काम अनुसारको दाम दिन अग्रसर रहनेछु – हिरा शर्मा

प्रकाशित मिती : बुधबार, जेष्ठ २४, २०६९ by   ·   Comments

 

 

– हिरा शर्मा नेपाल, प्रिन्सिपल, विद्यासागर इङ्गलिस सेकेण्डरी स्कुल, बनेपा
इटहरी–४, सुनसरीमा माता शान्तिरानी र पिता विश्वनाथ नेपालका छोरा हिरा शर्मा नेपालको जन्म २०२७ सालमा भएको हो । २०४८ सालदेखि विद्यासागर स्कुल संचालन गर्नुभएको नेपाल विगत २१ वर्षदेखि शिक्षण क्षेत्रमा क्रियाशील हुनुहुन्छ । प्रिन्सिपल शर्मासँग रेडियो एबीसी ८९.८ मेगाहर्जमा शनिबार साँझ ७ देखि ७ः३० बजेसम्म प्रसारण हुने शिक्षा सरोकार कार्यक्रममा गरिएको कुराकानीको मुख्य अंश काभ्रे टाइम्समा प्रस्तुत गरिएको छ ।
० लामो समयदेखि शिक्षण पेशामा हुनुहुन्छ । यो क्षेत्रका समस्याहरु के के रहेका छन् ?
२० वर्ष २०४९ सालबाट विद्यासागर स्कुल स्थापना भएको हो । विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको छ । हरेक शैक्षिक सत्र आउँदा के हुने हो, कसो हुने हो भन्ने अन्यौलता कायम रहेको छ । राजनीतिक अस्थिरताका कारण वर्षमा तीनवटा सरकार परिवर्तन हुन्छन् । आफू अनुकुल शिक्षा सम्बन्धी नीतिनियम ल्याउने गरेकाले शैक्षिक संस्थामा जहिले पनि अन्यौलता कायम रहेको छ । विगतमा संस्थागत विद्यालयको स्वामित्व कसको हुने, कम्पनीमा लाने या नलाने सोको विषयमा लामो समयसम्म यस्त विषयको छलफल, बहस चलिरह्यो । द्वन्द्वकालमा शैक्षिक संस्था तारो बनेको थियो । त्यसैले सरकार परिवर्तन हुनासाथ कस्तो नीति नियम आउने हो भन्ने शंकै शंकामा निजी तथा आवासीय विद्यालयहरु बस्नुपर्ने हुन्थ्यो ।
० संस्थागत विद्यालयहरुले शैक्षिक क्षेत्रमा केही टेवा पु¥याए पनि सरकारी निश्चित मापदण्ड भन्दा आफ्नै एकाधिकारमा संचालनमा छन्् भनिन्छ नि ?
संस्थागत विद्यालयहरु शिक्षक, विद्यार्थी र अभिभावकको मेहनतबाट शैक्षिक अवस्थालाई माथि उकास्न शैक्षिक अवस्था सुधार गर्न सकेको हो । जहाँसम्म कुरा छ संस्थागत विद्यालयहरु एकाधिकारमा संचालनमा छन् भन्ने कुरामा सहमत छैन् । जिल्ला शिक्षा कार्यालयले विद्यालयहरुको नियमित ढंगबाट अनुगमन गरिनुपर्छ । गरिएको पनि छ । उक्त निकायबाट गरिएको अनुगमनबाट दिइएको सुझावलाई नेपाल सरकारले निर्माण गरेको शिक्षा नीतिको परिपालन गरेर ने संस्थागत विद्यालय संचालनमा आएका छन् । संस्थागत विद्यालयले विद्यार्थीलाई उपलब्ध गराउँदै आएको सेवा, सुविधा, शैक्षिक सुधार गरिएको कार्यलाई ठीक ढंगबाट अनुगमन गरिनुपर्दछ । सो कार्यको मूल्यांकन गरेर कारवाही प्रक्रिया अघि बढाइनुपर्छ । विद्यालयले निर्धारण गरेको भर्ना शुल्क, अन्य शुल्क मासिक शुल्कको विषयमा राम्रो अनुगमन गरेर सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नू आवश्यक छ ।
० संस्थागत विद्यालयको संचालन राज्यमा सान्दर्भिकता कत्तिको ठान्नुहुन्छ ?
शिक्षा क्षेत्र ज्यादै नै संवेदनशील क्षेत्र हो । यसलाई राज्य वा जोसुकै विद्यालय संचालक होस्, विश्व जगतलाई विश्वको बजारलाई मध्यनजर गरेर शिक्षा क्षेत्रको विकास र विस्तार गरिनुपर्छ । नेपालमा विश्व जगत सबैलाई निजी क्षेत्रको लगानीको अपरिहार्यता छ । निजी क्षेत्रको लगानीलाई इन्कार गर्न सकिँदैन । निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गरिनुपर्छ । कार्य सम्पादनलाई मूल्यांकन गरेर निजी क्षेत्रले नयाँ नयाँ प्रविधिको विकास, नयाँ नयाँ कुराको खोजी गरेर सिकाउने कार्यमा संस्थागत विद्यालय सधैं अगाडि हुन्छन् । त्यही कारण पनि संस्थागत विद्यालयको खाँचो छ ।
० संस्थागत विद्यालयले घोकन्ते शिक्षण विधि लागू गरेको भनिन्छ नि ?
संस्थागत विद्यालयले विद्यार्थीहरुलाई घोकन्ते शिक्षण विधि अपनाएर अगाडि बढेको छ भन्ने कुरा केही हदसम्म सावित भए जस्तो देखिए पनि वास्तवमा हाम्रो शिक्षा प्रणाली नै त्यस्तै प्रक्रियाको छ । निजी विद्यालय होस् सामुदायिक विद्यालय, अध्यापन गराउने पाठ्यक्रम एकै किसिमको हुन्छ । विद्यार्थीलाई सिकाइने प्रविधि, सिक्नुपर्ने जति पनि क्रियाकलाप छन्, त्यस विषयमा तालिमप्राप्त दक्ष शिक्षकबाट नै अध्यापन गराइने हो । यो घोकन्ते विधि लागू गरियो भन्ने चाहिँ बाहिर गफ दिने कुरा नै हो ।
० विद्यार्थीहरुको रोजाइ विद्यासागर स्कुल नै किन ?
बनेपाका धेरै विद्यालयहरु छन् । धेरै विद्यालय हुनु अभिभावकका लागि राम्रै हो । सबै विद्यालयहरुमा सोधपुछ गरेर आफ्ना नानीहरुलाई अध्यापन गराउन पाउँछन् । नयाँ नयाँ विद्यार्थीहरुको आगमन हुन्छ । सिकाइमा नयाँ प्रविधि, विद्यार्थीहरुलाई अनुशासित राख्न सफल, विद्यार्थी पोशाक, विभिन्न अतिरिक्त क्रियाकलाप कार्यक्रम गर्दै शैक्षिक अवस्था माथि उकास्न सकेकोले विद्यार्थीहरुको रोजाई विद्यासागर भएको हो ।
० कस्तो शिक्षालाई गुणस्तरीय शिक्षा मान्न सकिन्छ ? संस्थागत विद्यालयको शिक्षामात्रै गुणस्तरीय हो भन्ने पनि भनाई छ नि ?
शिक्षाको गुणस्तरीता मापन गर्ने कुने आधार तयार पारिएको छैन । शिक्षाविद्ले भन्ने कुरा हो, संस्थागत विद्यालयले नै प्रदान गरेको शिक्षा गुणस्तरीय हो भन्न सकिँदैन । सीपमूलक, दक्ष जनशक्ति उत्पादन गर्न सकिने समाजमा उभ्याउन सक्ने शिक्षा आजको आवश्यकता हो ।
० संस्थागत विद्यालयहरुको शिक्षा साह्रै महँगो भन्ने अभिभावकहरुको गुनासोलाई के भन्नुहुन्छ ?
हो म पनि अभिभावक भएर सोच्ने हो भने वास्तवमै संस्थागत विद्यालयमा अध्यापन गराउन महँगो नै छ । एउटै अवस्थालाई मात्र हेरेर पुग्दैन । विद्यालयले शिक्षामा दिएको सेवा, सुविधा, विद्यार्थीको शैक्षिक अवस्था सुधार भएको विषय सबैलाई ख्याल गर्नुपर्छ । संस्थागत विद्यालयका संचालकहरुले उठाएको मासिक शुल्कको ६० –७० प्रतिशत शुल्क शिक्षक तलबमा खर्च गर्नुपर्ने हुन्छ । विश्व बजारलाई पनि हेर्नु आवश्यक छ । शिक्षकहरु विभिन्न जिल्लाबाट आएका हुन्छन् । उहाँहरुको कोठामा बस्नुपर्ने भाडा महँगो तिर्नुपर्ने हुँदा शिक्षकलाई पनि खटाइ अनुसारको तलब दिनुपर्ने हुन्छ । तापनि सोही अनुरुप सरकारी स्केल बराबर दिन सकिएको छैन ।
० निजी विद्यालयले शैक्षिक सामग्री, लत्ताकपडा, पेटी, टाई, बेल्ट आदि सामग्रीको पनि व्यापार गर्ने गरेका छन् नि ?
अभिभावकको सजिलोको लागि र विद्यालयको पोशाकमा एकरुपता ल्याउन ड्रेसको त्यस्तो व्यवस्था गरिएको हो । विगतमा हामीले शैक्षिक सामग्री विद्यार्थीहरुलाई उपलब्ध गराउँदा बजारको मूल्यभन्दा १०–१५% छुट व्यवस्थामा उपलब्ध गराएका छौं । अन्य विद्यालयहरुले के गर्ने गरेको छ मलाई थाहा भएन । हाल हामीले शैक्षिक सामग्री अभिभावकले आफैले व्यवस्था गरेमा हामीले कुनै रोकटोक गरेका छैनौं ।
० निजी तथा आवासीय विद्यालयका चुनौतीहरु के के रहेका छन् ?
संस्थागत स्थायित्वको अभाव, राजनीतिक अस्थिरताका कारण समय समयमा हुने सरकारले आफू अनुकुल निर्णय गरेर नीति नियम ल्याउने कार्यले निजी विद्यालयहरुलाई समस्या पारेको छ ।
० कस्तो शिक्षाले राज्य विकासको परिसूचक बढ्न सक्छ ?
प्रयोगात्मक, व्यवसायिक, प्राविधिक शिक्षाले देशमा दक्ष जनशक्तिको उत्पादन हुनसक्छ । शिक्षाको सकारात्मक विकासले नै राज्य विकासको परिसूचक बढ्न सक्छ ।
० सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा अध्यापन गराउने शिक्षक बढी खटिनुपर्ने भए पनि पारिश्रमिक सरकारी स्केल बराबरको दिने गरिएको छैन नि ?
पक्कै पनि हो । विद्यार्थीसँग लिएको भर्ना शुल्क र मासिक शुल्क नै संस्थागत विद्यालयको आम्दानीको स्रोत हो । राज्यले कुनै रकम व्यवस्था गरेको छैन । विद्यार्थीबाट लिएको रकमको ७०–७५ प्रतिशत रकम शिक्षक तलबमा खर्च गरिएको हुन्छ । तर पनि सरकारी तलब स्केल बराबर गरी शिक्षकहरु सन्तुष्ट पार्न सकिएको छैन । आगामी दिनहरुमा सबै शिक्षकहरुलाई काम अनुसारको दाम दिन अग्रसर रहनेछु ।
० संस्थागत विद्यालय संचालन गर्ने संचालक मात्रै मालामाल हुन्छन् । काम गर्ने शिक्षकलाई चाहिँ न्यूनतम पारिश्रमिक पनि दिइँदैन भनिन्छ नि ?
त्यस्तो खास रुपमा होइन । संचालकहरु पनि अहोरात्र विद्यालयमा खटिरहेका हुन्छन् । म आफ्नै कुरा गर्ने हो भने पनि दैनिक १५ घन्टा खटिरहेको छु । अन्य स्थानमा काम ग¥यो भने पनि त्यही अनुरुपको तलब प्राप्त गर्न सक्छु । त्यसैले संचालकले मात्र कमाए भन्न मिल्दैन । अझ भन्नुपर्दा राज्यमा शैक्षिक गुणस्तर माथि उकास्न र शैक्षिक बेरोजगार कम गर्न संस्थागत विद्यालयले सहयोग पु¥याएको छ ।
० विगतमा भन्दा विद्यासागर स्कुलको शैक्षिक अवस्था खस्केको छ भनिन्छ नि ? वास्तविकता के हो ?
वास्तविक रुपमा त्यस्तो होइन । बाहिरी रुपमा आएका हल्लामात्र हो भन्ने लाग्छ । अभिभावकहरुले भन्नुभएको हो भने विद्यालयलाई सधैं गुणस्तरीय शिक्षा दिन पहल दिई राखोस् भन्ने हिसाबले भनेको हुनुपर्छ । अभिभावकले दैनिक रुपमा सुझाव र सल्लाह दिन आवश्यक छ । यसो भएमा शैक्षिक सुधारमा परिवर्तन आउँछ ।
० शिक्षा क्षेत्रमा लाग्दाका कुनै अवस्मरणीय क्षण ?
हाम्रो विद्यालय ०५८ सालदेखि एसएलसी परीक्षामा सामेल भएको हो । त्यतिखेर ९ जना सहभागी थिए । उक्त परीक्षाको परिणाम आउँदा त्यतिबेला इन्टरनेट सुविधा थिएन । गोरखापत्रबाट मात्र परिणाम थाहा पाउनुपर्ने अवस्था थियो । त्यसबेला आफ्ना विद्यार्थीहरु सफल भए कि भएनन् के भयो, कसो भयो भन्ने चिन्ताले रातभरि निन्द्रा लागेन । त्यस्तै ०५२÷०५३ मा बनेपा महोत्सवमा भएको सांस्कृतिक कार्यक्रममा १८ टिममध्येबाट विद्यासागर स्कुल प्रथम भएकोमा हर्षको सीमा नै रहेन । त्यतिबेला विद्यार्थीसँग छमछम नाच्दै बनेपा परिक्रमा गरेको अहिले पनि याद आउँछ ।
० अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हरेक क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा छ भनेर जसले बढी बर्बराउँछ ऊ नै बढी अस्वस्थ प्रतिस्पर्धामा अग्रसर हुन्छ भन्ने मलाई लाग्छ । संस्थागत विद्यालयले होस् अन्य क्षेत्र जेसुकै भए पनि आफूले जहिले पनि राम्रो गरे राम्रो परिणाम आउँछ । हामीभन्दा पनि अनुभवी शिक्षा क्षेत्रमा लाग्नुभएका व्यक्तिहरुलाई नै यस शिक्षा सरोकार कार्यक्रममा सहभागी गराई उहाँहरुको विचार अनुभवलाई शेयर गर्न पाए अझ राम्रो हुने थियो । यसैगरी यस कार्यक्रममा विद्यालयका शिक्षकहरुलाई पनि सहभागी गराउन पाए कार्यक्रममा अझ राम्रो हुने थियो । तपाईंहरुको संचार माध्यमले शिक्षा क्षेत्रलाई प्राथमिकता दिनुभएकोमा धेरै धरै धन्यवाद दिन चाहन्छु ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: