फोहोरमैला व्यवस्थापन सम्बन्धी केही कुरा

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

– हरिप्रसाद दुवाल (स्यानिटेरियन)
सर्वप्रथम वि.सं. १९९५ देखि २००७ सालसम्म कसरी उपत्यका वरिपरी काठमाडौं लगायत साना ठुला शहरहरुमा फोहोर मैलाको ठेगान लगाइन्थ्यो यसलाई नियालेर हेरौं । त्यसबेला सागसब्जी लगायत सम्पूर्ण खाद्य पदार्थ अत्यन्तै सस्तो थियो । बिहान बेलुकीको लागि अलिक मात्र सब्जी र आलु प्याज खरिद समेतको लागि खुद्रा पैसा नै पर्याप्त हुन्थ्यो । तर पनि फालिने सामानहरु कम नै हुन्थ्यो । हिजोआज जस्तो कोठाहरुबाट फालिने कागजपत्र, कपी किताव, पानीको खाली प्लाष्टिक बोटलहरु आदि केही पनि हुदैनथ्यो । स्कूलहरु थिएनन् ।
बिहानदेखि खाने सामानहरु, बेच्नेहरुले झोलामा दिने चलन नै थिएन । जुटको, कपडाको झोलाहरु घरबाट नै लिई जाने चलन थियो । यही कारणले घरबाट फालिने सामानहरुमा फोहरमैला भनेकै भान्सामा तरकारी केलाउँदा फालिएका सागपात र फलफुल केरा, सुन्तला, आँप आदिका बोक्राहरु नै हुन् । यी सबै फोहोरमैला दिनहुँ कुहिदै जाने गार्वेज मात्र छन् । ठुला ठुला भोज, विवाह, जन्को तथा कुनै प्रकारको समारोहहरुमा पनि फालिने वस्तुहरुमा खानेकुरा नै बढी हुन्छ । अरु सामानहरुमा पत्ताकै थालहरु, वटुका जस्तो टपरीहरु र जाँड रक्सी पिउन राखेको माटाका सानाठूला भाँडाहरु हुन्थ्यो । यी सबै एकै ठाउँमा फालिन्थ्यो ।
सबैजसो घरको पछाडि साःगाः (मलको खाल्डो) बनाएको हुन्थ्यो । घर पछाडि छाडिएको ठाउँको बीचमा अलिक गहिरो खनेर फोहर फाल्ने साःगाः बनाएको हुन्थ्यो । यहाँ जम्मा भएको सबै गार्वेज कुहिएर “सुवर्ण मल” तयार भैसकेको हुन्थ्यो । यसरी जम्मा भइरहेको फोहर घरधनीले ज्यामी लगाएर सफा गर्न पर्दैनथ्यो । परन्तु किसानहरु आफै आफ्नो एरियाको घरहरुमा पुगी साःगाःमा जम्मा भएको सबैमल उठाएर खेतमा पुगाउँथे । किसानहरुले मल सित्तै पाए, घरमा सफाइको लागि खर्च गर्नु परेन । दुवैलाई फाइदा । आजकालको कुरा बेग्लै छ । मानिसहरु मेसिन बराबर दिनको १० घण्टा काम गर्छन् । खानेकुराहरुदेखि खाने स्टाईल आदि सबै फरक भैसक्यो । घरमा अनेक प्रकारको खाने कुराहरु दिनहुँ भित्रिन्छन् । पिउने पानी बोटलको, माछा–मासु समेत प्याकिङ्ग गरिएको हुन्छ । बजारमा दुई मुठा सागदेखि जुनसुकै सामान किने पनि प्लाष्टिककै झोलामा दिने चलन नै भैसक्यो । परिवारमा एकदिनमा प्लाष्टिककै कयौं खोलहरु, झोलाहरु, पानीको खाली बोटलहरु, कागजका खाली डिब्बाहरुले फोहरमैला जम्मा गरी राख्ने भाँडोहरु भरिएको हुन्छ ।
आजकल महानगरपालिका भएको राजधानीका ठूला शहरहरुकै कुरा गरौं । सबै नगरपालिकाहरुमा स्यानिटेशन फाँट त हुन्छ नै । तर यी स्यानिटेशन फाँटका कर्मचारीहरुलाई आधुनिक युग अनुसारको तालिम प्राप्त छैन । फोहरमैला एकठाउँबाट उठाई अर्कै जिल्लाको खाली ठाउँहरुमा क्षणिक तथा अस्थाई किसिमको सम्झौता गरेर फाल्ने, बेला बेलामा फोहरमैला फाल्न दिने र नदिनेमा वादविवाद आदिको कारण राजधानीमा यस्ता फोहरका डुंगुरहरु जम्मा भैरहेको देखिन्छ । यसरी फाल्ने ठाउँ ठेगाना नभएर नगरवासीको स्वास्थ्यमा समेत असर पर्ने गरेको हामी बेला बेलामा देखिरहेका छौं ।
यस्तो बेला यसको स्थायी समाधान खोज्ने कुनै प्रकारको छलफल, मिटिङ्गसम्म पनि भएको सुनिदैन । यो कुन विभाग कसको अन्तरगतको समस्या हो समेत थाहा पाउन चाहँदैनन् । हामी कयौं दशकदेखि हेरिरहेका छौं । राजनैतिक पहलमा कहिले डाक्टर, नर्सहरु समेत हातमा कुचो लिएर सफाइको आवश्यकताको स्वास्थ्य शिक्षा दिने काम हुन्छ । कहिले जनतालाई देखाउन प्रधानमन्त्री आफै पनि सडकमा कुचो र कहिले सावेल लिएर सफा गरिरहेको देखिन्छ ।
क्षणिक समाधानको लागि टोल टोलमा कहीं महिला समूह, कहीं टोलमा स्वास्थ्य समूहहरु गठन गरेर केही पैसा घर घरमा उठाएर फोहरमैला संकलकहरुले जम्मा गरी ठेला आदिमा जम्मा गरी लैजानेबाट समस्या समाधान भएको महसूस गरी यी सफाई समूहहरुको तारिफनै भइरहेको सुनिन्छ, देखिन्छ । घरघरमा जम्मा भएको फोहरमैला यी समूहहरुको माध्यमबाट या नगरपालिकाकै कर्मचारीहरुबाट सडक भएको ठाउँसम्म मोटर गाडीबाट नै फोहरमैला संकलन भैरहेको छ । तर यसरी जम्मा भएको फोहोरमैलाको राम्ररी सफाइको सिद्धान्त अनुरुप भैरहेको छ वा छैन भन्ने प्रश्न उठिरहेको छ । एक ठाउँबाट संकलित उपरोक्त फोहरमैला अर्को ठाउँमा राम्ररी ठेगान नलाइकन त्यसै खुला ठाउँमा डम्पिङ्ग मात्र भैरहेको छ भने छिट्टै निम्न अनुसार काम शुरु गर्न नगरपालिकाहरुलाई विनम्र अनुरोध गर्दछु ।
१. नेपालमा कार्यरत संयुक्त राष्ट्र संघको (क) विश्व स्वास्थ्य संघ (ख) युएनडीपी वा हामीलाई ई.सं. १९६०–१९६१ म खर्च गरी पढ्न पठाउने एजेन्सी यु.एस.एड मार्फत अथवा भारतमा पठाएर पनि नगरपालिकाहरुमा योग्य प्राविधिक जनशक्ति तयार गर्न सकिन्छ । प्राविधिक जनशक्ति, होटलहरुको सफाईको लागि पनि आवश्यक हुन्छ ।
२. नगरपालिकाबाट फोहोरमैला संकलन गराउँदा घरहरुमा अनुरोध गरेर प्लाष्टिकका बस्तुहरु, कागजका बाक्सा आदि छुट्टा छुट्टै राख्न लगाई संकलन गर्ने गराउने ।
३. घरहरुको अरु बस्तुहरुमा फालिएका लुगाफाटो आदि पनि हुन सक्छ । कमसेकम कुहिने वस्तुहरु एकठाउँमा, अरु सबै एकठाउँमा पहिचान गरी जम्मा गरी दिएमा नगरपालिकालाई सजिलो हुन्थ्यो ।
४. जनावरको लाश पाइएमा फाल्ने मात्र काम त गर्नु नै हुँदैन, यसलाई जलाई दिनु नै पर्दछ । यस कामको लागि नगरपालिकाहरुले आफ्नो शहर भन्दा बाहिर सुरक्षित ठाउँमा राम्रो प्राविधिक त्रुटि विनाको एउटा इन्सिनरेटर निर्माण गर्नुपर्छ ।
५. संकलनको सबै गार्वेज अर्थात फालिएका कुहिने सामानहरुबाट मल तयार गराउनु पर्छ । बाँकी प्लाष्टिकका सामान, कागजका सामान आदि रिसाइकलमा पठाउनुपर्छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: