बहुमूल्य स्तनपान

प्रकाशित मिती : मङ्लबार, साउन ३१, २०७४ by   ·   Comments

            आमाको दूधको कुनै राम्रो विकल्प नै छैन किनकि कृत्रिम आहार (शिशीको दूध) ले भाडापखाला गराउने वा कब्जियत गराउने हुन्छ । पानी मिसाइएको गाई, भैंसी, बाख्राको दूध, अनेक किसिमका सुख्खा दूधका फर्मूलाहरु स्तनपानको विकल्पको रुपमा लिइन्छ । यी मध्ये गाईको दूधमा पानी मिसाइ खुवाउने बढी चलन छ । तर आमाको दूधको दाँजोमा गाईको दूधमा ल्याक्टोज, प्रोटिन र सोडियमको निकै भिन्नता हुन्छ ।

            र, आमाको दूध सदा तयारी अवस्थामा, प्रायः निर्मलीकृत (किटाणुरहित) र सदा उपयुक्त तापक्रममा हुन्छ । स्तनपान झन्झटिलो पनि हुँदैन । आमाको दूध नवजात शिशुले सजिलै पचाउन सक्ने तथा पेट कम ढाडिने किसिमले बनेको हुन्छ । यो नवजात शिशुका अङ्ग मैत्री तथा विभिन्न सरुवा रोगसँग लड्न सक्ने क्षमतायुक्त हुन्छ ।

            स्तनपानका अन्य फाइदाहरुमा बच्चाको दिसा गिलो बनाउने, एलर्जीको डर नहुने, आमा र शिशुबीच वात्सल्य स्थापित गर्न सघाउने मद्दत गर्ने हुन्छ । स्तनपान गराइएका शिशुमा चाक राताम्य हुने गरी पाक्ने, खटिरा आउने, झाडापखाला लाग्ने र छालाको एलर्जी हुने जस्ता समस्या पनि कम हुन्छ । यसको अलावा स्तनपान गरिएका शिशुमा पछि मोटोपना, मधुमेह, एक्कासी शिशुको मृत्यु हुने सिण्ड्रोम पनि कम पाइएको छ भने आवश्यक मात्रामा गिदीको विकास, सुन्ने, हेर्ने तथा सिक्ने क्षमतामा बढोत्तरीका साथै स्कुलमा व्यक्तित्व प्रदर्शनमा वृद्धि एवं उच्च स्तरको स्मरण क्षमता पनि हुने गरेको पाइएको छ ।

            आमाको दूधमा चिल्लो पदार्थ पनि स–साना आकारका हुन्छन् । त्यसैगरी आमाको दूधको प्रोटिनमा सजिलै पच्ने ल्याक्टल्बुमिन र ल्याक्टोग्लोबुलिन हुन्छ । कार्बाेहाइड्रेटमा पनि बढ्ता अंश ल्याक्टोजको हुन्छ, जसले लाभदायक सूक्ष्म जीवाणुको वृद्धि गराई भिटामिन ‘बी’ उत्पादन गर्न मद्दत गर्दछ । आमाको दूधमा पोटासियम, क्याल्सियम, सोडियम र क्लोराइड लगायतका लवण पदार्थहरु सही मात्रामा हुने हुनाले नवजात शिशुको अपरिपक्व मृगौलालाई बोझ नपर्ने खालको हुन्छ ।

            आमाको दूधमा भिटामिन ‘डी’ हुने हुनाले उक्त भिटामिनको कमीले हुने रिकेट्सबाट बचाउँछ । त्यसैगरी ल्याक्टोफेरिन, लाइसोजाइम, ल्याक्टोपेरोअक्सिडेज पनि हुने हुनाले पाचन प्रणालीको संक्रमणबाट बचाउँछ । आमाको दूधमा बच्चाको स्नायु प्रणाली विकास गर्ने ओमेगा फ्याटी एसिड हुन्छ । यसले विभिन्न प्रकारका सरुवा रोगसँग लड्न सक्ने क्षमता दिलाउँछ ।

            शिशु जन्मेको केही समयमै सुत्केरी आमाको शरीरमा बिगौती दूधको उत्पादन हुन थाल्छ । शिशुको स्वास्थ्यका लागि पनि कम्तीमा ६ महिनासम्म आमाको दूध खुवाउनु अति राम्रो हुन्छ । तर पनि ६ प्रतिशतले आमाको दूध बाहेक पानी, ६ प्रतिशतले दूध बेगरको झोल पदार्थ, १० प्रतिशतले अन्य दूध र १२ प्रतिशतले थप दूध ख्वाउने गरेको पाइयो । नेपालमा वर्सेनी करिब ७ लाख शिशु जन्मन्छन् भने पाँच वर्ष भित्रमा ५०००० बालबालिकाहरुको मृत्यु हुने गरेको छ । जसमध्ये करिब २१ प्रतिशत शिशुको मृत्यु जन्मेको एक महिनाभित्र हुन्छ । र, जन्मेको एक घण्टा भित्र स्तनपान गराएको खण्डमा करिब २२ प्रतिशत यस्तै शिशुको मृत्यु रोक्न सकिन्छ । पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा शिशुको जन्म देखि ६ महिनासम्म स्तनपान गराउने सुत्केरी महिलाहरुको संख्या ६६ प्रतिशत छ । शिशु जन्मेको एक घण्टा भित्र स्तनपान गराउनेको संख्या करिब ५५ प्रतिशत छ भने ९० प्रतिशतले २४ घण्टाभित्र स्तनपान गराउँछन् । भलै शहरी क्षेत्र तथा अफिसका काम गर्ने महिलाहरुमा भने यो प्रतिशत न्यून छ । तर पनि ९९ प्रतिशत आमाले आÏनो जीवनकालमा एक न एक पटक स्तनपान गराएकै हुन्छ ।

            स्तनपान गराउने कार्यले सुत्केरी महिलाको पाठेघर खुम्चिन मद्धत गर्दछ भने कालान्तरमा स्तन तथा पाठेघरको मुखको क्यान्सर हुनबाट पनि जोगाउँछ । स्तनपानले प्राकृतिक परिवार नियोजनको साधनको काम गर्दछ ।

            आमाको दूधको यस किसिमको महत्वका कारण अङ्ग्रेजी महिना अगस्तको पहिलो हप्तालाई स्तनपान सप्ताहको रुपमा मनाउने गरिन्छ । सुत्केरी आमामा एक्कासी उत्पन्न हुने संक्रमण, स्तनमा देखापर्ने समस्याहरु (दूधको मुन्टो चर्किनु, स्तन सुन्निनु एवं पाक्नु, स्तनमा भाइरल संक्रमण) उत्पन्न हुनुका कारण बच्चालाई कृत्तिम प्रकारको दूध दिनुपर्ने हुन्छ । यसैगरी निकै कम तौल भएका, श्वासप्रश्वास सम्बन्धी जटिल समस्या भएका तथा अन्य संक्रमणका कारण दूध चुस्नै नसक्ने अवस्थाका बच्चाहरुलाई पनि कृत्तिम आहार दिनुपर्छ । सुत्केरी आमालाई कडा प्रकारको मुुटुको समस्या, सक्रिय क्षयरोग, गम्भीर खालको मानसिक समस्या, एचआईभी संक्रमण छ भने, सुत्केरी आमाले छारे रोग, थाइरोइड रोग तथा अर्बुद रोगको औषधी सेवन गरिरहेको भए वा बच्चामा देखिने खुँडे तालु वा ग्यालेक्टोसेमिया (दूध पचाउन नसक्ने समस्या) भएपनि कृत्तिम आहार दिनुपर्ने हुन्छ ।

            दूध खुवाउँदा शिशी भन्दा पनि कचौरा र चम्चाको प्रयोग गर्नु बढी बुद्धिमानी हुन्छ । सिसीको प्रयोग गर्नु नै छ भने निम्न प्रकारका सावधानीहरु अपनाउनु पर्दछ । शिशीबाट दूध खुवाउन प्रयोग गरिएका सबै भाँडाकुँडाहरु खुवाउनु अघि र पछि राम्रोसँग सफा गर्नुपर्दछ । अर्थात् राम्ररी उमालिएको पानीले पखाल्नु पर्दछ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: