आवश्यकता युवा शक्तिको

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

० विजय राज

युवा एउटा परिस्थिति हो, जुन मानिसको जीवनचक्र मध्ये भौतिक रुपमा क्रियाशील, शारीरिक रुपमा सक्षम र संवेगात्मक रुपमा परिपक्व हुन्छ । युवा जनशक्तिमा सम्भावनालाई व्यवहारिकतामा परिणत गर्न सक्ने सामथ्र्य भएरै युवालाई परिवर्तनको संवाहक पनि भनिन्छ । मानिस शिशु त्यसपछि बालक, किशोर, युवा प्रौढ हुँदै बृद्ध हुन्छ । जीवनका यी विभिन्न पाटा मध्ये युवा यस्तो पाटो हो जसले बालक छँदा आमाको स्नेह र सभ्यता सिक्छ, किशोरावस्थामा समाज र रहनसहन सिक्छ र युवा हुँदा सम्पूर्ण विषयको विवेचना गरी समय परिस्थिति अनुकुल प्रयोगात्मक आचरण विकास गर्छ । बाल्यकालदेखि सुनेका, भोगेका, देखेका, पढेका सम्पूर्ण व्यवहारबाट युवा मनस्थिति कुनै पनि विषयको संश्लेषण र विश्लेषण गरी गुण र दोषका आधारमा समय सान्दर्भिक निष्कर्ष निकाल्न र यसलाई व्यवहारतः अबलम्बन गर्न सक्ने क्षमताले धनिभूत हुन्छ । बाल्यवस्था र बृद्धावस्था भनेको परस्वावलम्बी हुन्छ, यो अवस्थामा अरुको सहारा आवश्यक पर्छ तर युवा स्वावलम्बी हुन्छ । एउटा युवाले अरुलाई सहारा दिन सक्छ । अरुको पहरेदारी गर्न सक्छ । युवा क्रियाशीलतामा नै समाज र राष्ट्रको शान फैलिन्छ र त युवालाई समाज र राष्ट्रको मेरुदण्ड भनिन्छ ।

अतः युवावस्था एउटा अवसर र यसमा हर तरहले समर्पण हुन सक्ने अवस्था हो, जसमा बल, बुद्धि र विवेकको संयोजन गरेपछि कुनै पनि कुराको असम्भवना हुँदैन । जुन कुरो समाज, राजनीति, विज्ञान, अर्थशास्त्र, कला, साहित्य लगायत हरेक क्षेत्रका इतिहास तथा विश्व घटनाक्रमबाट स्वत स्पष्ट भइरहेछ ।

वर्तमान सन्दर्भमा युवाहरुलाई अन्यौलता र बेरोजगारीले तड्पाएको छ । राज्यबाट युवा लक्षित नीति तथा कार्यक्रम गर्न लाचारी देखाउनुले लाखौं नेपाली युवाहरु विदेशिएका छन्, हिरा फआउने जोशिला युवाहरु मुग्लानमा हाड र पसिना घोटिरहेका छन् । उनका सुनौला सपना आँसु र पसिनासँगसँगै तुहिएका छन् । बाध्यताले परदेशिएका झरनाझैं कन्चन नेपाल चेलीबेटीका स्त्रीलम्पट नरपिपाशुद्वारा इज्जत लुटिएका छन् । विश्वविद्यालयबाट लिइएका शैक्षिक प्रमाणपत्र कुहिएका फर्सीजस्ता अनुपयोगी भएर रद्दीको टोकरीमा फ्याँक्नुपर्ने बाध्यता छ । एकातिर शिक्षाामा लगानी नसकेर गरीब जनताका छोराछोरी भेडा गोठालो भएका छन् भने धनी पूँजीपतिका छोराछोरीहरु भनेजस्तो अवसर नपाएर विकृति पछ्याउँदै छन् । अहिलेको तथ्यांक अनुसार धेरै किशोर र युवा पिँढीले लागू पदार्थ सेवन गर्नुको पछाडिको मुख्य कारण असमानता र अवसरविहीनताको मानसिक तनाव पनि हो । न पूँजी न प्रविधि छ, छ त केवल भद्रगोल छ । निर्वाहमुखी व्यवसायीकरणले राष्ट्रमा माग भए अनुसार साधन, स्रोत र रोजगारीका अवसरहरुको पर्याप्तता छैन । आफूसँग भएका सीप, क्षमता र योजनाहरु राष्ट्रिय रुपमा आवश्यक भए बमोजिम उपयोग गर्न नसक्नु हरेक नेपालीको चुनौती हो । अरुलाई युवा हुनु सीप र दक्षता अभिबृद्धि गर्ने अवसर होला तर नेपालीहरुको लागि अन्धकार र उदासिनता हो, जब समयले तँ आट म पु¥याइदिन्छु भन्ने बेला हुन्छ । हाम्रो युवा पिढी रित्तिएका जोश र जाँगरहरु पालेर घोत्लिएका हुन्छन् । जलस्रोत, पर्यटन, कृषि, वन, जंगल, जडिबुटी, खनिजजस्ता राष्ट्रिय सम्पदाको व्यवसायिकरण र यसमा युवा झुकाव अभिबृद्धि नगर्र्नु एवं युवालाई राज्यको मूल प्रवाहमा सहभागी नगर्नु नै राष्ट्रिय पछौटेपना र गरिबीका कारणहरु हुन् । र यो नै रोजीरोटीका लागि परदेशमा आत्मसमर्पण गर्नुको विवशता हो, सम्बृद्धि र विकासको तगारो हो ।

२१ औं शताब्दीको प्रतिस्पर्धी परिवेशमा पनि हाम्रो देशमा भने असमान र अवसरविहीन राज्यप्रणालीको अभ्यास भइरहेको छ । हाम्रो राज्य प्रणालीले न गरीबलाई शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आर्थिक तथा भौतिक सुविधा पर्याप्त उपलब्ध गराउन सकिरहेको छ न योग्य व्यक्तिलाई नै कुनै अवसर दिन सकेको छ । यसले केवल दाह्री कपाल फुलेका छाला खुम्चेका बयोबृद्धहरुको दुर्गन्धित राजनीति, राज्य लुट र पछौटेपनलाई प्रश्रय दिइरहेको छ । विश्व ढुंगे युगबाट लम्किएर अहिलेको प्रविधि र पहुँच विस्तार गर्न सफल भइसक्यो तर हामी भने यसको पहिचान र प्रविधिबाट खस्किएको अवस्था छ । हाम्रा हात खुट्टा, नंग्राहरु निर्भरमुखी भएर कुँजिएका छन्, हामी आफूसँग भएका स्रोतको उपयोग गर्न बिर्सेर नुनदेखि सुनसम्म सबै चिज अरुमा निर्भर छौं र त परनिर्भरताको बेलाबखतमा हामी भोकभोकै पिल्सनुपर्छ । लक्ष्मीप्रसाद देवकोटाले साहित्यमा, अरनिकोले शिल्पकला, गोर्खालीले विरता, पासाङ ल्हामुले सौर्यता आदिले विश्वमा नै उर्वर भूमि भनेर चिनिएको नेपाल अटल सगरमाथाको काखमा रहेर पनि अस्थिरता र परनिर्भरताले जेलिनु दुर्भाग्यपूर्ण छ । जलस्रोतको धनी भएर पनि अन्धकारमा रुमलिनुपर्ने बाध्यता वैज्ञानिक र समय सान्दर्भिक योजना कार्यान्वयन तथा स्रोत पहिचान र प्रयोग गर्न चुकिरहनुको परिणाम हो र वस्तुगत रुपमा युवा सहभागिता नहुनुले हो । आजको विश्व भनेको प्रतिस्पर्धाको हो, पहुँचको हो, प्रविधिको हो अथवा निर्विकल्प युवा जमातको हो । राज्यको वर्तमान र भविष्य राज्यप्रणाली हो त्यसकारणले समुदाय, क्षेत्र र राष्ट्र गरी राज्यका हरेक तह तप्काका युवा नेतृत्वले अभ्यास गर्नुपर्ने आजको टड्कारो आवश्यकता हो । साथै बृद्धहरुलाई केयरटेकर र नयाँ पिँढीलाई उत्प्रेरणाका साथ प्रगति र विकासमा समावेश गरिनुपर्छ । त्यसैले युवा र परिवर्तन भनेको एक रथका दुई पाङ्ग्रा हुन् । यसको प्रयोग पछि मात्र अरिंगालको गोलाजस्तो झाँगिएको अस्तव्यस्तता निर्मुल पारेर एउटा अटल अग्रगामी र सुशासित उन्नत नेपालको शुभारम्भ हुन सक्छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: