट बढी सिक्दछ ।
अन्तमा सही शिक्षक खोज्नु भनेको देशको सुन्दर भविष्य रोज्नु हो । जसको उपभोक्ता हाम्रै नाति नातिनाहरु हुन् । हामी जे रोप्छौं त्यही उम्रन्छ । अहिले हामी हाम्रा निजात्मक स्वार्थमा चुर्लुम्मिएर काँढाका विउहरु रोप्छौं भने हाम्रा भावी सन्ततीहरुले जीवनका प्रत्येक पाइलाहरु काँढाहरु टेक्दै कष्टकर यात्रा गर्नुपर्नेछ । हामी शिक्षकहरुले अत्यन्त गरीब देशका अत्यन्त गरीब जनताका स्वास्थ्य, खाद्यान्न, पिउनेपानी जस्ता अति जरुरी क्षेत्रहरुमा खर्च हुने रकम समेतलाई कटौती गरिएको रकमबाट तलब खाएका छौं । ठग्यौं भने अवश्य पाप लाग्छ । हाम्रो वास्तविक मूल्यांकनकर्ता कुनै विद्यालय निरीक्षक होइन, हाम्रै विद्यार्थीहरु हुन् । उनीहरुको अन्तर मनमा प्रत्येक शिक्षकको मूल्यांकन हुन्छ र हामी आफै भने आफ्नो अन्तिम मूल्यांकनकर्ता हौं – एकदिनमा एकपटक हामी हाम्रै मूल्यांकन गरौं के हामी आफूले पाउने तलब अनुसारको काम गरिरहेका छौं ? आर्थिक रुपले विपन्न भएर हामीकहाँ आफ्ना सन्तति पढाउन विवश अभिभावकलाई धोका दिँदै देशलाई ठगिरहेका त छैनौं ? कलम बन्द गर्नुअघि लेख पढ्दा मर्माहित हुनेहरुप्रति अग्रिम सहानुभूति व्यक्त गर्नु स्वभाविक हुनेछ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: