जननी र जन्मभूमिलाई हेर्दा

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

-महेशप्रसाद कोइराला
काभ्रेली वाङ्मय जगतमा रविओपीका कवि हरिप्रसाद चौलागाईंको दोस्रो काव्य कृति ‘जननी र जन्मभूमि’ देखा परेको छ । तथाकथित आधुनिकताको खोल ओढी आफूलाई जन्म दिने आमा र आफ्नो राष्ट्रिय अस्मिताको महिमा कहीँ कतैबाट बुझ्न नसकी रहेको सन्दर्भमा आएको यो कवितासंग्रह महत्वपूर्ण सावित भएको छ ।
पूर्वीय काव्य मान्यतालाई आत्मसात गर्दै कवि चौलागाईंको कवितासंग्रहको सुरुवात शिवस्तुतिबाट भएको छ । ६० वटा कविताहरु संग्रहीत संग्रहभित्र उपदेशमूलक र श्रृंगाररसका कविताहरु छन् । सस्ता नारा जस्ता कविता नभई गहन भाव अभिव्यक्त गर्न सफल उनका कविताका शीर्षकहरु पनि अत्यन्तै सार्थक, सफल र औचित्यपूर्ण देखिन्छन् । केही कविताहरु आध्यात्मिकतातर्फ उन्मुख हुँदै लेखिएका छन् । समाजका तमाम विकृति र विसंगतिप्रति चिन्ता व्यक्त गर्दै कविले समाज सुधारको आग्रह गरेका छन् । मानव जीवनको उत्तराद्र्धमा निस्कने सामाजिक एवं पारिवारिक उच्छवासहरुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको देखिन्छ ।
देश र जनताका खातिर आफ्नो ज्यानै बलिदान दिने सहिदहरुलाई कविले उच्च सम्मान गरेका छन् । तर आज हामीले उनीहरुको विरासतलाई बिर्सिरहेका छौं । त्यसैले हामीले अब निस्वार्थी, निर्भयी र निर्लोभी बन्ने बेला आएको छ भन्ने विचार व्यक्त गरेका छन् कविले । कवि सहिदको महिमा यसरी गान गर्दछन् ः
हेर्दै त्यो इतिहास पूर्वज कति सहिद भएका थिए
आमाको अनि देश निम्ति तिनले ज्यानै दिएका थिए ।
त्यस्ता वीर सपूत वैरीहरु साथ कालै बनी लड्दछन्
राखी सान र मान देश भरमा हाँसी चिता चढ्दछन् ।
(पृ. ४)
हामी नेपालीहरु पौरखी छौं । आफ्नो स्वाभिमानमा बाँचेका छौं । शीतल हिमाली माया पाएका छौं । प्रकृतिको मायालु काख पाएका छौं । यही काखमा बुद्ध जन्मिए, सीला सल्बलाइन्, पार्वतीले पिरती गाँसिन्, जनक जग्जगाए, भीमसेन थापाहरुले भीमकाय बनेर संसार हल्लाए । यस्तै भावधारा व्यक्त गर्ने पंक्ति ः
जुर्मुराई सपूत बोल्छन् उठी धावा हुँकारले
हात हातै लिँदै अस्त्र भीड्दछन् युद्धार्थ क्रोधले ।
(पृ. ७)
‘अनेकतामा एकता, एकतामा अनेकता’ यो हामी नेपालीको हजारौँ वर्षदेखिको विशेषता हो । तर यसलाई छिन्नभिन्न बनाएर हाँस्न रमाउनेहरुको पछिपछि हामी नेपालीहरु लागिरहेका छौं । त्यसैले अब सही र गलत छुट्याउने बेला आएको छ । सचेत बन्ने समय भइसकेको छ । सचेत बनौं शीर्षकको कवितामा कवि भन्दछन् ः
छिमेकीहरु दाउ हेर्छन् चियाई
चिमोट्छन् चिथोर्छन् घाउ पार्छन् रमाइ ।
इज्जत लुट्न आमा त हट्छन् पछाडि
भाँडी दिन्छन् यो घर स्वबन्धु लडाई ।
(पृ. १८)
जलवायु परिवर्तनको असरले विश्व यतिखेर आक्रान्त छ । हिमाल आज हिमाल भएर टल्किन सकेका छैनन्, तराईमा हुने रुख विरुवा पहाड र हिमालमा हुर्कन थालेका छन् । मनाङ र मुस्ताङमा लामखुट्टे देखा पर्न थाल्यो अरे, माघ आज माघ भएर जाडिन पाउँदैन, बाघ आज बाघ बनेर गर्जिन सक्दैन । विश्व जनमानसमा भने विज्ञानको जगमा टेकेर आधुनिकताको ढोल बजाएर घमण्ड गरिरहेछ र भनिरहेछ –‘हामीले चमत्कार ग¥यौं ।’ संंसारलाई कालको खाडलमा जाकेर कसका लागि गरेको चमत्कार ? बालकृष्ण समको ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने उक्ति चरितार्थ हुँदै आएको छ । यस कुरालाई तलको हरफले पुष्टि गरेको छ ः
न वृक्षले पल्लव फेर्न सक्छन्
मानव पनि क्लान्त भएर ढल्छन् ।
मरुभूमि तुल्य होला कि विश्व
असफल होला विज्ञानको प्रभाव ।।
(पृ. २६)
जे होस् शास्त्रीय छन्दमा लेखिएका र गद्य रुपमा लेखिएका दुवै खालका कविताहरु विचारोत्तेजक र सन्देशमूलक छन् । साहित्य अझ त्यसमा पनि कवितालाई माया गर्ने जो कोहीले एकपटक पढ्नैपर्ने कृति जन्मिएको छ । पाका उमेरका हरिप्रसादले पाकै खालका कविता लेख्ने प्रयत्न गरेका छन् । उनको दीर्घायु र अझ परिमार्जित र परिपक्व कविताका लागि शुभकामना ।
विधा ः कविता
कृति ः जननी र जन्मभूमि
कवि ः हरिप्रसाद चौलागाईं
प्रकाशक ः जनमन प्रकाशन, बनेपा
मूल्य रु. १००।–

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: