बाचुञ्जेल सम्म कलाकारीता क्षेत्रमा समर्पित हुन्छु ।

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

केशव भट्टराई

उपाध्यक्ष, निर्माता संघ

ओखलढुङ्गा जिल्लाको सेरना भन्ने ठाउँमा पिता मेघराज भट्टराई तथा माता नन्दकु. भट्टराई एउटा वरिष्ठ कलाकार तथा निर्माता हुनुहुन्छ । यहि कार्तिक २५ गतेबाट भट्टराई नेपाल चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्षमा मनोनित हुनुभएको छ । दौतरी, ठुल्दाई, आफ्नो मान्छे, छोडि गए पाप लाग्ला, कर्मयोद्धा, देवरबाबु, ब्रासलेट………. इत्यादी फिल्मका निर्माता तथा निर्माता संघका वरिष्ठ उपाध्यक्ष केशव भट्टराइसँग काभ्रेटाइम्स साप्ताहिकको लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

० भर्खरै मात्रै चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्षमा मनोनित हुनुभएको छ । कस्तो महसुस भइरहेको छ ?

कुनैपनि संघ संस्थामा आबद्ध हुनु भनेको आफुमा दायित्व र जिम्मेवारी बढ्नु हो । म आफ्नो खुसीले भन्दा पनि चलचित्रकर्मीहरु विशेष आग्रहका कारण निर्माता संघको वरिष्ठ उपाध्यक्षमा मनोनित भएका हँु । उहाँहरुले जुन विश्वासका साथ मलाई मनोनित गर्नुभएको छ त्यसको प्रतिफल मैले राम्रो काम गरेर देखाउनै पर्छ ।

० तपाईलाई निर्माता संघको उपाध्यक्षमा मनोनित गर्न निर्माता संघको विधान नै संशोधन गर्नुप¥यो । यसमा तपाइको भनाइ के छ ?

यो त चलचित्र निर्माताहरुले मेरो कामप्रति देखाएको विश्वास हो । उहाँहरुले मलाई निर्माता संघमा भित्राउन विधान नै संशोधन गरेर म प्रति जुन विश्वास देखाउनुभएको छ । अब चाँडै नै त्यसको राम्रो परिणाम सबैले देख्न तथा सुन्न पाउनु हुनेछ । चलचित्र विकास तथा निर्माताहरुको हकहित तथा अधिकारको लागि म मरि मेटेर लाग्ने छु ।

० अहिले तपाइ सामु धेरै चुनौतीहरु छन् । यस्तो अवस्थामा कसरी अगाडी बढ्नुहुन्छ ?

अवश्य पनि चुनौतीहरु धेरै छन् । हलवाला र निर्माताहरु बिचमा शेयर बाँडफाँडका कुराहरुलाई स्पष्ट पार्नु छ । कयौ निर्माताहरुले फिल्म निर्माण गरेर आफ्नो लगानी डुबाएका छन् । उनीहरुको लगानी सुरक्षित हुने प्रावधान अपनाउनु निर्माता संघको मुख्य उद्देश्य हो । सम्पुर्ण निर्माताहरुको हकहित र अधिकारको सुरक्षा गर्दै सबैलाई समेटेर अगाडी बढ्नेछु ।

० केही चलचित्रकर्मीहरु निर्माता संघभित्र व्यापक भ्रष्टाचार भएको आरोप लगाइरहेका छन् । कसरी काम गर्नुहुन्छ ?

गल्ती हरेक पक्षमा हुन सक्छ । गल्ती भयो भने त्यसको सम्बन्धीत निकायमा त्यसबारे स्पष्टिकरण लिन सकिन्छ । आवाज उठाउन सकिन्छ तर कति आरोपहरु निराधार हुन्छन् । सहि के हो र गलत के हो त्यो बारेमा बुझेर मात्र टिका टिप्पणी गर्नुपर्छ । यदि गल्ती भएको हो भने त्यो स्वीकार गर्नुपर्छ ।

० तपाईले निकै लामो समय चलचित्र क्षेत्रमा बिताउनुभएको छ, तब अझै पनि नेपाली चलचित्रले अन्तराष्ट्रिय बजार पाउन सकेको छैन, किन होला ?

नेपाली चलचित्रले अन्तराष्ट्रिय बजार पाउन राज्यले नै गम्भीरतापुर्वक सोध्नुपर्छ । यसको लागि चलचित्र विकास बोर्डको उल्लेखनीय भुमिका हुन्छ । अहिले निर्माण भएका नेपाली चलचित्रहरु अन्तराष्ट्रिय बजारमा प्रदर्शन गर्ने स्तरका भएकोले यसको लागि हामी विशेष पहल गर्नेछौँ ।

० पहिले र अहिले निर्माण भएका नेपाली फिल्महरुमा के कति भिन्नता पाउनुभएको छ ?

पहिले भन्दा अहिले प्राविधिक रुपमा नेपाली चलचित्र क्षेत्र धेरै विकसित भएको छ । हलिउड र बलिउडका फिल्महरुमा प्रयोग हुने डिजिटल प्रविधि नेपालमा पनि भित्रिएको छ । बिचका २–४ वर्ष नेपाली चलचित्रले फरक मोड लिएको थियो तर अहिले नेपाली चलचित्र क्षेत्र पुरानै धारमा फर्किदैछ ।

० आजभोलि तपाई के मा व्यस्त हुनुहुन्छ ?

भर्खरै मात्र निर्माता संघमा मनोनित भएकोले मेरो पहिलो प्राथमिकता निर्माता संघकै हकहित र कामहरुमा क्रियाशिल हुनु परेकोले अफिसकै काममा व्यस्त छु । दोस्रो कुरा म चाँडै नै चलचित्र निर्माण गर्दैछु । स्क्रीप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । गित रेकर्डिङ भइरहेको छ । शायद फागुन सुटिङ सुरु हुन्छ होला । ब्एक्ष् टेलिभिजनबाट प्रत्येक आइतबार प्रशारण हुने टेलिफिल्म ज्ञण्द्दछ निर्माण गरिरहेको छु ।

० तपाइले पछिल्लो समय निर्माण गर्नुभएको चलचित्र ‘ब्रासलेट’ खासै चलेन नि ?

लामो समय अमेरिका बसेर फर्किएका नायक रमेश उप्रेतीलाई लिएर जुन उत्साहका साथ फिल्म निर्माण गरेको थिएँ त्यो सबै बालुवामा पानी हाले सरह भयो । फिल्म त राम्रै निर्माण भएको थियो तर चलेन र मेरो लाखौँ रुपैया डुब्यो । यस्तै हल व्यवसायिक रुपमा फिल्म निर्माण गर्दा कहिले १०–२० लाख नाफा हुन्छ कहिले घाटा हुन्छ । तर ब्रासलेट फिल्ममा मेरो ५० लाख डुब्यो ।

० कसरी चलचित्र क्षेत्रमा प्रवेश गर्नुभयो ?

२०४६ सालमा तुलसी घिमिरेले कोसेली फिल्म बनाउदै हुनुहुन्थ्यो । पत्रकारीतामा पि.एच.डी. गरेका मेरा साथि डा. प्रदिप भट्टराई मार्फत तुलसी घिमिरेसँग चिनजान भयो । कोसेली फिल्ममा सानो भुमिकामा अभिनय गर्ने अवसर मिल्यो । त्यसपछि तुलसी घिमिरेकै चिनो, दुइ थोपा आँसु, बलिदानमा अभिनय गरेँ । नायकको रुपमा मेरो पहिलो फिल्म पुकार हो । त्यसपछि धेरै फिल्ममा नायक भएर अभिनय गरेँ । अहिले चरित्र अभिनेताको रुपमा अभिनय गर्दै फिल्म पनि निर्माण गर्दैछु ।

० तपाइले निर्माण गर्नुभएको पहिलो फिल्म कुन हो ?

२०५४ सालमा काभ्रेकै निर्देशक दयाराम दाहाललाई लिएर दौतरी फिल्म निर्माण गरेँ । फिल्म सुपर डुपर हिट भयो । मैले  निर्माण गरेको दोस्रो फिल्म ठुल्दाईले पनि विभिन्न हलहरुमा १०० औँ दिन मनायो । श्रीकृष्ण श्रेष्ठलाई लिएर बनाएको आफ्नो मान्छे फिल्मले ऐतिहासिक रेकर्ड कायम ग¥यो । त्यसपछि बनाएका थुप्रै फिल्महरुले औषत व्यापार गरेपनि सो सिम्पल र ब्रासलेट नराम्रोसँग डुब्यो ।

० निर्माताको लगानी सुरक्षित हुनलाई १ करोडमा निर्माण भएको फिल्मले कति व्यापार गर्नुपर्छ ?

 फिल्मले १ करोड लगानी उठाउन फिल्मको व्यापार ४ करोड हुनुपर्छ । कतिपय फिल्मले लगानी नउठाएपनि निर्माता तथा  निर्देशकहरु फिल्मले राम्रो व्यापार गरेको बताउँछन् । तर त्यो सत्य होइन ।

० फिल्मको लगानी बढ्दैमा फिल्मले राम्रो व्यापार गर्ने हो र ?

अवश्य पनि होइन । यहाँ ४०–५० लाखको फिल्मले करोडौँ कमाएका छन् भने करोडौँको लगानीमा निर्माण भएको फिल्मले ४०–५० लाख नकमाएका पनि छन् । कुन फिल्म दर्शकहरुले मन पराउँछन् । कुनै अनुमान नै गर्न सकिन्न । निर्माता तथा निर्देशकहरु कुहिरो भित्रका काग जस्ता भएका छन् ।

० अहिले केही कलाकारहरु प्रत्यक्ष राजनीतिमा होमिएका छन् ? यसरी कलाकारहरु प्रत्यक्ष राजनीतिमा होमिनुलाई तपाई के भन्नुहुन्छ ?

कलाकारहरुले राजनीति गर्न हुन्छ र गर्नु पनि पर्छ । म पनि खुल्ला रुपमा कम्युनिष्ट पार्टीलाई समर्थन गर्ने कलाकार हँु । तर अहिले केही कलाकारहरुले छेपारोले रंग फेरेको जस्तो पार्टी फेर्दै हिडेका छन् । त्यो चाँहि राम्रो होइन । कुनैपनि राजनैतिक पार्टीलाई समर्थन गर्नु र राष्ट्रको हित र विकासको लािग हुनुपर्छ । आफ्नो क्षणिक व्यक्तिगत स्वार्थको लागि राजनैतिक पार्टीको पछि लाग्नु राम्रो होइन ।

० तपाइको विचारमा वामगठबन्धनले बहुमत हासिल गर्ला त ?

हाम्रो देश विकास नभएको र अत्याधिक भ्रष्टाचार भएको नै स्थिर सरकार नभएर हो । यसले सबै क्षेत्रमा ठुलो प्रभाव पारेको छ । यहि अस्थिरताको अन्त्यको लागि विभिन्न राजनैतिक दलहरुबिच पार्टी एकिकरण भएको छ । मेरो सोचाई र विचारमा वामगठबन्धन प्रति जनताहरु बढि सकारात्मक पाएको छु ।

० राष्ट्रिय चलचित्र नीति निर्माण भएको एक दशक नाघिसक्यो, तर किन कार्यान्वयन भएन नी ?

वरिष्ठ निर्देशक यादव खरेलको पालामा राष्ट्रिय चलचित्र नीति बन्यो । त्यसपछि धेरै कलाकारहरु कलाकार संघ, निर्माता संघ तथा चलचित्र विकास बोर्डका अध्यक्ष भएँ । प्रयास सबैले गरेका हुन् । अस्थिर सरकारको कारण नीति कार्यान्वयन भएन । एउटा दलको सरकार हुदा नीति निर्माण गरिन्छ । २–४ महिनामै उक्त सरकार ढल्छ र अर्को सरकार बन्छ । नयाँ सरकारलाई कुरा बुझाउँदैमा ५–७ महिना बित्छ र त्यो सरकार पनि ढल्छ । अनि कसरी चलचित्र नीति कार्यान्वयन हुन्छ त ?

० फुर्सदको क्षणमा के गर्नुहुन्छ ?

प्राय फुर्सद नै मिल्दैन । म फिल्मकै विषयमा बढि केन्द्रित हुन्छु । मैले जानेको क्षेत्र भनेकै यहि हो । ५ मिनेट मात्र फुर्सद भयो भने पनि म परिवारसँग घरमै हुन्छु ।

० अहिले निर्वाचनका उम्मेदवारहरु माथि ठाउँ ठाउँमा साङथेटिक आक्रमणहरु भइरहेका छन् । यस विषयमा तपाई के भन्न चाहनुहुन्छ ?

आक्रमण हुनु नराम्रो कुरा हो तरपनि यो विषयमा म केही बोल्न चाहन्न किनकी यसमा गल्ती सबै पक्षको छ ।

० सामाजिक काममा कत्तिको अग्रसर हुनुहुन्छ ?

अहिले चलेका धेरै संघ संस्थाको सुरुवात मैले नै गरेको हँु । तर म पब्लिसिटी गर्न चाहन्न । १ प्याकेट चाउचाउ बाँडेर आफुलाई समाजसेवी बताउँदै फेसबुकमा फोटो पोष्ट गर्दिन ।

० कुन कलाकारको अभिनयबाट प्रभावित हुनुहुन्छ ?

हरिवंश आचार्य ।

० कुन निर्देशकको काम गर्ने शैली मन पर्छ ?

तुलसी घिमिरे ।

० खेलकुदप्रति कत्तिको रुचि छ ?

मलाई फुटबल र क्रिकेट मन पर्छ ।

० कस्ता गितहरु मन पर्छ ?

मलाई नारायण गोपाल, रामकृष्ण ढकाल तथा आनन्द कार्कका गजलहरु मन पर्छ ।

० उपन्यास कत्तिको पढ्नुहुन्छ ?

पहिला धेरै पढ्थेँ । अहिले कम भएको छ । मलाई उच्च व्यक्तिहरुको जीवनी बढि मन पर्छ ।

० अन्त्यमा काभ्रेटाइम्स पत्रिका मार्फत के भन्न चाहनु हुन्छु ?

सर्वप्रथम त मलाई यो स्थान दिएकोमा काभ्रेटाइम्स साप्ताहिक परिवार प्रति आभारी छु । म चलचित्र क्षेत्रमा प्रवेश गरेको ३ दशक भन्दा बढि भइसक्यो । दर्शकहरुको धेरै माया साथ पाएँ । बाचुञ्जेल सम्म नेपाली चलचित्र तथा कलाकारीतामा नै आफुलाई समर्पण गर्न चाहन्छु ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: