काभ्रेका कलेजहरु पढाइमा राजधानीको भन्दा कम छैनन् –विष्णुप्रसाद दाहाल

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

–विष्णुप्रसाद दाहाल, प्रिन्सिपल, ज्ञानकुञ्ज उच्च मावि तथा कलेज, बनेपा
संखुवासभा जिल्ला मादी–४ मा माता टीकादेवी, पिता मुक्तिनाथका छोरा विष्णुप्रसाद दाहालको जन्म २०२६ माघ १९ गते भएको हो । हाल बनेपामा स्थायी बसोबास गर्नुहुन्छ । २०४४ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण हुनासाथ बुद्ध उच्च मावि विराटनगरबाट शैक्षिक पेसामा लाग्नुभएका दाहाल २०६० देखि ज्ञानकुञ्ज उच्च मावि तथा कलेजको प्रिन्सिपलको जिम्मेवारी सम्हाल्नुभएको छ । रेडियो एबीसी ८९.८ मेगाहर्जमा शनिबार साँझ ७–७ः३० बजेसम्म प्रसारण हुने शिक्षा सरोकार कार्यक्रममा शिक्षासँग सम्बन्धित विषयमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

  • कस्तो शिक्षाले मानव जीवनको परिवर्तनसँगै राष्ट्र विकासमा अग्रगति दिन सक्छ ?

शिक्षा मानव जीवनको सकारात्मक परिवर्तन चरित्रवान, रोजगारीमूलक, व्यवहारमा परिवर्तन ल्याउने शिक्षाले नै आर्थिक, सामाजिक र राजनीतिक विकाससँगै राष्ट्र विकासको संवाहको रुपमा अगाडि बढी देश शिक्षाले देश विकासको अग्रगति लिन सक्छ ।

  • हाल शिक्षा क्षेत्रमा देखिएका विकारयुक्त परिणतिहरुमा तपाईंको विश्लेषण ?

समग्र शिक्षामा चाहे त्यो सामुदायिक होस् या संस्थागत शैक्षिक संस्थामा तेरो र मेरो रुपमा राजनीतिक रंग दिइन्छ । त्यो नै शिक्षाको अभिशाप सावित हो । जहाँसम्मको कुरा छ राजनीति बेगर कुनै पनि मुलुक चल्न सक्दैन । देशको आर्थिक सामाजिक विकासको रुपान्तरण सम्भव छैन । कुनै पनि व्यक्ति राजनीतिबाट अलग हुन सक्दैनन् । त्यसो भन्दैमा शैक्षिक संस्था राजनीतिक थलो बनिनु हुँदैन । शिक्षामा परिवर्तनको खाँचो छ । त्यसैकारण पनि शिक्षामा भएका राजनीतिक रंग जरैबाट फ्याँकिनु पर्छ ।

  • एसएलसीको नतिजासँगै काभ्रे जिल्लामा अध्ययन गर्ने सामुदायिक होस् या संस्थागत विद्यालय दुवैका अधिकांश विद्यार्थी नयाँपन खोज्न राजधानीका कलेज धाइरहेको अवस्था छ नि ? काभ्रेमा शैक्षिक वातावरण राम्रो नभएर हो ?

समग्रमा ०६८ सालको एसएलसीमा सहभागी मध्ये ४७.१६% उत्तीर्ण हुनुमा शिक्षाको स्तरमा ठूलो आँच आएको छ । त्यसैक्रममा काभ्रे जिल्लाको सन्दर्भमा भन्नुपर्दा हरेक वर्ष यस जिल्लामा उत्तीर्ण प्रतिशत अग्रगतिमा छ । यस वर्षमा पनि ६८.३५% ल्याउन सफल भएको छ । स्तरीय, परिणात्मक शिक्षा दिन राजधानीका कलेज तथा स्कुलहरुमा भन्दा काभ्रेका विद्यालयहरुमा केहीमा कम छैनन् । मात्र हाम्रा यहाँस्थित विद्यालयहरुका सम्बन्धित व्यक्तिहरुबाट विद्यार्थी लगायत अभिभावकहरुलाई दिनुपर्ने शैक्षिक परामर्शको कमीका कारणले विद्यार्थीहरु राजधानी गएको अवस्था हो । यो प्रक्रिया विस्तार घट्ने छ । विगतमा भन्दा अहिले काभ्रेमा पनि कलेजहरु छानी छानी अध्ययन गर्ने वातावरण संस्थागत विद्यालायहरुले त्यस्ता सुविधा सम्पन्न शैक्षिक वातावरण तयार गरेका छन् । अब विद्यार्थीहरु अध्ययन गर्न राजधानी धाइरहनु पर्ने अवस्था छैन ।

  • हाम्रा शिक्षक र विद्यार्थी कुनै न कुनै राजनीतिक पार्टीमा आवद्ध भई परिचालित छन् । तिनको गैर व्यवसायिक सोचाइ, शैलीले शिक्षाको स्तर माथि उकास्न नसकिएको हो भनिन्छ नि ? तपाईंलाई के लाग्छ ?

मानिस सामाजिक प्राणी हो । स्वभाविक रुपमा कुनै पनि नागरिक राजनीतिक पार्टीमा आबद्ध हुनसक्छ । राजनीति गर्न खुला हुनुपर्छ । आफ्ना हक अधिकारका लागि आर्थिक र सामाजिक रुपान्तरणको लागि नितान्त अपरिहार्यता छ राजनीति । तर शैक्षिक संस्थामा कुनै पनि राजनीतिक गन्ध निषेध हुनुपर्छ । सामुदायिक विद्यालय होस् या संस्थागत दुवैमा शैक्षिक अवस्था सुधार गर्ने विषयमा मात्र सीमित हुनुपर्छ । व्यवहारिक र मर्यादित शिक्षा आजको आवश्यकता हो ।

  • २०३६ सालपछि शिक्षामा निजी क्षेत्रको प्रवेशसँगै सुधार र स्तरीयता कायम भएको भनाइ एकातिर छ । अर्कोतिर हाल शिक्षामा चरम व्यापारिकरण भएको छ पनि भनिन्छ नि ?

मुलुकमा निजी क्षेत्रको प्रवेश चाहे त्यो शैक्षिक क्षेत्र होस् चाहे आर्थिक क्षेत्र वा औद्योगिक क्षेत्र सबैमा सरकारले संचालन गरेको भन्दा व्यवसायिक, मर्यादित परिवर्तनमुखी सुधार अवश्य भएकै छ । शिक्षाविद्हरुको भनाइ मनासिब छ । तर यति भनेर मात्र पुग्दैन । देशको शैक्षिक गुणस्तर बृद्धि गर्दै विश्व बजारको माग अनुसार परिपूर्ति हुने शिक्षाको खाँचो छ । जहाँसम्म शिक्षामा चरम व्यापारिकरण भयो भन्ने सवालमा म कदापि मान्दिनँ, । संस्थागत विद्यालयले प्रदान गर्ने शिक्षा सेवामूलक व्यापार हो । राज्यले निर्धारण गरेको ऐन नियमको परिपालना गरेर संस्थागत विद्यालयहरु कम्पनी ऐन अनुसार संचालित भएका छन् । ऐन नियम अनुसार संचालन नभए राज्यसँग सम्बन्धित जिल्ला शिक्षा कार्यालय र सरकारले छुट्टै संयन्त्र बनाएर निरन्तर अनुगमन गर्नुप¥यो । नियम संगत कार्य सम्पादन नगरेको भए कारवाही गर्नुपर्छ । अन्यथा अरुलाई दोष लगाएर मात्र पन्छिन मिल्दैन । शिक्षा क्षेत्रलाई माथि उकास्न संस्थागत विद्यालयको भूमिकालाई कम आँक्न मिल्दैन ।

  • वर्गीय हैसियत अनुसारको विद्यालय रोज्नुपर्ने बाध्यता छ । तीक्ष्ण बुद्धि भएका उत्कृष्ट अंक ल्याउने दुर्गम भेगका विद्यार्थीहरुले ढोका चिहाउनै सक्दैनन् । अहिलेको अवस्थामा पैसा अनुसारको शिक्षा भएको छ । ज्ञानकुञ्ज कलेजमा यस्ता विद्यार्थीहरुलाई स्थान दिने कुनै योजना छ ? शिक्षामा यस्तो विभेद कसरी हटाउन सकिन्छ ?

मुलुकमा पैसा अनुसारको शिक्षा दिने गरिन्छ भन्ने सवलमा म सहमत छैन । दुर्गम स्थानमा बसोबास गर्ने तीक्ष्ण बुद्धि भएका विद्यार्थी भाइबहिनीहरुलाई छात्रवृत्तिको व्यवस्था हाम्रो कलेजले गरेको छ । दुईखाले शिक्षा छ भन्ने मलाई लाग्दैन । बरु दुईवटा भाषामा अध्यापन गराउने गरिएको छ । नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराउने गरिएको छ । संस्थागत विद्यालयमा अंग्रेजी भाषाबाट र सामुदायिक विद्यालयबाट नेपाली भाषामा । शिक्षामा विभेद छ भन्ने सवालमा जहाँसम्मको छ त्यो पनि होइन । एउटै पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक निर्धारण गरेर सरकारको एउटै नियममा परीक्षा संचालन गरेर सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु दुवैलाई एउटै मर्यादामा राखिएपछि कसरी विभेद हुन्छ ? मात्र केबल सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अंग्रेजी र विज्ञान विषयमा कम अब्बल होलान् । संस्थागतमा बढी दख्खल भएका मान्न सकिन्छ । अन्यथा शिक्षामा विभेद छ भन्न मिल्दैन ।

  • संस्थागत विद्यालयका संचालकहरुले मनोमानी ढंगबाट शुल्क निर्धारण गरेर वर्षैपिच्छे शुल्क बृद्धि गरिन्छ । तर विद्यार्थीहरुको शैक्षिक सुधार र शिक्षकको तलबमा कुनै परिमार्जन गरिँदैन भन्ने गुनासो छ नि ?

बजारमा आएको हल्लामात्र हो । वास्तविकता त्यस्तो होइन । संस्थागत विद्यालयले भौतिक संरचना सेवा सुविधा अनुसार कम्पनी ऐन अनुसार संचालनमा छन् । त्यही अनुरुप मासिक शुल्क निर्धारण गर्ने हो । शिक्षा कार्यालयको नियमित अनुगमन आवश्यक छ । सरकारले निर्धारण गरेको मापदण्डअनुरुप संचालन भएका छैनन् भने कारवाही हुनुपर्छ । त्यो राज्यको दायित्व हो ।

  • विश्व बजारमा ए लेभलको शिक्षा माग भएको छ । तर नेपालमा प्रभावकारी रुपमा संचालनमा आउन सकेको छैन नि ?

नेपालको शिक्षा अपुग छ । राज्यले त्यस्तो नीति बनाउनुपर्छ, जसले मानव जीवनमा साँच्चै परिवर्तन, व्यवहारिक शिक्षा, मर्यादित बनाउने खालको शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाउन सक्नुपर्छ । हाल नेपालमा विश्वबजारमा बिक्ने शिक्षा दिन सक्ने वातावरण नहुनु राज्यले बढी जिम्मेवार छ । देशमा राजनीतिक अस्थिरता कुनै पनि क्षेत्रमा लगानीको ग्यारेन्टी नहुनुले शिक्षा क्षेत्रमात्र नभई कुनै पनि व्यक्ति लगानी गर्ने आँट गर्न सकेको छैन । राज्यले विश्वबजारमा बिक्ने शिक्षा प्रदान गर्न शिक्षा प्रणालीमा परिवर्तन, शैक्षिक संस्थामा बन्द हड्तालको प्रभाव नरहने, लगानीकर्ताको ग्यारेन्टी गर्ने, सीपमूलक प्राविधिक शिक्षा व्यवहारिक शिक्षा प्रदान गर्ने वातावरण मिलाउनु जरुरी छ । नत्र राम्रो शिक्षा ग्रहण गर्न विदेश पलायन हुने अवस्थाको श्रृजना हुन्छ ।

  •  अधिकांश संस्थागत विद्यालयमा वर्षमा ३, ४ पटकसम्म शिक्षक परिवर्तन गर्ने गरिन्छ । जसका कारण विद्यार्थीको पढाइमा नकारात्मक प्रभाव पारेको अभिभावकको गुनासो सुनिन्छ नि ?

निश्चय पनि तपाईंले गर्नुभएको प्रश्नमा म सहमत छु । संस्थागत विद्यालयमा अधिक रुपमा शिक्षकहरु परिवर्तन हुने गर्छन् । वास्वतमा यो परिपाटी राम्रो होइन । शिक्षकहरुलाई स्थायी गर्ने परम्परा नभएकोले यस्तो अवस्थाको सृजना भएको हो । विद्यार्थीको शुल्कबाट नै शिक्षकको तलब, घरभाडा, अन्य प्रशासनिक खर्च त्यहीबाट धान्नुपर्ने, शुल्कबृद्धि गर्दा अभिभावकलाई बढी मर्का पर्ने, शुल्क बृद्धि नगरे संस्थागत विद्यालय संचालन हुन कठिन हुने । राम्रो अवसर प्राप्त हुनासाथ शैक्षिक योग्यता बृद्धि भएपछि अन्यत्र शिक्षकहरु जानु स्वभाविक हो । संस्थागत विद्यालयहरुले शिक्षकहरुलाई खुसी पार्न सक्ने उचित तलबको व्यवस्था गर्नुपर्छ । यसो गरेको खण्डमा विद्यार्थीको अध्ययनमा नराकात्मक प्रभाव पर्दैन ।

  • कम्पनी ऐन अनुसार संस्थागत विद्यालय दर्ता भई संचालन भएपछि नेपाल सरकारले निर्धारण गरे अनुरुप तलब शिक्षकलाई दिनुपर्दैन त ? किन संस्थागत विद्यालयले शिक्षकलाई अन्याय गरेको ?

यसमा नेपाल सरकारले संस्थागत विद्यालयले शिक्षामा पु¥याएको योगदानको कदर गर्दै विद्यार्थीहरुलाई कस्तो शिक्षा दिन सकेको छ, मूल्यांकन गरेर त्यही अनुरुपको शुल्क निर्धारण गर्न लगाएर नीति नियमलाई परिमार्जित गरी अगाडी बढेको खण्डमा शिक्षकहरुलाई उचित तलब दिन सकिन्छ । शैक्षिक अवस्थालाई माथि उकास्न मद्दत पुग्छ ।

  • ज्ञानकुञ्ज कलेजका विशेषताहरु के के छन् ?

विद्यार्थी केन्द्रीत शिक्षा प्रदान, निकट भविष्यमै भर्जिनिया इन्टरनेशनल युनिभर्सिटी (अमेरिका)बाट बीबीए र एमबीएस कक्षा संचालन गरिने व्यवस्था । त्रिभुवन विश्वविद्यालयबाट एमबीएस कक्षा संचालन गरिनेछ । उचित खेलमैदानको व्यवस्था, होटल मेनेजमेन्ट, रुलर डेभलपमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरिजम लगायतका संकायमा दक्ष एवं अनुभवी प्राध्यापकहरुबाट अध्यापन गराइनु नै ज्ञानकुञ्ज विद्यालयको विशेषता हो ।

  • एसएलसी परीक्षा दिएर सफmलता हासिल गरेका विद्यार्थीहरुलाई कस्तो कलेज रोज्न आग्रह गर्नुहुन्छ ?

सफलता हासिल गर्नेलाई बधाई र असफल विद्यार्थीलाई निराश नबन्न र अझ प्रगति गर्न सुझाव दिन्छु । अर्को कुरा विद्यार्थीहरुले कलेज छान्दा शैक्षिक वातावरण राम्रो भएको, अरुको लहैलहैमा लागेर होइना आफूले मन पन परेको विषय छनौट, आफ्नो क्षमताले भ्याउने खालको विषयमा अध्ययन गर्ने । विगतमा भएका शैक्षिक उपलब्धी कस्तो रहेको छ, कलेजको राम्रो अनुगमन गरेर ब्रोसर र विज्ञापनमा आएका विषयहरु सान्दर्भिक छन् कि छैनन् सो बारेमा राम्रो हेरविचार गरेर परिणात्मक, मर्यादित र अनुशासित शिक्षण विधि भएका कलेज रोज्न सबै विद्यार्थीमा म आग्रह गर्न चाहन्छु ।

  •  शिक्षामा खट्किएका विषयहरु ?

शिक्षक, विद्यार्थी र अभिभावकमा समन्वयको अभाव । संस्थागत विद्यालयमा स्वच्छ प्रतिस्पर्धाको खाँचो, राज्यपक्ष र संस्थागत विद्यालयले निर्वाह गर्नुपर्ने जिम्मेवारीको बाँडफाँड, संस्थागत विद्यालयलाई कम्पनी ऐन अनुसार दर्ता गरिदिएर मात्र पुग्दैन । राज्यले सो अनुपातमा सुविधाको व्यवस्था गरिदिनु आवश्यक छ । जुन शैक्षिक गुणस्तर बृद्धि होस् । सबैले शिक्षा सर्वसुलभले प्राप्त गर्न सकुन् । आर्थिक सहयोग उपलब्ध गराएर होस् वा भौतिक पूर्वाधारको निर्माणका लागि सहयोग पु¥याएर देशको शैक्षिक स्तरलाई माथि लान कुनै कञ्जुस्याइँ गर्नुहुन्न ।

  • शिक्षा क्षेत्रमा कार्य गरेका कुनै अविस्मरणीय क्षण ?

२०४४ मा एसएलसी उत्तीर्ण गरेपछि शिक्षा क्षेत्रमा प्रवेश गरेदेखि शैक्षिक प्रशासक हुँदै कक्षा नर्सरीदेखि एमए सम्मका कक्षाका विद्यार्थीहरुलाई शिक्षा दिँदाका जीवनको धरातलमा विभिन्न अरोह अवरोह पार गर्दै देशकै नमूनाको रुपमा सहकारी विद्यालय संचालन गरी सुरुको वर्षमै एसएलसीमा शत प्रतिशत विद्यार्थीहरु उत्तीर्ण गर्न सफल गराउनु नै मेरो लागि शिक्षा क्षेत्रको अविस्मरणीय क्षण हो ।

  • अन्त्यमा शिक्षा सम्बन्धी कुनै सन्देश ?

एसएलसी परीक्षामा सफल हुनेलाई बधाई, अनुत्तीर्ण हुनेहरुलाई आफ्ना कमजोरीलाई सच्याई सफल हुन आग्रह गर्दछु । राम्रो शैक्षिक वातावरण भएको स्थानमा आफ्नो इच्छा लागेको विषय छनौट गरी शिक्षा ग्रहण गरौं । जसले भविष्यमा आफूले छनोट गरेको विषयमा लगनशील भई सोही अनुरुप लाग्न सकेमा लक्ष्य प्राप्त हुन्छ । साथै तपाईंहरुको संचार माध्यमले शिक्षा क्षेत्रमा भएका विभिन्न गतिविधिलाई उजागर गरी मुलुकको शिक्षालाई सुधार गर्न महत्वपूर्ण कडीको रुपमा सावित हुनेछ । संचार माध्यमले निर्वाह गर्नुपर्ने अहम भूमिका निरन्तर अटल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: