धुलिखेल पर्यटनका समस्या र समाधानहरु

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

-मनिष योगल
प्रशासनिक रुपले काभ्रेको सदरमुकाम, भौगोलिक रुपले करीब ८०० मि. देखि १७०० मि. हाराहारीमा रहेको सानो सुन्दर पहाडी सहर, ऐतिहासिक, रुपले १२ औं शताब्दीतिर ठकुरी वंशी राजा आनन्ददेवद्वारा व्यवस्थित तवरले पुननिर्मित सहराज्य, आर्थिक रुपले नेपाली मारवाडी सहरको संज्ञा पाएका व्यापारीहरुको पुख्र्यौली थलो, सामाजिक रुपले मिलेर आफै आफ्नो ठाउँको विकास गर्नेहरुको निम्ति समृद्ध थलो, सांस्कृतिक रुपले ज्यापु नभएको अनि ज्यादातर श्रेष्ठहरु रहेको नेवार सहर तथा पर्यटकीय दृष्टिकोणले चार प्रख्यात हिल स्टेशन मध्ये सुप्रसिद्ध गन्तव्य हो धुलिखेल । साथै सबैभन्दा कम जनसंख्या भएको नगरपालिका अनि नेपालमै सबैभन्दा शुद्ध र सफल तरिकाले वितरित खानेपानी वितरण प्रणालीका निम्ति पनि प्रख्यात छ धुलिखेल । गुणस्तरीय उच्च शिक्षाका निम्ति विश्वस्तरीय काठमाडौं विश्वविद्यालय अनि देशकै तेस्रो ठूलो स्वास्ग्थ्य संस्थाको रुपमा प्रख्यात धुलिखेल अस्पताल (काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल) होस् कि नेपालकै उत्कृष्ट सामुदायिक वनको उपाधि हासिल गर्ने गौखुरेश्वर सामुदायिक वन अनि एक मात्र सूचना प्रविधि पार्क । थप्दै छन् यस्ता थुप्रै राष्ट्रिय रेकर्ड अनि गर्विला प्रतिष्ठानहरु धुलिखेल, धुलिखेल आसपास । नेपालमै दोस्रो धेरै संख्यामा हिमाल देख्ने गन्तव्यको रुपमा पनि प्रख्यात छ धुलिखेल । बाबा रामदेवद्वारा प्रतिष्ठापित योगग्राम पनि कम महत्वको छैन धुलिखेलमा आध्यात्मिक तथा स्वास्थ्य पर्यटन उकास्न । त्यति मात्र नभएर मुलुकमै सबैभन्दा व्यवस्थित तवरले बनेको सबैभन्दा लामो र चौडा सिँढी हजार सिँढी पनि आजकाल धुलिखेलको प्रमुख आकर्षण बनेकै छ । साथै ज्यादै व्यस्त पिकनिक स्पटको रुपमा धुलिखेल मनोरञ्जन पार्क र नेपालमा रहेका तीन शान्ति वन मध्ये एक शान्ति वन जहाँ अवस्थित विशाल बुद्ध प्रतिमाले हजार सिँढीको महत्व झल्काउन सुनमा सुगन्ध थप्ने काम गरेको छ । अझ काभ्रे जिल्लाको नामाकरण गर्न ऐतिहासिक महत्व बोकेको काभ्रेकोटमा ‘भ्यू टावर’को निर्माणले सुनमा थपेको सुगन्धलाई बढाउने तथा निरन्तरता दिने काम भएको देखिन्छ ।
यस्तै थुप्रै आकर्षण बाबजुद धुलिखेलमा आशातीत पर्यटन आगमन छैन । अनि यसबाट स्थानीय जनताले लिनुपर्ने फाइदा पनि न्यून देखिन्छ । जस कारण यस सम्बन्धी थुप्रै प्रश्नहरु उठ्न सक्छन् । तसर्थ त्यस्ता उठ्न सक्ने प्रश्नहरुका उत्तरहरु हुन सक्छन् यी बुँदाहरु ।
१. किन पर्यटन ?
सर्वप्रथम स्थानीयलाई पर्यटन के हो र यसले कसरी आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय विकास ल्याउँछ, यसको फाइदा–बेफाइदा, व्यवस्थापन आदिबारे जानकारी गराउन सक्नुपर्छ । किनभने दिगो विकासका लागि स्थानीय वासिन्दा सुसूचित र जागरुक भई कुनै पनि विकासको खास उपभोगी हुनसक्नु पर्छ । यद्यपि स्थानीय होटलहरु प्राय स्थानीय लगानीकै भएको र अधिकांश कर्मचारी स्थानीय नै भएकोले पनि धुलिखेल दिगो पर्यतनतिर उन्मुख देखिन्छ जति नगरकोटमा पाउन सक्दैनौं । त्यसैले सके जतिको स्थानीय जनस्रोत, प्राकृतिक सांस्कृतिक स्रोत र साधन सदुपयोग गर्न सके एउटा किसानको तरकारी, अन्न, दूध आदि त बिक्छ र कम्तीमा छोरोले वेटर अनि छोरीले हाउस किपिङको काम भए पनि पाउन सक्छ । जुन कारणले स्थानीय समर्थन बढेर स्रोतको संरक्षण र सम्बद्र्धन गर्न सजिलो हुन्छ । आज किन भट्टिडाँडाको होम स्टे सफल हुन सकिरहेको छैन ? सिरुबारी र घलेगाउँबाट पाठ सिक्न सकिन्छ । पर्यटन स्रोत के हो कसरी टुरिजम प्रडक्ट बन्छ भन्नेबारे बुझ्न अत्यन्त जरुरी छ । पर्यटन व्यवस्थापन, प्रचार प्रसार तथा बजार व्यवस्थापन कसरी गर्नुपर्छ पनि जान्न जरुरी छ । पर्यटनका आधारभूत आवश्यकता ‘फो ए’ अर्थात् अट्रयाक्सन (आकर्षण), एक्सेसिबिलिटि (पहुँच, यातायात), अक्कमडेशन (गाँस, बास सुविधा) र अमेनिटिज (थप सुविधाहरु) बारे बुझ्न अत्यन्त जरुरी छ । साथै पुराका पूरा टुवेल्थ ए नै बुझ्न सके त झनै राम्रो । अनि बल्ल हामी आफै टुरिजम प्याकेज बनाउन सक्छौं । सुनकै थाली भए पनि बास्मती चामलै मात्र पस्केर पुग्दैन । च्वास्स गुन्दु्रक अचार वा तरकारी मात्र पस्के पनि औंला चाटेर खाँदा सुनमा सुगन्ध भए झैं हुन्छ । रारा ताल सो सुनको थाली भएर पनि औंला गन्य पर्यटन पुग्छन् त्यहाँ । तर किन फेवामा भीडम्भीड ? त्यसैले पर्यटन आफैमा बहुअर्थी शब्द हो । जसमा सबै स्रोत, व्यक्ति तथा पक्ष विषयहरु प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धित हुन्छन् । धेरै कुरा समेटेर मात्र पूर्ण हुने भएकोले एक्लो वस्तु वा पक्ष सँगालेर पर्यटनको मूल मर्मलाई छुन सकिँदैन । आकर्षण जति नै होस् पहुँच र गास बासको व्यवस्था छैन भने ज्यादै न्यून क्रेजी पर्यटक मात्र पुग्नेछन् त्यस्ता ठाउँमा । त्यति मात्र होइन, खासमा कस्ता व्यक्तिलाई पर्यटक भन्ने त्यो पनि बुझ्न जरुरी छ । त्यसैले प्रत्येक भ्रमणशील व्यक्तिले कस्तो किसिमको आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय योगदान दिएको छ, त्यो पनि मापन गर्न जरुरी छ । मनकामना जाँदैमा, टाढाको मामाघर जाँदैमा पर्यटन अनि पर्यटक होइँदैन । त्यसो भएर भिल्लको देशमा मणि भएको छ पर्यटन नेपालमा अनि थोर बहुत धुलिखेल र काभ्रेमा पनि । खै त उचित प्रयोग सम्पदाहरुको अनि पाखुरे बल भएका युवा जनशक्तिको ? किन हामी बुझ्न सकेका छैनौं ? अझै पनि लाग्दैछौं पछि रियालको, डलरको खेती त आफ्नै देशमा पनि गर्न सकिन्छ नि ।
२. कस्तो पर्यटन ?
धुलिखेल अनि सम्पूर्ण काभ्रे जिल्ला कुन किसिमको पर्यटनलाई अँगालेर जान खोजेको हो भन्ने कुरामा अन्यौलता छ । सबैलाई समेटेर ‘कम्पोजिट टुरिजम’ व्यवस्थापन गर्न ज्यादै गाह्रो हुन्छ । जुन आज पोखराले भोग्दै छ । ‘नेचर र कल्चर बेस्ड टुरिजम’ दुवैलाई सँगसँगै लान मुस्किल पर्छ । ‘मास टुरिजम’ बढाउने पिकनिक डे हल टुरिजम अनि माइस टुरिजम (मिटिङ, इन्सेन्टिभ, कन्भेन्सन, एक्जिविसन) ले संख्या त बढाउँछ तर गुणस्तरीय पर्यटन विकास र दिगो आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय बृद्धि हुन्छ भन्ने छैन । हो आज धुलिखेल सभा गोष्ठी र वनभोजमा भोज गर्नेहरुका लागि सर्वरुचक भएको छ । तर के यो क्वालिटी टुरिजम हो ? त्यसो भएर धुलिखेलमा अब भ्यालु बेस्ड टुरिजम, हेरिटेज टुरिजम, सस्टेनेबल टुरिजम र इको टुरिजमका अवधारणाहरु अग्रसर गरायन अत्यावश्यक छ । त्यसैले फ्रिक स्ट्रिट झोछेँ, वसन्तपुरका वासिन्दाहरु पर्यटन र पर्यटकदेखि आक्रोशित भए झैं आक्रोशिनत हुनबाट बचाउनु पर्छ धुलिखेलवासीलाई ।
३. सम्हाल्ने कसले ?
धुलिखेल तथा काभ्रे पर्यटन सम्हाल्ने निश्चित, प्रभावकारी तथा दिगो पर्यटन संस्था खोल्न अत्यावश्यक छ । जसले पर्यटन, संस्कृति तथा वातावरण जस्ता विषयलाई समेटी सामुदायिक तथा सामाजिक विकास गर्न सकोस् । पर्यटकीय स्रोत, साधन तथा जनशक्ति उत्पादन गरी परिचालन गर्न स्रोत तथा साधनको पहिचान र प्रयोग अनि जनशक्तिको पहिचान, उत्पादन तथा उचित परिचालन गर्न जरुरी छ । त्यसैले प्राकृतिक, सांस्कृतिक आकर्षणहरुलाई छानी, छुट्याई टुरिजम प्रडक्टको रुपमा प्रस्तुत गरेर स्थानीय साधन र जनशक्तिको व्यापक परिचालन गर्न सके स्थानीय विकास पनि हुन्छ । त्यसका निम्ति ११, १२ देखि स्नातक र स्नातकोत्तरसम्म पर्यटक तथा होटल व्यवस्थापन स्थानीय तवरले नै संचालन गर्न ज्यादै आवश्यक छ । स्मरण रहोस्, काठमाडौं विश्वविद्यालय अन्तर्गत लिटल एन्जल्स र नेपाल कलेज अफ म्यानेजमेन्टले टुरिजम एण्ड हस्पिटालिटी विषय संचालन गरिरहेको छ । जस अन्तर्गत धुलिखेलमा पनि सो विषयको एक आवासीय कलेज स्थापना गर्न सकिन्छ । साथै गाइड, कुक, वेटर, हाउस किपिङ, टिकेटिङ, टुर अपरेशन, वार टेन्डर, कफिमेकर आदि जस्ता आधारभूत तथा व्यवसायिक प्रशिक्षण पनि दिने सबल संस्था खोल्न जरुरी छ । धुलिखेलको प्रकृति विकाउन थुप्रै निकाय तत्पर छन् । तर संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न अझ पनि स्थानीय वासिन्दाहरु सुस्ताइ रहेकाले सांस्कृतिक पर्यटनका खास कार्य योजना अबिलम्बन गराई प्राचीन धुलिखेल भ्रमण गराउन, बुझाउन र निरन्तरता दिन नितान्त आवश्यक भइसकेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: