कागहरु किन उडिरहेछन् आकाशमा-कविता

प्रकाशित मिती : मङ्लबार, साउन ३१, २०७४ by   ·   Comments

 

जङ्गलको बीचबाट

एक हूल कागहरु

रुख–रुखबाट ओर्लिंदै आकाशतिर हुईंकिंदै

माथि–माथि ताकेर

कतातर्फ लाग्न खोजेका हुन्

उनीहरु काँ–काँ गर्दै भाग्दैछन्

शायद;

बाघ, भालुको ताण्डव देख्यो कि

सिंहहरुको मुहारसँग तस्र्यो कि

पक्कै केही भएको हुनुपर्छ नत्र कागहरु भाग्दैनन् त्यस्तरी ।

००

                        धूर्त कागहरु कसैको मुलाहिज गर्दैनन्

                        उनीहरु समयसँग बढ्न सिपालु छन्

                        कसैको थुतेर खान र लुटेर भाग्न

                        सिपालु भएकै कारणले

                        सोझा, निमुखा पन्छीहरु डराउँछन् कागसँग

                        जङ्गलमा पनि बाँच्न जान्छन् उनीहरु

                        समूहमा उड्न जानेकै कारणले

                        कोही–कसैको मुलाहिजामा पनि पर्दैनन्

                        उनीहरु सिपालु छन् जे काममा पनि ।

००

बिजुलीको पोलमाथि पनि गुँड बनाएर

आफ्ना बाल–बच्चाहरुलाई सुरक्षित राख्छन्

सहँदैनन् उनीहरु

गुँड भत्काउनेहरु छानी–छानी ताक्छन्

थुङ्न खोज्छन् कपाल ताकेर

बेइमान कागहरु बाँच्न जान्छन् र त उनीहरु

जस्तोसुकै अप्ठ्यारोमा पनि बाँच्न खोज्छन्

००

                        म हेरिरहेछु कागहरु

                        आकाशतिर कावा खांदैछन्

                        किन–किन आज

                        मैले देखेका कागहरु

                        हतास–हतास छन्

                        किन चिच्याएर भाग्दैछन्

                        माथि–माथि भएर

                        पक्कै केही भएको हुनुपर्छ

                        नत्र किन कागहरु

                        हावासँग–सँगै

                        माथि–माथि भएर अचाक्ली हल्ला गरेर किन उडिरहेछन् आकाशमा ?

००

आज किन आकाश ताकेर

उडिरहेछन् कागहरु

मैले नबुझेर

सोधिरहेछु यो प्रश्न

हावासँग

किन–किन

हावा पनि

ठुस्किएर माथिमाथि

कागहरु सँगसँगै भएर

उडिरहेछन् हावाहरु

म हेरिरहेछु कागहरु

कागहरु हावासँग

जिस्किएर माथि–माथि

उडिरहेछन् अनौठो ढङ्गले

माथि–माथि

उडिरहेछन् कागहरु  ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: