भारत जेजे दिन्छु भन्छ, त्यो कहिल्यै दिँदैन

प्रकाशित मिती : शनिबार, भदौ १७, २०७४ by   ·   Comments

प्रकाशित मिति: २०७४-०५-१३

प्रदीप नेपाल

                नेपालका सबै प्रधानमन्त्रीको समस्या एकै खालको हुन्छ। राष्ट्रलाई माया गरेर काम गर्ने कि दिल्लीलाई रिझाएर कुर्सीमा टाँसिइरहने! २००७ सालदेखि नै नेपालका प्रधानमन्त्रीहरूमाथि दिल्लीको निगरानी चर्को रूपमा हुने गरेको छ। के ००७–०१५ को गन्जागोलको समय, के ०१७–०२७ को घोर निरंकुशतन्त्रको समय! के ०२८–०३६ पंचायत नीति तथा जाँचबुझको समय, के ०३७–०४६ को सुधारिएको पंचायतको समय! राजाहरूको सिंगो शासनकालमा पनि भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो हत्केलामा नचाइरह्यो। जो नाचे, ती बाँचे, जो नाच्न मानेनन्, ती खुस्किए। खुस्किनेमा टंकप्रसाद आचार्य र विश्वेश्वरप्रसाद कोइराला हुन् भने पंच भएर बाँच्नेमा सूर्यबहादुर थापा हुन्। तर पंच हुँदै पनि ननाचेवापत छोटो कार्यकालमै बाहिरिनेहरूमा किर्तिनिधि विष्ट र मरिचमानसिंह श्रेष्ठको नाम नेपाली इतिहासमा दर्ता भएको छ। राजनीतिमा प्रधानमन्त्री हुनुभन्दा ठूलोे कुरो त्यो पदको गरिमा जोगाउनु हो। टंकप्रसाद आचार्य, वीपी कोइराला, कीर्ति्निधि विष्ट र मरिचमानसिंहबाहेक अरूले नेपालको प्रधानमन्त्रीको गरिमा जोगाउन सकेनन्। यो पूर्व पंचायतकाल र पंचायतकालको कुरा भयो। बहुदलीय संसदीय व्यवस्था र संवैधानिक राजतन्त्रकालका हामी धेरै साक्षी छौँ। गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिक इतिहासमा सबैभन्दा ठूला खलनायक प्रधानमन्त्री भए। सबभन्दा लामो समय नेपालका प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले आफ्नो नाममा नेपाली प्रधानमन्त्रीको छाप लगाउन सकेनन्। मनमोहन अधिकारी नेपाली प्रधानमन्त्री भए, त्यसैले उनलाई सर्वोच्च अदालतबाटै ‘कू’ गराएर बिदा गरियो। शेरबहादुर देउवा विसंगति र विकारको नमुना नै भए। सिंगो संसदीय व्यवस्थामा अन्तरिमकालका कृष्णप्रसाद भट्टराई र संसदीय व्यवस्थाका मनमोहन अधिकारीबाहेक अरू कसैलाई नसंझिदा पनि हुन्छ। लोकतान्त्रिक गणतन्त्रमा दुई उल्टा परिचय बोकेका प्रधानमन्त्री भए। भारत रिझाउने लम्पसारवादी र देश बचाउने राष्ट्रवादी। लम्पसारवादीका दुवै प्रतिनिधिले दिल्ली भजनमा आफूलाई समर्पित गरे भने के.पी. ओलीले दृढ साहसका साथ आपूmलाई राष्ट्रवादी घोषित गरे। तर उनी ‘हामी भारतको अहित हुने कुनै काम गर्नेछैनौँ’ भन्ने तमसुक गरेर आएका आफ्नै ‘कामरेड’को छुरी धसाइमा परेर प्रधानमन्त्रीबाट ‘आउट’ भए। तीन महिना पनि भारतले आफूलाई रोक्न सकेन। केपी ओली र पुष्पकमल दाहालका बीचमा एक एक वर्षको सत्ता साझेदारीको सम्झौता भएकै थियो। केपी ओलीको सरकारको नौ महिना बितिसकेको थियो। तीन महिना मात्रै पर्खिन सकेको भए दिल्लीले वर्तमान पुस्ताको तिरस्कार भोग्नुपर्ने थिएन। किनभने पछिल्लो गठबन्धन भारतको योजनामा बनेको हो भन्ने सबै नेपालीलाई थाहा भइसकेको छ।

                भारत छ, त्यसैले सच्चा नेपालीमा राष्ट्रियताको रातो रगत बगेको छ। भारत छ, त्यसैले नेपालमा वर्षैपिच्छे प्रधानमन्त्रीहरू फेरिन्छन्। भारत छ र त नेपालमा राजनीतिक अस्थिरता छ। छिमेकमा भारत नहुँदो हो त नेपाल वास्तविकतामै सार्वभौमसत्ता संपन्न राष्ट्र हुने थियो। सुन्दर, शान्त, विशाल! भारतसँग के त्यस्तो तत्त्व छ र नेपालका प्रधानमन्त्रीहरू कुर्सीमा बस्नेवित्तिकै अक्षरधामतिर कुद्न हतारिन्छन्। त्यताका जस्ता धार्मिक धामहरू हाम्रातिर पनि छन्। त्यताका बुद्धिजीवी जस्ता हाम्रातिर पनि छन्। पाठकलाई लाग्न सक्छ, यो त अति भयो। भारतका जस्ता बुद्धिजीवी कहाँ पाइन्छन् नेपालमा भन्ने नेपाली पनि डंगुर छन्। तर मैले जे भनेको छु, त्यो नै सत्य हो। पशुपतिनाथ, मुक्तिनाथ, गोरखनाथ, बराहक्षेत्र, मनकामना, गुह्येश्वरी आदि अनन्त धाम छन् नेपालमा। जहाँसम्म बुद्धिजीवीको कुरा हो, त्यसको सबैभन्दा पछिल्लो उदाहरणमा मात्रै जान्छु म। किनभने दर्जनौँ शृंखला छन् यस्ता। कुरो दोकलामको हो। सुरुमा भारतीय संचार जगत पनि राज्यको लहैलहैमा कुद्यो । बुद्धिजीवी पनि संचारसँगै बगेको देखियो। पहिलो त दोकलाम चीन–भारत सीमाको हिमाली पठार होइन। त्यो भुटान–चीनबीचको पठार रहेछ। तर तिनले भारत–चीन सीमामा विवाद भनेर सकेसम्म ठूलो स्वरमा ढोल फुके। यो अज्ञान भारतीय बुद्धिजीवी समुदायको एउटा परिचय हो। शेरबहादुर देउवाको भ्रमणमा भारतका आधा दर्जन बुद्धिजीवीको विचार टेलिभिजनमा सुन्न पाइयो। शेरबहादुर देउवाको भ्रमणलाई बढाइचढाई गर्नु त स्वाभाविकै हो। तर शेरबहादुर देउवाको भ्रमणका कारण सप्पै विद्वानको मुखारविन्दबाट ‘चीनलाई धक्का, चीन चिन्तित, चीन आतंकित’ जस्ता शब्दास्त्रहरू सुनेपछि दक्षिणको बौद्धिकताको मापो पनि चिनियो। हामी भुक्तभोगी जीवितै छौँ। चीनले हाम्रा प्रधानमन्त्रीहरूलाई सधैँ भन्ने गरेको छ– हामी तपाईंको सच्चा मित्र हौँ। हामीलाई तपाईंहरूको अप्ठ्यारो थाहा छ। दक्षिणतिर विशेष ध्यान दिनु होला। नेपाल–भारत संबन्ध राम्रो हुनुपर्छ। नेपाल–भारतबीचको सुमधुर संबन्धले हामीलाई कुनै असर गर्दैन भन्ने कुरो खालि मनमोहन अधिकारी या माधव नेपाल अथवा केपी ओलीसँग मात्र भएको थिएन होला। जान्ने हामी यता छौँ, नजान्ने उताकाले नेपाल–भारतबीचको मित्रता सुदृढ भएको हुनाले चीनको होस उडेको छ भनेर आतंकपूर्ण तर्क दिने मान्छेको विद्वतालाई कसरी सम्मान गर्न सकिन्छ? यो कुरो कसैले बुझाइदिए हामी सबैको ज्ञान वृद्धि हुने थियो। रोटी–बेटीको संबन्धको चर्को भाषण गरे पनि, राम्राराम्रा शब्द राखेर सन्धि सम्झौता गरे पनि, विकास अनुदानको भाषण गरे पनि भारतले नेपाललाई बन्धक बनाउनेबाहेक अरू केही काम गरेको छैन। एकीकृत महाकाली सन्धिमा हस्ताक्षर गरेको छ महिनाभित्र उक्त कार्यको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने भनिएको थियो। अहिले हामी सन्धिको एक्काइसौँ वर्षमा हिँडिरहेका छौँ। तर ०५३ सालमा महाकाली सन्धि जहाँ थियो, अहिले पनि त्यहीँ छ। (त्यो कहिल्यै नबनोस्–योचाहिँ मेरो कामना हो।) त्यसभन्दा अगाडि दिइएको नौमुरे बहुउद्देश्यीय आयोजना त अहिले नेपाल–भारत दुवैतिरका सरकारले बिर्सिसके होलान्। सबैलाई थाहा छ– ०७२ सालको भूकम्पको पीडा समन गर्न घोषणा गरिएको रकम शेरबहादुर देउवाजी नेपाल अवतरण गरेपछि लुप लाइनको रेलमा चढ्ने होला। त्यसैले भारत प्रधानमन्त्रीको भ्रमणमा जेजे दिन्छु भन्छ, त्यो कहिल्यै दिँदैन।       

(श्रोत थाह खबर)

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: