गणतान्त्रिक नेपालमा शब्दहरुको गिर्दो गरिमा

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

-माधवप्रसाद अधिकारी
शब्दहरुले अर्थ बोकेका हुन्छन्, त्यसैले अर्थ दिन सक्ने अक्षर वा अक्षरहरुको समूहलाई शब्द भनिन्छ सायद नेपाली व्याकरणमा । भाषाप्रति अभिरुची राख्ने र यस सम्बन्धमा जानकारी पनि भएका मानिसहरु शब्दहरु प्रयोग गर्दा जिम्मेवार बन्दछन् । जसका कारण उनीहरुका लिखित वा मौखिक अभिव्यक्तिहरु सरल एवं सटिक हुन्छन् ।
गणतन्त्र आए यता शब्दहरुको प्रयोग स्वतन्त्रता पनि यति बढ्यो कि सघन घनत्वका शब्दहरु कपासझैं हल्का र फिक्का बन्दै गए । देशमा ‘जनयुद्ध’ भइरहेको र त्यसको त्रासदी मूलत जनताले नै भोग्न परिरहेको स्थितिमा शान्ति मुख्य विषय बन्नु स्वभाविकै थियो । त्यसैले शान्ति शब्दको प्रयोग यति बढ्यो कि यसको अर्थ नै रुमलियो । जसले अशान्तिको बीउ छरे र ज जसले त्यसको खेती गरी पर्याप्त बाली भित्र्याए उनैले शान्ति शब्दको पनि छताछुल्ल प्रयोग गरे । छुरी रोप्नेले रगत थाम्ने प्रयत्न गरेजस्तो ।
शब्दार्थको वास्तविक बोधका अभावमा विद्यालय शान्ति क्षेत्र हुनुपर्ने जस्ता नारा गुरुहरुका संगठित संस्थाले ल्याए । पूर्ण हास्यास्पद । पानीको दहमा कुनै निश्चित स्थानमा खाल्डो वा प्वाल राख्नुपर्ने जस्तो माग । घर, टोल, समाज, सडक सबै अशान्त भइरहेको बेला विद्यालय मात्र शान्ति क्षेत्र ? यस्तै उद्योगहरुमा शान्ति क्षेत्रका कुरा पनि उठे जुन शान्ति शब्दको अत्यन्त फिक्का प्रयोग थियो । यस्तै लापरवाही ढंगले प्रयोग गरियो ‘गम्भीर’ शब्दलाई पनि । विशेषगरी प्रचण्डले यस शब्दलाई बाक्लै प्रयोग गरे तर अत्यन्त हलुका ढंगले । किनकि उनले जुन सन्दर्भमा जतिपटक गम्भीर शब्दले अति मोड दिए (हाउभाउ समेत थपेर) त्यसको सतांश पनि वस्तुगत हुन सकेन । शरदको चंगाझैं गम्भीर शब्द बतासियो । अनि पछि त मानिसहरु आजको नास्ता कहाँ खाने हो गम्भीर ढंगले सोचौं पो भन्न थाले । हरे कत्रो अपमान गम्भीर शब्दको ।
यही समयमा असाध्यै प्रयोग हुँदै आएको अर्को शब्द हो राष्ट्रिय सहमति । के हो यो राष्ट्रिय सहमति भनेको ? के मध्यराततिर २–४ जनाले आफू र आफ्ना दल विशेषका दाउपेचालाई मैदान दिनका लागि गरिने मिलेमतो राष्ट्रिय सहमति हो ? देश र जनतासँग सरोकार राख्ने मामिलामा जनताहरु कुनै पनि ढंगले सामेल नभई उनीहरुलाई चुस्न र लुट्न हुने चलखेलको नाम राष्ट्रिय सहमति हुन सक्छ ? दुई वर्ष भित्र संविधान निर्माण गर्न भनि चुनिएकाहरुले दोब्बर समय थपेर पनि संविधान निर्माण गर्न नसक्दा अदालतद्वारा विघटित संविधान सभाको पुनःस्र्थापना गर्ने कुरामा लुच्चा फटाहाहरुहरुको कुरा मिल्यो भने त्यो राष्ट्रिय सहमति ? धिक्कार । कुन शब्दकोषमा् राष्ट्रिय सहमतिको यस्तो अर्थ पढे उनीहरुले वा कस्ता गुरुहरुले यस्ता शब्दार्थ सिकाए उनीहरुलाई ? यति मात्र कहाँ हो र ? माननीय, सम्माननीय शब्दहरुको पनि भन्न हुन्छ वा हुन्न बलात्कार नै भएको छ । रातो पासपोर्ट विक्री गर्ने, वेश्यालयमा फेला पर्ने, घुस लिने, खेताला लगाई आफ्नो जाँच गर्ने, अपहरण गर्ने, कार्यालयमा कर्मचारी कुट्ने, रक्सीले रुझेर सडकमा ताण्डव नृत्य गर्ने माननीय । कुनै सभालाई निर्देश, नियन्त्रण र अनुशासित गर्न नसके पनि सम्माननीय ? के यी शब्दहरु शौचालय जाने चप्पलहरु हुन् जसले गोडा छिराए पनि हुने ? ज जसका अगाडि यी शब्दहरु प्रयोग हुन्छन्, उनीहरुसँग त्यस्तै प्रकारका योग्यता, क्षमता, आचरण, नैतिकता, मूल्य, मान्यता हुन आवश्यक छैन ? यो त कुनै राजनीतिक पार्टीको दासत्व स्वीकार गरेर घरपायक सरुवा, आवधिक बढुवा, फुर्सदमा विद्यालय गएर सही गरिदिए वापत तलब खाने हैसियत बनाउने नाममात्रको शिक्षकलाई मास्टर भनेजस्तो पो भयो । मास्टर भनेको त सार्वभौम, अनुकरणीय, मार्गदर्शक तथा नायक हो । हरे यसरी शब्दहरुको प्रायोगिक फिक्कापन बढ्दै जाने हो भने शुद्ध दूध भनेर सोझा सरल, इश्वरमा विश्वास राख्ने किसानले घर घरमा विक्रीका लागि पु¥याउने हट्याइदो पानी झैं त बन्दैन भावी साहित्यिक कृतिहरु ?
यही प्रकारको अपमान भोगिरहेछन् वरिष्ठ, शीर्षस्थ आदि शब्दहरु पनि । वरिष्ठ नेता, वरिष्ठ साहित्यकार, वरिष्ठ शिक्षक, वरिष्ठ समाजसेवी आदि । कहाँ देखायो, के मा देखायो उसले वरिष्ठता ? के चाकरीबाजहरुले कसैलाई फुक्र्याउन फुस्ल्याउन प्रयोग गरिने शब्द हो वरिष्ठ ? के बाँसुरीभित्रको खुकुलो हावा हो यो शब्द ? जसले जसरी पनि फुक्ने र औंलाको चालले आफू अनुकुल बनाउने ? क कसका कुन कुन विधाका उपलब्धीहरुलाई आफ्नो प्रतिभा, क्षमता, कुशलताले वरियता कायम गरेर वरिष्ठ हुन पुग्यो ऊ ? के कुनै छ्यान विचार हुनुपर्दैन ? के हो वरिष्ठताको आधार ? कि उमेर ? नत्र सय वर्ष नाघेका सबै नागरिकहरुलाई वरिष्ठको पगरी किन नगुताई दिने ? अझ पार्टी र सम्बन्धित व्यक्तिको नाम समेत उल्लेख हुने स्थानमा अगाडि शीर्षस्थ भनिदिँदा त हरफकारलाई रिंगटा नै लाग्दछ । दशकौंको राजनीतिक कुर्सी टसाइबाट नितम्बको छाला खुइलिसक्दा पनि व्यक्तिगत कमाई, मान, शान, ऐयास, आराम बाहेक आफ्नै दल विशेषलाई समेत उल्लेख्य कुनै योगदान गर्न नसकेको पंगु, गुटगत चालबाजी, देशी विदेशी बैशाखी तथा थाङ्ग्रीबाट धुरी पुग्दैमा शीर्षस्थ ? लौका धुरीमा पुग्दैमा किबी (निकै महँगो फल) बन्छ र ? शीर्षस्थ भनिनको लागि उसको राजनीतिक वैचारिक योगदान हुनुप¥यो । जटिल परिस्थितिहरुलाई आफ्नो बौद्धिक क्षमताले सरल समाधानद्वारा संबोधन गर्न सक्नुप¥यो तब न शीर्षस्थ ।
कानुनी तथा चिकित्सा क्षेत्रमा निश्चित मान्यताहरु तय गरिएका छन् । ती मापदण्डहरु पूरा गरेपछि सम्बन्धित व्यक्तिहरु वरिष्ठ हुन्छन् । त्यस्तै शीर्षस्थका लागि पनि आधिकारिक त्यस्ता आधारहरु हुन आवश्यक छ । र अन्ततिर गणतान्त्रिक नेपालमा आफ्नो गौरव गरिमा, गाढापनका साथै खँदिलोपना गुमाएको शब्द हो सहिद । जनयुद्ध अघिसम्म यो शब्दले शरीरमा रक्तसंचार र स्नायु प्रणालीमै प्रेरक रोमाञ्च पैदा गर्दथ्यो । अन्याय विरुद्ध लड्न, हिरासतमा यातनाहरु खप्न, जहान बच्चाको अस्तव्यस्तता, आर्थिक अभावका तड्पाईहरु सबलाई छिचोल्न ऊर्जा दिन्थ्यो यो शब्दले ।
युद्धपछि आमूल परिवर्तन भयो भएन, मतिगत तर्कहरु होलान् तर सहिद शब्दको गरिमामा भने अचम्मकै हेरफेर भयो । कुनै राजनीतिक दर्शनका अनुयाई नभएका लक्ष्य, दृष्टिकोण केही नभएका, शत्रुसँगको आम्नेसाम्ने र रस्साकस्सीमा शीर झुक्नुभन्दा मर्नु वेश भन्ने भावनाको किञ्चित संकेत पनि नभएका संयोगका शिकार बनेका मानिस शक्तिको आडमा जब सहिदमा गणना हुन लागे तब व्यङ्ग्य स्वरुप सडकमा बसले किचेको कुकुर, कुखुरालाई पनि मानिस सहिद भन्न थाले । पछिल्लो समयमा सहिदको मूल्य निर्धारण हुने, जेल बसेकाहरुले मूल्यमा समय बेच्ने गर्न थाले पछि त आस्थागत गतिविधिहरु पनि नाफा कार्यमा फेरि जुन देशका निम्ति दीर्घकालीन अभिशाप हो । शब्दको गरिमा गिराउनु अपराध हो ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: