जिन्दगी दुःखको भाँडोजस्तो लाग्छ

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

२०४५ सालमा रामेछापमा जन्मिएकी लक्ष्मी कार्की अपाङ्ग छिन् । बारीमा घाँस काट्न जाँदा रुखबाट खसेर अपाङ्ग भएकी कार्की घरपरिवारबाट अपहेलित भएपछि हाल बनेपा, घोगेचौरमा चटपट बेचेर आफू र आफ्ना दुई लालाबालाको जीवन निर्वाह गदैछिन् । श्रीमान् विदेशमा भएको र श्रीमान्ले आफ्नो कुनै वास्ता नगरेको उनी बताउँछन् । जिन्दगीलाई बैशाखीको सहारामा डो¥याउँदै जीवनका पलहरु बिताइरहेकी कर्कीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ः

० तपाईंको विवाह भएको कति वर्ष भयो ? अनि कसरी अपाङ्ग हुनुभएको ?
मेरो विवाह भएको ९ वर्ष भयो । मेरा एक छोरा र एक छोरी छन् । छोरा ६ महिनाको भएपछि श्रीमान् विदेश जानुभयो । घाँस काट्न जाँदा रुखबाट लडेँ र अपाङ्ग बनेँ ।

० उपचार गर्नुभएन त ?
रुखबाट लडेपछि हस्पिटल भर्ना भएँ । लामो समयसम्म उपचार भयो । विदेश जानुभएको श्रीमान् उतै बेपत्ता हुनुभयो । घरपरिवारले पनि वास्ता गरेनन् । माइतीबाट नै मेरो उपचार भयो । लामो समयको उपचारपछि बैशाली टेकेर अलि अलि हिँड्न सक्ने भएँ । एक वर्षपछि सबै ठीक हुन्छ भनेको थियो तर ठीक भएन ।

० किन घर छोडेर हिँड्नुभयो त ?
म लामो समय हस्पिटलमा बसेँ । उपचारको लागि मात्र पाँच लाख खर्च भयो । तर पनि मलाई ठीक भएन । म केही पनि काम गर्न सक्दिनथेँ । श्रीमान् पनि घरमा नभएपछि घर परिवारले वास्ता गरेनन् । शौचालय सम्म जान पनि मलाई गाह्रो हुन्थ्यो । घरमा बस्न टिक्न नसकेपछि छोराछोरी च्यापेर घरबाट निस्कन बाध्य भएँ ।

० अस्पतालमा रहेको बेला श्रीमान्ले कुनै सहयोग गरेनन् ?
श्रीमान् विदेश गएपछि उतै बेपत्ता हुनुभयो । घर परिवारले पनि साथ दिएनन् । अहिले श्रीमान्ले अर्को बिहे गरेका छन् भन्ने सुनेको छु ।

० कसरी जीविकोपार्जन गर्दै हुनुहुन्छ ?
अहिले अरुको गाढामा भाडा तिरेर चनाचटपटको व्यापार गर्छु । गाढा पनि १० रुपैया तिरेर कोठाबाट अरुले नै ल्याउने, लाने गरिदिन्छन् । म बैशाखी टेकेर बिस्तारै आउने जाने गर्छु । घामपानीमा बसेर दिनभरि व्यापार गर्छु । तर पनि जीवनयापन गर्न साह्रै गाह्रो छ ।

० कत्तिको आम्दानी हुन्छ ? बालबच्चा कसरी पाल्नुभएको छ ?
पहिला त दिनमा हजार, दुई हजारसम्मको व्यापार हुन्थ्यो । अचेल त्यतिसाह्रो व्यापार पनि छैन । अहिले दुईतीन सय मात्र हुन्छ । सामान राख्न पनि पुग्दैन । बालबच्चा पाल्न, कोठा भाडा तिर्न धौ धौ छ । दिनमा भोक, रातमा निद्रा छैन ।

० छोराछोरीलाई कसरी पढाउनु भएको छ ?
शीर मेमोरियल अस्पतालभित्रको स्कुलमा पढाउँछु । आदि छुटको व्यवस्था गरिदिएको छ । पढाइदिने र पालिदिने मान्छे मात्र भए उनीहरुसँगै पठाइदिन पाए हुन्थ्यो जस्तो लाग्छ ।

० तपाईंले अपाङ्गता भत्ता लिनुभएको होला नि ?
मलाई कसैले सहयोग गरेको छैन । अपाङ्गता भत्ता पनि पाइएको छैन । बसमा ५०% छुट चाहिँ पाएको छु । महिला विकास कार्यालयमा जाँदा पनि मिल्दैन भन्नुभयो ।

० बाटोमा दिनभरि बस्दा कसैले नराम्रो व्यवहार गर्छन् कि ?
अपाङ्ग छु, हिँड्डुल गर्न सक्दिनँ । बाटोमा चर्को घामपानीमा बस्नुपर्छ । एकातिर गाह्रो हुन्छ भने अर्कोतिर अपशब्द बोल्नेहरु पनि भेटिन्छन् । कत्तिले त खाएको पैसा नै दिँदैनन् ।

० घरधन्दा र छोराछोरीको हेरविचार कसरी गर्नुहुन्छ ?
खाना बनाउने काम सकिनसकी गर्छु । पानी अरुले ल्याइदिनुपर्छ । टुसुक्क बस्न पनि सक्दिनँ । खाट, भित्ताको सहारा लिएर यता उता गर्छु । सकीनसकनी लुगा धुन्छु, केटाकेटीलाई लुगा लगाइदिन्छु ।

० तपाईंको अवस्थामा सुधार हुनसक्छ कि सक्दैन ? डाक्टरहरुले के भनेका छन् ?
मेरो अवस्थामा सुधार आउने सम्भावना छैन । दुई वर्षमा सुधार हुन्छ भनेका थिए । तर अझसम्म भएन । उपचारमा पाँच लाख खर्च भयो न त आफू राम्रो भइयो न त धन नै रह्यो ।

० तपाईंलाई आफ्नो जीवन कस्तो लाग्दैछ ?
के हुनु जिन्दगी दुःखको भाँडो जस्तो लाग्छ । मेरो कर्म यस्तै रहेछ जस्तो लाग्छ । छोरा भएर जन्म भएको भए यस्तो दिन देख्न पर्दैन जस्तो लाग्छ । अरु हिँडेको देखेर रुन मन लाग्छ ।
प्रस्तुति ः सम्झना खतिवडा (प्रशिक्षार्थी पत्रकार)

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: