वैज्ञानिकरणले मात्र कृषकको जीवनस्तर उठ्छ -– टिपी शर्मा

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

– टिपी शर्मा, अध्यक्ष, ॐ साईकृपा पोल्ट्री फर्म
काभ्रे मथुरापाटी फूलबारी–६ श्रीरामबस्तीमा माता मनमाया र पिता इन्द्रप्रसादको छोराको रुपमा टिपी (टंकप्रसाद) तिमल्सिनाको जन्म २०१४ भाद्र १० गते भएको हो । २०३३ सालदेखि पोल्ट्री पेसामा आवद्ध तिमल्सिना २०३८ सालदेखि भारतबाट प्रकाशित हुने पोल्ट्री सम्बन्धी पत्रिकामा नेपाल संवाददाता समेत हुनुभयो । २०४५ सालमा आफ्नै पहलमा पोल्ट्री मञ्च व्यवसाय प्रकाशन प्रालि दर्ता गरी केही समय पोल्ट्री मञ्च नामक पत्रिका पनि प्रकाशन गराउनुभयो । ०६० सालदेखि ०६० सालदेखि ॐसाई कृपा पोल्ट्री फर्मबाट चल्ला उत्पादन गरी विक्री वितरण गर्दै आउनुभएका तिमल्सिनाले विश्व बैंकको सहयोगमा २५ जिल्लाहरुमा संचालन भएका विभिन्न आयोजना मध्ये भकुण्डेवेशी ब्रोइलर आयोजना स्वीकृत गराई कार्य संचालनको तयारीमा जुटिरहनुभएको छ । रेडियो एबीसी एफएम ८९.८ मेगाहर्जद्वारा हरेक शनिबार साँझ प्रस्तुत हुने व्यवसायिक बहस अन्तर्गत तिमल्सिनासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

० पोल्ट्री मञ्च मासिक निकाल्न कसरी लाग्नुभयो ?
२०३० सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि केही न केही रोजगारी गर्नुपर्ने हुन्थ्यो । अध्ययन खर्च जुटाउन आवश्यक ठानेर भारतीय पोल्ट्री मञ्च पत्रिकामा पोल्ट्री, वातावरण, पशु सम्बन्धी विषयमा संवाददाताको रुपमा पत्रकारिता पेशामा प्रवेश गरेँ ।

० पत्रिका त बन्द भयो । त्यति राम्रो पत्रिका अहिलेको अवस्थामा त झनै चाहिने, पत्रिका किन बन्द भयो ?
पत्रपत्रिका दर्ता गर्नु मात्र ठूलो कुरा होइन । लहडबाजीमा पत्रिका प्रकाशन गरिनु राम्रो कुरा होइन रहेछ । संस्थागत रुपमा विकास गर्न सक्नुपर्दोरहेछ । आफू अस्वस्थ भएको कारण लामो समयसम्म विरामी भएको कारण पत्रिका बन्द भयो ।
० पत्रिका अब ननिकाल्ने ?
साथीभाइसँग सरसल्लाह भइरहेको छ । राम्रो खटिने, व्यवसायिक रुपमा संचालन गर्न सक्ने टिम भयो भने केही समयपछि पोल्ट्री मञ्च पत्रिका संचालन गर्ने विचारमा छु ।
० तपाईंले व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट ठूलो योजना हात लगाउनुभएको छ नि ? कसरी प्राप्त भयो यो योजना ?
व्यवसायिक कृषि तथा व्यापार आयोजना विश्व बैंकको सहायतामा कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कार्यान्वयनमा रहेको आयोजना हो । यो आयोजनाको कुल बजेट २ करोड ६५ लाख ५० हजार अमेरिकी डलर रहेको छ । विश्व बैंकको ऋण तथा अनुदान २ करोड डलर हुने, ५८ लाख डलर अनुप्रानग्राही, नेपाल सरकारको तर्फबाट ७ लाख ५० हजार डलर व्यहोरिने व्यवस्था छ । ६ वर्षको आयोजना २०६६ कार्तिकदेखि सुरु भई ०७२ असार मसान्तसम्म कार्यान्वयनमा आउने छ । यो आयोजना खुला प्रतिस्पर्धाबाट मन्त्रालय अन्तर्गत व्यवसायिक कृषि तथा व्यापार आयोजना प्रस्ताव आह्वान गरेर पहिलो, दोस्रो र तेस्रो चरणको आह्वान गरी अन्तिम पटक प्रतिस्पर्धाबाट प्रस्ताव स्वीकृत भएको हो, हात लागेको होइन ।
० भनसुन र पैसा पनि खुवाउनु भयो होला नि ?
खुला प्रतिस्पर्धाबाट प्रस्ताव आह्वान गरेर निस्पक्ष ढंगबाट प्रस्ताव स्वीकृत भएको हो । सम्बन्धित निकायलाई कुनै भनसुन र पैसा खुवाउनु परेन । सम्भवतः यस्तो प्रक्रिया हुनु पहिलो प्रारम्भिक कार्य हो जस्तो मलाई लाग्छ । सरकारी निकाय सबैमा यस्तो भइदिए कस्तो होला भनेर मैले मनमनै सोचिरहेँ । यस आयोजनामा कार्य गर्ने सबै कर्मचारीतन्त्र राम्रो र शालिन भएको मैले पाएँ ।
० कस्तो परियोजना हो ? यो परियोजनाबाट जनताले के अपेक्षा गर्ने ?
यो आयोजना पहाडका १० र तराईका १५ गरी २५ जिल्लाहरुमा संचालित छ । धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन, धादिङ, काठमाडौं, ललितपुर, काभ्रे, नवलपरासी, तनहुँ, लमजुङ, कास्की, स्याङजा, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा यो आयोजनाले कार्य थालेको छ । समग्रमा कृषि क्षेत्रको व्यवसायिक काम वैज्ञानिक ढंगबाट उत्पादनशील क्षेत्रमा लगानीलाई प्रोत्साहित गर्ने उद्यमी तथा व्यवसायीहरुलाई प्रतिस्पर्धात्मक क्षमतामा अभिबृद्धि गर्ने हुन्छ । काभ्रेको भकुण्डेवेशी ब्रोइलर आयोजनाबाट ह्याचरी उद्योग संचालन गर्न ५२ लाख ४४ हजारको आयोजनामा २७ लाख ४४ हजार व्यवसायीले, २५ लाख प्याक्ट आयोजनाले, २५ लाख त्यसलाई आवश्यक पर्ने मेशिनरी, प्राविधिक सहयोग, क्षमता अभिबृद्धि गर्ने कार्यमा सक्रिय सहयोग पु¥याउने छ भने हाम्रो फर्मले २ वटा कृषक समूह बनाएका छौं । त्यसमा दलित, जनजातिहरु समिश्रणलाई चल्ला वितरण गर्ने, १० वटा गाविसमा सुरुमा कार्य गर्ने योजनासाथ अगाडि बढिरहेको छ । कृषकहरुलाई तालिम दिने, क्षमता अभिबृद्धि गर्ने, थाइल्याण्डमा दुइ हजार ५ सय चल्ला बुकिङ गरिसकिएको छ । त्यो ल्याएर वितरण गर्ने लक्ष्य रहेको छ ।
० काभ्रेमा अरुले पनि पाएका छन् त ?
काभ्रेमा पोल्ट्रीमा फूलबारी बुचाकोटको भकुण्डे ब्रोइलर आयोजना, महादेवस्थानमा डेरी स्थापनाका लागि उमादेवी दुग्ध उत्पादक सहकारी र रानीटार दुग्ध उत्पादक सहकारी र ज्याम्दीमा तरकारी खेतीको लागि समेत गरी विभिन्न स्थानमा आयोजनाले सहयोग गर्नेछ । उक्त आयोजना प्रभावकारी रुपमा संचालन भएपछि जनताको आयस्तरमा बृद्धि, कृषिमा व्यवसायिक विकास हुनेछ । कृषि क्षेत्रको वैज्ञानिक विकास गर्दै कृषि उत्पादनको उच्चतम बजारीकरणले मात्र जनताको जीवनस्तर माथि उठ्छ ।
० आयोजना छनौटका आधारहरु के के हुन् ?
छनौटका आधारहरु तीन किसिमका छन् । पहिलो प्राविधिक, दोस्रो आर्थिक र सामाजिक । व्यवसायिक कृषि तथा व्यापार आयोजना संचालन गर्न प्राविधिक टोलीको पर्याप्तताको सम्भावना छ सहज हुन्छ कि हुँदैन । आयोजना सम्पन्न गर्न जुन आयोजनाकर्ताले आर्थिक रकम जुटाउन सक्छ कि सक्दैन, सोको विश्लेषण गरिन्छ । सामाजिक आधारभित्र आयोजना संचालन भएको स्थानमा बढी भन्दा बढी जनता लाभान्वित हुने अवस्थाको पहिचान गरी सोको निक्र्यौल गर्ने कार्यको छनौट विधिमा पर्छन् ।
० तपाईं पत्रकारितामा पनि हुनुहुन्छ ? कस्तो लाग्छ काभ्रेको पत्रकारिता ?
पत्रकारिता पेशा चुनौती, सम्भाव्यता, जोखिम मोलेर बढी संघर्षरत पेशा हो । यो लहडबाजी गरेर पत्रिका प्रकाशन गरिने कुरा रहेनछ । पत्रकारितामा व्यवसायिकता, इमान्दारिता, अनुशासन, संस्थागत ढंगबाट टिम कोअर्डिनेशनको आधारमा संचालन गरिनुपर्छ । राजधानीको नजिकै रहेको यस जिल्लामा पत्रपत्रिका तथा एफएम रेडियो संचार माध्यमको विकास भएको । सानो बजारको कारण प्रभावकारी रुपमा संचालन हुन सकेका छैनन् । एउटा दैनिक पत्रिकाको आवश्यकता छ । पत्रिकाहरु धेरै भए मर्ज गरेर राम्रो रुपमा संचालन गर्नु आवश्यक छ ।
० अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत व्यवसायिक कृषि तथा व्यापार आयोजना प्रभावकारी संचालन गर्ने २५ जिल्लाका विभिन्न आयोजनाहरु सफल रुपमा सम्पन्न गर्ने आयोजनाहरुलाई पुरस्कृत गर्ने, नराम्रो गर्नेलाई दण्ड गर्ने गरिनुपर्छ । यस आयोजना सफल कार्यान्वयन पछि कृषि उत्पादनमा व्यवसायिकता, दूध, तरकारी उत्पादनमा सहजता उपलब्ध भई जनताको आय आर्जनमा बृद्धि हुनेछ । यी कार्यहरु गर्न जति पनि काभ्रे जिल्लाका विभिन्न स्थानमा संचालन भएका आयोजनाहरु के कसरी संचालन भएका छन्, त्यहाँ भएका कार्यहरुको तपार्इंंहरुको संचार माध्यमबाट यथार्थ प्रकाशन र प्रसारण हुने अपेक्षा गर्दछु ।

1
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: