एसएलसी, सपना र समवेदना

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

-दियेशरत्न शाक्य

एसएलसीको परिणाम पश्चात यतिखेर पत्रपत्रिकाहरुमा शुभकामनाको बाढी आउने क्रम जारी रहेको छ । हो, यही मौका छोपेर शुभकामनाको नाममा निजी विद्यालयहरु मज्जाले स्कुलको विज्ञापन गरिरहेछन् । यसपाली पनि पत्रपत्रिकाको एउटा कुना दुःखद समाचार सम्प्रेषण गरिरहेछ – एसएलसी फेल भएका १० जना किशोर÷किशोरीको आत्महत्याको । एउटा परीक्षाको कारण यति धेरै होनहार युवाहरुको अवसान हुनु आफैमा एउटा राष्ट्रिय शोक हो । परिवर्तनका संवाहक यी कर्णधारहरुको विसर्जन आफैमा एउटा राष्ट्रिय विपत्ति हो, जसले हाम्रो देशको शिक्षा प्रणालीमाथि औंलो ठड्याइरहेको छ ।

घट्दो सफलता, बढ्दो आत्महत्या

उच्च शिक्षा प्रवेशको यो फलामेद्वार जति सपना बनेको छ उत्ति नै समवेदना पनि बन्दै गएको दृष्टान्त पछिल्ला वर्षहरुमा देख्न पाइन्छ । यो वर्ष यसका प्रमाण बने – काठमाडौंकी रुविना केसी र निरुता कार्की, विराटनगरकी मधु देवान, नेपालगञ्जकी प्रतीक्षा शर्मा, पाल्पाकी सरिता राना, धादिङकी रेश्मा कँडेल । यही लाइनमा उभिए जनकपुरकी सेखाकुमारी सिंह, कञ्चनपुरकी आशा रैकाल, बाँके शमसेरगञ्जका नेत्रबहादुर थापा र सिन्धुपाल्चोक पांग्रेटारकी सुशीला तिमल्सिना । एसएलसी पास भएर स्कुल, परिवार र समाजबाट बधाईको पात्र बन्ने यिनीहरुको सपना यतिखेर आत्महत्याद्वारा सिर्जित समवेदनामा रुपान्ततरित भएको छ ।

विगत केही वर्षदेखिको परीक्षाफललाई नियाल्दा सफलताको खुसीमा रमाउनेहरुभन्दा असफलताको निराशामा डुब्नेहरुको अंकगणित क्रमशः बढ्दै गइरहेको छ । यसले निश्चय पनि हामी कुन शैक्षिक धरातलमा छौं भन्ने प्रश्न जबर्जस्त रुपमा उठाएको छ । साथै यसले एउटा विज्ञ अनुसन्धान टोलीबाट कार्यथालनी गरी आगामी परीक्षा प्रणालीका लागि समयमै सोच्न बाध्य गराएको पनि छ ।

जहाँसम्म यो वर्ष आफ्नो इहलीला समाप्त गर्ने १० असफल विद्यार्थीमध्ये ९ जना किशोरी हुनुले हाम्रो सामाजिक पाटो उदाङ्गो पारेको छ । नेपाली समाजलाई नजिकबाट नियाल्नेहरु यसलाई ग्रामीण समाजमा अझ पनि व्याप्त कलिलो (किशोर) वैंसमा नै बिहे गर्ने प्रचलन भनी एसएलसीको प्रमाणपत्रलाई विवाह योग्यताको आधारको रुपमा लिने प्रचलनलाई दोषी ठान्छन् । यसको कारणबाट हुने पारिवारिक तनावको परिणाम नै आत्महत्या जस्तो दुर्घटना निम्त्याउने उनीहरुको ठहर छ । अर्कोतिर एउटा किशोर स्वतन्त्र रुपमा पढाइमा मात्र घोत्लिन पाउँछ भने किशोरीले घरधन्दालाई पनि उत्तिकै समय दिनुपर्दा पढाइमा कमजोर बन्छे । तुलनात्मक रुपमा पुरुष परीक्षार्थीभन्दा महिला परीक्षार्थी बढी फेल हुनुमा सामाजिक संरचनाको प्रभाव पनि प्रमुख कारकको रुपमा रहेको छ । हाम्रो समाजमा अझै पनि छोरालाई महँगो बोर्डिङमा पढाउने र छोरीलाई सस्तो सामुदायिक स्कुलमा पढाउने अभिभावकहरुको कमी छैन । आफ्नो करिअर अनि कामको अवसरको हिसाबले पनि किशोरीहरु पढाईलाई नै सर्वस्व मान्न बाध्य छन् । यसैले यसमा हुने ठूलो वा सानो जस्तोसुकै असफलताले उनीहरुमा विचलन पैदा गर्दछ र दुर्घटनातर्फ धकेलिन्छ । अर्कोतिर किशोरहरुको लागि पढाइमा असफलताको बाबजुद पनि व्यवसाय वा वैदेशिक रोजगारको विकल्प सदा खुला रहन्छ ।

के परीक्षार्थीहरुलाई काउन्सिलिङ आवश्यक छ ?

१५÷१६ वर्षको कलिलो उमेर जीवन सम्बन्धी सही निर्णय लिन सक्ने उमेर कदापि होइन । यसैले यी विद्यार्थीहरुलाई स्कुलमा शिक्षकको र घरमा अभिभावकको निरन्तर परामर्शको आवश्यक हुन्छ । यस्तो हुन सकेमा जीवन र परीक्षामा कुन महत्वपूर्ण हुन्छ भन्ने वास्तविक सूत्र बुझ्न कति पनि गाह्रो हुँदैन । यो सुन्दर जीवनलाई माया गर्दै सफलताको सिँढी चढ्न यी विद्यार्थीहरुलाई एसएलसी परीक्षा पूर्व (सेन्ट अप वा टेष्ट परीक्षापछि) मोटिभेशन वा काउन्सिलिङ (परामर्श) आवश्यक भन्ने देखाएको छ । जसले भावी चुनौतीहरुलाई व्यवहारिक रुपले समाधान गर्न सकोस् । र आफ्नो आवेगलाई नियन्त्रण राख्दै जीवनका अप्ठ्यारा र निराशाहरुलाई चिर्दै आफ्नो लक्ष्य पहिचानमा सघाउ पु¥याओस् ।

म यतिखेर आजाद मावि बनेपाका मेरा श्रद्धेय गुरु स्व. केदारनाथ मास्केलाई सम्झिरहेछु । २०३७ सालमा उहाँले दिनुभएको मार्गनिर्देशन अहिले पनि उत्तिकै सान्दर्भिक जस्तो लाग्छ । हाम्रा स्कुले दिनहरुमा उहाँ निकै कडा शिक्षकको रुपमा प्रस्तुत हुनु भयो । तर जसै स्कुलबाट विदा हुने समय आयो उहाँले बडो मिजासिलो पारामा आफ्नो पेशागत जीवनको यथार्थता खुलाउँदै सही पेसाको छनोट र त्यसको लागि उच्च शिक्षाको लागि पूरापूर मिहेनतको लागि हामीलाई उक्साउनुभएको थियो । उहाँले औपचारिक शिक्षाको परीक्षा बाहेक जीवन भोगाइका परीक्षाबारे सबैको मन पग्लने गरी आफ्नो अनुभव सुनाउनुभयो ।

जब मैले क्रमशः पेशागत जीवन, पारिवारिक जीवन र सामाजिक जीवनको दायित्व सुरु गरेँ, मलाई मेरो गुरुदीक्षाको प्रयोग गरिरहेँ जस्तो लाग्यो । अगाडि आउने प्रत्येक परीक्षाहरु कम्ती महत्वपूर्ण हुँदैनन् जसले अगाडिका गल्ती सुधार गर्न सक्छ ऊ नै वास्तविक जीवनमा अगाडि बढ्दछ । स्कुले जीवनमा पढाइमा जसजसलाई मैले पछाडि पारेको थिएँ आज उनै साथीहरु व्यवसायिक र सामाजिक जीवनमा म भन्दा निकै अगाडि रहेका छन्, अब्बल ठहरिएका छन् । यसैले स्कुले जीवनमा हात पार्ने आकस्मिक असफलतालाई बौद्धिक असफलतासँग दाँजिन मिल्दैन । यसलाई अध्ययनको प्रक्रियागत त्रुटीको रुपमा लिनुपर्छ, जुन आफ्नो इच्छाशक्तिले जुनसुुुकै बेला सुधार गर्न सकिन्छ ।

शिक्षित कसलाई मान्ने ?

म एकपल्ट युवा स्वरोजगार सम्बन्धी कार्यक्रमको सिलसिलामा बनेपाको सामुदायिक उत्थान मञ्च नामक संस्थामा जाँदा भित्तामा एउटा वाणी सजाएको पाएँ –‘हिजोको स्नातक यदि आज केही पनि सिक्ने प्रयास गर्दैन भने भोलि अशिक्षित बन्छ ।’ यो वाणीले प्रष्ट पार्छ कि शिक्षित बन्नुको सिधा सम्बन्ध समय सापेक्ष सिकाईसँग रहन्छ । यस्तोमा कुनै स्कुल वा कलेजको डिग्रीले सबै भरथेग गर्छ भन्ने रहन्न । यदि यस्तो हो भने स्कुल, कलेजमा प्राप्त एकाध असफलतामा हतास हुनुपर्ने, अगाडिको भविष्य अन्धकार देख्नुपर्ने कुनै कारण रहन्न । मात्र आफ्नो तर्फबाट निरन्तर प्रयास जारी रहनुपर्छ, कुनै न कुनै सफलता अवश्यमेव पछि लागेर आउँछ । जहाँसम्म हाम्रो देशमा एसएलसी लगायत परीक्षाको सवाल छ ती धेरै नै सैद्धान्तिक छ र यस्तोमा यो वर्षभरि सिकेको ज्ञानको केही घण्टामा गरिने मेमोरी टेष्ट जस्तो मात्र भएको छ । स्मरण शक्ति जन्मजात रुपमा सबैमा समान नहुन सक्छ । यसैले सिकाइको मूल्याङ्कनको मापदण्डलाई समय सापेक्ष अझै बढी परिस्कृत गर्नु नितान्त आवश्यक देखिएको छ ।

वास्तवमा सबै व्यक्तिमा फरक अनन्त सम्भावना हुन्छ, प्रतिभा हुन्छ । केबल त्यसको प्रस्फुटनको लागि उपयुक्त परिवेश चाहिने हुन्छ । यसैले औपचारिक पाठ्यक्रम भन्दा बाहिर कसैले कलाकारितामा, कसैले खेलकुदमा, कसैले उद्यमशीलतामा, कसैले अनुसन्धान, आविष्कारको क्षेत्रमा आफ्नो अब्बल प्रतिभा देखाइरहेको हुन्छ, समाजबाट मानसम्मान पाइरहेको हुन्छ । उदाहरणको रुपमा महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइन, आइफोनका जन्मदाता स्टीभ जब्स, रिलायन्स गु्रपका संस्थापक धीरुभाई अब्बानी आदिलाई लिन सकिन्छ जसले स्कुले जीवनमा केबल औसत विद्यार्थी रहेर पनि सफलताको उच्चतम सिँढी चढेर देखाएका छन् ।

स्कुलको खर्च ः विज्ञापनमा कि गुणस्तरमा

विगतदेखिको आधार मानेर मूल्यांकन गर्ने हो भने हाम्रो शिक्षा प्रणाली केवल परीक्षामुखी बन्दै गएको पाइन्छ । हाम्रा पाठशालाहरु राम्रो विद्यार्थी तयार गर्नेभन्दा पनि राम्रो अंकको विद्यार्थी तयार गर्ने यन्त्रशाला जस्तो बन्न पुगेको छ । केबल राम्रो अंक प्राप्तिको लागि स्कुल, अभिभावक सबैतिर गरिने दवावले कलिला बाल मनमस्तिष्कमा के कस्तो दीर्घकालीन असर पर्दछ भन्ने सोच्न आवश्यक छ । मुख्य रुपमा एसएलसी जस्तो राष्ट्रव्यापी रुपमा गरिने परीक्षालाई मर्यादित बनाउन यसलाई विज्ञापनको आधार बनाउनबाट रोकिनुपर्दछ । प्रत्येक स्कुल, कलेजले आफ्नो राम्रो अंक, विद्यार्थी देखाएर महँगो विज्ञापन दिनुभन्दा त्यो रकम स्कुल, कलेजको गुणस्तरमा खर्चिने वातावरण तयार गरिनुपर्दछ । हामी सबैले खोज्ने शिक्षा भनेको उच्च गुणस्तरको शिक्षा हो जहाँ विद्यार्थीहरुको सबैखाले प्रतिभा र सिर्जनशीलता खुला रुपमा प्रस्फुटन हुन सकोस् न कि केबल उच्च अंक प्राप्तिको लागि दौडिने यान्त्रिक विद्यार्थी उत्पादन गर्ने शिक्षा । वास्तवमा अहिले हाम्रो समाजमा डेरा जमाएर बसेको यस प्रकारको दवावको जुन परम्परा छ त्यसलाई मात्र न्यूनीकरण गर्न सकेमा पनि एसएलसीसँग सम्बन्धित अप्रिय दुर्घटनाहरु कम हुनेछन् ।

केही सुझावहरु ः

एसएलसीको खस्कँदो परीक्षाफललाई लिएर केहीले यसको पाठ्यक्रम र प्रश्नपत्र सरलीकरण गर्नुपर्ने, परीक्षाको कडाइ कम गर्नुपर्ने सुझाव दिएका छन् ।  वास्तवमा गुणस्तरमा यस्तो सम्झौता गर्नु भनेको स्वयम् विद्यार्थीहरुको भविष्यलाई झन् अन्धकारतिर धकेल्नु हो । हाम्रो शिक्षा क्षेत्रीय र विश्वव्यापी रुपमा विकाउ हुनुपर्छ भन्नेमा कसैको दुईमत रहन्न । यस्तो केही तत्कालीन र दीर्घकालीन उपायहरु पहिल्याई परीक्षाफल सुधारको थालनी गर्नु बुद्धिमानी हुनेछ । यसको लागि निम्न सुझावहरु पनि मननीय हुन्छ जस्तो मलाई लागेको छ ः

१.       एसएलसीको रुटिन लगातार (दैनिक) नगरी एकदिन बिराएर गर्ने ताकि कमजोर विद्यार्थीले राम्रो तयारीको समय पाओस् । यो सम्भव नभएमा अंग्रेजी, विज्ञान, गणित, सामाजिक जस्ता विषयमा भए पनि एकदिन खाली राख्ने ।

२.       माध्यमिक स्कुलको स्वीकृतिको लागि चाहिने मापदण्ड अझ कडा बनाउने ।

३.       सामुदायिक र लगातार खराब परीक्षाफल बनाएका निजी विद्यालयहरुलाई नजिकको राम्रो विद्यालयसँग मर्ज प्रोत्साहित गर्ने नीति बनाउने ।

४.       विद्यालयको व्यवस्थापन सुधारको लागि निजी सार्वजनिक सहकार्यको अवधारणा अगाडि सार्ने ।

५.       निजी विद्यालयहरुलाई वर्गीकरण गरी सो अनुसार कोटा तोकी दुर्गम र विपन्न वर्गका विद्यार्थीहरुलाई सम्पूर्ण निशुल्क छात्रवृत्ति उपलब्ध गराउने ।

६.       सम्पन्न निजी विद्यालयहरुलाई ग्रामीण भेगका निजी वा सामुदायिक विद्यालयसँग भगिनी सम्बन्ध विकासको लागि प्रोत्साहन गर्ने र त्यस्ता स्कुलका शिक्षकहरुलाई अन द जब टे«निङ उपलब्ध गराउने ।

७.       विपन्न वर्गका कमजोर विद्यार्थीलाई लक्षित गरी एसएलसी निशुल्क कोचिङ क्लास संचालन गर्न स्वयंसेवी संस्थाहरुलाई अभिप्रेरित गर्ने। काभ्रे र आसपासका क्षेत्रमा थर्ड आई नेपाल नामक गैह्र सरकारी संस्थाले यस्तो प्रबन्ध मिलाउँदै आएको छ । यस्ता संस्थाहरुलाई हृदयदेखि सम्मान गर्दै अरुबाट अनुकरणको लागि आग्रह गर्दछु ।

८.       आफूलाई पायक पर्ने सफल सामुदायिक विद्यालयहरुको अध्ययन भ्रमणको प्रबन्ध गर्ने ।

९.       एसएलसी असफल हुनेहरुलाई लक्षित गरी प्रत्येक जिल्लामा त्यहाँको उद्योग वाणिज्य संघमा इलम प्रशिक्षण केन्द्र खोल्न सरकारले सहयोग गर्ने ।

१०.      विद्यार्थीहरुलाई एसएलसी परीक्षा अगाडि मानसिक रुपमा तयार गर्न उत्प्रेरणा र परामर्श गर्ने परिपाटी बसाल्ने ।

११.      एसएलसीको पाठ्यक्रमलाई समय सापेक्ष परिमार्जन गर्दै लाने ताकि विद्यार्थीहरुमा पढाइप्रतिको लगाव बढिरहोस् ।

            एसएलसी उच्च शिक्षाको प्रस्थान विन्दु भएको र शिक्षा नै सबै क्षेत्रको विकासको आधारशीला भएकोले यसमा सबै क्षेत्र र वर्गका मानिसहरुको उत्तिकै सरोकार हुनु जरुरी छ । शिक्षण पेसामा थोरै अनुभव भएको व्यवसायीको तर्फबाट मैले केही सुझाव अगाडि सारेँ । आशा छ विज्ञहरुको तर्फबाट अझ गहकिला र व्यवहारिक सुझावहरु आउनेछन् ताकि अगामी एसएलसी परीक्षा अहिलेको जस्तो पीडाबाट गुज्रन नपरोस् । अन्त्यमा एसएलसी उत्तीर्ण विद्यार्थीलाई बधाई र असफल हुनेहरुप्रति सान्त्वना एवं आगामी सफलतनाको कामना गर्दछु ।

(लेखक काभ्रे उद्योग वाणिज्य संघका  हुन् ।)

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: