अंग्रेजी भाषा जान्दैमा विद्यार्थीहरु अब्बल हुदैनन् -अम्बुभवानी कार्की

प्रकाशित मिती : मङ्लबार, साउन ३०, २०६९ by   ·   Comments

– अम्बुभवानी कार्की, क्याम्पस प्रमुख, तेजगंगा बहुमुखी क्याम्पस, पनौती

पनौती नपा–५ मा माता गंगाकुमारी र पिता तेजप्रताप सिंह कार्कीको साइँली छोरीको रुपमा अम्बुभवानी कार्कीको जन्म २०१८ असार २२ गते भएको थियो । २०३३ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नासाथ बालप्रकाश प्रावि रोशीमा शिक्षण पेसा सुरु गर्नुभएका कार्की ०५४ सालमा जनप्रतिष्ठा साप्ताहिकको प्रधान सम्पादक पनि हुनुभयो । हाल पब्लिक क्याम्पस संघको केन्द्रीय सदस्य, त्रिवि शिक्षा संकायको स्थायी समितिका सदस्य पनि हुनुहुन्छ । ०५२ सालदेखि काभ्रे बहुमुखी क्याम्पसबाट प्राध्यापन पेशा थाल्नुभएकी कार्कीले ०५७ सालबाट आफ्नै मातापिताको नामबाट स्थापना गरेको तेजगंगा बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । रेडियो एबीसी एफएम ८९.८ मेगाहर्जमा शनिबार साँझ ७ देखि ७ः३० बजेसम्म प्रसारित शिक्षा सरोकार कार्यक्रममा कार्कीसँग गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।

० शिक्षण पेसामा लाग्नुभएको लामो समय भयो । मुलुकको शिक्षाको विकासक्रमलाई कसरी लिनुभएको छ ?
शिक्षा मानव जीवनको ज्योति हो । सामाजिक विकासको संवाहक, नेतृत्व विकास गर्ने शिक्षाले गर्छ । राष्ट्रिय शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा मुलुकमा शिक्षा क्षेत्रको सकारात्मक विकास हुन सकिरहेको छैन । सैद्धान्तिक शिक्षामा नै शिक्षाको ठूलो धनराशी खर्च भएको अवस्था छ । शिक्षालाई परिणाममुखी बनाउन दक्ष जनशक्ति उत्पादन गर्न मुलुकको शिक्षा प्रणालीलाई सुधारको खाँचो छ । हालको शिक्षा नीति तथा नियमावली परिवर्तन गर्नु आवश्यक छ ।

० सामुदायिक क्याम्पसको तुलनामा निजी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरु बढी उत्तीर्ण हुनुको कारण के होला ?
सामुदायिक क्याम्पस होस् या निजी जे भएपनि दुवैको उद्देश्य उच्चस्तरको अध्यापन गराउने नै हो भने व्यक्तित्व विकास गर्ने हो । यी दुवैमा भिन्नता के छ भने निजी क्याम्पसमा विद्यार्थीलाई बढी घोकन्ते शिक्षा दिने एक छोटो सुगा रटाई गरिएको हुन्छ भने पब्लिक तथा सामुदायिक क्याम्पसहरुले समाजको परिवेशलाई राम्ररी अँगालेर न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिन सकेका छन् । ६०–९० प्रतिशत उत्तीर्ण गर्न सफल भएका छन् । तीन–चार सयको हाराहारीमा रहेको पब्लिक तथा सामुदायिक क्याम्पस संचालित छन् । विपन्न तथा सामुदायिक वर्गका छोराछोरीहरु अध्ययन गर्ने थलो सामुदायिक क्याम्पस बनेको छ । निजी क्याम्पसमा उच्च खानदानका व्यक्तिहरु अध्ययन गरेको पाइन्छ । यसो हुनु ठीक होइन । राज्यले दुवै कलेजहरुलाई एकरुपतामा ल्याउन बजेटको व्यवस्था गरी एउटै खालको शिक्षा दिने परम्पराको विकास गर्नु जरुरी छ ।

० सामुदायिक क्याम्पसका चुनौतीहरु के के रहेका छन् ?
चारसय भन्दा बढी क्याम्पसहरु सामुदायिक रुपमा संचालनमा छन् । निजी कलेजहरु छ सात सयको हाराहारीमा छन् । यी दुवै स्वस्थ प्रतिस्पर्धाबाट संचालन हुनु आवश्यक छ । मध्यम वर्गले पढ्ने क्याम्पस सामुदायिक क्याम्पसहरुलाई राज्यले ५० प्रतिशत अनुदान दिएर पब्लिक विश्वविद्यालय खोल्नु आवश्यक भइसकेको छ ।

० नेपालजस्तो विकासोन्मुख देशमा कस्तो शिक्षाको खाँचो देख्नुभएको छ ?
जीवनको परिवर्तन हुने, व्यक्तित्व विकास सँगै व्यवसायिक तथा प्राविधिक शिक्षाले मुलुकको शैक्षिक जनशत्ति माथि उकास्ने कार्य गर्छ । मुलुकको नै मुहार फेर्न सक्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्ने शिक्षा देशको लागि आवश्यक छ ।

० हाम्रो मुलुकमा उच्च वर्र्गका छोराछोरी निजी कलेजमा अझ विदेशमै पढ्ने गर्छन् भने सामान्य जनताका छोराछोरी सामुदायिक र सरकारी कलेजहरुमा खुम्चनुपर्ने बाध्यता छ । शिक्षामा भएको यस्तो विभेदको अन्त्य कसरी गर्न सकिन्छ ?
शिक्षा क्षेत्रमा राज्यको ठूलो लगानी छ । शिक्षकहरुको तलबस्केल बढी नै छ । तर पनि केही गुणस्तर खस्केको छ नै । त्यति हुँदाहुँदै पनि विद्यार्थीहरु बढी व्यवहारिक हुन्छन् भने सरकारी तथा अन्य कार्यालयमा नाम निकाल्ने विद्यार्थीको संख्या सरकारी तथा सामुदायिक कलेजमा अध्ययन गर्नेहरुकै बढी देखिन्छ । निजी कलेजमा आकर्षण बढ्नुको प्रमुख कारण अंग्रेजी भाषा अन्तर्राष्ट्रिय भाषा भएकोले त्यसमा दख्खल नभए मानिस योग्य बन्न सक्दैन भन्ने मानसिकताले हो भने सामुदायिक कलेजमा अभिभावक, विद्यार्थीहरुको दुरी र विश्वासमा कमी आउनु पनि हो । अंग्रेजी भाषा जान्दैमा विद्यार्थीहरु अब्बल हुने होइन, अरु भाषा पनि त्यत्तिकै महत्वपूर्ण छ । बेलायत, अमेरिका, भारत पढ्न जानेको लर्को पनि कम छैन । २७ अर्ब रकम विदेश पढ्न खर्च भएको तथ्यांकले देखाउँछ । हाम्रो मुलुकमा स्नातक तथा स्नातकोत्तर तह पार गर्न व्यवस्थित शैक्षिक क्यालेण्डर नभएकोले बढी समय लाग्ने र विदेशमा कम समयमै अध्ययन पूरा हुने भएकोले विदेश गएर पढ्नेको जमात पनि देखिन्छ । मुलुकको शिक्षाको स्तर बृद्धि गर्न पाठ्यक्रमलाई समय अनुरुप सुधार गर्दै शैक्षिक क्यालेण्डरको व्यवस्था गरिएको खण्डमा शिक्षामा परिवर्तन आउन सक्छ । शिक्षामा राजनीतिक हस्तक्षेप बढ्नु, शिक्षकहरु पढाउन भन्दा राजनीतिक झण्डा बोकेर हिँड्ने परम्पराले पनि सामुदायिक विद्यालय, कलेजमा अध्ययन गर्ने विद्यार्थीको संख्या कम र निजी विद्यालय, कलेजमा अध्ययन गर्नेको संख्या बढेको देखिन्छ । यी दुईमा एकरुपता ल्याउन राज्यले दुवैलाई अनुदान दिएर एकै किसिमको नीति निर्माण गरेर अनुगमन संयन्त्र बनाई राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई कारवाही प्रक्रिया अगाडि बढाएको खण्डमा शिक्षामा समानता ल्याउन सकिन्छ । शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप पूर्णतः बन्द हुनुपर्छ ।

० सामुदायिक कलेजहरु पनि नाफामुखी भए भन्ने गुनासो पनि सुनिन्छ नि ?
यो चाहिँ अभिभावकहरुले नबुझेकोले हो । कलेजहरुको अवस्था अनुगमन र निरीक्षण नै नगरी हचुवाको भरमा बोल्ने बानी हो । सामुदायिक कलेजहरुले निजी कलेजहरुको तुलनामा कम शुल्कमा शिक्षा प्रदान गरेको छ । शिक्षकलाई तलब दिने पनि हम्मे हम्मे पर्ने शुल्क लिएर सेवा भावको हिसाबले पढाउने कार्य गरेको छ, नाफाको त के कुरा गर्नु ।

० तेजगंगा क्याम्पसको शैक्षिक अवस्था कस्तो छ ?
हाम्रो क्याम्पसले ६०–९० प्रतिशतसम्म विद्यार्थीहरु उत्तीर्ण गराएको छ । यहाँ शिक्षा, व्यवस्थापन, मानविकी संकाय अन्तर्गत १०+२ र स्नातक तहका कक्षाहरु संचालित छन् भने शिक्षाशास्त्रमा स्नातकोत्तर तहको पढाइ पनि भइरहेको छ । १ रोपनी ४ आना जग्गा क्याम्पस निर्माणको लागि जग्गा दान गरिएको ३ कोठा भवन समेत बनेको अवस्था छ । यो जग्गा क्याम्पसकै नाममा छ । क्याम्पस निर्माणको लागि जग्गा अपुग भएर डेढ रोपनी पु¥याइएको छ । विगतमा बनेको भवनको भाडा नलिईकनै विद्यार्थीहरुलाई कम शुल्कमा स्तरीय शिक्षा दिन सकेका छौं ।

० सामुदायिक कलेजलाई सरकारले अनुदान कति दिन्छ ?
हाम्रो कलेजको लागि ०६८ सालमा भौतिक निर्माणका लागि भनेर २५ लाख उपलब्ध गराएको छ भने शैक्षिक सामग्रीको लागि भनेर वार्षिक ९० हजार र ६ देखि ७ लाख सम्म पूर्वाधार विकासका लागि भनेर सरकारले रकम उपलब्ध गराएको छ ।

० शिक्षकलाई सरकारी स्केल अनुसारको तलब दिनुभएको छ त ?
हामीले प्राध्यापकहरुलाई काम अनुसारकै दाम दिएका छौं । सरकारी स्केल अनुसार भने दिन सकिएको छैन । दिने प्रयासमा छौं ।

० सामुदायिक क्याम्पस भन्नुहुन्छ, तर निजीजस्तै आफ्नै आमाबाबुको नामबाट कलेज संचालन गर्नुभएको छ नि ?
०५७ भाद्र २५ गतेदेखि माता गंगाकुमारी र पिता प्रमुख सेनानी तेजप्रताप सिंह कार्कीको नाममा क्याम्पस स्थापना संचालन गरिएको हो । निजी क्याम्पसको कुरा गर्नुहुन्छ भने काठमाडौंको अमृत साइन्स कलेज अमृतलाल प्रधानको नाममा, शंकरदेव क्याम्पस शंकरदेवको नाममा र चितवनको जीवितै अवस्थामा मैयादेवी कलेज भनेर स्थापना भएका छन् । नामैले मात्र निजी हो भन्नु गलत हो । हाम्रो कलेजको कुरा गर्नुहुन्छ भने मैले डेढ रोपनी जग्गा समुदायलाई दान दिएको छु । हाल पढाइ हुने भवनको भाडा नलिई विद्यार्थीहरुलाई अध्ययन गराउने कार्य भएको छ । विशुद्ध सेवा भावले न्यूनतम शुल्कमा स्तरीय शैक्षिक वातावरणमा विद्यार्थी पढाएका छौं ।

० प्रसंग बदलौं, तपाईंले लामो समयसम्म आफ्नो विवाहको कुरा लुकाउनु भयो । काभ्रे टाइम्सले नै तपाईंको विवाहको प्रसङ्गलाई प्रकाशित गरेको थियो । विवाहको कुरा यसरी लुकाउनुको कारण के थियो ?
छोरी मान्छेले त्यही पनि अन्तरजातिमा अझ सैनिक पिताको छोरा भएकोले कडा अनुशासनमा बस्नुपर्ने बाध्यता थियो । दाजुभाई नभएको र बाबुआमाको काजक्रिया समेत आफैले गर्नुपर्ने अवस्था आयो । अन्तरजातीय विवाह त्यसताका ज्यादै असम्भव थियो, त्यो पनि नेवार जातिसँग कानुनी जटिलता त्यत्तिकै थियो । हाम्रो समाज, सामाजिक अन्धविश्वासामा झाँगिएर रहेको हुँदा धेरै समयसम्म लुकाउनुपर्ने बाध्यता प¥यो । मैले राजाराम सैंजूसँग विवाह गरेको कुरा आमा र बाबुको देहावसान पछि मात्र खोल्न सकेँ । गलत सामाजिक संस्कारका कारण यस्तो भएको हो ।

० सामुदायिक कलेजले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने पक्षहरु ?
सामुदायिक कलेजले सुधार गर्नुपर्ने पक्षहरु धेरै छन् । हाल विद्यार्थीहरु पढ्नमा भन्दा टेलिभिजन, कम्प्युटर, सिनेमामा आकर्षित भएर दिमागलाई बोझो र अल्छी भएका छन् । यसलाई पनि सुधार गर्नुपर्छ । अन्य क्रियटिभ कार्य गर्न सक्नुपर्छ । विद्यार्थीमुखी शिक्षा हुन सकेको छैन । शिक्षकहरुलाई उचित तालिमको व्यवस्था हुनुपर्छ । आज हाम्रो शिक्षा प्रमाणपत्र लिने माध्यम बनेको छ । विद्यार्थी केन्द्रीत शिक्षाको अभाव छ । यसलाई सुधार गर्नुपर्छ । सामुदायिक कलेजहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुप¥यो । विना काममा अरुको कलेजको उछित्तो काढ्ने काम बन्द गर्नु आवश्यक छ ।

० शिक्षा क्षेत्रमा लाग्दाका अविष्मरणीय क्षण ?
एउटा महिला भएर आफ्नै मातापिताको नामबाट कलेज खोल्न विभिन्न आरोह अवरोह पार गर्नुपरेको ०५७ सालदेखि कलेज स्थापना गरेकोमा सम्बन्धनका लागि पनौती नपाबाट सिफारिश नपाउँदाको बखत दुखद र त्रिविविबाट ०५७ मंसीरबाट सम्बन्धन प्राप्त गर्दा सुखद अनुभूति गरेँ । आफ्ना मातापिताको निधनले पनि मलाई ज्यादै दुःखित पारेको छ ।

० तपाईं त महिला नेतृ पनि हुनुहुन्छ । हालसम्म देशको प्रधानमन्त्री महिला बन्न नसक्नुको कारण के होला ?
देशको कार्यकारिणी पद प्रधानमन्त्री महिला बन्न नसकेको यथार्थ हो । यसो हुनुमा हाम्रो सामाजिक परिवेश अझै अधिकांश महिला घरधन्दामै सीमित रहने परम्परा कायमै रहनु अनि महिलाको लागि भनी ३३ प्रतिशत मात्र अधिकार सीमित हुनु हो । महिलाहरु विश्वमा नै पछि परेका छन् । २१ औं शताब्दीमा विश्व परिवेश अनुसार चल्न महिला र पुरुष दुवैलाई भेदभावरहित हरेक क्षेत्रमा समान अधिकार दिनुपर्छ ।

० अम्बुभवानी कार्कीलाई आफूले ठूलै सफलता हासिल गरेको घमण्ड छ भन्नेहरु पनि छन् नि ?
म आफूमा कुनै घमण्ड छैन । मानिस जीवनभरि हरेक कुरा सिकिरहेको हुन्छ । आफूले अहिलेसम्म गरेको काममा सफलता नै पाएको छु । म शैक्षिक नेतृ पनि हुँ । एक महिला नेतृ पनि हुँ । इष्र्या गर्नेहरुले अनेक भन्न सक्छन् । उनीहरुले भनेजस्तै होइन, म सबैलाई आदर र सम्मान गर्ने नेतृ हुँ ।

-1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: