मणिराजलाई सम्झिँदै गर्दा

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

– मणिराज कायस्थ समाजपरक मान्छे हुन् । मणिराज समाजका लागि आवश्यक व्यक्तित्व हुन् । पुख्र्यौली व्यापारे व्यवसायमा आफ्नो तन, मन, धन खर्चिदै व्यापार व्यवसाय चलाउँदै आएका यिनी एकजना व्यापारी पनि हुन् । भाषा आन्दोलनमा आफ्नोपन देखाएर गएका यिनी नेपालभाषा र नेवारजातिले सम्झिनैपर्ने नाम भएर गएका छन् । मानवीय कर्ममा रेडक्रस भएर, व्यापारी व्यवसायीका लागि उद्योग वाणिज्य संघ र साना उद्योग महासंघका साइनबोर्ड रहेर, संस्कृतिका इतिहास मर्ममा ‘इही’मार्फत् कन्याहरुलाई सम्मान गरेर, राजनीतिमा आफ्नो गच्छे अनुसारको व्यक्ति भएर, घर परिवारमा सबैका मूली भएर लुखुर लुखुर जीवन–जगत् डो¥याइरहेका मणिराज कायस्थ अचानक मृत्युवरण गर्दाको क्षण मेरो लागि पनि निकै दुःखद लाग्यो ।
– फूर्तिला शरीर, चम्किला मुहार बोक्दै जीवनपथ गुजार्दै गरेका यिनी मसला उद्योगमा आफ्नो लगाव गाँसेर व्यापार व्यवसाय गर्दै आएका यिनलाई ‘जेठा छोराले व्यापार व्यवसायबाट साथ छोडेर कतै बिलिन भएर गएपछि यिनको मुहारमा मलिनता थपिँदै गएको सबैले टाढाबाट देखिँदो हो । चण्डेश्वरी मन्दिर प्राङ्गणसम्म बिहान बिहान भारती र म घुम्ने गथ्र्यौं । बाटोमा मणिराजसँग सधैंजसो भेटघाट हुन्थ्यो । उनी सधैं एफएममार्फत् समाचार सुन्दै यात्रामा आइरहेका हुन्थे । सधैं बाटोमा मुस्कान साटासाट गथ्र्यौं हामीहरु । उनी बितेको बिहान चण्डेश्वरी घुमेर भीमसेनस्थाननेर पुग्दा दाजु दिनानाथ श्रेष्ठले मणिराज दिवंगत भइसकेको कुरा सुनाए । भारती र म छक्क पर्दै गर्दा समुन्द्रलाल श्रेष्ठ आइपुगे । उनी धुलिखेल हस्पिटल पुगेर आएका रहेछन् – मणिराजको शव घर ल्याउँदै गरेको उनले भने ।
– मणिराज कायस्थ मेरै टोलका एकजना मित्र । वर्षले उनी मभन्दा ६ वर्षले प्रौढ । ठाउँ ठाउँमा जम्काभेट भइरहन्छ – सामाजिक कार्यमा, भाषा आन्दोलनको गोष्ठी संगोष्ठीमा । कुरा फुकाउन, सुनाउन र विचार राख्न खप्पिस यिनी नेकपा (एमाले) सँग सम्बन्धित रहेर राजनीति कर्म पनि गर्दै आएका व्यक्तित्व हुन् । कन्यापूजामा यिनी पूर्खाको बिँडो थामेर अध्यक्ष भएर नेतृत्व गर्दै आएका यस नगरका कन्यापूजक हुन् । आफ्नो व्यवहारबाट बचेको समयमा जीवनका धेरैजसो समय यिनले सामाजिक सेवामा आफूलाई अर्पण गर्दै आएका थुप्रै सन्दर्भहरु स्मरण गर्न लायकका छन् ।
– महिना दिन अगाडि नेवारहरुको सांस्कृतिक भोजमा भक्तपुरस्थित चोङा गणेशस्थानमा हामीसँगै थियौं । बनेपाबाट सँगै विधान जोशीको कारबाट उनी पनि हामीसँगै आउने व्यवस्था मिलाइएको रहेछ, तर प्राविधिक त्रुटिकै कारणले हो वा केले हो हामीसँग जाने टोलीमा उनी छुट्टियो । तर पनि पिकनिक स्थलमा हामीसँगै रह्यौं । संघीयता सम्बन्धमा उनले बुझे अनुसार व्याख्या गरे, म सिर्फ सुनिरहेँ । नेवारहरुको संस्कृति बारेमा, भाषा–जातीयताकै सवालमा उनले पार्टीको रवैया ठीक नभएको, ब्राह्मणवाद हावी भएको जुनसुकै क्षेत्रमा पनि अन्य जातीय सवाललाई किच्न खोज्दोरहेछ – उनले भन्दै गए । आफ्नो पहिचानबारे उनले जे बुझे त्यो भन्दै गर्दाको त्यो स्थितिमा मैले उनलाई छाम्दै गर्दा भन्नुपर्ने हुन्छ – उनी कट्टर संघीयताका पक्षपाती एकजना कट्टर नेवार हुन् ।
¬ – दिवंगत हुनुभन्दा केही दिन अगाडि उनी चारदोबाटोमा उनकै पसल छेउछाउमा भेट भएको थियो । मैले आत्मीयतापूर्वक हात मिलाएको क्षण झलझल सम्झना आइरह्यो । धेरै घटनाहरुमा, परिदृश्यमा उनी मेरो मनमा अल्झिरहेको एकजना व्यक्ति भएकै कारणले मणिराज मेरो मन मनमा अझै पनि अल्झिरह्यो । समाजमा केही गर्न रुचाइरहने, आफ्नो अर्थ र गरिमा के हो सोबारे आफूलाई धेरै जनमनले श्रद्धाञ्जलि दिए र उनको अभावमा शोक व्यक्त गरे । मैले पनि पूर्वाग्रह केही नराखीकन मणिराजको अवसानमा शोक श्रद्धाञ्जलिका केही अक्षरका पंक्तिहरु कोर्च रुचाएँ ।
राजनीति सोच्दा, सामाजिक कृयाशीलतामा सक्रिय रहँदा सबैको एकै खालको सोच र दृष्टि नहुनु अस्वभाविक हुँदैन । उनी एमालेका तर्फबाट बनेपा नगरका प्रमुख उठ्दा म पनि त्यही पदमा उम्मेदवार दिएकोले त्यसताका अर्थात् २०४९ सालमा २० वर्ष अगाडि उनी मेरा राजनीतिक प्रतिद्वन्द्वी हुन् । उनी एमालेका उम्मेदवार, म संयुक्त जनमोर्चाका उम्मेदवार । वामपन्थीहरुको बेमेलले गर्दा काँग्रेसका उम्मेदवार रामभक्त कोख श्रेष्ठले विजय हासिल गरेका हुन् । दोस्रो क्रममा मैले भोट पाएँ । मणिराज तेस्रो परिणामी भएर बनेपामा चिनाएको परिदृश्यहरु झलझली सम्झना आइरहन्छ । यस सवालमा थुप्रै राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रहरुमा मणिराजसँग बरोबर सामिप्यता रहेका प्रसंगहरु छन् ।
यस्को अतिरिक्त नेवारहरुको एउटा ठूलो कार्यक्रम यिनले आफ्नो अगुवाईमा सम्पन्न गरेको बनेपालीहरुको हैसियत राष्ट्रमा देखाइदिएका प्रसंगहरु भुलिनसक्नु छ । यसैगरी संयुक्त नेवार जातिका भातृ संगठनहरुको आयोजनामा ठूलै कार्यक्रम बनेपामा आयोजना हुने क्रम थियो । एउटा बैठकले सर्वसम्मतिबाट मलाई संयोजक बनाइदिएको र मैले ‘हुन्न’ भन्न नपाउँदै निर्णय सदर गरी बैठक टुंग्याइदिएको घटना पनि प्रसंगमा यहाँ उल्लेख गर्न खोजिरहेछु । म दोधारमा पर्दै घर फर्के, तर मेरो मनमा त्यो ‘संयोजक’ अटाउन गाह्रो भइरहेकोले मन मनमा काउकुती लागिरहेको थियो । भाषा र जातीयताका प्रसंगहरुमा अधिकार व्याप्त हुनुपर्ने, अधिकारविहीन तुल्याउँदै राज्यले नेपालीभाषीबाहेक अन्य भाषाले जति पाउनुपर्ने संरक्षण, सहयोग प्राप्ति नभएकोमा मेरो पनि विमति छ । तर पनि नेपाली भाषाका लेखकका रुपमा, नेपाली भाषामा प्रकाशित ‘जनमत’ का प्रधान सम्पादकका रुपमा राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउँदै आएको कारणले मलाई कसो कसो त्यो ‘संयोजक’ पद गहु्रँगो भइरहेको थियो । मैले मनमा अप्ठ्यारो मान्दै स्वीकार्न बाध्य पारिएको उक्त ‘संयोजक’ मा कस्तो खालको व्यक्तित्व राख्दा उपयुक्त हुन्छ अर्थात् मेरो विकल्पमा को हुन सक्छ र कसलाई अनुरोध गर्दा सार्थक हुन्छ रातभरि मन मनमा कल्पना गरी एकजना व्यक्तिको चयन गरेँ । उनी हुन् मणिराज कायस्थ ।
भोलिपल्ट बिहान मेरै घर छेउको सडकमा मणिराजजीसँग मेरो जम्काभेट भयो । मैले हात मिलाउँदै उनलाई अनुरोध गर्दै भनेँ – मणि दाई, हिजो नेवार भाषीहरुको एउटा बैठकले एउटा ठूलो कार्यक्रम बनेपामा गर्ने निर्णय ग¥यो । उक्त बैठकले मलाई संयोजक तोकिदियो । तपाईं उपस्थित हुनुभएन हिजोको बैठकमा, मलाई त लाग्छ तपाईंले भए उक्त कार्यक्रम सजिलै फत्ते गर्नुहुन्छ । यसैले तपाईं संयोजक भइ दिनुहुन अनुरोध गर्दछु ।’ मैले राखेको प्रस्तावमा उनले आश्चर्य प्रकट गर्दै भने –‘सबैले तपाईंलाई प्रस्ताव गरिसकेपछि बस्नुस् न ।’ मैले जवाफ फर्काउँदै भनेँ –‘होइन तपाईंले सक्नुहुन्छ । तपाईंको विगतको अनुभव पनि छ । मैले प्रस्ताव गरेपछि अब केही अप्ठ्यारो नमान्नुहोस् ।’ उत्निखेर नै उनले सहर्ष स्वीकृत दिए । यस खालका आत्मबल बोकेर समाजमा क्रियाशील रहँदै आएका एकजना कर्मठ समाजसेवक, आत्मविश्वासी मनका धनी व्यक्तित्व मणिराज कायस्थको असामयिक बिसर्जनमा सबैको मन दुख्नु स्वभाविकै थियो – मेरो मन पनि दुख्यो र उनको विसर्जित मनलाई सम्झिँदै मैले पनि हृदयदेखिको श्रद्धाञ्जलि चढाएँ र भनेँ ः
मान्छेको जीवन भनेको
मृत्युको भ¥याङ उक्लिँदै बाँच्नु हो
मान्छेको साहस भनेको –
मृत्युसँग पौठीजोरी खेल्दै रम्नु हो ।

 

० मोहन दुवाल

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: