धर्मलाई प्रथम स्थान दिनु पर्दछ

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

– ऋषिकुमार पञ्चशील

मानव जीवन भोग भोग्नको लागि मात्र होइन, तपस्या एवं साधनको लागि हो । त्यागको शिक्षा प्राप्त गर्नको लागि हो । इन्द्रियको सुख मनको इच्छा र आकाङ्क्षालाई परिपूर्ति गर्ने जीवमा स्वभाविक गुण विद्यमान हुन्छ ।
धर्म नै यस्तो साधन हो जसबाट जीवमा रहेको अज्ञानता र अन्धकार क्रमिक रुपमा नास हुन्छ । धर्मबाट नै सबै प्रकारको पुरुषार्थ सम्भव हुन्छ । धर्म विरुद्ध कुनै प्रकारको पुरुषार्थ सिद्ध हुन सक्दैन । त्यसकारण सबैभन्दा पहिलो पुरुषार्थ धर्म हो । धर्मको शिक्षाले मानव जीवनलाई संयमित अनुशासीत र विनम्र बनाउँदछ । सबै प्रकारको भोगहरुमा सन्तुलन ल्याई योगमय जीवन यापनको गर्न सक्ने कौशल र सामथ्र्य धर्मकोे आचरणबाट प्राप्त हुन्छ । पैसा, धन, सम्पत्तिले मानिसलाई सुख मिल्ने होइन । सुख मिल्छ राम्रो संस्कारबाट, सुख मिल्छ संयम र सदाचारबाट, अनि प्रभू भक्ति र त्यागबाट । धर्मभन्दा धन ठूलो हुन सक्दैन । किनभने धनले यसलोकमा मात्र सुख दिन्छ तर धर्मले यस लोक र परलोक दुवैमा सुख दिन्छ । मानव मरणशील प्राणी हो । धन जति धेरै भए पनि उसलाई मृत्युले एकदिन अवश्य गास बनाउँछ । त्यस अवस्थामा उसलाई धन होइन धर्मकै सहाराको आवश्यकता पर्दछ । मृत्युपछि धर्म नै साथमा रहन्छ धन साथमा रहँदैन । जबदेखि मान्छेले धनलाई महत्व दिन थाले, तबदेखि नै जीवन बिग्रिँदै गरिरहेको छ । समस्यै समस्यामा जकडिएको छ । मानिसको सदाचार बिग्रियो, सुसंस्कार बिग्रियो । जब मानिस धनभन्दा धर्मलाई श्रेष्ठ सम्पत्ति सम्झिन्छ तव जीवन सुध्रिन्छ, समाज सुध्रिन्छ । राष्ट्र उन्नतिको मार्गमा अग्रसर हुन्छ । धनलाई धर्मानुकुल राख्नु पर्दछ । कमाएको धनलाई धर्ममा लगाउनु पर्दछ । राम्रो काममा धनको उपयोग गर्नु नै धर्म हो । आफ्नो लगायत समस्त लोकको कल्याण र उपकारको लागि गरिने कार्य पुण्य कार्य हो । पुण्य कार्यमा लगाएको अर्थ यसलोक र परलोक दुवैको लागि सुख दिने हुन्छ । धर्मानुकुल धनको उपयोग भएमा कहिँ कहिले पनि अर्थतन्त्रको दुुरुपयोग हुदैन । तब कसैले पनि गरिवीको मारमा पर्नु पर्दैन । महँगी र अभावको परिस्थिति कसैले पनि सामना गर्नु पर्दैन । भष्ट्राचार, चोरी, लुटपाट, ठगी आदि पासविक कर्तुत कहिँ कतैबाट हुन पाउँदैन । एउटा राष्ट्रलाई धनको जति जरुरी पर्दछ त्यो भन्दा बढि राम्रो संस्कारको जरुरी हुन्छ । राम्रो संस्कार धर्मबाट नै मिल्दछ । त्यसैले धर्मलाई प्रथम स्थान दिनुपर्दछ । तब लोभ लालच सांसारिक वासना तृष्णा गौण बन्दछ । तब जीवमा दिव्यता आउँदछ । सबैको चाहना, इच्छा, आकांक्षा आनन्द प्राप्ति गर्नु हो । सुख प्राप्त गर्नु हो । शान्ति प्राप्त गर्नु हो । जुन कुरा देवत्वबाट प्राप्ति हुन्छ । दिव्य जीवन अर्थात् देवत्व शक्ति धर्मको पालन र असल संस्कारको बृद्धिबाट मिल्दछ । धर्मको गति अत्यन्त सूक्ष्म र प्रभावशाली हुन्छ ।
मनुष्यको शत्रु बाहिर होइन उसको मनभित्र नै छ । मनभित्रको शत्रुलाई मार्न सकियो भने जगतमा कोही पनि शत्रु रहँदैन । सबैप्रति प्रेम भावना, सुभावना राख्नुपर्दछ । मनुष्यभित्र जब स्वार्थ बुद्धि जग्दछ तब अरुको विनाश अर्थात् कुभलो गर्नको लागि तत्पर हुन्छ । यदि हामी अरुप्रति कुभाव राख्दछौं भने त्यसको बदला दोस्रो व्यक्तिमा पनि कुभाव जग्दछ । तब अधर्म अन्याय विनाशको सुरुवात हुन्छ । यो सारा जगत परमात्मामय छ । यदि हामीले कसैप्रति गलत विचार राख्छौं भने त्यो परमात्माप्रति नै गलत विचार वा कुभाव राख्नु बराबर हो । जब मनुष्यको मनमा स्वार्थ जग्दछ तव मनुष्य पागल बन्दछ र अरुको विनाशको लागि पनि तयार हुन्छ । स्वार्थी मनुष्य विवेकहीन बन्दछ । स्वार्थ त हरेक मनुष्यमा केही मात्रमा हुन्छ नै तर उसमा विवेक चाहिँ रहनु पर्दछ । ताकी उसमा बोल्नको लागि सर्म होस् र सोच विचार रहोस् । भावना शुद्धि सबभन्दा ठूलो तप हो । मानव जीवन तपस्याको लागि नै हो । जगतमा कुनै पनि जीवप्रति वैर भावना नराख्नु नै मनको पवित्रता हो । मनको पवित्रता भन्दा ठूलो पुण्य अरु केही छैन । बुद्धिमा सुमति र हृदयमा सुभावनाविना गरिएको कर्मको कुनै अर्थ रहँदैन । त्यसकारण कहिलेकाहिँ धर्म पनि अधर्म बन्दछ । यदि सद्कर्म पनि गलत नियतवश गरिन्छ भने त्यो पाप बन्दछ । धर्मको आचरणबाट नै मनुष्य मनुष्य बन्दछ । अन्यथा खानु–पिउनु, सुत्नु–उठ्नु, रुनु–धुनु, डर्नु मर्नु, बच्चा जन्माउनु इत्यादि सबै काम पशुमा पनि स्वभाविक रुपमा हुन्छ । तर पशु र मनुष्यमा अन्तर के छ भने पशुलाई खान पिउन विशेष प्रशोधित पदार्थको आवश्यकता पर्दैन । खेत वारीमा उम्रेको घाँस पात अनाज आदि सिधै खान सक्छ र बस्नको लागि पनि मानिसलाई जस्तो सिरक डस्ना, नरम विछ्याउना आदि चाहिँदैन । खुला चौर अथवा घाँसपात पतकर माथि आनन्दित भएर बस्दछन् । तर मनुष्यलाई यी सबै कुरा गर्न सम्भव हुँदैन । उसलाई खानको लागि खेतमा फलेको धानलाई चामल र चामलबाट आनेकौ पाकविधिका साथमा मात्र भोजन प्रप्त हुन्छ । यसलाई नै हाम्रो धर्मशास्त्रमा संस्कृति र संस्कार भनिन्छ । मानिस र पशु बीचमा फरक पनि यहि हो । मानिसको संस्कार आमाको गर्भाधान कालदेखि प्रारम्भ हुन्छ र अन्तमा मृत्यू समय सम्म १६औं संस्कार बतइएको छ ।
मानिसलाई यी सबै संस्कारबाट गुज्रिन जरुरी छ । तर पशुमा यी सबैको खासै कुनै विधि वताईएको छैन् । यसरी हाम्रो धर्म शास्त्रमा वताईएको प्रमाणिक विधि र संस्कार अनुरुप जिवन यापन गर्न सकेको खण्डमा मानिसको जिवन पवित्र बन्दछ, धन्य बन्दछ । मनिस आजको परिपेक्षमा २१औं शताब्दीमा आएर आफूलाई शिक्षित सावित गर्नेहरु सँस्कार र संस्कृतिलाई मान्न समेत संकोच गर्छन् । संस्कार, संस्कृति भन्नु नै धर्म हो । यहि नै हाम्रो चिनारी र पहिचान हो । यसलाई बिर्सेर आधुनिकताको नाममा खोक्रा आडम्बरमा मात्र जीउनु पशुतुल्य हुन खोज्नु नै हो । धर्मको ज्ञानद्वारा मानवमा मानवीय संस्कार र संस्कृति आउँदछ । संस्कारविना मानव मानव बन्न सक्दैन । जसको सिधा सम्वन्ध मनुष्यको व्यक्तित्वसँग छ । आजकल संस्कार र संस्कृति शब्द नाच्नु गाउनु बजाउनु आदिमा मात्र सीमित देखिन्छ । यसको व्यापक अर्थ र महत्वबाट अनभिज्ञ भएकै कारण मानव सभ्यता जड सभ्यताको रुपमा विकसित हुँदै गहिरहेको छ । यसबाट मनुष्य चेतन विकृत हुदैछ । जसको परिणामस्वरुप व्यक्ति र समाजमा विकृति बढ्दै गइरहेको छ । धर्मबाट विमुख गइरहेको छ । अनि एउटा धर्मबाट अर्को धर्म परिवर्तन गर्ने प्रवृत्तिको विकास द्रुत गतिमा भईरहेको देखिन्छ । यहि कारण हो कि मनुष्य जगत अशान्ति, लडाई, झगडा, अहंकार आदि अज्ञान जनित अन्धकारमा धकेलिँदै छ र अनेक भयानक रोग, भोक, शोक र मोहबाट पीडित भएर सबैतिर असुरी राज्यको स्थापना हुदैं गहिरहेको छ । यहि पतन र विनाशको कारण हो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: