दलहरुमा आन्तरिक कलह

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

कुनै पनि दलभित्र भावनात्मक एकता छैन । चाहे त्यो सत्तापक्ष होस् वा विपक्षी दल सबै दलभित्र आन्तरिक कलह छ । सत्ता प्राप्ति भएपछि दलहरु फुट्ने, आफू आफैसँग बटारिने रोग नेपाली राजनीतिको पुरानो रोग हो । हामीले पहिलो जनआन्दोलनपछि बहुमतद्वारा सत्तामा पुगेको नेपाली काँग्रेस ७२ र ३६ को खेला देख्यौं । ०५१ सालमा सबैभन्दा ठूलो दल बनेर ९ महिना शासन गरेको एमाले पनि ०५४ मा पुग्दा एमाले र माले भयो । ०५६ को आम निर्वाचनमा एमालेबाट फुटेको मालेले १ सिट पनि ल्याएन । ०५८ मा पुग्दा नपुग्दै माले फेरि (सीपी मैनाली बाहेक) एमालेमा मिसियो । ०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रको कदमबाट एकजुट हुन पुगेका दलहरुले नै दोस्रो जनआन्दोलनमा पुग्दा माओवादीसँग १२ बुँदे सम्झौता पछि ०६२÷०६३ को १९ दिने जनआन्दोलनले सफलता पायो ।

संसद पुनस्थापना, अन्तरिम संसदको गठन, अन्तरिम संविधान जारी भएपछि मधेशमा आन्दोलन भयो । संघीयतामा सम्झौता भएपछि मधेशमा क्षेत्रीय दलको उदय भयो । छ दल भएका मधेशी दलहरु फुट्दा फुट्दा १३ दल भइसकेका छन् । अझ यतिबेला मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट सो पार्टीका वरिष्ठ नेता शरद्सिंह भण्डारीलाई कारवाही गरेपछि अर्को नयाँ मधेशी दल जन्मने पक्का छ ।

एमाले पार्टीभित्र जनजाति नेताहरु असन्तुष्ट छन् । काँग्रेस पार्टीभित्र त्यस्तै भाँडभैलो छ । संविधान सभाबाट संविधान आउन नसकेपछि दलहरुमा तीव्र विखण्डन आउनु राम्रो होइन । नेपालको इतिहासमा यो आन्तरिक कलह साँच्चिकै हो कि नियोजित हो अहिले स्पष्ट नभएता पनि भोलिका दिनमा प्रष्ट पार्नेछ । दलहरु विचारका संवाहक हुन् । एउटै विचार, सिद्धान्त र आचरण व्यवहार मिल्नेहरु पनि आज यो वा त्यो नाममा किन झगडा गरिरहेका छन् । यति धेरै दललाई थेग्न सक्ने स्थिति नेपालको छैन । त्यसैले  दलहरु सहमति र सहकार्यमा अगाडि बढ्नु पर्छ । सहमतिमा चाँडो निर्वाचन हुने हो भने यति धेरै दलहरु धु्रवीकरण पछि एक अर्कामा मिल्ने (बिलय हुने) दिन पक्का आउँछ । नत्र फुट्ने हो भने नेपालको अस्तित्व पनि खतरामा पर्नेछ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: