यात्रा÷नियात्रामा मोहन दुवाल

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

-रामप्रसाद ज्ञवाली

मोहन दुवाललाई म २०४८–२०४९ सालदेखि चिन्छु । त्यतिखेर उहाँ जनपक्षीय साहित्यिक पत्रकार, प्रगतिशील कवि र कम्युनिस्ट विचारधारा बोकेको बौद्धिक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्थ्यो । पछि उहाँसँगको सामीप्य बढ्दै जाँदा उहाँँलाई जुझारु र समाजसचेत स्रष्टा र द्रष्टाका रुपमा पाएँ भने मिलनसार, सक्रिय, समन्वयकारी तथा हक्की साहित्यकारका रुपमा चिन्दै आएको छु ।

उहाँका व्यक्तित्वका पाटा धेरै छन् – कवि, निबन्धकार, राजनीतिक कार्यकर्ता, पत्रकार, संगठक, उत्प्रेरक, शिक्षक आदि । सबै व्यक्तित्वमा उहाँ प्रगतिशील देखिनुहुन्छ तथापि नेपाली समाज, नेपाली भाषा, साहित्य र तिनको विकास निम्ति उहाँले साहित्यिक पत्रकारिताका माध्यमले गर्नुभएको योगदान सर्वोपरी छ । जनमत साहित्यिक मासिक मार्फत देश–विदेशमा विस्तारित उहाँको व्यक्तित्व विशेष प्रशंसनीय छ ।

मोहन दुवालको साहित्य जनपक्षीय साहित्य हो । उहाँले आफूले हात हालेका साहित्यिक विधाहरूमा नेपाली समाजका यथार्थ र सर्वसाधारण नेपालीका चासोहरूलाई समेट्ने प्रयत्न गर्नुभएको छ । तिनमा वर्गीय पक्षधरता छ र अग्रगामी विचारले अन्तर्वस्तुको प्रतिनिधित्व गरेको छ । सामाजिक, उत्पीडित वर्गको न्यायपूर्ण मुक्ति र उत्पीडक वर्गविरुद्धको चेतना सम्प्रेषण नै उहाँका रचनाको केन्द्रीय कथ्य बनेको छ । मानवीय मूल्य र श्रमको सौन्दर्य उहाँका प्रिय भाव बनेका छन् । भाषामा सरलता र शैलीमा सहजता उहाँको साहित्यका बाह्यसौन्दर्य देखिन्छन् ।

उहाँका नियात्रात्मक कृति उहाँले गरेका विभिन्न यात्राका क्रममा बाहिरबाट सरसरती देखापरेका दृश्य र जीवन तथा त्यहाँ रहँदा बस्दा सम्पर्कमा आएका व्यक्ति तथा कृतिबाट प्राप्त गरेका सूचनामा आधारित र वर्णनात्मक स्वरुपका छन् । वर्णनका क्रममा जीवनस्थिति र दृश्यहरूले बढि स्थान पाएका छन् भने ती कुराप्रतिको लेखकीय बोध र टिप्पणीले पनि स्थान पाएको देखिन्छ । मोहन दुवालका नियात्राहरू मोहन दुवालजस्तै छरिता, सरल, सहज र यथार्थपरक लाग्छन् ।

देश–विदेशका विभिन्न स्थानहरूको यात्रा गर्दै र ती स्थान तथा त्यहाँका भौगोलिक, सामाजिक, सांस्कृतिक तथा अन्य पक्षसँगको सहचार्य बढाउँदै बोध गरेका तथ्यपरक कुराहरूलाई आत्मरागका साथ साहित्यमा व्यक्त गर्ने कार्य नियात्रापरक रचनामा हुन्छ । मोहन दुवालले त्यहि कार्य गर्नुभएको छ । खास गरी उहाँले चीन, उत्तरकोरिया, भारत जस्ता विदेशी भूमिको भ्रमणबारे सूचना र बोधपरक वर्णन गर्दै नियात्राहरू लेख्नुभएको छ । उहाँ अनावश्यक हावादारी कल्पना गरेर रोमान्टिक नियात्रा लेख्ने नियात्राकार नभएर देखे सुनेको र भए गरेका वास्तविक कुरालाई निजी बोधका साथ व्यक्त गर्ने नियात्राकार हुनुहुन्छ ।

यथार्थपरक सामग्री वा वस्तुलाई सरलसहज भाषाशैलीमा वर्णनात्मक ढङ्गले प्रस्तुत गर्ने नियात्राकार मोहन दुवालको मूल प्रवृत्ति हो । उहाँका नियात्राको पहिलो प्रवृत्ति यहि नै हो । अन्य प्रवृत्तिहरूमा नियात्रा लेख्दा पनि राष्ट्रिय चिन्ता र चासोका कुरा गर्नु, अन्य देशका विभिन्न अवस्थासँग नेपालको अवस्थाको तुलना गर्नु, मन परेका दृश्य, अवस्था र कुराको वर्णन गर्दै मनपर्नुका कारणहरू सङ्केत गर्नु, चित्त नबुझेका कुरा स्पष्ट रुपमा आलोचनात्मक ढङ्गले प्रस्तुत गर्नु, आफु नेपाली नागरिक भएको कुरा नबिर्सी रचना गर्नु, सामान्य पाठकले पनि सजिलै बुझ्ने भाषाको प्रयोग गर्नु आदि पर्छन् ।

चीन नेपालको छिमेकी र विश्वको ठूलो शक्तिराष्ट्र हो भने उत्तर कोरिया विश्वका पूँजीवादी–साम्राज्यवादी राष्ट्रहरूका लागि टाउको दुखाइ बनेको सङ्गठित कम्युनिस्ट राष्ट्र हो । यी दुवै मुलुक माक्र्सवादी राजनीतिद्वारा निर्देशित भिन्न स्वरुपमा गतिशील मुलुक हुन् । यी मुलुकमा लागु भएको व्यवस्था र विचारधारासँग नियात्राकार मोहन दुवाल वैचारिक रुपमा नजिक हुनुहुन्छ । त्यसैले सैद्धान्तिक रुपमा यी राष्ट्रप्रति सहानुभुति, प्रेम र समर्थन गरी नियात्रा रचना गर्नुभएको देखिन्छ भने उत्तर कोरियाको एकलकाँटे यात्राप्रति केही असहमतिका स्वर पनि प्रस्तुत भएको पाइन्छ । विश्व राजनीतिमा र भौतिक विकासमा चीनले गरेको चमत्कारपूर्ण प्रगतिप्रति उहाँलाई गौरवबोध भएको पनि देखिन्छ । उत्तर कोरियाको भ्रमणबारेको नियात्राले नेपालका कम्युनिस्ट पार्टीहरूलाई सतर्क भएर राजनीति गर्न र विश्वसँग टाढिएर नभई सामीप्य बढाएर नेपाली जनताको पक्षमा राजनीति गर्न सन्देश दिएको छ ।

सिक्किम नेपाली साहित्यकारका निम्ति भूगोलले विदेश हो भने भाषा र भावनाले स्वदेश जस्तै हो । असल नेपाली साहित्यकारले सिक्किमेलीबाट माया पाए जस्तै त्यहाँपुग्दा नियात्राकार दुवालले पनि आत्मीयता र माया पाउनु भयो । उहाँले त्यहाँ नेपाली भाषा र साहित्यप्रति प्रगाढ प्रेम पाउनु भयो । त्यहाँको भूगोल पनि नेपालसँग मिल्दो देख्नुभयो । त्यहाँको इतिहास र संस्कृतिका विभिन्न आयामसँग परिचित हुनुभयो र त्यहि ज्ञानबोध र प्रसन्नता उहाँले नियात्रामार्फत प्रस्तुत गर्नुभएको छ । यस नियात्रामार्फत उहाँले सिक्किमप्रतिको प्रेम, कलाको सार्वभौमिकता, नेपाली हुनुको गर्वबोध, भाषा र साहित्यप्रतिको प्रेम र जिम्मेवारीका पक्षमा सन्देश दिने खोज्नुभएको छ ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: