राष्ट्रपति हुने सपना उडायो सबै हुरीले

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

– मुलुकमा जातीय द्वन्द्वको खतरा बढ्दै
– ठूला पार्टीमा किचलो यथावत
कसो गरिस् मंगले आफ्नै ढंगले प्रचण्डलाई सबैले ठूलो पार्टीको नेता, ठोस समयमा ठोस निर्णय लिने महान् क्रान्तिकारी नेता भनेर माओवादीहरु भन्थे । तर आज माओजादीहरु टुक्रा टुक्रा भएका छन् । मोहन वैद्य किरणले नयाँ पार्टी गठन गरेपछि प्रचण्डको राष्ट्रपति हुने सपना पनि चकनाचुर भएको छ । एमालेमा जनजाति र मधेशी नेताहरु टाढिएका छन् । काँग्रेसमा पनि त्यही हालत छ । माओवादी फुटेर मख्ख हुने अवस्था छैन कि बुढी मरी भन्ने होइन काल पल्कियो भन्ने पिर सबैमा भएको छ । माओवादी फुटिसकेपछि यसको असर सबै पार्टीमा पर्नेछ । माओवादीको वैद्य पार्टीलाई चीनको समर्थन भएको बताइन्छ । रिमको निर्देशन पनि छ। त्यसैले वैद्यको पार्टीले नेपाली समाजमा केही न केही असर पार्नेछ र सबैभन्दा बढी असर त प्रचण्ड अब यो मुलुकका लागि राष्ट्रपति हुने सम्भावना टरेर गएको छ ।
विघटित संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी औपचारिक रुपमा फुटेको छ । उपाध्यक्ष मोहन बैद्य किरण समूहले नयाँ पार्टी गठनको घोषणा गरेको छ । राजधानीमा भएको राष्ट्रिय कार्यकर्ता भेलाबाट मोहन बैद्य किरण पक्षले नयाँ पार्टी गठनको प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको हो । वैद्य समूहको उक्त पार्टीले आज एक पत्रकार सम्मेलन गर्दै थप विषयमा पार्टीका धारणाहरु सार्वजनिक गर्दैछ ।
बैद्य पक्षले नयाँ पार्टीको नाम नेकपा, माओवादी राखेको छ भने पार्टी अध्यक्षमा मोहन बैद्य किरण हुनुहुन्छ । यस्तै महासचिवमा रामबहादुर थापा बादल, सचिवमा सीपी गजुरेल हुनुहुन्छ भने स्थायी समितिमा नेत्रविक्रम चन्द विप्लव र देव गुरुङ हुनुहुन्छ । यस्तै ७५ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरिएको छ । हाल एकीकृत नेकपा माओवादीमा रहेका ४६ जना केन्द्रीय सदस्य छन् भने बाँकी आज तय गरिने छ ।
चुनवाङ बैठकपछि पार्टीको नेतृत्वले लिएको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा गलत भएको ठहर गर्दै भेलाले जनविद्रोहसम्मको क्रान्तिकारी कार्यदिशा तय गर्ने निर्णय गरेको छ । यसबारे थप निर्णय गर्न फागुन १ गते महाधिवेशन बोलाइएको छ । पार्टीको वर्तमान नेतृत्व नवसंशोधनबादमा फसेकाले नयाँ पार्टी गठन गर्नु परेको बैद्य पक्षको भनाई छ । भेलामा सहभागीहरुले नयाँ पार्टी गठन गर्न नेतृत्वको समर्थन गरेका थिए । उनीहरुले नेतृत्वले अघि सारेको कार्यदिशा प्रष्ट नभएको भन्दै विद्रोहको प्रष्ट कार्यदिशा ल्याउन समेत माग गरेका थिए ।
एकीकृत नेकपा माओवादी फुटेर मोहन वैद्य किरणको अध्यक्षतामा नेकपा, माओवादी गठन गरेपछि यसले नेपाली राजनीतिमा धेरै तरङ्ग ल्याएको छ । चर्का कुरा गर्ने, शास्त्रीय रुपमा मात्र क्रान्ति गर्न सकिन्छ भन्ठान्ने र समग्रमा अतिवादी सोच र चरित्र भएका वैद्यहरुले नेपाली राजनीतिमा अतिवादी एजेण्डाहरुलाई उठाएर लोकप्रिय बन्ने प्रयास गर्नेछन् । संविधानसभा निर्वाचनबाट सवैभन्दा ठूलो दल बनेको माओवादी टुक्रिएपछि त्यसको सबैभन्दा ठूलो झट्का अध्यक्ष प्रचण्डलाई लाग्ने छ । जसले बिभिन्न जाति र समुदायको साथमा राष्ट्रपति पदमा पुग्ने र कम्तीमा दश वर्ष शासन चलाउने सपना देखेका थिए । बैद्यहरुको बर्हिगमनसँगै उनको त्यो सपना पुरा हुन हम्मेहम्मे पर्ने देखिन्छ ।
माओवादीको फुटले खुसी देखिएका कांग्रेस एमालेलाई तत्कालका लागि बैद्यको नयाँ पार्टी बाबुराम सरकारविरुद्ध आन्दोलनका लागि सहयोगी देखिए पनि कालान्तरमा बैद्यहरु कांग्रेस एमालेलाई नै घाँडो सावित हुनेछन् । बाबुराम सरकार विरुद्धको मोर्चाबन्दीमा तत्कालका लागि कांग्रेस–एमालेका गतिला सारथी बन्नेछन् बैद्य पक्ष । तर, जातीय मुद्दामा पार्टी फुटको पहिरो जानबाट एमाले र कांग्रेस पनि अछुतो रहने छैनन् । बैद्य पक्षको स्पष्ट रोडम्याप छैन् । न त उनीहरु तुरुन्त विद्रोह हुन्छ भन्नेमा ढुक्क छन् न त पुरानै जनयुद्धमा जानेमा मानसिक र भौतिक रुपले तयार देखिन्छन् । बाबुराम–प्रचण्डहरुले संसोधनवादी भए, जनयुद्ध सिध्याए, धोका दिए भनेर गाली गर्ने बाहेक उनीहरुसामु राजनीतिक गतिरोध अन्त्य गर्ने कुनै खाका छैन् । अब कसका बिरुद्ध क्रान्ति गर्ने ? के भनेर जनतालाई फेरि बन्दुक बोकाउने भन्ने स्पष्ट एजेन्डा पनि बैद्य समूहसँग छैन् ।
१२ बुँदे समझदारी र माओवादीको चुनवाङ वैठकको कार्यदिशा ठीक थिएन भन्ने वैद्य समूहले आफ्नो एजेन्डाको रक्षा गर्र्ने हो भने फेरि हतियार उठाउनुपर्छ तर वैद्य पक्षकै नेताहरु तत्काल जनयुद्ध सम्भव छैन भन्छन् । बाबुराम प्रचण्डहरुले गरेका क्रियामा प्रतिक्रिया देखाउनु उनीहरुको अन्य राजनीतिक अडान देखिएन् । कहिले अति संसदबादी त कहिले अति जडसुत्रबादी चरित्र देखाइरहेको छ बैद्य समूहले । अर्थात उनीहरुको बोली र ब्यवहारमा एकरुपता छैन, स्थीरता पनि छैन् । पूर्वराजा र राजावादीहरुसँगको उठबसले पनि उनीहरु राष्ट्रवादी चरित्र देखाएर परिआए राजाबादीसँग पनि मिलेर जाने योजनामा रहेको देखिन्छ ।
अहिले कुनै पनि बैधानिक निर्वाचित निकाय वा संसद नभएको अवस्थामा माओवादी फुट्नुको कुनै गणितीय अर्थ त नहोला तर राजनीतिक रुपमा प्रचण्ड–बाबुरामहरु कमजोर हुनेछन् । चुनाव भयो भने वैद्य पक्षले धेरै सिट त नल्याउला, कुनै गणना गर्न लायकको उपस्थिति नहोला तर संस्थापन पक्षीय माओवादीका उम्मेदवारलाई हराउन भने सजिलै सक्नेछन्, जसको फाइदा कांग्रेस एमालेले लिन सक्छन् । यदि त्यस्तो अवस्था देखियो भने अहिले चुनावमा जान आनाकानी गरिरहेका कांग्रेस एमाले चुनाव जाने योजनामा लाग्नेछन् भने एकीकृत माओवादीले चुनावलाई प्राथमिकता दिनेछैन् ।
पार्टी नेतृत्व र राज्यबाट असन्तुष्ट रहेका कार्यकर्ताको भीड जम्मा पार्न बैद्य पक्ष केही हदसम्म सफल भए पनि उनीहरुको राष्ट्रिय राजनीतिमा उपस्थीति न्यून हुने छ । यस परिस्थीतिमा संस्थापन पक्षीय माओवादीले आफ्नो कार्यदिशा कार्यान्वयन गरेर जान सजिलो भने हुनेछ । संस्थापन पक्षीय माओवादीमा अब बाँकी रहेका तीन गुट एकजुट हुन्छन् कि पुरानै तरिकाले अगाडी बढ्छन् त्यसले पनि निर्धारण गर्ने छ संस्थापन पक्षीय माओवादीको आकार र हैसियत । बैद्य पक्षको फुटलाई शिक्षाका रुपमा लिँदै भएका नेता कार्यकर्तालाई एकजुट पार्न सकेन भने माओवादीमा फुटको पहिलो गइरहनेछ ।


0
'

Comments

  1. प्रदिप के सि says:

    very good

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: