वैद्य समूहका वास्तविक नेता नेत्रविक्रम चन्द ‘विप्लव’

प्रकाशित मिती : शनिबार, जेष्ठ २०, २०६९ by   ·   Comments

निर्मल ज्ञवाली

एकीकृत नेकपा माओवादीमा वैचारिक मतभेदका नाममा चलेको अन्तर्संघर्षका कारण करीब माओवादी पार्टी फुटको स्थितिमा आइपुगेको छ । माओवादी पार्टीका वरिष्ठ नेता मोहन वैद्य किरणका नाममा एक समूह पार्टी संस्थापनका विरुद्ध सडकमा नै उत्रिएको छ । विशेषतः कम्युनिष्ट पार्टीहरुमा फुट स्वाभाविक प्रक्रियाजस्तो बनेको विगतले माओवादीमा अहिले भइरहेको अन्तर्संघर्षलाई पनि स्वाभाविक बनाइदिएको छ । तर यो फुट स्वयं माओवादीका लागि वा भनौं कम्युनिष्ट आन्दोलनका लागि एक ठूलो अस्वभाविक घाटा सावित हुने निश्चित छ ।

कम्युनिष्टहरु विचारलाई सबैभन्दा ठूलो क्रान्तिको अस्त्र ठान्दछन् । विचारसहितको नेतृत्वलाई उनीहरु आफ्नो सबैथोक मान्दछन् । कम्युनिष्ट पार्टीहरुमा संगठनात्मक हिसाबले नेतृत्व केन्द्रीकरण अधिक भएको पाइन्छ । आम जनतालाई लिएर क्रान्ति अगाडि बढ्ने कुरा हुँदाहुँदै पनि विचार र नेतृत्वको केन्द्रीकरण कम्युनिष्ट पार्टीहरुमा अत्यधिक नै रहेको हुन्छ । एउटा कम्युनिष्ट पार्टी वा अभियान सफल हुने कि नहुने भन्ने कुरा उसको नेतृत्वमा धेरै हिसाबले भर पर्दछ । विगत हेर्दा पार्टीको एकजना मात्रै शीर्षस्थ नेतृत्व मृत्यु वा गिरफ्तारीमा पर्दा सम्पूर्ण क्रान्ति नै धरासायी बनेको पाइन्छ । उदाहरणका रुपमा पेरुको साइनिङपाथ हो । जसका नेता गोन्जालोको सन् १९९२ मा भएको गिरफ्तारीका कारण त्यहाँको क्रान्तिकारी आन्दोलन पूरै ध्वस्त भएको थियो । यसर्थ यतिबेला वैद्य समूहको नाममा चलिरहेका आन्दोलन, विरोधहरु ठीक कि बेठीक छ ? वा यसले भोलि सफलता पाउला कि नपाउला भन्ने विषयमा ठूलो बहस नभए पनि सामान्य जिज्ञासाहरु कायमै छन् । यसर्थ यसबारे केही टिप्पणी गर्नु उचित ठानेको छु ।

को हो वैद्य समूहको नेता ?

कुनै पनि राजनीतिक संगठन अझ त्यसमा कम्युनिष्ट संगठनको भविष्य के हुने भन्ने कुराको निधो त्यसको नेतृत्वमा धेरै प्रतिशत निर्भर रहन्छ । बजारमा वैद्य समूह भनेर निकै प्रचारित छ । मोहन वैद्य राजनीतिक बजारमा सहज रुपमा विक्री हुने नाम पनि हो । यो नामले एउटा माक्र्सवादी चिन्तकको परिचय विगतमा बाँड्दै आएको हो । उनी राजनीतिक बजारमा सरल र वैचारिक हिसाबले कट्टर नेताका रुपमा चिनिन्छिन् पनि । तर के वैद्य समूह भनेर गरिएको प्रचार वा चिनिएको समूहको वास्तविक नेता वैद्य आफै नै हुने त ? यो धेरैका लागि अनौठो प्रश्न र अन्जानको विषय हुन सक्छ ।

वास्तवमा वैद्य समूह भनेर प्रचारित समूहको असली नेता वैद्य भने होइनन् । त्यस समूहका असली नेता नेत्रविक्रम चन्द विप्लव हुन् । आज माओवादी पार्टीबाट विद्रोह गर्दछु वा क्रान्ति गर्दछु भन्दै माओवादी अध्यक्ष प्रचण्ड, बाबुराम लगायतका नेतृत्वमाथि आरोप प्रत्यारोप गर्ने प्रत्येकले के यथार्थ बोल्न सक्नुपर्छ भने हाम्रो गुट वा समूहको नेता विप्लव हो । विप्लव जिन्दावाद, विप्लव समूह जिन्दावाद भन्न सक्नुपर्दछ । यदि कसैले वैद्य उक्त समूहको नेता हुन् भन्छ वा वादल नेता हुन् भन्छ भने त्यो सबैभन्दा ठूलो उसको राजनीतिक भ्रम वा कविलापन सावित निकट भविष्यमा नै हुनेछ ।

आजको यथार्थ भनेको नेत्रविक्रम चन्दका कार्यकर्ता हुने सर्तमा वैद्य, बादल, गजुरेल, देव गुरुङलाई नेता चन्दले सम्मानका रुपमा भरपूर प्रयोग गरेका छन् । वैद्यको नामको साइनबोर्डले विप्लवलाई राजनीतिक बजारमा बिक्न सजिलो छ । त्यसले प्रचण्डसँग जुध्ने वैधानिकता मिलेको छ । बादललाई प्रचण्डविरुद्ध लगाएर भाषण गर्न लगाउँदा आफ्नो राजनीतिक जीवन विवादरहित हुने विप्लवले देखेका छन् । बादललाई अध्यक्ष मात्र होइन महाअध्यक्षको आस्वासन दिएर भए पनि माओवादी पार्टी फुटाउन सकियो भने भोलि बादल सिध्याउन नैतिकताको इतिहास अगाडि सार्दिए हुन्छ । त्यो कुरा राम्रोसँग बिप्लवले बुझेका छन् । त्यसैले उनले उनीहरुको प्रयोग राम्रैसँग गरेका छन् । अध्यक्ष हुने लोभमा बादल आफ्नो गुटमा आएको प्रचार विप्लवले आफ्ना भित्रियासँग राम्रैसँग गरेका पनि छन् ।

यतिबेला विप्लवले ती सबैलाई औपचारिक रुपमा महान् मान्दिन्छन् तर कार्यकारी नेतृत्वका रुपमा व्यवहारमा उनले सबैलाई अस्वीकार्छन् र त्यो स्वभाविक पनि हो । साँच्चै उनीहरुले यतिबेला गरेको राजनीतिको सापेक्षतामा किरण, बादलभन्दा विप्लव सफल र सिर्जनशील नेतृत्व पक्कै हुन् पनि ।

वैद्य समूहको नाममा चलिरहेको उक्त समूहको विचारक विप्लव नै हुन् । किरण त्यस समूहमा प्रयोग भएका निमित्त नायक मात्र हुन् । उनको आवश्यकता सबैभन्दा धेरै विप्लवले बुझेका छन् र किरणको सबैभन्दा ठूलो कमजोरी पनि विप्लवलाई नै थाहा छ । किरणलाई रत्नपार्कको भद्रगोलमा बसेर माक्र्सवादको किताबमा औंलाले देखाउँदै, कमरेड माक्र्सवादमा कहाँ यस्तो लेखेको छ ? भनेर उचालिदिने बित्तिकै हो त नि प्रचण्ड माक्र्सवादबाट विचलित भयो भनेर विरोध गर्न वैद्य तयार भइहाल्छन् । उनलाई परिस्थिति अनुसारको किताब लेख्ने बानी होइन किताबअनुसार परिस्थिति पढ्ने बानी छ भन्ने कुराको राम्रो ज्ञान विप्लवलाई थाह छ । त्यही कारण विप्लवले माक्र्सवादको धेरै भन्दा धेरै पुस्तक किनेर दिन्छन् र कोटेश्वरको भद्रगोल देखाएर पेरिसडाँडामा प्रचण्डसँग लड्न वैद्यलाई पठाउँछन् । बादल आफैमा कम बोल्ने मान्छे हुन् । उसलाई मन परेपछि अँगालो मार्न गइहाल्ने अनि रिस उठेपछि ढुंगाले हान्ने जस्तो बानी छ । उनी जननेताभन्दा मगर नेता हुन धेरै सुहाउने व्यक्ति हुन् । बादल साँच्चै कस्सियो भने सूर्य पनि छेक्न सक्छ तर बादलको सबैभन्दा ठूलो कमजोरी हावाको तालमा फासफुस बनेर हराउने हो भन्ने कुरा विप्लवले राम्रैसँग बुझेका छन् । त्यसैले अहिले बादललाई सूर्य छेक्न अर्थात् प्रचण्ड छेक्न मञ्चमा विप्लव स्पष्ट छन् । त्यसैले उनले अहिले सहज रुपमा अध्यक्ष पदमा लोभ्याएर बादललाई प्रयोग गरिरहेका छन् ।

विप्लवको असफल मोर्चा

विप्लव के हुन् भनेर बुझ्न धोबीघाट सबैभन्दा राम्रो उदाहरण हो । उनको असफल मोर्चा पनि धोबीघाट नै बन्यो । धोबीघाटमा जति गएर सुते ती सबै विप्लवले ओछ्याएको बिस्तारामा सुते । त्यो विस्तारा पदको लोभमा सजाइएको थियो । त्यहाँ जानेहरुले आफ्नै आँखामा पट्टी बाँधेर बसेका थिए । त्यहाँ विप्लव महात्म्यअनुसार नै बक्पर उपहार कार्यक्रम खोलिएको थियो । त्यहाँ एक नम्बरले प्रचण्डको विरोध गरेपछि पदको बम्पर उपहार मिल्ने घोषणा भएको थियो । त्यो घाटाको ओछ्यानबाट मुर्दावादको नारा लगाएवापत कसैले पनि पनि पाए र कसैले उनकै भाषामा भन्दा धोका पनि पाए । प्रचण्डलाई सिध्याउन रचिएको धोबीघाट मोर्चाले माओवादी पार्टीको इतिहासमा केही सकारात्मक तथ्यहरु व्यवहारतः प्रमाणित गरिदिएको छ । विचारतः विपरीत धु्रवहरुले कसरी पद पाउने लालसमा एउटै नाटकीय गठबन्धन बनाउँदो रहेछ भन्ने कुरा देखायो । प्रचण्डका विरुद्ध उपाध्यक्षदेखि लिएर महासचिव लगायतको तागत प्रयोग हुँदा पनि पार्टीमा र जनतामा अल्मत गराउन सकेनन् । यसले विचारसहितको वास्तविक नेतृत्व प्रचण्ड नै हो भन्ने कुरा प्रमाणित गरेको छ ।

अघिल्लो खरिपाटीमा उपाध्यक्ष किरणलाई विरोधमा ल्याइयो, सकेनन् । त्यसपछि विप्लवको कोसिस अर्का उपाध्यक्ष बाबुरामलाई पनि प्रचण्डका विरुद्ध उभ्याउने रह्यो । त्यो पालुङटारमा सम्पन्न भयो, त्यसले पनि प्रचण्डलाई हटाउन सकिएन र पछि बादललाई समेत लिएर धोबीघाट भयो त्यो त ब्युत्पादक नै सावित भयो । यसर्थ विप्लवको निष्कर्ष भनेको प्रचण्डलाई थकाएर आफू अनुकुलको समीकरण बनाउन लगाउने क. प्रचण्ड सिध्याएर आफू अनुकुल बनाउने । जुन पहिलो काम खरिपाटी, पालुङटार, धोबीघाटबाट कोसिस हुँदा पूरा नभएपछि अब सिध्याउने योजनामा उनी छन् । त्यसैको पछिल्लो कडीका रुपमा जनसेनाको रकम भ्रष्टाचार ग¥यो भन्दै अख्तियारसँगको हारगुहार हो ।

निष्कर्षमा विप्लव गुट

अब विप्लवले दुई कुरामा आफूलाई केन्द्रित गर्ने देखिन्छ । एउटा अझै बढी पार्टीमा अन्तर्संघर्ष चर्काउने र प्रचण्डलाई थर्काउने अनि सम्झौतामा आफूअनुकुल निर्णय गर्न लगाउने । त्यसका लागि उनले काँग्रेस, एमाले, राजावादी लगायतका शक्तिहरुसँग गठजोड गरेर संविधानसभा भंग गराउने र संविधान लेख्न नदिने नै हुनेछ । यदि त्यो काम हुन सकेन भने अब पार्टी फुटाउने तर फुटको अपजस आफूले नलिई वैद्य र बादलको ढाडमा राख्ने कोसिस उनले गर्नेछन् । (लेखक संस्थापन पक्षका संचारकर्मी हुन् ।)

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: