कमिशन खाने वातावरण सिर्जना गरेका छैनौं – धु्रवप्रसाद शर्मा,

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

– धु्रवप्रसाद शर्मा, प्रिन्सिपल,काभ्रे इड्डलिस उच्च मा.वि., पनौती

पनौती–८, खरीबोटमा माता पवित्राकुमारी बञ्जारा र पिता दुर्गाप्रसाद बञ्जारा (शर्मा) को छोरा धु्रवप्रसाद शर्माको जन्म २०११ जेठ १५ गते भएको हो ।  २०२९ देखि शिक्षण पेसामा लाग्नुभएका शर्मा पार्वती मावि ढुंखर्क र भालेश्वर उमावि पनौतीमा प्रअको रुपमा कार्य गरिसक्नुभएको छ । हाल काभ्रे इ उच्च मावि पनौतीको प्रिन्सिपलको जिम्मेवारी सम्हाली शिक्षाक्षेत्रमा क्रियाशील हुनुहुन्छ । रेडियो एबीसी ८९.८ मेगाहर्जमा हरेक शनिबार साँझ ७ देखि ७ः३० बजेसम्म प्रसारण हुने शिक्षा सरोकार कार्यक्रममा हालै प्रकाशित एसएलसी नतिजा र अन्य सामसामयिक विषयमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

० एसएलसी परीक्षामा सहभागी मध्ये ४७.१६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षाको नतिजाले देशको शैक्षिक अवस्थाबारे कस्तो इंगित गरेको छ ? काभ्रे इ उमाविको परिणाम कस्तो रह्यो ?

०६८ सालको एसएलसीको नतिजाले गम्भीर प्रश्न उठाएको छ । समग्र शैक्षिक क्षेत्रलाई नै नकारात्मक असर पारेको छ । जसका कारण शैक्षिक प्रणाली नै असफल भएको इंगित गर्छ । हाम्रो विद्यालयको सन्दर्भमा यस वर्ष ५७ जनाले एसएलसी दिएकोमा १८ जना विशिष्ट श्रेणी, ३८ जना प्रथम र १ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् । हाम्रा विद्यार्थी प्रतीक थापाले ९२.८८ प्रतिशत ल्याई जिल्ला प्रथम भएका छन् । ०६१ सालको एसएसलीमा बोर्ड प्रथम ल्याएको पनि स्मरण गराउन चाहन्छु ।

० विगत ४० वर्षदेखि शिक्षा क्षेत्रमा क्रियाशील हुनुहुन्छ ? देश सुहाउँदो शिक्षा प्रणाली कस्तो हुनुपर्छ जसले मानव जीवनमा परिवर्तन ल्याई देश विकासको संवाहक बनोस् ?   

हाम्रो देशको शिक्षा प्रणाली अव्यवहारिक छ । सिद्धान्तमा आधारित छ । आत्मनिर्भर, रोजगारमूलक देश सुहाउँदो दक्ष जनशक्ति, स्वावलम्बी बन्ने शिक्षा आवश्यक छ । मुलुकमा प्राविधिक जनशक्तिको अपरिहार्यता रहेको छ । ७५ जिल्लामा प्राविधिक शिक्षाका विद्यालय संचालन हुनुपर्छ । जसबाट दक्ष प्राविधिकको उत्पादन भई मुलुकको सर्वाङ्गीण विकासमा टेवा पुग्छ । समष्टिगत रुपमा भन्नुपर्दा प्राविधिक शिक्षा ग्रहण गर्न विदेश पलायन हुनुपर्दैन । जनशक्ति रोजगारीका लागि विदेश दगुर्नु पर्दैन । शिक्षक भनेका बोली बिकाउने, विद्यार्थी बोली किन्ने माध्यमका रुपमा रहेको हुन्छ । देशको शिक्षा प्रणाली शिक्षा नीति अनुसार शिक्षालाई प्रभावकारी रुपमा अध्यापन गराउने संवाहक हुन् शिक्षकहरु । मानव जीवनलाई परिवर्तन ल्याउने शिक्षा व्यवहारिक र प्राविधिक शिक्षा नै हो ।

० संस्थागत विद्यालयले हरेक वर्ष अत्यधिक शुल्क बृद्धि गरेर विद्यार्थी पढाउनै नसकिने भएको छ । विद्यार्थीहरुलाई शैक्षिक सुधार हुने कुनै सेवा सुविधा दिने गरिएको छैन भन्ने अभिभावकको गुनासो छ नि ?

संस्थागत विद्यालयमा नियमित रुपमा शुल्क तिर्नु परेकोले हो । सामुदायिक विद्यालयमा निशुल्क अध्ययन गर्न पाउने भएको हुँदा अभिभावकहरुलाई त्यस्तो लागेको हो । वास्तवमा सामुदायिक विद्यालयमा राज्यले गरेको लगानी अनुपातमा हेर्ने हो भने पनि संस्थागत विद्यालयले गुणस्तरीय शिक्षा दिन सकेको छ । पढाईको स्तरीयता छ । परीक्षाको नतिजालाई पनि सरकारी भन्दा तेब्बर भन्दा माथि संस्थागत विद्यालयको नतिजा रहेको छ । संस्थागत विद्यालयले राज्यलाई शिक्षाको क्षेत्रमा ठूलो सहयोग पु¥याएको छ ।

० संस्थागत विद्यालयले दिएको शिक्षा चाहिँ गुणस्तरीय हो भने सामुदायिक विद्यालयले दिएको शिक्षालाई के भन्ने ? शिक्षाको गुणस्तरीयतालाई कसरी मापन गर्न सकिन्छ ?

गुणस्तरीय शिक्षाको मापन गर्ने निश्चित मापदण्ड नै छैन । त्यसो भए तापनि एक आधार भनेको हरेक वर्ष प्रकाशित हुने परीक्षाफलबाट नै हो । जुन विद्यालयले उत्कृष्ट अंक ल्याई सफल गराउन सक्छ सोही अनुपातमा गुणस्तरीयता कायम भयो भनेर हामीले बुझ्नुपर्छ । सीपमूलक शिक्षा, आत्मनिर्भर शिक्षाबाट मानव जीवनमा स्वभावैले परिवर्तन भएको खण्डमा हरेक मानवले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्यो भन्ने हुन्छ । जहाँसम्म सामुदायिक विद्यालयको कुरा छ सबै विद्यालयको गुणस्तरीयता परीक्षण गर्ने भनेको परीक्षाले नै हो । परीक्षाबाट आएको नतिजाबाट नै सबैको मूल्यांकन हुन्छ । गुणस्तरीयता कायम रहेको छ भन्ने बुझ्नुपर्छ ।

० संस्थागत विद्यालयमा पाठ्यपुस्तक शैक्षिक सामग्रीदेखि विद्यार्थीहरुको पोशाक व्यापारीकै रुपमा विक्री वितरण गरिएको छ । विद्यालय पोशाक अभिभावकले सजिलै बजारमा पाउन नसकिने राखेर कमिशन खाने वातावरण श्रृजना गरिएको छ भनिन्छ नि ?

बजारमा बाहिर आएको हल्लामा कुनै सत्यता छैन । पाठ्यसामग्री खरीद गर्ने सम्बन्धमा अभिभावकको इच्छा अनुसार जुनसुकै किताब पसलमा खरीद गर्न सक्नुहुन्छ । अन्य संस्थागत विद्यालयमा के गरिएको छ त्यसको विषयमा जानकारी छैन । विद्यार्थी पोशाकको सम्ब्न्धमा हाम्रो विद्यालय पोशाक नजिकको तीन चारवटा कपडा पसलमा ल्याउन अनुरोध गरेका छौं । अभिभावकले आफ्नो इच्छा अनुसार जुन सस्तो र मुलायम छ त्यसमा नै खरीद गर्न सक्छन् । हामीले कुनै कमिशन खाने वातावरण श्रृजना गरेका छैनौं । हाम्रो उद्देश्य भनेको सबै विद्यार्थीहरुको पोशाकमा एकरुपता ल्याउन राम्रो होस् भनेर नमूना दिएर पसलेहरुलाई ल्याउन अनुरोध गरेका छौं ।

० सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नुको कारण के हुनसक्ला ?

सामुदायिक विद्यालयमा समयमा पाठ्यपुस्तक उपलब्ध नहुने, पढाईको स्तरीयताको कमी, शिक्षकहरु राजनीतिक दलका भातृ संगठनमा आवद्ध रहेर बालबालिकाको पढाईमा कम ध्यान दिने, नियमित रुपमा विद्यालयमा उपस्थित नहुने, विद्यालय प्रशासनको नरमपना भएको देखिन्छ । संस्थागत विद्यालयमा विद्यार्थीहरुलाई अंग्रेजी, विज्ञान, गणितमा अब्बल बनाउन अग्रेणी भूमिका हुन्छ । विद्यार्थीलाई कडा अनुशासन कायम राख्ने मिहेनती बनाउन हरतरहले शिक्षकहरु लागिपर्ने परीक्षामा राम्रो नतिजा ल्याउने भएकोले संस्थागत विद्यालयप्रति सबै विद्यार्थीहरु आकर्षित भएका हुन् ।

० संस्थागत विद्यालयमा देखिएका चुनौतीहरु ?

संस्थागत विद्यालयमा धेरै किसिमका चुनौतीहरु छन् । एक त अस्वस्थ प्रतिस्पर्धा गरी संस्थागत विद्यालयहरु नै विभिन्न सेवा दिने बहानामा विद्यार्थीहरु प्रवेश गराउने, बन्द हड्ताल, लोडसेडिङले नकारात्मक असर पारेको छ । सामुदायिक विद्यालयमा पठन पाठनमा केही सुधार आउन थालेको छ । उदाहरणका लागि केही सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउन थालिएको छ । संस्थागत विद्यालयमा विद्यार्थीहरु घट्ने क्रम निरन्तर अघि बढेको छ । अभिभावकहरुको देशको राजनीतिक आर्थिक अवस्था कमजोर भइरहेको छ । कारण देशमा राजनीतिक अस्थिरता कायम रहिरहनुले अन्यौलता कायमै छ । शिक्षकहरुलाई उचित पारिश्रमिक दिन कठिन परेको छ । यस्ता किसिमका चुनौतीको सामना संस्थागत विद्यालयले गर्नुपरेको छ ।

० यसपालीको प्रवेशिका परीक्षामा आधा भन्दा बढी विद्यार्थी असफल भएपछि शिक्षाविद्, शिक्षा मन्त्रालयका सचिव समेतले शिक्षा प्रणालीलाई नै परिवर्तन गर्नुपर्छ भन्ने प्रतिक्रिया दिएका छन् । तपाईंलाई के लाग्छ ? शिक्षा प्रणाली नै दोषी हो ?

केही हदसम्म शिक्षा प्रणाली नै दोषी छ । शिक्षाको स्तर माथि उकास्न ग्रामीण भेगका शिक्षकहरुलाई दिइने तालिम ग्रामीण संचालकहरु अधिकांश विद्यालयको समय अनुकुलको वातावरण मिल्ने तालिम उपलब्ध गर्नुप¥यो । विदेशीको इशारामा तालिम सरकारले उपलब्ध गराएर भएन । देश सुहाउँदो शिक्षा प्रणाली अनुरुप तालिमको व्यवस्था हुनुपर्छ । सरकारी विद्यालयहरुमा डेक्स, बेन्च, व्यवहारिक ज्ञान दिन उचित ल्याबको अभाव छ । भौतिक पूर्वाधारको कमी, विद्यालयमा उचित छानाको अभावले ग्रस्त भएको, शिक्षक दरबन्दी मिलान नहुनु, विदेशबाट आयातीत शिक्षा लागू गरिएको हुँदा नतिजा खस्केको हो ।

० संस्थागत विद्यालयले शैक्षिक व्यवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ भन्नेको जमात पनि ठूलो छ । शिक्षा क्षेत्रमा व्यापारिकरण गरेको भन्ने जमात पनि अधिक छ । यसमा तपाईंको धारणा के छ ?

वास्तवमा नेपालमा संस्थागत विद्यालय संचालन भएर स्तरीय र गुणस्तरीय शिक्षा बालबालिकाले प्राप्त गर्न सकेका छन् । शिक्षादीक्षा लिन विदेश जान रोकिएको छ । आर्थिक रकम विदेश पुग्नबाट रोकिएको छ । केही दक्ष जनशक्तिले रोजगार प्राप्त गर्न सकेका छन् । नेपालीहरुको आर्थिक सम्पन्नता हेर्ने हो भने मासिक चर्को शुल्क विद्यार्थीलाई मर्का परेको छ भन्ने मलाई शतप्रतिशत विश्वास छैन । देशभित्रै शैक्षिक लगानी भएको छ । संस्थागत विद्यालयले शैक्षिक क्षेत्रमा लगानी सह्रानीय कार्य गरेको म ठान्दछु । केही संस्थागत विद्यालयमा शिक्षामा व्यापारिकरण भएका छन् भने सुधारिनुपर्छ ।

० संस्थागत विद्यालयले सुधार गर्नुपर्ने पक्षहरु ?

उचित शिक्षक तालिमको व्यवस्था, शिक्षकहरुको लागि उचित पारिश्रमिकको व्यवस्था, बालबालिकालाई उचित पाठ्यसामग्री उपलब्ध, विद्यार्थीहरुको मनोविज्ञान बुझेर सोही अनुरुप शिक्षा प्रदान गर्नु स्वस्थ प्रतिस्पर्धा गर्नु संस्थागत विद्यालयको आवश्यकता हो ।

० हुनेखाने उच्च वर्गका व्यक्तिहरुले पढाउने थलो संस्थागत विद्यालय बनेको छ । सामुदायिक विद्यालयमा पढ्ने जति विपन्न दलित छन् । शिक्षामा यो विभेद हटाउन कसरी सकिन्छ ?

वास्तवमा देशमा दुई किसिमको जनशक्ति उत्पादन भएका छन् । उच्च घरानीया मात्र संस्थागत विद्यालयमा अध्ययन गरेका छन् भन्ने होइन । ग्रामीण भेगका मजदुर ज्याला गर्नेले दुःख गरेर आफ्ना बालबालिका पढाएका छन् । उनीहरुले तिर्न सक्ने शुल्क निर्धारण गरिएको छ । जहाँसम्म शिक्षामा विभेद छ, यसलाई हटाउन नेपाल सरकारले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन शिक्षामा विभेद हटाउन संस्थागत विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न गराउने सामुदायिक विद्यालय र संस्थागत दुवैमा शिक्षकहरुलाई उचित तालिमको व्यवस्था, आर्थिक सहयोग उपलब्ध गराउन सकेमा दुवै किसिमका विद्यालयमा समान ढंगको व्यवहार गरेमा शिक्षामा विभेद आउन सक्दैन ।

० संस्थागत विद्यालयमा शिक्षकलाई काममा बढी खटाइन्छ तर उचित पारिश्रमिक दिइँदैन भन्ने शिक्षकहरुको गुनासो छ नि ?

हाम्रो विद्यालय शैक्षिक गुठीद्वारा संचालित विशुद्ध सामाजिक संस्थाको रुपमा सर्वसुलभबाट विद्यार्थीहरुलाई उचित स्तरीय शिक्षा प्रदान गर्न सधैं तत्पर रहेको छ । हामीले शिक्षकहरुलाई उचित पारिश्रमिक दिएका छौं । भर्ना र मासिक शुल्कबाट उठेको ६०% रकम तलब र अन्य विद्यार्थीको शैक्षिक सुधारमा खर्च गर्ने गरेका छौं ।

० विद्यालय भवन निर्माण गर्न सक्नुभएको छैन नि ?

शैक्षिक गुठीद्वारा प्रबद्र्धित यस विद्यालयले शिक्षालाई नै कर्म थलोको रुपमा लिई सर्वसुलभ ढंगबाट विद्यार्थीलाई अध्यापन गराउने मुख्य लक्ष्य भएकोले विपन्न वर्गका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था, विद्यार्थी कल्याणकारी कोषको व्यवस्था गरेर शिक्षामा ठूलो लगानी गरेकाले भवन निर्माण गर्न सकेका छैनौं । विद्यालयको लागि जग्गाको खोजी गर्न लागेका छौं ।

० शिक्षा क्षेत्रमा लागेको अविस्मरणीय क्षण ?

काभ्रे इंगदिस उच्च मावि पनौतीले ०६१ सालको प्रवेशिका परीक्षामा बोर्डफस्ट, जिल्ला प्रथम, बोर्ड तृतीय, हरेक वर्ष चर्चा परिचर्चामा आउने गरेका छौं । तर पनि हाम्रो विद्यालयका संचालक, शिक्षक र विद्यार्थीहरुकै मेहनतले हामीले विद्यार्थीहरुलाई स्तरीय शिक्षा दिन सकेका छौं । हाम्रो मेहनतको कमाई लागे पनि बोर्ड प्रथम हुँदा हामी अत्यन्तै हर्षित र गौरवान्ति भयौंँ । त्यसबेला नसोचेको परिणाम आए जस्तो लाग्यो । त्यसबेला हाम्रा विद्यार्थी मेहनती थिए तर त्यस्तै परिणाम आउँछ भन्ने लागेको थियो ।

० अन्त्यमा शिक्षा सम्बन्धी सन्देश ?

शिक्षा मानव जीवनलाई चरित्रवान् क्षमतावान् व्यक्तित्व निर्माण गर्ने साधन भएकोले शिक्षा सबैका लागि अपरिहार्य छ । शिक्षा देश विकासको मूल आधार भएको हुँदा शिक्षा देश सुहाउँदो दक्ष जनशक्ति उत्पादन हुने प्राविधिक शिक्षा दिने हुनुपर्छ । तपाईंहरुको संचार माध्यमले शिक्षा सम्बन्धी कार्यक्रम प्रस्तुत गरेर शिक्षा सम्बन्धी क्रियाकलाप प्रस्तुत गरेर आम नागरिकलाई सूसुचित गर्ने भई शिक्षा प्रणालीमा सुधार ल्याउन मद्दत पुग्नेमा म विश्वस्त छु ।

 

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: