जीवन भनूँ नै, फगत् यात्राहरु त हुन्

प्रकाशित मिती : शनिबार, भदौ १७, २०७४ by   ·   Comments

प्रकाशित मिति: २०७४-०५-१३

मोहन दुवाल

जीवन भन्नु नै त यात्रा हो; यात्रामा रमाइरहेछु

यात्रा भोग्नु नै जीवन त हो; यात्रामा आइरहेछु

यात्रामा निस्कन नसक्ने मुहारहरू कस्तो फुङ परेको –  

कर्मशीलता ने जीवन त हो; म यात्रामा भुलिरहेछु ।   

                यात्रा गरेरमात्र हुँदैन; यात्रामा जीवनको सौन्दर्य खुलेको हुनुपर्छ । जीवनलाई सौन्दर्यमय बनाउन सुगम तथा दुर्गम धेरै खालका यात्राहरू गर्नुपर्छ । यात्रामा लाग्दा आफूभित्रको चेतनाले सुमार्ग रोज्ने कार्य हुनुपर्छ । धेरै खालका कुराहरू र कार्यहरूको तालमेलबाट गरेको यात्रा फलदायी हुन्छ । अन्यथा यात्राको नाममा हुने अनर्थ यात्राहरूको अर्थ बेअर्थको हुने डर हुन्छ । रूप, रङ्ग, लवाईखुवाई र बोली–वचनबाट मात्र तपाईंको परिचय नाप्न गा¥हो हुन्छ । परिचयहरू खुल्न र खुलाउन व्यवहार एउटा कसी भएकै कारणले मानिसका कार्यहरू हेरेर उनीहरूको मूल्याङ्कन गर्ने चलन चलेको हो । यात्रा भनेको चेतना र भावनामा बाँच्छ । तपाईं कस्तो यात्रामा रमाउनु हुन्छ; त्यही यात्रामार्फत् तपाईंको परिचय खुल्दै जान्छन् ।       जीवन्तताका लागि यात्रा भनेको सत्य हो । जिउँदोपनको अर्थ र प्रमाण हो – यात्रा । यात्रा नहुँदा र यात्रा गर्न नसक्दाका वस्तु–तथ्यहरू अनाकर्षक मात्र हुने होइनन् अर्थहीन नै हुन्छन् । अर्थात् मृत्युभित्र लुकेको वास्तविकताको अनर्थ नरहे जस्तो पो हुँदोरहेछ । जीवन भनेको त्यसैले यात्रा नै हो; जीवनको सर्वोत्कृष्ट स्वर पनि यात्रा नै हो । शब्दलाई जेसुकै भनेर अथ्र्याउन सकिन्छ तर म भन्न रूचाइरहन्छु – ‘यात्रा भनेको सबैका लागि आफू हुनुको प्रमाण हो ।’ यात्रा नहुँदाको जीवनको सार्थकता कुनै अर्थमा पनि नहुने भएकैले यात्रामा रमाउनेहरूले विजय प्राप्त गर्छन् । तर यात्राको अर्थ बुझ्नुपर्छ । यात्रा भनेको प्रगति र नयाँ उन्नतिका लागि सुकार्यहरू गर्नु हो । असत् सोच्नेहरूको यात्रा, खराब मन हुनेहरूको यात्रा र दुष्ट्याइँ रोप्नेहरूको यात्रालाई कसरी यात्रा हो भन्न सकिन्छ ? कुनै पनि सुखद यात्राका लागि सबैमा यही हार्दिकता दिन रूचाइरहेछु ।

                नदी बग्दाको स्वरूपभित्र राखेर पानीलाई छाम्दा पो थाहा हुन्छ – यात्रामा बगिरहँदाको पानी कस्तो कञ्चन र माधुर्यपूर्ण हुन्छन् ? के तपाईंले सुन्नुभएको छैन; कान थापेर सुनौं पानीका बूँदहरूको ऊर्जाशील आवाजहरू ! फूर्ति नै बेगल, हेरिरहूँजस्तो उनको पन – छङ्छङ् कति मीठो बोली, कस्तो सुन्दर ढङ्गको हिंडाई । यही त हो जीवन – मनमनमा राखेर नदीको यात्रामा आफूलाई समेटेर नदीजस्तै दौडिरहन मन लाग्छ । सौन्दर्य भनेको नै यात्रामा खुल्ने हो । फूलहरू फुलिंदिंदा कति मनमोहक हुँदारहेछन् – फूलहरू फुलिदिनु नै उनीहरूको मौनभाषामा जीवन हो । भमराहरू रस सुँघ्न, आफ्नोपन अभिव्यक्ति गर्न फूलहरू वरिपरि गनगन गर्छन् । यहीँ गनगन त भमराहरूको जीवन–यात्रा हो । सबै प्राकृतिक वस्तुहरू, जनावरहरू, पन्छीहरू आ–आफ्नो यात्रामा आफूलाई समर्पित तुल्याएर आफूलाई देखाइरहेछन – यही यात्राहरू नै सबै पक्षका जीवनहरू हुन् ।

                यात्राहरू फरकफक ढङ्गका हुँदारहेछन् । कसैको यात्रामा सुखद अनुभूतिहरू हुन्छन् त कसैको यात्रामा दुःखद सन्दर्भहरू टाँसिन्छन् । यस अर्थमा भन्न सकिन्छ; यात्राहरू सुखद पनि हुन्छन्, त्यस्तै दुःखद पनि हुन्छन् । यात्राहरू सुन्दर पनि हुन्छन्; असुन्दर पनि हुने गर्छन् । संसार सुन्दर हुनुमा सुन्दर यात्रीहरूको सुन्दर यात्रा–मर्महरू नै कारण हुन् । बुद्धले नेपालमात्र भनेनन्; मान्छेमात्रकै भलाई सोचेर मान्छेकै यात्रामा लागे । विश्व जगत्मा बुद्ध फैलिंदै गयो । नेपाललाई बुद्धकै यात्राले नै न हो संसारमा चिनाइदिएको ! नत्र कसरी चिन्छन् नेपाललाई संसारमा ! बुद्धकै देशका रूपमा चिन्छन् नेपाललाई विश्वमा । दक्षिण अफ्रिकाका ‘नेल्सन मण्डेला’, भारतका ‘महात्मा गान्धी’, चीनका ‘माओत्सेतुङ’, भियतनामका ‘होचिमिन्ह’, बेलायतका ‘शेक्सपियर’, फ्रान्सका ‘रूसो’, रूसका ‘टाल्सटाय’, जर्मनका ‘कार्लमाक्र्स’, ग्रीसका ‘सुकरात’, अमेरिकाका ‘लिङ्कन’ आदिहरू सद्यात्राका सुपात्रहरू हुन् ।   मान्छेको लागि चेतना सबैभन्दा मर्मशील भावनाहरू हुन् । मान्छेलाई जातसँग, पैसासँग, शक्तिसँगमात्र दाँजिहेर्दा हामी भ्रममा बाँधिन्छौं । जातभात केही होइन; तपाईंसँग मूल कुरो त चेतना हो । पैसा सबैथोक होइन, चाहिने त मान्छेका लागि मर्मभित्रको सद्भाव हो । शक्ति सधैं रहँदैन तर तपाईंभित्र रहेको चेतना मान्छेकै लागि टनिक हुन् । हेलेन केलेर, मदर टेरेसा, पारिजात, झमककुमारीहरू इतिहासका कालखण्डहरूभित्र जन्मिएका हृदयशक्ति र चेतनाशक्ति बलियो भएका मान्छेहरू हुन् । चेतनाका अक्षर–बिम्बहरू भावनाबाट मुखरित हुन्छन् । के म भावनासँग हराएर बाँच्न सक्छु ? के म चेतनाहीन भई मनपरी बाँच्न सोच्न सक्छु । मैले जस्तै गरी तपाईंहरू पनि सोच्दै हुनुहुन्छ होला ? सोच्न सकेरै मान्छेहरू बलिया देखिएका हुन् । त्यसैले भन्नुपर्दा; यात्रा भनेको सोचेरै गर्ने हो । यात्रा भनेकै मान्छेकै मन बलियो तुल्याइदिन गर्ने हो । आफैंमात्र बाँच्ने सोच त जनावरहरू पनि सोच्दा हुन् । मान्छेहरू अवश्य जनावरहरू भन्दा फरक छन् । फरक देखिंदैन भन्ने त्यस्ता मान्छेहरू जनावरहरू नै हुन् ।

                जसले आफूलाई जित्न सक्छ उसलाई कसैले जित्न सक्दैन । आफूलाई जित्दै त गर्ने हुन् यात्राहरू । यात्रामा लाग्दा आफूलाई जित्न नसक्नेहरू थुप्रैले हारेका छन् । मान्छे सृष्टि भएदेखिका इतिहास केलाई हेर्दा मान्छेहरूका यात्राहरू इतिहासमा छाम्न सकिन्छ – यही इतिहासबाट त सिक्ने हुन् मान्छेले यात्राका कुराहरू । आफू बच्न पनि यात्रा गर्छन्; त्यसैगरी अरूलाई बचाउन पनि यात्रा गर्छन् । धेरैका लागि यात्रा गर्नेहरू धेरैका लागि बाँँच्छन्, थोरैका लागि यात्रा गर्नेहरू थोरैका आँँखामा बाँच्छन् । आफ्नै लागि यात्रा गर्नेहरू आफूभित्र मात्र बाँच्छन् । यही यात्राका प्रसङ्गहरूमा मान्छेहरू आ–आफ्ना धूनका कुराहरू गर्छन् । … तर … यात्रा गरिरहन्छन् मान्छेहरू ।

                                मान्छे मात्र होइनन्         

                                सबै–सबैहरू यात्रामा छन्     

                                जनावरहरू, पन्छीहरू  

                                मलाई लाग्छ;    

                                फूलहरू, पानीहरू, घामहरू     

                                सबै–सबैहरू यात्रामा छन् ।

                                ००

                                तर कसैको यात्राले जो कोहीलाई आनन्द छर्दछन्    

                                त

                                कसैको यात्राले सबैलाई पीडा बाँड्छन्  

                                यात्रा त गर्ने हो सबैले

                                यात्रा गरेरै बाँँच्ने हुन् जिजीविषाहरू ।

                                ००

                                घाम उज्यालो बाँड्न निपुण छन्     

                                त्यसैले उनी सबैको माया पाएर बाँच्न सिपालु रहे    

                                त्यसैले त उनी सबैलाई प्रेम बाँडेर हाँस्न खोजे      

                                उनी पनि त यात्री हुन् –

                                सबैले मन पराउँदै बाँचेका यात्री ।

                                ००

                                फूल मुहारमा रङ्ग छर्केर    

                                फूलझैं फुल्न जानेका छन्    

                                कति मनमोहक छन् उनका मुहार–स्पर्शहरू         

                                कसैलाई बाधा दिन नजानेका फूलहरू –

                                कति सुन्दर देखिएका हुन् यात्रामा ।        

००

                                पानीझैं कञ्चन बूँद छर्केर    

                                यात्रामा बगिरहन पाउँदाका पानी–मुहारहरू –       

                                हेरिरहूँजस्तो लाग्दोरहेछ      

                                पानीलाई पानीमा राखेर      

                                म पानीको यात्रालाई मनभरि कैद गरिरहेछु ।       

                ०००

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: