लगानी गरेपछि प्रतिफल खोज्नु नाजायज होइन

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

– चेतन विष्ट, प्रिन्सिपल, निष्ट कलेज, बनेपा
पाल्पा बन्दीपोखरामा माता रणकुमारी र पिता केशरबहादुर विष्टका छोरा चेतन विष्टको जन्म २०२८ मंसीर १३ गते भएको हो । ०५४ सालदेखि पाल्पा क्याम्पसबाट अध्यापन सुरु गर्नुभएको विष्टले ०५७ देखि निष्ट कलेज काठमाडौंमा कोअर्डिनेट भई काम गर्नुभयो । ०६८ बैशाखदेखि पञ्चकुमारी उच्च मावि (हाल निष्ट कलेज) बनेपाको प्रिन्सीपलको जिम्मेवारी सम्हाल्नुभएका विष्टसँग शिक्षा सरोकार अन्तर्गत शनिबार साँझ ७ः०० देखि ७ः३० सम्म रेडियो एबीसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

० हरेक वर्ष देशमा आधा लाखले स्नातक तह उत्तीर्ण गरे पनि ती मध्ये छदेखि सात हजारले मात्र मुश्किलले रोजगारी पाउने गर्छन् । यस्तो किन भएको होला ?

शिक्षा लिनु रोजगारीको लागि मात्र हो कि जीवन परिवर्तन, व्यवहारिक शिक्षा लिएर सीपमूलक दक्ष बन्ने अवस्थाको श्रृजना हो सबैले बुझ्नु जरुरी छ । समग्रमा भन्नुपर्दा रोजगारीको अवस्था प्राप्त हुन मुलुकमा राजनीतिक स्थिरता हुनुप¥यो । उद्योगधन्दा, कलकारखाना अधिक मात्रामा संचालनमा आउनुप¥यो । पढ्नु भनेको पास गर्नु, प्रमाणपत्र लिनु मात्र नभई मानव जीवनमा सकारात्मक परिवर्तन, आफू र समाजनै आर्थिक र सामाजिक रुपान्तरण हुनुपछृ । शिक्षा ग्रहणपछि मानिस दक्ष बनेको सत्य सावित हुन्छ ।

० राज्यले शिक्षा क्षेत्रमा राम्रै लगानी गरेपनि परिणाममुखी नतिजा प्राप्त भएको छैन नि ? शिक्षामा राज्यको लगानी बालुवामा पानी सावित भएको छ नि ?

राज्यले शिक्षा क्षेत्रमा लगानी गरेको छ भन्दैमा शिक्षा परिणाममुखी हुन्छ भन्ने छैन । हरेक व्यक्ति, शिक्षक, विद्यार्थी, अभिभावक सबै जिम्मेवार र लगनशील हुनुपर्छ । चाहे त्यो निजी क्षेत्रबाट संचालनमा आएको होस् या सरकारी दुवैमा शिक्षामा लगानी भएको छ । त्यसलाई सही सदुपयोग र प्रभावकारी बनाउनु राज्यको अनुगमन संयन्त्रले निरन्तर रुपमा हेर्नु आवश्यक छ । शैक्षिक संस्था ठीक ढंगले संचालन भएको छ कि छैन राज्यले निर्धारण गरेको ऐन कानुनभित्र रहेर विद्यार्थीहरुलाई सही शिक्षा दिन सकेको छ कि छैन सोको राम्रो लेखाजोखा गरेको खण्डमा मात्र शिक्षा क्षेत्रको लगानी सार्थक र परिणाममुखी हुन सक्छ ।

० +२ तहलाई आधारभूत र स्नातक तहलाई जीवनको आधार बनाउने माध्यम भनिन्छ । शिक्षालाई सार्थक र परिणाममुखी कसरी बनाउन सकिन्छ ?

सबै व्यक्तिको क्षमता एउटै हुँदैन । एकै किसिमबाट सिक्न सम्भव छैन । कुन विद्यार्थीले कस्तो शिक्षा ग्रहण गर्न सक्छन्, मनोविज्ञान र भावना बुझेर राम्रो विश्लेषणका साथ देशको भौगोलिक अवस्था, सामाजिक परिवेश, कुन क्षेत्रमा कस्तो किसिमको आवश्यकता छ, सोही आधारमा राज्यले शिक्षा नीति नियमावली बनाएर शैक्षिक प्रणाली सुधार गर्दै राम्रो शिक्षा दिएको खण्डमा मानव जीवनमा परिवर्तन, आर्थिक उन्नति, सामाजिक चेतनाको विकाससँगै राष्ट्रको चौतर्फी विकासमा टेवा पुग्छ ।

० कुल बजेटको १८% शिक्षामा लगानी भए पनि शैक्षिक गुणस्तर दिन प्रतिदिन खस्कनुको कारण के देख्नुहुन्छ ?

लगानी गरेको छ भन्दैमा शिक्षामा परिवर्तन हुने होइन । मुख्य कुरा के हो भने राज्यले लगानी गरेको रकम शैक्षिक संस्थाहरुले सही ढंगबाट प्रयोग गरे कि गरेनन् ? सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षकहरुले राम्रोसँग पढाए कि पढाएनन् ? ती पढाउने शिक्षक दक्ष छन् कि छैनन् सोको अध्ययन अनुसन्धान हुनु जरुरी छ । शिक्षक तालिम प्राप्त छन् कि छैनन् ? छैन भने उचित तालिमको व्यवस्था गरिदिनुप¥यो । सरकारी विद्यालयमा दरबन्दी अपुग छ सोको मिलान गर्नुप¥यो । निजी क्षेत्रबाट संचालित शैक्षिक संस्था पनि सबै राम्रा हुन् उनीहरुको कमजोरी छैन भन्न सकिन्न । शिक्षा क्षेत्रमा होस् या अन्य क्षेत्रमा निजी क्षेत्रको लगानी ठूलै छ । लगानी छ भन्दैमा कोही कसैले नियम विपरीत कार्य गर्छ भने उनीहरुलाई कारवाही गर्नुप¥यो । सरकारी संयन्त्रबाट निरन्तर अनुगमन गरेको खण्डमा मात्र शिक्षामा सुधार भई गुणस्तरीयता कायम हुन्छ । निजी क्षेत्रबाट संचालित विद्यालयका शिक्षकहरुलाई पनि उचित तालिमको व्यवस्था हुनु जरुरी छ । अर्कोतर्फ एउटा व्यक्तिले एउटा मात्र काम गर्नुप¥यो । शिक्षकले शिक्षण पेशामा लाग्ने हो, व्यापार गर्ने, सहकारी चलाउने होइन । आफ्नो पेशामा दक्षता, क्षमता, इमान्दारिता, जिम्मेवारी भएमा जुनसुकै अवस्थामा पनि गुणस्तरीयता कायम हुन्छ ।

० विद्यार्थीलाई विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा संकाय मध्ये कुन रोज्ने आग्रह गर्नुहुन्छ ?

विद्यार्थीहरुले अध्ययन गर्ने विषयको छनौट गनूुपर्दा अध्ययनकर्ताको मनोभावना कस्तो छ ? कुन र कस्तो खालको मनोविज्ञान छ त्यसको अध्ययन गरेर भन्न सकिने कुरा हो । विद्यार्थीको क्षमता अनुसार विषय छनौट गराउन सकिन्छ । तर पनि म एक विज्ञानको शिक्षक भएको नाताले विज्ञान विषय रोज्न आग्रह गर्छु । किनकि विज्ञान पढ्ने विद्यार्थी मेहनती हुन सिक्छ । मेहनत गर्न सिकाउने विषय विज्ञान हो । आफ्ना बालबालिकाको क्षमता भएमा विज्ञान पढाउन अभिभावकहरुलाई आग्रह गर्छु । तर यसो भन्दैमा अरु विषय नराम्रो छ भन्न खोजिएको होइन । जुनसुकै विषयको अध्ययन गरे पनि राज्यले दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्छ । राष्ट्रमा शिक्षा क्षेत्रमा गरेको जुन लगानी छ, त्यो परिणाममुखी हुनु जरुरी छ । व्यवहारिक, व्यवसायिक स्वरोजगारमूलक शिक्षा भएमा मुलुकको सर्वाङ्गिण विकासका साथै हरेक स्थानमा आम नागरिकमा आर्थिक, सामाजिक रुपान्तरण हुन सक्छ । शिक्षामा गरेको लगानी खेर जाँदैन ।

० कलेजहरु किन विदेशी नामप्रति मोहित भएका होलान् ? विदेशी नाम राख्दैमा गुणस्तरीयता कायम हुन्छ र ?

यो राज्यको कमजोरी हो । किनकि कलेज संचालन गर्न स्वीकृति दिने बेलामा केही नगर्ने तर जब विवाद र हड्ताल हुन्छ तब त्यसको निकास खोज्ने संस्कारले यस्तो भएको हो । कलेजहरु संचालनमा ल्याउने बेलामा नै भौगोलिक क्षेत्र, विषय र आवश्यकता अनुसार स्वीकृति दिएको भए यति ठूलो विवाद आउँदैन थियो होला । कोटा र संख्या त्यही अनुरुपको निर्धारण गरेको खण्डमा मात्र खुलेका शैक्षिक संस्थाहरुले गुणात्मक शिक्षा प्रदान गर्न सक्छन् । विदेशी नाम राख्दैमा विज्ञापनमा प्रचारप्रसार गर्दैमा शिक्षामा सुधार हुने, गुणात्मक परिणाम आउने होइन । यो अस्वस्थ प्रतिस्पर्धा गर्ने माध्यम हो । पेन्टागन, ह्वाइट हाउस, कोलम्बस भनेर किन नामाकरण गर्नुप¥यो, नेपाली नाम राखेर पनि शैक्षिक संस्था चल्न सक्छन् । राम्रो शिक्षा दिन सक्छन् । नामले कुनै फरक पार्दैन । अझ विदेशी नाम भएका यहाँका शैक्षिक संस्थाको नाम देखेर विद्यार्थीहरु विदेशमा जाँदा त्यहाँका शैक्षिक संस्था र रोजगार कम्पनीहरु हाँस्ने गर्छन् ।

० पञ्चकुमारी आवासीय उच्च माविलाई निष्ट कलेजको नामबाट संचालन गर्नुभयो । काठमाडौंमा र बनेपा दुवै ठाउँमा एउटै नामबाट कलेज संचालन गर्न पाइन्छ ? यो त अवैधानिक भएन र ?

निष्ट कलेज भन्ने बित्तिकै नेशलन स्कुल अफ साइन्स समूह भनेर परिचित छ । बनेपामा हामीले पञ्चकुमारी आवासीय उमाविलाई नै निष्ट नामाकरण गरेर संचालनमा ल्याएका हौं । अब हामी निष्ट कलेज प्रालि भनेर संचालन गर्ने भएका छौं । यो शाखाको रुपमा नभई विज्ञान र व्यवस्थापन संकायमा विद्यार्थीहरुले गुणस्तरयुक्त र व्यवहारिक शिक्षा पाउन् भन्ने उद्देश्यले स्थापित भएको हो । हामीलाई अभिभावक, विद्यार्थी र शिक्षकहरुबाट राम्रै सहयोग प्राप्त भएको छ । विद्यार्थीहरुलाई उच्चतम सेवा सुविधा प्रदान गरी शिक्षा दिने हाम्रो लक्ष्य हो ।

० काभ्रेका अन्य कलेजभन्दा निष्ट कलेजले महँगो शुल्क लिएर अध्यापन गराएको छ भनिन्छ नि ?

विज्ञान र व्यवस्थापन गरी हामीकहाँ चारसय विद्यार्थी अध्ययनरत छन् । छोटो समयमा नयाँ व्यवस्थापनमा यति विद्यार्थी संख्या हुनु राम्रो मान्न सकिन्छ । यहाँका स्थानीय व्यक्तित्व, बौद्धिक जगतले भरपूर सहयोग गरेका छन् । सरकारी लगानीको हिसाबले निजी क्षेत्रबाट संचालित कलेजमा शुल्क अलि महँगो हुनु स्वभाविकै हो । शिक्षक तलब, विज्ञान प्रयोगशाला र विज्ञानसम्बन्धी व्यवहारिक ज्ञान दिने त्यति सहज छैन । हामीले अभिभावकसँग लिएको रकम अनुसारको विद्यार्थीलाई प्रतिफल दिन सकेका छौं । त्यसैले अरुको भन्दा शुल्क बढी लिएको भान पर्न सक्छ । तर खासमा महँगो भन्न मिल्ने अवस्था छैन । काठमाडौंका कलेजहरुले दिने सुविधा यहीँ दिएका छौं । विहान १० देखि ५ बजेसम्म नियमित कक्षा संचालन गरेका छौं । अनुशासन र मर्यादा पालन यहाँको छुट्टै पहिचान हो । त्यसो भन्दैमा अरु कलेजभन्दा सबैमा पृथक छ भनेर घमण्ड गर्ने पक्षमा छैनौं । विज्ञान र व्यवस्थापन संकायमा नयाँपन भने दिएका छौं ।

० निष्टले आफूलाई गुणस्तरीय छ भन्छ । तर हरेक हप्ता शिक्षक परिवर्तन गरेर विद्यार्थीहरुको पठनपाठनमा बाधा पु¥याएको आरोप छ नि ?

यो हाम्रो विज्ञान संकायमा अध्यापन गराउने नयाँ शैली हो । नयाँ विद्यार्थीहरुलाई केही समय अप्ठ्यारो लागेको होला । हरेक हप्ता होइन, हरेक दिन फरक फरक शिक्षकले विद्यार्थीहरुलाई अध्यापन गराउँछन् । दक्ष, अनुभवी, तालिमप्राप्त शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान गरेका छौं ।

० निष्ट कलेजका विशेषताहरु ?

अरुभन्दा धेरै पृथक छ भन्न सक्दिनँ । तर के चाहिँ सत्य हो भने विद्यार्थीहरुको मनोविज्ञान, मनोभावना बुझेर त्यही अनुसारका विद्यार्थीलाई सिकाइने व्यवस्था गरिएको छ । अनुशासित र मर्यादित किसिमबाट बेलुकी पाँच बजेसम्म कक्षा संचालन गरेका छौं ।

० निजी कलेजहरुले चरम नाफामुखी कार्य गरेका छन् नि ? के भन्नुहुन्छ यसबारेमा ?

लगानी गरेपछि त्यसको प्रतिफल खोज्नु नाजायज होइन । वास्तवमा भन्नुपर्दा विद्यार्थीसँग लिएको शुल्क अनुसारको शिक्षा प्रदान गरेको छ कि छैन, शिक्षामा सुधार आएको छ कि छैन, सरकारको सम्बन्धित निकायले निरन्तर अनुगमन गर्नुप¥यो । बाहिर हल्ला गरेर मात्र भएन । बाहिर अरुलाई आरोप मात्र लगाएर भएन । शिक्षामा निजी क्षेत्रले राम्रो पनि गरेको छ, नराम्रो गरेको छ भने राज्यले कारवाही गर्नुप¥यो नि ।

० निजी कलेजमा खड्किएका विषय ?

निजी कलेज मात्र नभई सरकारी दुवैमा सरकारको प्रभावकारी सुपरीवेक्षण भएको छैन । कलेज संचालन गर्न राज्यले कोटा निर्धारण गर्नुप¥यो । लगानी गर्ने पक्षमा र सरकारी पक्षमा विश्वासको खडेरी हुनु । विभिन्न प्रचारबाजी गरेर, शैक्षिक संस्थाहरुबीच नै अस्वस्थ प्रतिस्पर्धा कायम रहनु, शिक्षामा व्यवसायिकरण भन्दा प्रचारबाजी गर्दै विज्ञापनमा केन्द्रीत रहनु । सीपमूलक व्यवहारिक शिक्षा दिन धेरै हदसम्म अग्रसर रहेपनि राज्यले त्यसको कदर गर्न नसक्नुले निजी कलेजमा केही समस्या नआएको भने होइन । ११ महिना चुप लागेर बस्ने, एक महिना हल्ला गर्ने संस्कारले समस्या निम्त्याएको हो ।

० अन्त्यमा केही भन्नु छ कि ?

मुलुकको शिक्षा प्रणालीमा नै सुधार ल्याउनुपर्छ । शिक्षा रोजगारमूलक, उद्यमशीलता, देशको लागि आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन, सबैको लागि समान ढंगबाट सिक्ने अवसर, मनोभावना, इच्छा अनुसारको सिक्ने व्यवस्था हुनुपर्छ । शिक्षा जस्तो संवेदनशील विषयमा एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने होइन, समयको वास्तविकतालाई बुझेर शिक्षा नीति बनाउने, त्यही अनुसार कार्यान्वयन हुनुपर्छ । यस्ता कार्य सफल रुपमा कार्यान्वयन गर्न संचार जगतको ठूलो भूमिका हुन्छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: