लोकतन्त्र उपदेश होइन, व्यवहारमा उतार्ने विधि हो

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

-अशोकचन्द्र धुँजू श्रेष्ठ
लोकतन्त्रको नारा खुब लगाइन्छ, तर व्यवहारमा उत्रिन सकेको छैन । वास्तवमा लोकतन्त्र हेर्नका लागि होइन, प्रयोगमा ल्याउनका लागि हो । अनि लोकतन्त्र अरुलाई दिइने उपदेश होइन, आफ्नै जीवन व्यवहारमा आफैले उतार्नुपर्ने विधि हो । लोकतन्त्र भनेको स्वतन्त्र र स्वच्छन्दता हो । लोकतन्त्रमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरु पूर्ण रुपले सुरक्षित हुनै पर्दछ । पूर्वाग्रहतन्त्र र दमनतन्त्र लोकतन्त्रमा हुनुहुँदैन । हुनेलाई चैन, नहुनेलाई ऐन, लोकतन्त्रको विशेषता होइन । बहुमतलाई सदर, अल्पमतलाई कदर र मत भिन्नतालाई सम्मान गर्न सक्नु नै लोकतान्त्रिक संस्कार हो । अन्यथा यो त एउटा यथास्थितिवादी र प्रतिगामी वितण्डा मात्र हुन्छ । लोकभन्दा ठूला शक्तिशाली अरु कोही छैनन् । लोकतन्त्रको नाममा कसैले पनि सामन्तीतन्त्र र मनपरीतन्त्र लागू गर्न पाइन्न । लोकतन्त्र पारदर्शी पनि हुनैपर्छ । पारदर्शी लोकतन्त्रको अभीन्न अंग हो । यसर्थ सत्ता आफ्नो हातमा छ भनेर कसैले भित्रभित्रैबाट जनतालाई सूचना नदिई कुनै नीतिनियम र योजना बनाउन पाइँदैन । साथै लोकतन्त्रमा सबै जाति, वर्ग, भाषा, धर्म र लिंग आदिलाई समानुपातिक व्यवहार हुनुपर्दछ ।
साधारण भाषामा गणतन्त्रको अर्थ प्रजातन्त्र नै हो । अनि प्रजातन्त्र भनेको जनताको शासन व्यवस्था हो तर यस प्रजातन्त्रमा राजतन्त्र हुँदैन । अर्को अर्थमा गणतन्त्र भन्नाले कुनै देशमा यस्तो शासन प्रणाली बुझिन्ट जसको स्थानीय तहदेखि केन्द्रीय तह जनताद्वारा छानिएका प्रतिनिधिहरुबाट संचालित हुन्छन् । विस्तृत अर्थमा गणतन्त्र भन्नाले सामान्यतया लिंग, विचार र क्षेत्रगत कुनै भेदभाव नभई राष्ट्रप्रमुख वा राष्ट्राध्यक्ष निर्वाचित हुने, सो निर्वाचित गर्न तथा देशका शासन विधि निर्माण गर्न दलका प्रतिनिधिहरु छान्ने कामको प्रणाली भन्ने बुझिन्छ । वास्तवमा गणतन्त्र भनेको लोकतान्त्रिक राज्य प्रणाली नै हो । लोकतन्त्र र गणतन्त्रको विषयमा लोकतन्त्र मूल हो भने गणतन्त्र त्यसको अंग हो । लोकतन्त्रको सम्पूर्णताका लागि गणतन्त्र आवश्यक छ ।
जन भनेको जनता हो । त्यसमा पनि जनता भनेको शोषित पीडित वर्ग, क्षेत्र, लिंग, जाति, भाषा, धर्म, संस्कृतिका मानिसहरु हुन् । यस खालका मानिसहरुको अर्थात् जनताका विभिन्न समुदायहरुको हक र हितलाई केन्द्र बनाई सञ्चालन गरिने शासन व्यवस्थालाई जनमुखी गणतन्त्र भन्न खोजिएको हो । अर्को शब्दमा जनमुखी गणतन्त्रलाई नै वास्तविक लोकतान्त्रिक गणतन्त्र भन्न सकिन्छ । अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेका मुलुकहरुले सामन्तवाद र साम्राज्यवादका विरुद्ध संघर्ष गर्दै अघि बढ्ने र क्रान्ति सम्पन्न गर्ने अनि त पूँजीवादी न त समाजवादी अर्थात् पूँजीवादी र समाजवादी दुवै अवस्थाका केही राम्रा कुराहरुलाई समेटेर जाने क्रममा पूँजीवादबाट समाजवादतिर जाने अभीष्ट राखेर कार्य गर्ने शासन व्यवस्थालाई जनमुखी वा लोकतान्त्रिक गणतन्त्र भनिन्छ । हाम्रो देश नेपालमा त्यही अनुरुपका संविधान बन्न खोजिएको हो ।
लोकतान्त्रिक गणतन्त्रको परिभाषा वा चरित्रमा भ्रष्टाचारको कालो छायाँमा परेका दलाल, घुसखोरी, कालाबजारियाहरुलाई कारवाही गरी निर्मूल पार्ने प्रतिबद्धता जाहेर गरिएको हुनुपर्दतछ । हुन्छ भन्ने तथ्यलाई बिर्सन मिल्दैन । त्यस्तै दण्डहीनताको अन्त्य भएको हुन्छ । अवसरवादीहरुले मात्र ठूलो बन्ने मौका पाएको हुँदैन । अनुशासनको महत्व अधिक हुन्छ ।
२००७ सालसम्म शाह र राणाले राज्यको सम्पूर्ण ढुकुटीमा एकलौटी गरेर लुटे । अनि २००७ पछि जनआन्दोलन २ अगाडिसम्म पनि निर्दलीय वा बहुदलीय प्रजातन्त्रको नाममा पुनः शाह राणाहरुले तथा राजसंस्थाको छत्रछायाँमा रहेका राजावादीहरु तथा केही दलीय नेताहरुले समेत स्वाभाविक प्रक्रियाको रुपमा राज्यकोषमा हालीमुहाली गरेर लुट मच्चाए । लुट्न, कमिशनखोर तस्करी, कालाबजारिया, भूमाफिया, आर्थिक घोटाला जस्ता भ्रष्टाचारीहरुको प्रयोग गरे । केही निमेष व्यक्तिले अकुत सम्पत्ति आर्जन गरेर आम जनतालाई ऋणको भारी बोकाए । आम जनतामा गरीब झन् गरीब भए । देश कंगाल भयो । लुटतन्त्रकै कारण आज देशमा विद्यमान अवस्थामा समेत निजी स्वार्थ, अवैधधन्दा, तस्करी, चोरी, ठगी, कमिशनखोर, भ्रष्टाचारी र गुण्दागर्दी जगजगी भइरहेको छ । यिनीहरुलाई नियन्त्रण गरी निरुत्साहित पार्न सकिएको छैन । नेपालमा भ्रष्टाचारको मात्रा नघटेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाइसकेको छ ।
जनताले लोकतन्त्रको डङका पिटेको मात्र हेर्न चाहेका होइनन् । जनताले लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट स्वतन्त्रताको अतिरिक्त समृद्ध र समुन्नत नेपाल चाहेको हो । लोकतन्त्रको नाममा लुटतन्त्र त पक्कै चाहेको होइन । लोकतन्त्रमा देशको नेतालाई इमान्दार र चरित्रवान् सेवकको रुपमा चाहेको छ । अन्याय, अत्याचार र शोषणयुक्त नेपाल चाहेको छ । आमूल परिवर्तन गरी आर्थिक, सामाजिक, राजनीतिक लगायत हरेक क्षेत्रमा समानता खोजेको छ । देश लुट्नेलाई कारवाही गरी कठोर सजाय दिएको हेर्न चाहेको छ । कारवाही गर्नमा अनुत्तरदायी र लाचारीपन भएको हेर्न चाहेको छैन । केही टाठाबाठाले मात्र मोज गर्नु, लुटाउनु र राजनीतिक षडयन्त्र गर्न लोकतान्त्रिक गणतन्त्र ल्याउन खोजिएको होइन । स्वतन्त्रताको अर्थ छाडावाद र लुट्ने होइन ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: