मणिराज- केही लौकिक तथा अलौकिक कुराहरु

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

– गोविन्दलाल प्रधानाड्ड
मणिराज कायस्थ २०२ साल माघ महिनामा जन्मनु भई २०६९ साउन २ गतेका दिन अकस्मात हामी बीचबाट विदा लिनु भएर जानुभयो । ६७ वर्षको अल्पायुमै समाजका विभिन्न क्षेत्रहरुमा आफ्नो गहिरो छाप छोडी जानुहुने मणिराज कायस्थ मेरा अभिन्न मित्रहरुमध्ये पर्नुहुन्छ । व्यक्तित्वका धनी, मिलनसार, हँसिलो, फूर्तिलो उच्च कदको, बैकुण्ठ कायस्थको तेस्रो छोरो, दुई छोराहरु मञ्जुल र निरञ्जुल तथा छोरी निरोजाका पिताका साथै भाउजू सरोजाका श्रीमान् हुनुहुन्थ्यो । समाजका केही क्षेत्रहरुमा अगुवाई गर्दै जाँदा यस संसारबाट विदा हुँदा धेरै क्षेत्रका मानिसहरु तथा साथीहरुलाई ज्यादै दुःखको अनुभूत भएको छ । तर के गर्ने ? यस संसारमा जन्मेर छोडेरै जानुपर्ने नियमलाई कसैले पनि उल्लंघन गर्न नसकिने साश्वत सत्यले उहाँ पनि अलग हुन सक्नुभएन ।
स्व. मणिराजसँग मेरो परिचय आजाद माविमा २०१६ सालमा कक्षा ८ मा पढेदेखि नै भएको थियो । ०१८ सालको प्रवेशिका परीक्षा पनि सँगै सामेल गरेर उच्च शिक्षा हासिल गर्न काठमाडौं जाँदा पनि हाम्रो सम्बन्ध निरन्तर रह्यो । त्यतिबेला पनि काठमाडौंमा मयलपोस र कोटले सजिएको साथी कायस्थ देखेर मानिसहरु आकर्षित भएको म अझै झल्झल्ती सम्झिरहन्छु ।
२०१८ सालमा प्रवेशिका परीक्षा पास गर्नेहरु मध्ये केही साथीहरु वामपन्थी विचारमा अनायासै प्रभावित भई त्यतिबेल सजिलै छ्याप्छ्याप्ती उपलब्ध हुने चिनिया तथा सोभियत रुसका सस्ता पुस्तकहरु पढ्दै जाँदा त्यस विचारले हामीलाई प्रभावित पा¥यो र हाम्रो मित्रता अझ गाढा हुँदै गयो । पठन पाठनमा पनि सहयोगीको रुपमा संयुक्त पठन पाठनमा पनि लाग्यौं । यसले हाम्रो पढाइमा पनि त्यत्तिकै मद्दत पुगिरहेको थियो । कहिलेकाहीँ हामीहरु आपसमा ख्याल ठट्टा पनि गथ्र्याैं – मैले विवाह गरिसकेपछि चार छोरीहरु जन्मँदै कति बच्चा पाउने भनी सोध्दा दर्जन पाउनुपर्छ, हाम्रो लागि जनशक्तिको पनि आवश्यकता छ भनीदिने जवाफको उहाँ जहिले पनि हाँसी हाँसी स्मरण गराउनुहुन्थ्यो । ठट्टाकै क्रममा उहाँले हाँसी हाँसी पटक पटक साथीहरुकै बीचमा भन्नुभएको कुरा म कहिल्यै बिर्सन्न ।
आफ्नो हैसियत अनुसार समाजको विभिन्न क्षेत्रहरुमा काम गर्न सफल साथी मणिराजलाई परिवारको पनि त्यत्तिकै साथ थियो । सामान्य जीवन गुजारा गरेर समाजमा प्रतिष्ठा उठाउँदै गर्नुभएका साथीको विशेषतः छोरा मञ्जुल कायस्थले संचालन गरेको मसला उद्योगले धेरै भरथेग भइआएको र भाउजू सरोजा तथा परिवारका अन्य सदस्यहरुको संयुक्त सहयोग पाएर नै उहाँले समाजमा व्यापार, उद्योग, समाजसेवा तथा राजनीतिमा समेत लाग्न र ती ठाउँहरुमा आफ्नो प्रतिष्ठा राख्न सफल हुनुभयो । ती कुराहरु हामीले पनि प्रत्यक्ष रुपमा अनुभव गर्दै आएका छौं । त्यसैले उहाँको असामयिक निधनबाट परेको प्रतिकुल तथा अपूरणीय क्षतिलाई व्यक्त गर्दै सम्बन्धित क्षेत्र तथा व्यक्तित्वहरुले सञ्चारमाध्यमहरुबाट उहाँको आत्माको चीर शान्ति तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्तको ओइरो तथा विभिन्न संघ संस्थाहरुले उहाँको स्मृतिको सभा आयोजना भइरहेकोले पनि उहाँले आफूले गरेको काममा कति उचाईका साथ आफूलाई उभ्याउनुभएको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । यसरी उहाँ कति ठाउँहरुमा अगुवाको रुपमै देखिनुभयो । उहाँ र मेरो बीचको भेटघाटमा आफू संलग्न भएको संघ संस्थाहरुबारे के कस्तो भइरहेछ ती कुराहरु मलाई पनि बारम्बार सुनाइरहनुहुन्थ्यो । कुनै कुनै काममा मलाई पनि सामेल गराउनुहुन्थ्यो ।
म काभ्रे माविको संस्थापक प्रिन्सिपल रहँदा रेडक्रसको प्रवेशता उहाँले नै गराउनु भएको थियो र उहाँले नै आपत विपतमा सहयोगको भावना उठाउन रेडक्रसमा सबै सदस्यहरुले महिनाको ४÷५ रुपैया मात्र भए पनि उठाए थुप्रै हुन्छ भन्ने ज्ञान उहाँले नै विद्यार्थीहरुलाई दिनुभयो । यसरी साथी मणिराज एउटा सुसंस्कृत तथा खारिएको संस्कार बोकेर हिँड्नुहुने र आफ्नो गौरवलाई संग्लो पार्दै हिँड्नुहुने एउटा स्वच्छ आत्मा हुनुहुन्छ । यो उहाँको जन्म जन्मान्तरको लागि राम्रो पूँजी हो ।
२०६५ सालको कुरा हो । उहाँका जेठा छोरा मञ्जुलको असामयिक निधन हुँदा श्रीमतीसहित म उहाँको घरमा पुगेको थिएँ । त्यतिबेला गोपालसिंह दाइ पनि हुनुहुन्थ्यो । आर्थिक हिसाबले परिवारको डुंगा खियाइरहेका छोरलाई बिर्सनु ज्यादै कठिन हुन्छ । त्यतिबेला भाउजूको सहनशीलता तथा धैर्यता देखेर म ज्यादै नै प्रभावित भएको थिएँ । किनभने उहाँले आफ्ना श्रीमान्लाई सम्झाइरहनुभएको थियो । त्यतिबेला मलाई लाग्यो भौतिक कुराहरु तथा मान र इज्जतको पछाडि मात्र लाग्नेहरुभन्दा अभौतिक तथा अलौकिक कुराहरु बुझेर सबै समय, चाहे दुःख होस् चाहे सुख होस्, समान रहने व्यक्ति महान हुँदोरहेछ र आफैलाई बलियो सावित गर्न सक्दो रहेछ भन्ने कुरामा प्रत्यक्ष भयो । त्यतिबेला भाउजूले भन्नुभएको थियो ‘जे भयो भयो, हुनुपर्ने थियो भयो । अब त्यसमा चिन्ता गरेर के फाइदा ? बरु चिन्तन गरौं ।’ यी हरफहरु मनमा एकदमै गढ्यो । मलाई लाग्यो त्यति क्षमता सायद मैले पनि आर्जन गरेको छैन होला ।
निश्चय नै छोरा मञ्जुलको देहावसान पछि मणिराजको जिन्दगीमा एउटा बेग्लै मोड आयो । घरको साह्रा गतिविधिमा आफूलाई लगाउनुभयो । उहाँ मलाई बारम्बार भन्नुहुन्थ्यो कि उहाँले आफ्नो जीवनमा नयाँ मोडतिर लानैपर्ने भएको छ । यसरी उहाँले आफ्नो बाध्यताको कुराहरुको साथै आफूले समाजमा गरेको सेवामा गौरव गर्दै त्यस गौरवको प्रतिफलको सम्बन्धित क्षेत्रका मानिसहरुप्रति उहाँको गुनासो पनि रहेको कुरा व्यक्त गर्नुभएको थियो । यसबाट उहाँलाई दोहोरो चोट परेको आभास हुन्थ्यो ः एकातर्फ छोरालाई गुमाउनु पर्दाको चोट, अर्कातर्फ साथीहरुले बिर्सिदिने । यो संसारमा मैले पनि त्यस्तै बुझिरहेको थिएँ र एक जमानामा मलाई पनि समाजदेखि अति घृणा लागेको थियो । तर पछि मैले बुझेँ कि संसारमा अरुलाई आफूजस्तो बन्न आफै परिवर्तन हुनुपर्ने र अरुबाट कुनै आशा नगरी उनीहरुमा केही गुण छ भने त्यसलाई आफूले सिक्नु राम्रो रहेछ । यसरी गर्दा नै सबै अवस्थामा आफूलाई विचलित नगरी एक स्थिति अर्थात् दुःख तथा सुख कुनै पनि अवस्थामा एउटै अवस्था रहन सक्ने रहेछ । यस सन्दर्भमा भाउजू सरोजालाई यतिखेर पतिको शोक बोक्नु छ भने विचलित परिवारलाई सम्हाल्नु छ । उहाँ साँच्चिकै परमात्माको सच्चा सन्तानै लागेको कुरा जब आफ्नो श्रीमान् बित्नुभयो र घरमा कोलाहल भयो त्यतिखेर उहाँले आफूलाई सम्हाली परिवारजनलाई तिमीहरु किन रुन्छौ, म छँदैछु नि भनी भरोसाको आड बनाउनु भयो भन्ने कुरा सुन्दा साँच्चिकै महिला शक्ति प्रबल छ भन्ने लाग्यो । त्यसैले मानिसहरु दुःख पर्दा, आपत पर्दा, संकट पर्दा दुर्गा, काली, सन्तोषीमाँ आदिलाई पुकार्ने गर्ने कुराको याद आयो । यो शक्ति भाउजूमा कायम होस् र परिवारको आड भरोसा बनिरहोस् भन्ने आशा राख्दछु ।
मानिसहरुबाट सिक्ने र बुझ्ने व्यवहारबाटै हो । मैले वास्तवमा मणिराजलाई पढ्दै आएको थिएँ । एकदिन म र मेरो युगल सहित रगतमा सुगर परीक्षणको लागि बनेपा आउँदा उहाँको पसलमा पसेँ । भाउजू र साथी मणिराजजी पसलमा हुनुहुन्थ्यो । मैले रक्त परीक्षणको कुराको साथै खानपानको कुरारु पनि उठाएँ र मणिराजजीले दुब्लो स्थिति पनि जाहेर गरँे । त्यतिबेला पनि भाउजूले भन्नुभएको थियो कि खाना राम्रो खानु हुन्न । यो वा त्यो खान्न भन्नुहुन्छ त कसरी स्वास्थ्य ठीक हुन्छ ? त्यतिखेर पनि साथी लाचार हुनुभएको देखेँ । म पनि सुगर रोगी भएकोले मेरो खाने रुचीबारे मेरी श्रीमतीले पनि कुरा थपिन् । यसरी हामी झण्डै आत्मिक सम्बन्धमा रहेका थियौं ।
संसारमा कस्तो सामान्य चलन छ भने सानो समस्यालाई पनि ठूलो समस्या ठानेर निराश बन्छन् । यसले समस्या समाधानको एकदमै प्रतिकुल स्थितिमा पु¥याउँछ किनभने त्यो सोचाइले अलिकति भएको शक्ति पनि क्षीण गर्दछ । त्यसैले तिललाई पहाड नसम्झी पहाडलाई तील सम्झन थाल्यौं भने असम्भव कुराहरु पनि सम्भव हुने गर्दछ । अतः मणिराजजीको परिवारमा यो सोचलाई बलियोसँग सम्झायो र चिन्तालाई चिन्तनमा परिणत ग¥यो भने जीवनलाई निराश होइन उज्यालोतिर अगाडि बढाउन सकिन्छ । यसरी यस शोकको घडीमा शोकलाई शक्तिमा परिणत गर्ने शक्ति प्राप्त गरोस् भन्ने कामनाको साथै चीर शान्ति तथा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: