यसपल्ट पुस्तकालयका कुरा

प्रकाशित मिती : आइतवार, जेष्ठ २१, २०६९ by   ·   Comments

अशोकचन्द्र धु“जू श्रेष्ठ

पुस्तक भनेको विशेषगरी विद्वान, लेखक, साहित्यकार, दार्शनिक आदिका विचार तथा भावनाहरुलाई लिपिबद्ध गरिएको र छापिएको ग्रन्थ हो भन्ने बुझिन्छ । पुस्तकबाट मानिसको सकारात्मक सोचको विकास गर्न सकिन्छ । पुस्तककै महत्वलाई हेर्दा पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन भन्ने थोरोको अभिव्यक्ति महान छ । त्यस्तै पुस्तक भएको घरमा प्राण हुन्छ भन्ने प्लेटोको भनाइबाट पनि पुस्तकलाई साँच्चिकै मानिसको जीवनसाथी भन्न सकिन्छ ।

पुस्तकहरु जहाँ संग्रह गरिएको हुन्छ, त्यसलाई पुस्तकालय भनिन्छ । घर, विद्यालय तथा सामाजिक संस्थाहरुमा क्रमैसित के परिवार, विद्यार्थी र साधारण जनतालाई पढ्ने र पढाउने सुयोगका निम्ति पुस्तकालहरु निर्माण गरिएका हुन्छ । लोकलाई अज्ञानको अन्धकारबाट मुक्त गरी नानाप्रकारका विद्या र ज्ञान प्रदान गर्न पुस्तकालयको व्यवस्था गर्नु ठूलो पुण्य कार्य मानिन्छ ।

पुस्तकालयबाट अवर्णनीय लाभ उठाउन सकिन्छ । पुस्तकालय ज्ञानको भण्डार हो । यसउसले पुस्तकालयबाट जति भए पनि ज्ञान प्राप्त गर्न सकिन्छ । प्रारम्भिक शिक्षा हामी पाठशालाहरुबाट पाउँछौं तर पुस्तकालयबाट पाएको ज्ञानद्वारा हामी आफ्नो व्यक्तिगत ज्ञान भण्डार बृद्धि गर्न सक्छौं । पुस्तकालयले हामीले चाहेको हरेक विषयका पुस्तकहरु पढ्ने मौका हामीलाई प्रदान गर्दछ । आर्थिक संकटले घेरिएका विद्यार्थीहरु सार्वजनिक पुस्तकालयबाट अतुलनीय सहयोग र लाभ प्राप्त गर्न सक्छन् । यसर्थ पुस्तकालयलाई शिक्षाको अभिन्न अंगको रुपमा मान्न सकिन्छ ।

विश्वमा पुस्तकालयको इतिहास निकै पुरानो छ । एसिरियाका राजा अस्युर वानिपालले ईपू ६२६ अगाडि स्थापना गरेको निनेभ पुस्तकालयलाई विश्वको पहिलो पुस्तकालयको रुपमा लिन सकिन्छ । त्यसैगरी इपू ३२३ अगाडि इजिप्टका राजा टोलेमीले स्थापना गरेको अलेक्जेन्डियन पुस्तकालय, रोमको सिसेरोको निजी पुस्तकालय जस्ता पुस्तकालयहरुको विकास भएको पाइन्छ । ज्ञान सामग्री बढ्दै जाँदा पुस्तकालयको विकास र प्रबद्र्धन बढ्न थाल्यो । फलस्वरुप फ्रान्सको बिब्लिओथेक नेसनाले सन् १४४६ मा रोमको भेटिकन पुस्तकालय, सन् १७१४ मा रसियाको लेनिनग्रेड पुस्तकालय, सन् १७५६ मा बेलायतको ब्रिटिश म्युजियमका साथै सन् १८७० मा अमेरिकाको लाइब्रेरी आफ काँग्रेस जस्ता पुस्तकालयहरुको जन्म भएको पाइन्छ ।

विश्वमा बढ्दै गएको पुस्तकालयको विकासले हाम्रो देश नेपालमा पनि प्रभाव नपारी रहन सकेन । फलस्वरुप नेपालमा सम्वत्् १८६९ मा् श्री ५ गीर्वाणयुद्ध विक्रम शाहबाट पुस्तकालयको अभिनियमको लालमोहर जारी भयो । यो लालमोहरले पुस्तकालयलाई देशको इतिहासमा सर्वप्रथम कानुनी मान्यता दियो । नेपालको प्रथम पुस्तकालयध्यक्ष केदारमान पण्डित हुन् । यसपछि श्री ३ जंगबहादुरको पालामा लेखापढी गर्ने कोठालाई जैसीकोठा भन्न थालियो । १९१० मा श्री ३ वीर शम्सेरको पालामा जनताहरुलाई शिक्षा प्रदान गर्न दरबार स्कुलमा सामान्य पुस्तकालयको व्यवस्था गरियो । वि.सं. १९५० मा दरबार स्कुलबाट घन्टाघरमा सम्पूर्ण पुस्तक सारियो । वि.सं. १९६२ मा घन्टाघर लाइब्रेरीको नाम बदलेर वीर लाइब्रेरी सरकारी पुस्तकालय भन्ने राखियो । तत्कालीन सरकारले लाइब्रेरी खोलेता पनि आम जनतालाई पुस्तकालय खोल्न पाउँदैनथ्यो । पुस्तकालय खोलेर शिक्षा आर्जन गर्ला भन्ने डर त्यसबेलाको सरकारलाई थियो । यसर्थ वि.सं. १९८७ सालमा लाइब्रेरी खोलेवापत लक्ष्मीप्रसाद देवकोटा लगायत ४३ जनालाई जनही रु. १÷१ सय जरिवाना गरिएको थियो । राणा शासनमा सार्वजनिक पुस्तकालय खोल्नु पनि अपराध थियो ।

नेपाल राष्ट्रिय अभिलेखालय अन्तर्गत केशर पुस्तकालय आजसम्म सञ्चालित छ । पाटनको हरिहर भवनमा नेपाल राष्ट्रिय पुस्तकालयमा धेरै पुस्तकहरु संकलित छन् । मदन शमसेरको पालामा स्थापित मदन पुस्तकालय पनि अझसम्म छ । त्यसैगरी १९५९ मा स्थापित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय नेपालको पुस्तकालयमा सबैभन्दा बढी पुस्तक तथा सामग्रीको व्यवस्था गरी नेपालकै सबभन्दा ठूलो व्यवस्थित र आधुनिक पुस्तकालय बन्ने सौभाग्य पाएको छ । सो पुस्तकालयमा अहिले करीब ३ लाख पुस्तक छन् । आफ्नो देशको इतिहास तथा अन्य सूचनाको प्रचार गर्न साथै पुस्तकालयकै सेवा दिन विभिन्न कुटनीतिक नियोगहरुले पनि हाम्रो देशमा पुस्तकालय संचालन गरेका छन् । सन् १९५४ बाट भारतीय दुताबासबाट संचालित नेपाल भारत सांस्कृतिक केन्द्र तथा पुस्तकालयमा ६२ हजार भन्दा बढी किताब छन् ।

मोटामोटी नेपालभरि सातसय सार्वजनिक, चारसय शैक्षिक तथा सय जति विशेष पुस्तकालय छन् । शैक्षिक पुस्तकालयको अवस्था तुलनात्मक रुपमा राम्रो भए पनि सार्वजनिक पुस्तकालय भने खुल्ने र बन्द हुने भइरहन्छ ।

अचेल पुस्तकालयमा पुस्तकहरु मात्र होइनन्, पत्रपत्रिकाका साथै अडियो, भिडियो, माइक्रो फिल्म र अनलाइन सामग्री जस्ता ज्ञान विज्ञानका सामग्री व्यवस्थित रुपमा संकलन, व्यवस्थापन, प्रसारण र संरक्षण गरिएको हुन्छ ।

आधुनिक रुपमा पुस्तकालयलाई सूचना केन्द्र भन्ने गरिन्छ । यस्ता केन्द्रमा पाठकहरुको चाहना बमोजिम विभिन्न प्रकाशनहरुको उचित छनोट, संकलन, व्यवस्थापन र संरक्षण साथै पाठकहरुलाई सूचना सम्प्रेषण जस्ता कार्यहरु गरिन्छ । सार्वजनिक पुस्तकालयको संचालनका लागि आवश्यक पर्ने बजेटको संकलन दान, उपहार, कर आदिको रुपमा सर्वसाधारणबाटै गरिएको पाइन्छ । जसलाई जनताको पसिनाबाट संचालन हुने संस्था भन्दा फरक पर्दैन ।

प्रत्येक राष्ट्रको जीवनमा पुस्तकालयको महत्व ठूलो छ । यसर्थ ज्ञान सामग्रीको एउटा अमूल्य निधिको रुपमा रहेको पुस्तकालयहरुको महत्व हेरी नेपाल सरकारले वि.सं. १८६९ भदौ १५ गते तत्कालीन सरकारले पहिलो पुस्तकालय संचालन गरेको दिनलाई पुस्तकालय दिवसको रुपमा मनाइँदै आएको छ । पुस्तकालय प्रयोग र विकासका लागि चेतना जगाउने उद्देश्यले उक्त पुस्तकालय दिवस वि.सं. २०६५ सालदेखि मनाउन थालेको हो । सूचना ज्ञान र सीपको लागि पुस्तकालय भन्ने नाराका साथ सो पुस्तकालय दिवस भदौ ९ देखि १५ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइन्छ ।

जनतालाई चेतनशील बनाउने राज्यको सोच हो भने पुस्तकालय दिवस मात्र मनाएर पुग्दैन । राज्यले ठाउँ ठाउँमा सार्वजनिक पुस्तकालय खोल्ने कार्यलाई प्रोत्साहित गर्न पनि जरुरी छ । विकसित देशहरुमा औपचारिक शिक्षासँगै अनौपचारिक विषयमा अध्ययन गर्ने संस्कार बसाल्न सरकारले पुस्तकालय खोल्ने अग्रसरता देखाएको छ । यसै सन्दर्भमा नेपाल सरकारले धेरै जोड दिएर २०६४ सालयता पुस्तकालय नीति पारित गरेता पनि पुस्तकालयको खासै चासो नदिएको देखिन्छ । सुरुमा एक करोड रुपैया छुट्याएर विभिन्न सार्वजनिक पुस्तकालयलाई सरकारले सहयोग गरेता पनि त्यसले निरन्तरता भने पाएन । यसर्थ सरकारले पुस्तकालयको विकास र प्रर्बद्धका लागि व्यवहारमा उतार्ने खालका नीति र कार्यक्रम ल्याउनुपर्छ ।

2
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: