अलविदा मणिराजजी

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

-लम्बोदर कायस्थ
सोच्दै नसोचेको कुरा अपर्झट रुपमा व्यहोर्नु पर्दा सारै नमिठो हुनु स्वभाविक नै हो । तर के गर्ने ? उपाय छैन । जन्मेपछि मर्नु पर्छ नै । जन्म र मृत्युको नियम अकाट्य छ ।
मैले जाने बुझे अनुसार मणिराज कायस्थ सनातन कन्यापूजा प्रबन्ध समिति र उद्योग वाणिज्य संघ काभ्रे शाखामा विभिन्न पदमा रही, पछि दुवै संस्थाको अध्यक्षमा रही कार्य संचालन गर्दै आउनुभएको थियो । पंचायती व्यवस्थाको अवसान र बहुदलको आगमनपछि नेकपा एमालेको संगठित सदस्यता ग्रहण गरी पार्टीको संगठन निर्माण गर्ने र सामाजिक कामलाई सँगसँगै अगाडि बढाउन लगनशील भई हामी लाग्दै आएका थियौं । राजनीतिक चेतनाको साथसाथै सामाजिक चेतनाबाट पनि समाजलाई विकसित रुपमा रुपान्तरण गर्नुपर्छ भन्ने मान्यतालाई अनुशरण गरी उहाँले विभिन्न सामाजिक संघ संस्थामा समेत काम गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी काभ्रे एवं केन्द्र, नेपाल घरेलु तथा साना उद्योग महासंघ, सुस्त मनस्थिति कल्याण संस्था काभ्रे, नेपाल परिवार नियोजन संघको आजीवन सदस्य, उत्साह विकास सेवा केन्द्र काभ्रे शाखाका अध्यक्ष र विभिन्न विकास निर्माण कार्यको संयोजक भई इमान्दारिताका साथ काममा लागिरहनु भएका प्रिय दाजु मणिराज कायस्थको अवसानको खबर ०६९ साउन २ गते विहान ४ बजे उहाँका भाई शान्तिराज कायस्थबाट फोन मार्फत् भयो । शान्तिराजले यतिमात्र भन्न सक्नुभयो – मणिदाई बित्नुभयो, के के गर्नुपर्ने हो ? यो फोनको खबर श्रीमतीलाई सुनाएँ । के गर्ने के नगर्ने सोच्नै सकिनँ । एकैछिनपछि सम्झनामा आएका साथीहरुलाई फोनबाट यो नमीठो खबर गरेँ र जम्मा भएका साथीहरुसँग धुलिखेल हस्पिटल गएँ । शान्तिराज, सौरव र निरञ्जुल कायस्थसँग छोटो कुराकानी पछि त्यही रहेको मोटरमार्फत मणिदाइको शव घर ल्याइयो । त्यस अवस्थामा दुःख व्यक्त गर्ने समय नै भएन । हिन्दू संस्कार अनुसार परिवारले घरको आँगनमा राखी सकेपछि, परिवारजनको दुःख, पीडा, छटपटी र रुवाबासीको प्रत्यक्ष पछि आफूलाई पनि पूरा होस आएको महसुस भयो । त्यसपछि उहाँले हिजो गरी आउनुभएका उद्योग वाणिज्य संघ, सामाजिक एवं राजनीतिक क्रियाकलापहरुको सम्झना ताजा भएर आयो ।
मणिराज कायस्थ र नेकपा एमाले
२०४६ को सफल जनआन्दोलनपछि ०४७ मा देशमा बहुदलको स्थापना भयो । त्यसबेला बनेपा नगरमा नेकपा एमालेको भूमिका भूमिगत कार्यक्रममा बाहेक बाहिर केही पनि थिएन भने पनि हुन्छ । त्यसिबेलाको बेलामा थोरै व्यक्तिहरुलाई मात्र कम्युनिष्ट पार्टीको ज्ञान थियो । नगरवासीहरुको अगाडि पार्टीको महत्व र कार्यक्रमहरुको बारेमा जानकारी दिनुपर्ने आवश्यकतालाई मध्यनजर गरी बनेपाको टोल टोलमा नेकपा एमालेको चिनारी र संगठन निर्माण गर्ने काममा मणिराज लगायत सिंगो नगर कमिटीका साथीहरु मेहनतपूर्वक नगरका सबै वडाहरुमा कमिटीको गठन गर्ने काम गरियो । पार्टीभित्र संगठन विस्तार गर्ने कामको मूल्यांकन गरेर पार्टीले बहुदलको लगत्तै भएको स्थानीय निकाय निर्वाचनमा नगरपालिका प्रमुखको पदको टिकट मणिराज कायस्थले प्राप्त गर्न सफल भयो । जिल्लाको चारै निर्वाचन क्षेत्र र जिल्ला विकास समितिमा समेत नेकपा एमालेको एकलौटी विजयी हासिल गर्न सफलता प्राप्त भयो । संसद र जिल्ला विकास समिकतिको निर्वाचनका क्रममा मणिराजजीले पार्टीका हजारौं सदस्य, समर्थक, शुभेच्छुक, नेतागणको खाना र आवासको व्यवस्था मिलाउन पनि अहम् भूमिका खेल्नुभएको अहिले म झल्झली सम्झीरहेछु । जिल्लाभित्र एमालेको वर्चश्व रहेपनि बनेपा नगरमा भने वामपन्थीहरुको बेमेलले गर्दा असफलता भोग्नुप¥यो ।
पार्टी संचालनको लागि चाहिने आर्थिक व्यवस्था र चन्दा संकलनको समस्यालाई सहज रुपमा सुल्झाउन पार्टीले मणिराजको सरसल्लाहमा गर्ने गरेको थियो । आफ्नो मेहनतका कारण उहाँ पार्टीभित्र सम्मानित हुनुहुन्छ । नेकपा एमाले बनेपा नगर कमिटीको बलियो अवस्था हुनु उहाँको योगदानको प्रतिफल हो भन्न सकिन्छ ।
उद्योग वाणिज्य संघ र सामाजिक संघ संस्थामा ः
मणिराज कायस्थ व्यापारीको सन्तान मात्र भएर होइन उहाँको इच्छा पनि सफल व्यापारी बनेर समाजमा प्रतिस्थापित हुने विचारले गर्दा भाइ शान्तिराज, भतिजाहरु मनोज र विद्याप्रकाश कायस्थलाई शिक्षा आर्जनमा बलियो सहयोग गरी बुबाले संचालन गर्दै आएको कपडा पसल उहाँले संचालन गर्नुभयो । समयको परिवर्तन सँगै लत्ताकपडा, पुस्तक पसल, मोटर व्यवसाय पनि उहाँले संचालन गर्नुभयो र उद्योग वाणिज्य संघलाई बलियो बनाउन सके मात्र बनेपा नगरलााई आर्थिक, सामाजिक र विकास निर्माणमा अगाडि लान सकिन्छ भन्ने उहाँको मान्यता थियो । यसैकारण आफ्नो नेतृत्वमा बनेपा लगायत धुलिखेल, पनौतीका व्यापारीहरु समेटेर व्यापार र उद्योगमा कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने विचारले समय समयमा केन्द्रबाट प्रशिक्षकहरु ल्याई प्रशिक्षण दिने कार्य गर्नुहुन्थ्यो । त्यस्तै युएनडीपीको सहयोगमा सामाजिक संस्था जिल्ला समन्वय समितिमार्फत् जिल्लाका दुर्गम स्थान डाँडापारीको विभिन्न गाविसमा समेत साक्षरता अभियान संचालन गरी समितिमा भएको तथ्यांक अनुसार करीब २२ हजार जनतालाई साक्षर गर्न सफल हुनुभयो । उहाँको कामको कदर गर्दै नेपाल सरकारले कदरपत्र समेत प्रदान गरेको छ । जिल्लाका व्यापारीहरुको विभिन्न किसिमको समस्या, कर प्रणाली, आधुनिक बिल भौचर प्रशिक्षण इत्यादि काममा निरन्तर व्यापारी वर्गलाई सहयोगीको भूमिका निभाउँदै रहनुभएको उहाँ काभ्रे उद्योग वाणिज्य संघबाट सम्मानित पनि हुनुभएको छ ।
अन्त्यमा
सायद २०६६ पुस महिनाको समय हुनुपर्छ । उहाँको जेठो छोरो मञ्जुल कायस्थको असामयिक निधनपछि उहाँको भरपर्दो सहारा गुम्यो । त्यसबेलादेखि उहाँमा पहिलाको जस्तो जोश, जाँगर र लगनशीलतामा ह्रास आयो । मानसिक चिन्तामा डुब्नुभयो । आफूले धेरै वर्ष अगाडि देखि काम गर्दै आएको सामाजिक संस्थामामा पनि एक्कासी आफ्नो मूल्यांकनमा ह्रास आउने गरी केही मित्रहरुको कामबाट पनि उहाँको चित्त दुखेको थियो । बिस्तारै आत्मबल कमजोर हुँदै आएपछि उहाँलाई विभिन्न रोगले पनि च्याप्दै लग्यो । अन्तिममा पञ्चतत्वले बनेको शरीर पञ्चतत्वमा नै विलिन भयो, हामीले केही गर्न सकेनौं । मात्र उहाँको योगदानलाई कदर गर्दै श्रद्धाञ्जलि अर्पण गर्न सक्छौं ।
(कायस्थ नेकपा एमालेका जिल्ला सदस्य र बनेपा नगर इञ्चार्ज हुन् ।)

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: